logo
२०८० चैत्र १५ बिहीवार

   निर्वाचन आयोग   



विद्युतीय मतदानको तयारी

मुख्य समाचार |


विद्युतीय मतदानको तयारी


चाँदनी हमाल

धुुलिखेल, पुस ९ गते । नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो । उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।

विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ । ‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो ।

नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुुभयो ।

नेपालमा विद्युतीय मतदानको राम्रो अभ्यास नभएकाले विविध खालका चुनौती रहेको दुवाडीले प्रस्ट पार्नुभयो । उहाँका अनुसार डिजिटल मतदानका लागि नेपालमा रोबस्ट प्रणाली नहुनु, कमजोर सुरक्षा प्रणाली, ह्याकिङको उच्च जोखिम, सङ्कलित तथ्यहरूको सुरक्षामा चुनौतीलगायतका व्यवस्थापनगत चुनौती विद्युतीय मतदानका समयमा आउन सक्ने औँल्याइएको छ ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानुनी तथा आर्थिक पक्षको खोजीमा आयोग लागेको सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?