logo
२०७८ माघ ५ बुधवार



हिउँसँगै पग्लियो जाडो !

शनिवार |


हिउँसँगै पग्लियो जाडो !


चाँदनी हमाल

काठमाडौँ उपत्यकामा चार दशकअघिको पुस अहिलेको जस्तो घमाइलो थिएन । त्योभन्दा अघिका पुस र माघको चिसो झनै कडा थियो । दसैँ/तिहारपछि चिसोले मन चसक्क खान थाल्थ्यो । ठिहि¥याउने जाडो मङ्सिरदेखि नै सुरु हुन्थ्यो ।
बिहान काममा गएकाहरू साँझको चिसो स्याँठमा लुगलुग काम्दै घर फिर्थे । यहाँ त्यतिबेलादेखि अहिलेसम्मको मौसमको अनुभव बटुलेकाहरू अहिलेको चिसो त्यो बेलाको जस्तो नरहेको सुनाउँछन् ।

तीन दशकअघि काठमाडौँका हरेक घरमा बिहान ६ बजेदेखि ८ बजेसम्म धारामा पानी आउँथ्यो । पुस–माघ ताकाको बिहान धाराको पानी हम्मरले फोरेर निकाल्नुपथ्र्यो । हिउँ जमेर कक्रक्क परेको धाराको टुटीमा दुई/चार पटक हिर्काएर जमेको बरफ झारिन्थ्यो । अनि मात्र पानी झथ्र्यो ।
सतासी वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले सुनाउनुभयो, “तर हेर्नुस अहिले म पुस महिनामा मजाले छतमा पारिलो घाम तापिरहेको छु ।” उहाँका अनुसार त्यो बेला पुसको घाम देख्नै मुस्किल थियो । महिनाभर घाम राम्ररी नलाग्दा दैनिकी चलाउनै मुस्किल पथ्र्यो । मध्य पुसमा सात दिनसम्म हिउँदे झरी पर्दा दस–पन्ध्र दिन सडकमा चरा–मुसा पनि हिँड्दैन थिए ।

घरभित्रै मकल थाप्ने, खाने पिउने गरेर जाडो कटाउने मेसो बसालिन्थ्यो । विद्यालयमा दुई महिना जाडो बिदा हुन्थ्यो । अनुभव सुनाउँदै उहाँले थप्नुभयो, “शीत असाध्यै पथ्र्यो, त्यसमाथि डम्म कुहिरो लाग्दा नजिकैको मानिस ठम्याउन गाह्रो पथ्र्याे, असाध्यै जाडो हुन्थ्यो ।”
अझ सानोछँदाको जाडो अनुभव त उहाँको बेग्लै छ । उहाँ र उहाँका दौँतरी मिलेर थालभरि पानी भरेर कौशीमा राख्नुहुन्थ्यो । बिहान उठ्दा त्यो गोलो थालजस्तै बरफ बन्थ्यो । उहाँले सुनाउनुभयोे, “अनि त्यसको बीचमा प्वाल पारेर धागो छिराएर खेथ्यौँ ।”


बागमती, मनहरा, विष्णुमतीजस्ता यहाँका नदी हिउँदमा सङ्ला थिए । पोखरी पनि ठाउँ ठाउँमा थिए । ढुङ्गे धाराहरूमा कलकल पानी बग्थ्यो । नदी र पँधेरा हिउँदमा घाम कुर्दै यहाँका बासिन्दा नुहाउने, लुगाधुने र गाउँघरका विषयमा गफिने थलो थिए । मान्छे बढेसँगै घर बढ्दै गए अनि तातो पनि बढ्दै गयो । अहिले त्यस्ता फराकिला नदीहरू ढलको स्वरूपमा साँघुरिएको दुःखेसो उहाँ पोख्नुहुन्छ ।

कहिलेकाहीँ आकाश खुल्दा उपत्यका वरिपरिका पहाडैभरि हिमाल फुलेको देखिन्थ्यो । हिउँले सेताम्मे भएका पहाडको तल–तल उड्ने कुहिरो हिउँदकी परीजस्तै देखिन्थे । त्यही छेकोमा हिमालका डाँफे र मुनाल उपत्यका खाल्डोमा नाच्थे ।
पछिल्ला चार दशकमा काठमाडौँको भौगोलिक अवस्थाले थेग्नै नसक्नेगरी बस्ती बढ्यो । कङ्क्रिटको सहर बन्यो । उद्योग, कलकारखाना, सडक सवारी अत्यधिक बढे । मौसमी अवस्था पूरै बदलियो । अचेल यता डाँफे आउँदैन । मुनाल नाँच्दैन । गुराँस फुल्नकै लागि लेक चढिसके ।
काठमाडौँ उपत्यका एउटा प्रतिनिधि स्थान मात्र हो । सिङ्गै नेपालमा बढेको जनसङ्ख्याको चाप, यहाँको भौतिक अस्तव्यस्तताले जतासुकैको मौसम पहिलेको तुलनामा तातो बन्दै गएको छ । तातो बढेकै कारण तराईका लामखुट्टे हिमाल चढ्न थालिसके । सेता हिमालमा तातोले कालापत्थरको छिर्का बढ्न थालेका छन् ।

विश्व परिवेशकै सवालमा पनि विश्वव्यापी उष्णता अहिलेको ज्वलन्त बहसको विषय बनेको संस्कृतिविद् ग्वंगः सुनाउनुहुन्छ । कसरी संसारमा तातो बढ्दैछ भन्ने विषयमा उहाँको एउटा पुरानो स्मरण छ । २०२३ सालताका ग्रामीण विकास संस्थामा काम गर्दा अत्याधुनिक मल कारखाना हेर्न कोरिया पुग्नुभयो । त्यहाँको एउटा प्रान्तमा नेपालको धरहराभन्दा पनि ठूला फलामका पाइपभित्र मल बन्दै थिए ।

त्यो बेला देखेको तथ्य उहाँले भन्नुभयोे, “त्यो पाइपले हावा तान्दोरहेछ, अक्सिजन त्यो हावाबाट छुट्याएपछि, बाँकी नाइट्रोजनलाई रासायनिक प्रतिक्रिया गराएर चिनीमल बनाइँदो रहेछ ।” यसरी मल बनाउँदा ठूलो आर्थिक खर्च, शुद्ध हावाको कटौती र रासायनिक प्रतिक्रियाले उत्पन्न हुने प्रदूषणले ग्रिन हाउस ग्यासको बढोत्तरी हुने गरेको अनुमान उहाँ गर्नुहुन्छ ।

नेपालको दोष छैन
वन तथा वातावरण मन्त्रालयस्थित जलवायु महाशाखा प्रमुख राधा वाग्लेका अनुसार समग्रताको हिसाबमा पृथ्वीको तापक्रम वृद्धि हुनुमा नेपालको योगदान नगन्य छ । तापक्रम वृद्धिको एक मात्र कारण ग्रिन हाउस ग्यासको असर हो । सन् २०२१ मा इन्टरगभर्मेन्टल प्यानल फर क्लाइमेट चेन्ज नामक निकायको प्रतिवेदनले विश्वमा औद्योगिक युग सुरु भएपछि पृथ्वीको तापक्रम बढेको उल्लेख गरेको छ । यसअघि मानवका कारण वा प्रकृतिको आफ्नै चक्रका कारण तापक्रम बढेको हो भन्ने दुईथरी बहस र विवाद कायम थिए । त्यस प्रतिवेदनले अन्य प्राकृतिक विषयभन्दा मानव समुदायको चरम विकास आशक्तिले तापक्रम बढ्दै गएको हो । औद्योगिक विकासले हरित गृह ग्यास पृथ्वीको माथिल्लो तह बनेर बसेको छ । यो ग्यास कार्वनडाइअक्साइड, जलवाष्प, मिथेन, नाइट्रोजन अक्साइड, ओजोन र क्लोरोफ्लोरो कार्बनको समग्र रूप हो ।

यो तह बाक्लिँदै गर्दा पृथ्वीमा औद्योगिक उत्पादन भएपछि बढेको तातो माथि जानबाट रोकिएको छ । यसले हरेक वर्ष पृथ्वीको तापक्रम वृद्धि गरिरहेको छ । वैज्ञानिकहरूले प्रमाणित गरेको यो तथ्यले पृथ्वी आफैँ समयक्रमअनुसार तातिँदै जान्छ भन्ने अनुमानलाई गलत साबित गरिसकेको छ । मुख्यगरी औद्योगिक उत्पादन, खनिज तलेको अत्यधिक उपभोग गरेर सवारी साधन चलाउँदा, मिथेन ग्यासको तीव्र उत्पादन, जङ्गलको विनाशलगायत कारण ग्रिन हाउस ग्यास बढ्दो क्रममा छ ।

नेपालले नेट जिरोको लक्ष्य राखेर ग्रिन हाउस ग्यास उपभोगलाई घटाउने अभियानमा अगाडि बढेको महाशाखा प्रमुख वाग्ले सुनाउनुहुन्छ । नेपालको योगदान निकै न्यून ०.५ प्रतिशतभन्दा कम छ तर विकासको चरणमा रहेको नेपालले खनिज पदार्थको उत्पादन र उपभोग तीव्र रूपमा गरिरहेको छ । यससँगै दाउरा, ग्यास, गाईवस्तु पालनलगायतका गतिविधिले पनि ग्रिन हाउस ग्यास केही न केही बढाएको वाग्ले औँल्याउनु हुन्छ । न्यूनीकरणमा जान त्यति सहज छैन् तर नेपाल सरकारले केही निर्दिष्ट उपायलाई प्राथमिकता दिएको छ । अन्य ऊर्जाभन्दा पनि विद्युत् ऊर्जाको खपतलाई बढाउने, नवीकरणीय ऊर्जाका रूपमा गोबरग्यास, सोलार, हावाबाट बिजुलीलगायतलाई बढावा दिने । अर्कोतर्फ हाल कायम रहेको ४५ प्रतिशत वनजङ्गलको अवस्थालाई कायम राख्ने र त्यसलाई दिगो विकाससँग जोडेर अगाडि बढ्ने योजना छ ।

नेपालमा तापक्रम वृद्धि
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपाल जलवायु परिवर्तनको जोखिम र संवेदनशीलताका आधारमा विश्वका देशहरूमध्ये नवौँ उच्च जोखिमयुक्त राष्ट्रमा पर्छ । त्यस्तै बहुप्रकोप जोखिमका हिसाबले २०औँ स्थानमा पर्छ ।
सन् २०११ को अध्ययनको आधारमा नेपालमा बर्सेनि ०.०५६ डिग्री सेन्टिग्रेड तापक्रम बढिरहेको छ तर नेपालमा कहिलेदेखि तापक्रम बढ्न थाल्यो भन्ने यकिन तथ्य छैन । विज्ञ राधा वाग्लेका अनुसार नेपालले १.५ डिग्रीबाट माथि तापक्रम बढ्न नदिएर त्यसमा सीमित राख्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा बारम्बार व्यक्त गर्दै आइरहेको छ । उहाँले भन्नुभयो, “तर अहिलेसम्म १.१ डिग्री बढिसकेको छ, अब भनेको ०.४ डिग्री सेन्टिग्रेड मात्रै बढ्न बाँकी छ ।”

अझ हिमाल, पहाड र तराईको विविधतायुक्त भौगोलिक अवस्थाका कारण हिमाललाई आधार लिने हो भने अझ बढी तापक्रम बढेको मान्न सकिन्छ किनभने नेपालका हिमालमा हिउँ कम पर्ने तर धेरै पग्लिने क्रम बढेको छ ।

सन् १९५० पछि लगातार बढ्दैछ तातो
जलवायु परिदृश्य प्रवृत्ति विश्लेषण २०१७ को अध्ययन प्रतिवेदनअनुसार नेपालमा सन् १९५० पछिको दशकहरू बढी न्यानो हुँदै गएका छन् । गर्मी र जाडो दुवै समयमा यो न्यानो बढ्दै गएको हो । अध्ययनले पृथ्वीको सतहमा विश्वव्यापी तापमान १.२ डिग्री सेन्टिग्रेड प्रतिवर्ष बढ्दै गएको छ । जस कारण हिमालका हिउँ पग्लने क्रममा वृद्धि भएर समुद्री सतह हरेक वर्ष २० सेन्टिमिटरले बढ्दैछ ।

सन् १८५०–१९०० को दशकभन्दा २००१–२०२० को तापक्रम ०.९९ डिग्री सेन्टिग्रेडले बढिरहेको मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थी बताउनुहुन्छ ।
विश्वमा अति गर्मी १७ वटा वर्षमध्ये १६ वटा वर्ष सन् २००० पछिको रहेको पाइएको छ । खडेरीले बढाएको तापक्रमकै कारण सन् २००६ र २००९ मा नेपालको खाद्यान्न उत्पादन चार लाख टनले घटेको थियो । तापक्रम वृद्धिजस्ता जलवायुजन्य जोखिमका कारण सन् २०५० सम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादनमै पनि तीन प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।

नेपालको परिवेशमा औसत तापक्रम करिब ५० वर्षमा ०.८–१.३ डिग्री सेन्टिग्रेडसम्म बढेको पाइएको छ । प्रतिवर्ष अधिकतम तापक्रम ०.०५६ र हिमालमा ०.०८ डिग्री सेन्टिग्रेडको बढोत्तरी रहेको छ ।

यसरी बढिरहेको तापक्रमले गर्मीका दिनहरू वृद्धि गरिरहेको छ । चिसा दिनहरूको सङ्ख्या घट्दै गएको अवस्थी औँल्याउनुहुन्छ । यस्तै अवस्था कायम रहेमा २०३०, २०५० र २१औँ शताब्दीको अन्त्यसम्म क्रमशः १.१, १.८ र ३.८ डिग्री सेन्टिग्रेडका दरले तापक्रम बढ्ने अनुमान इन्टर गभर्नमेन्टल प्यानल अन क्लाइमेट चेञ्ज नामक अन्तर्राष्ट्रिय फोरमले गरेको छ । यसरी बढेको तापक्रमले हिम गलनलाई बढावा दिँदै प्रतिवर्ष ८०९ मिलिमिटर पानीमा परिणत हुने अनुमान गरिएको छ । इसिमोडको अध्ययनअनुसार तापक्रम वृद्धिको दर २ डिग्री सेन्टिग्रेड भएमा दुईतिहाइ हिउँ गलन हुने जनाएको छ । सन् २१०० सम्म १.५ डिग्री सेन्टिग्रेड तापक्रम कायम राख्न सकेको अवस्थामा पनि हिन्दकुश हिमालय क्षेत्रका तापक्रम १.८ डिग्री पुग्नेछ । नेपालजस्तो पर्वतीय क्षेत्रमा तापक्रम २.२ डिग्री सेन्टिग्रेड पुग्नेछ ।
जलवायु परिदृश्य प्रवृत्ति विश्लेषण २०१७ ले नेपालको तापक्रमको मध्यकालीन र दीर्घकालीन रूपमा विश्लेषण गर्दै सन् २०३० देखि २०६५ को अवधिसम्म क्रमशः ०.९, १.१, १.३, १.८ हुँदै ३.६ डिग्री सेन्टिग्रेड पुग्ने अनुमान गरेको छ ।

औसत तापक्रम शताब्दीको अन्त्यसम्म नै बढ्ने क्रममा रहनेछ । तापक्रमको वृद्धि मनसुनपछिका दिन अर्थात् पोस्ट मनसुनमा अधिक रहनेछ । जसअनुसार मध्यकालीन समयको १.३–१.४ र दीर्घकालीन अवधिमा १.८–२.४ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्नेछ । त्यस्तै हिउँदकालीन तापक्रम अनुमान गर्दै यो विश्लेषणले मध्यकालीन र दीर्घकालीन क्रमश : १.० देखि १.२ र १.५ देखि २.० डिग्री तापक्रम वृद्धिको अवस्था रहनेछ । अध्ययनले जलवायुको विषमतामा आउने परिवर्तनको आँकलन गर्दै बढेको तापक्रमले आउँदा दिनहरूमा अहिलेभन्दा थप जाडो र गर्मीको अवस्था ल्याउने प्रक्षेपण गरेको छ ।
यसअनुसार न्यानो रात तथा दिनहरू भने बढ्नेछन् । मध्यकालीन र दीर्घकालीन अवधिमा त्यस्ता दिनहरूको सङ्ख्या क्रमश ः ३० देखि ६८ दिनसम्म वृद्धि हुने जनाइएको छ । यसले चिसा रात र दिनहरूको सङ्ख्या ४५ देखि ५३ प्रतिशतसम्म घटाउनेछ । साथै गर्मीको लहरमा वृद्धि गर्दै कम्तीमा छ दिनसम्म अधिकतम तापमानको दिन मानिसले बेहोर्नुपर्नेछ । जाडोमा हुने शीतलहर भने न्यून हुँदै जानेछ ।

सन् २०२१ को जलवायु प्रवृत्ति विश्लेषणअनुसार अबको समयमा ३.६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि हुने बाटोमा मौसम अग्रसर छ । यसअनुसार अबका दिनमा १२५ प्रतिशतसम्म गर्मीका दिन बढ्नेछन् । न्यानो रातको सङ्ख्या पनि १६० प्रतिशतका दरले बढ्नेछ । चिसा दिनमा ७५ प्रतिशतले कमी आउनेछ । चिसा रातको सङ्ख्यामा पनि ७४ प्रतिशतले कमी आउँदै जानेछ ।
यसले भविष्यमा नेपालको जाडोयाम या गर्मीयाम दुवै न्यानोमय हुने अनुमान गरिएको छ । विश्व बैङ्कको क्लाइमेट चेन्ज नलेज पोर्टलका अनुसार नेपालको औसत तापक्रम प्रतिदशक ०.२३ प्रतिशतका दरले बढिरहेको छ ।

अति न्यानो र जाडो कहिले ?
जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९९५ पछि नेपालमा अधिक तातो र जाडोको अद्यावधिक हुन थालेको हो । यस्तो अधिक तातो र बढी चिसोका कारण नेपालको दैनिक जीवन र सामाजिक, आर्थिक क्षेत्रमा गहन असर परेको विभागले औँल्याएको छ ।
औसत रूपमा देशव्यापी तापक्रम वृद्धि हुँदै गर्दा काठमाडौँ उपत्यकामा जाडोयाममा दिउँसोको तापक्रम घट्दै गएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार सन् १९९१ देखि यताका तीन दशकको जाडो यामको तापक्रम विश्लेषण गर्दा दिउँसोको तापक्रम पछिल्लो दशकमा घट्दै गएको पाइएको हो । उहाँले भन्नुभयो, पछिल्लो दशकमा पहिलेभन्दा दिउँसोको तापक्रम घट्दै गएको छ ।

विश्लेषण गरिएको तथ्यअनुसार तीस वर्षको औसत तापक्रम जाडोयाममा २६ डिग्री सेन्टिग्रेड रहेको छ तर हरेक दस वर्षको छुट्टा छुट्टै गरिएको विश्लेषणले भने अघिल्लो दुई दशकको तापक्रम बढ्दो क्रममा रहेको देखिए पनि पछिल्लो दशकको तापक्रममा गिरावट आएको देखाएको हो । जसअनुसार सन् १९९१ देखि २००० सम्म जाडो यामको दिउँसोको तापक्रम २५.६ डिग्री सेन्टिग्रेड रहेको थियो । त्यसपछि सन् २००१ देखि २०१० सम्म तापक्रम वृद्धि हुँदै २६.३ डिग्री सेन्टिग्रेड पुगेको थियो । बढ्दो क्रममा रहँदा सन् २०१० को एक दिन २७.४ डिग्री सेन्टिग्रेड पुगेको थियो ।
सन् २०११ देखि सन् २०२० भित्रको तापक्रम विश्लेषणले भने अघिल्लो दशकको वृद्धि दरभन्दा कम २६ डिग्री सेन्टिग्रेड कायम भएको देखाएको छ । औसतमा बढ्दै गएको तापक्रम जाडोयामको दिउँसो किन घट्दैछ भन्ने विषयमा थप अध्ययन हुनुपर्ने शाखा प्रमुख कँडेल उल्लेख गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?