logo
२०७८ माघ ८ शनिवार



राणाजीका बिहे

शनिवार |


राणाजीका बिहे


प्रकृति अधिकारी

श्री ३ चन्द्रशमशेरले राणा खलकभित्र वर्ग विभाजन गरे– ए, बी र सी । जातभित्रकै बाजागाजासहित भित्र्याइएकीबाट जन्मिएकाहरू ‘ए’ वर्गमा परे । जातभित्रकै तर अनौपचारिक रूपमा भिञ्याइएकी वा नभिञ्याइएकीबाट जन्मिएकाहरू ‘बी’ वर्गमा परे । जातबाहिरकीबाट जन्मिएकाहरू ‘सी’ वर्गमा परे । श्री ३ का सन्तानले राजपरिवारसँग बिहे गरेपछि माथिल्लो दर्जाको सैनिक पद पाउँथे । वीरशमशेरले शाहज्यादीसँग विवाह गरेपछि कर्णेल दर्जा पाएका थिए । उबेला पदासिन रहेका राणाजीका सन्तानको बाजागाजासहित गरिएका विवाहको विवरण कुमारीचोक अड्डामा सुरक्षित राखिए । नेपाली कागतमा लेखिएका ती विवरण अहिले ऐतिहासिक दस्तावेज बनेका छन् । राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन् ।

तत्कालीन श्री ५ वा श्री ३ का सन्तानको बिहे हुँदा त्यो बेलाका धेरै सरकारी कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइन्थ्यो । ती कार्यालयका हाकिम वा कारिन्दा यो बेला निकै व्यस्त रहन्थे । भन्सार गोश्वारा, हात्तीसार गोश्वारा, अपिल अड्डा, कौसितोषाखाना, चन्द्रबत्ती प्रकाश बिजुली अड्डा वा अन्य कार्यालय, सबैलाई कामको बाँडफाँट गरिन्थ्यो । रुक्का वा साधारण एक छापे पुर्जी (सनद) सम्म गरिएको देखिन्छ । कम्यान्डर इन चिफबाट सही गरी अह्रोट लेखिएकालाई एक छापे पुर्जी भनिन्थ्यो । बिहेका सवालमा दुई छापे पुर्जी आवश्यक पर्दैन थियो । प्रजातन्त्र आइसकेपछि अर्थात् २००८ साल वैशाखमा श्री ३ का सेवामा रहेका अड्डाहरू खारेज गरिए । हुकुम निक्सारी, जिन्सीखाना, श्री ३ ढुकुटी, सिंहदरबार खर्च अड्डा, घरकाज नगदी फाँट, चिफ नोकरान, नगदी तहबिल, सिंहदरबार बही बुझ्ने, श्री ३ गोठ गोश्वारा, सिंहदरबार लठ्ठी पालो, असववखाना लगायतका ४६ वटा अड्डा खारेजीमा परे ।
प्राइमिनिस्टर चन्द्रशमशेरले पाठशालाको नियमन गर्न त्यो बेला पाठशाला बन्दोबस्त (अड्डा)को स्थापना गरेका थिए । श्री ३ का बिहेमा पाठशाला बन्दोबस्त अड्डा पनि जिम्मेवारीबाट मुक्त हुन्थेन । श्री ३ का नाति महावीर र मनशमशेरको विवाहको निर्णयले पाठशाला बन्दोबस्तको जिम्मेवारी यस्तो दिइएको थियो–
पाठशाला बन्दोबस्तका हाकिम कारिन्दाले पुर्जी हेरी श्री नानी मेजर जनरल मनशमशेर जङ्गबहादुर राणाको विवाह यही ८८ साल वैशाख मैन्हामा हुने भयाको हुनाले सो विवाहमा इस्कुलका पण्डित लम्बरी पण्डितहरूलाई तपसिलका टायेममा सामेल गरी तपसिलमा लेखियाबमोजिम गर्ने काम गर

तपसिल
वैशाख १९ गतेका दिन साहीपाटामा हात्ती चढी जान खटिएका पण्डित जतिलाई सो दिन बिहान ६ बजे टुँडिखेलमा सामेल गरी प्रोसेसनका मास्टरसँग सोधी हात्ती चढ्ने पण्डितहरूलाई हाली चढाइ पठाइदिनू.......१
वैशाख १९ गते जन्ती जाने दिन दिनको १२ बजे सुका तोडा लाउने सह्रका ५०० सम्म खानेलाई टङ्गाल दर्बारमा अरूलाई टुँडीखेलमा सामेल गराउनू......२
भोलिपल्ट जन्त फर्कने दिनलाई दिनको १२ बजे ५०० सम्म खानेसम्मलाई फोहराघरमा अरूलाई टुँडिखेलमा सामेल गराउनू........३
इति संवत् १९८८ साल वैशाख १४ गते रोज १२ शुभम् ।
कुमारीचोक अड्डाका विवाहसम्बन्धी सम्पूर्ण लिखत अध्ययनबाट त्यो बेला श्री ५ र श्री ३ का जन्ती भोलि वा पर्सीपल्टमात्र फर्किन्थे भन्ने थाहा हुन्छ । रातभर नाचगान गरिन्थे । भन्सारदेवी नाच, त्रिपुरेश्वरको नाटक नाच, त्रिपुरासुरको देवी नाच, भादगाउँको महाकाली नाच, भादगाउँकै रामचन्द्रको नाचलाई विवाहमा सामेल गराइन्थ्यो । १९८३ सालमा बबरशमशेरकी जेठी छोरीको विवाह भारतीय राजा तिलोहीसँग हुँदा भारतका प्रसिद्ध कथावाचक पण्डित राधेश्यामलाई विवाह स्थलमा कथा वाचन गर्न लगाइएको थियो ।

जन्तीको प्रोसेसन
विवाहका लागि ‘प्रोसेसन’ तयार गरी छपाइन्थ्यो । त्यसमा साइपाटादेखि जन्ती फिर्दासम्मका प्रोसेसन उल्लेख हुन्थ्यो । साइपाटाको र जन्तीको प्रोसेसन फरक हुन्थ्यो । चाँदीले बाँधेको लठ्ठी लिएका महाने नाइके सबैभन्दा अगाडि हुन्थे । त्यसपछि क्रमशः उर्दीको पोसाक लगाएका भाला लिएका चप्रासी, बढाञी गर्ने गणेशदलका पल्टन, पञ्चेबाजा, धिमेबाजा, गुजरातीबाजा बजाउनेहरू, भाला लिएका रिसल्ला घोडचढी आदिलाई अगाडि लगाइन्थ्यो । त्यो बखत कागजको हात्ती, घोडा, फूलमाला आदि बनाइन्थ्यो र त्यसलाई तान्ने वा बोक्नेहरू प्रोसेसनको तोकिएको स्थानमा हुन्थे । हौदामा सवार छ जना पण्डित, किस्ती बोक्ने पल्टन, बडागुरुज्यू, गुरुज्युका साथै अन्य राणाजी प्रोसेसनको तोकिएको ठाउँमै रहनुपथ्र्याे । पदअनुसार मखमली वा पित्तले हौदाको व्यवस्था हुन्थ्यो । हात्तीपछि मोटरको पालो आउँथ्यो । सुनको साज कार्चाेपी झुल भएको मखमली हौदामा कम्यान्डर इन चिफ, पश्चिम कमान्डिङ जनरल आदि रहन्थे । प्रोसेसनको अन्तिममा निजामती घोडचढी अफिसर, पैदल निजामती अफिसर, बर्दबहादुर ब्यान्ड, नर्सिङदल प्लाटुन, गहनाको सन्दुस, कारिन्दा, साहु महाजन र नर्सिङसुर्जे पल्टन रहने व्यवस्था हुन्थ्यो । छ वा चार वटा घोडावाल बग्गीमा दुलाहालाई राखिन्थ्यो र प्रोसेसनको ४९/५० औँ स्थानमा दुलाहा हुन्थे । गहनाको सन्दुसका निमित्त खाकी पोसाक लगाएका हुँदा र सिपाहीको ‘स्कर्टिङ’ रहन्थ्यो । प्रोसेसनको नोटमा लेखिएको हुन्थ्यो, “पन्चाइबाजा नाच् इत्यादिले प्रोसेसनमा जथाभावी हिँड्न नपाउन् भन्नानिमित्त मिलिटरी स्कुल्बाट इन्स्टक्टरहरू दी बन्दोबस्त मिलाउनेछ ।” अन्माउँदा र भित्रिँदा पाँच तोपको सलामी दिइने कुरा प्रोसेसनको विवरणमा उल्लेख गरिएकै हुन्थ्यो ।

जन्ती हिँड्ने बाटोमा बाँसको ढोका बनाइन्थे । ढोका बनाउन चाहिने बाँसको सङ्ख्या पुर्जीमा उल्लेख हुन्थ्यो । बाँस नागार्जुनबाट ल्याइन्थे । १९८८ सालमा सत्यशमशेरको विवाहका लागि ढोका बनाउने पुर्जीमा नै लेखिएको थियो, “ढोका बनाउने काममा रहेका ज्यालादारी बाहेक पल्टनियाँ हुँदा सिपाहीहरूलाई काम गरेका दिन रोजको ।३ तीन पैसाका दरले खाजा दिनू ।” नक्साल भगवती र डिल्लीबजारबाट टङ्गाल जाने दोबाटोमा ढोका बनाउन सुवेदार दुई जना, जमदार तीन जना, हुदा पाँच जना र सिपाही ८० जना प्रयोग गर्न पाउने गरी पुर्जी जारी भएको देखिन्छ । “यस कामलाई ज्याला खाजा दिन र डोरीसमेत अरू चाहिने माल खरिद गर्नाके मोह १०० तिम्रो भर्पाइ गराइ दिनु भन्ने नगदी अड्डाका नाउमा पुर्जी भै गयेको छ । सो रुपैयाँ जिम्मावारी ल्याई वासिल बाँकीमा आम्दानी बाँधी काम काममा खर्च गरी काम खतम भयपछि सो वासिल बाँकी र रुपैयाँ बाँकी भया बाँधी रुपैयाँ समेत नगदी अडैमा बुझाइ दिनू ।” लेफ्टेन्ट गजेन्द्रबहादुर महतका नाममा जारी पुर्जीमा भनिएको थियो, “सो वासिल बाँकी बुझाउँदा काम तमाम भयाको ३५ दिनभित्र बुझाइदिनू । बाटोमा तोरण झण्डा राखी सिगार्ने काम पनि तिमीले नै गर्नेगरी बक्सेको छ । दफा दफामा लेखियाबमोजिम गर्नू ।” बाटो सिँगार्न तीन सय रुपियाँ उपलब्ध गराएको देखिन्छ भने यी काममा संलग्न अन्यसहित १०२ जनालाई दैनिक ५० पैसाका दरले पारिश्रमिक उपलब्ध गराउनसक्ने अधिकार दिइएको थियो ।

हात्तीसार गोश्वाराका हाकिम कारिन्दालाई ‘फलानो दिन स्वयंवर हुने भएकाले सुनको साज भएको हौदा सिंहदरबारमा लैजाने काम गर’ भनेर अह्रोट हुन्थ्यो । भन्सार गोश्वाराका हाकिमलाई जन्त जाने र जन्त फर्किने दिन ठूला साहु महाजनलाई सामेल गराउने जिम्मेवारी दिइन्थ्यो । गुरुराजलाई ‘साइपाटामा स्वस्तिवाचन भनी हात्ती चढी जाने पण्डितहरूलाई उर्दी खटाइ पठाइदिनु होला’ भनेर लेखोट पठाइन्थ्यो । दुलाहाका तर्फको जग्गे बनाउने काममा खटिएकाहको जिम्मेवारी कम्पुकोतका कर्णेललाई दिइन्थ्यो । मसला भण्डारका रामबहादुरका नाममा जारी यस्तो पुर्जी फेला पर्छ, “बेहान सबेरै दुध चिया जल पान र पान सुपारी मसला चुरथ (चुरोट भनिएको हुनुपर्छ) सुर्तीसमेत ठिक गरी ठाउँठाउँमा लगी राख्नुपर्ने राखी टायेम टायेममा बुझाउने कामके वैशाख १२ गतेदेखि खटाइ पठाउने ।” पानमसला फरक फरक पदका व्यक्तिलाई फरक फरक स्थानमा राखेर खुवाउने चलन हुन्थ्यो ।
सहोदरलाई पनि वैवाहिक कार्यमा खटाउन मौखिक आदेश दिँइदैन थियो । लिखित रूपमा आदेश थमाइन्थ्यो भन्ने कुरा २००५ साल माघको एउटा पुर्जीले प्रष्ट पार्छ–

“श्री भाइ पकजके सुभाशिक । उप्रान्त श्री नानी ले.ज. सुरशमशेर जंगबहादुर राणाका छोरी मैञाको विवाहको कामलाई तपसिलका काम काममा लेखिया बमोजिम गर्नु भन्ने श्री ३ महाराज दाज्यैज्यूबाट हुकुम बक्सेको हुनाले हुकुम बक्से मुताविक तपसिलका काममा तपसिल बमोजिम खटाइ पठाइदिने काम गर ।” तपसिल भनी तिलकको सामान ल्याउन, कागजको फूल बोक्नेहरूको व्यवस्थापन गर्न, जन्ती फर्काउने दिन ढोकामा मानिस खटाउनलगायत कामको जिम्मेवारी मिति र समयसमेत दिइएको पाइन्छ ।

भोजभागको चलन
बिहेमा भोजभाग दिने चलन अघिदेखि नै थियो । हैसियतवालालाई असर्फी नै दिइन्थ्यो भने तलकाहरूलाई पदअनुसार भोजभाग थमाइन्थ्यो । श्री ५ महाराजाधिराजका छोरी मैञाको विवाहमा भोजभागका सन्दर्भमा २००० साल भदौ २१ गते एक छापे पुर्जी जारी भएको देखिन्छ । “निमन्त्रणा भयाका १७ भाइ राणाजी र साहेबज्यू, चौतरियाहलाई समेत भोजभाग बाड्ने भएकोले १७ भाइ राणाजी र अरू राणाजी साहेबज्यू चौतरियाहलाई र जंगीमा कप्तानसम्म र निजामतीमा नायेब सुब्बासम्म र १२०० सम्म खाने डाक्टर, मास्टर, प्रोफेसर, इन्जिनियर, वैद्य, पण्डित, मेनेजर, अकान्टेन्टलाई र सवारीसाथ आउने श्री ३ महाराजको र श्री कम्यान्डर इन चिफका गार्ड, आठपहरिया, रिसल्लाह र अरू जनरलहका आठ पहरिया, निमन्त्रणावालहको ड्राइभर...” भनी उल्लेख भएको सो पुर्जीअनुसार भोजभाग पाउने कोको हुन्थे भन्ने प्रष्ट हुन्छ । २००० साल भदौ २४ गते भएको राजपरिवारको विवाहमा भोजभाग दक्षिणावापत खर्च भएको रकम मङ्सिरको लिखतमा देख्न पाइन्छ । श्री ३ महाराजलाई दुई वटा, श्री ३ महारानीलाई दुई वटा, श्री ३ कान्छी महारानीलाई एउटा, पश्चिम कमान्डिङ जनरल रानीलाई एउटा असर्फी गरी ८४८ रुपियाँ ५० पैसा खर्च भएको देखिन्छ । पूर्व कमान्डिङ जनरल, दक्षिण कमान्डिङ जनरल र उत्तर कमान्डिङ जनरलका रानीका लागि जनही १० रुपियाँ, श्री ५ जेठा साहहज्यादीका लागि ३२ रुपियाँ, ऐजनका छोरी मैञाका लागि ३२ रुपियाँ, ऐजनका विवाह भइसकेका छोरी मैञाका लागि ३२ रुपियाँ, गुरु पुरोहितका लागि ७१ रुपियाँ, सात जना गुरुज्यूका लागि ५० रुपियाँ लगायतका आधारमा भोजभाग दक्षिण खर्च भएको देखिन्छ ।

२००७ साल जेठ १६ गतेको लेखोट “सुब्बा कृष्णलालले पूर्जी हेरी श्री मिनिष्टर याण्ड कम्यान्डर इन चिफ दाज्यैज्युका नाती श्री ले.क. जगदीशसम्सेर जंगबहादुर राणाका विवाह जेष्ठ २१ गतेका दिन निम्तोमा टँुडिखेलमा सामेल भयेका सुनको तोदादेखि मुनीको नौसिन्दासम्मलाई भोजभाग उसै दिन बाड्ने तिमी र ख. चिरन्जीवी ख. टुंकनाथलाई षटाइ बक्सेको छ चाहिने रुपैञा खर्च अडाबाट ली दस्तुर काइदा माफिक भोजभाग बाडी बाकी रहेका रुपैञा र बाडिएको फाट खर्च अडामा बुझाइदिने काम गर” भन्नेबाट भोजभागका लागि रकम पनि अड्डाबाट झिकिन्थे भन्नेमा द्विविधा हुनु परेन ।
हुन त धेरैअघिदेखि नै राजाले विवाहका बखत पण्डित, सुसारे आदिलाई घरखेत दिने चलन चलेको थियो । १८८० साल माघ सुदी ९ मा राजा राजेन्द्रले ‘विवाहका चतुर्थी कर्ममा हाम्रा बाहुलीबाट सङ्कल्प भयाका खेतमध्ये खेत मुरी २५ तस्को सहर बमोजिमको घडेरीसमेत विर्ता गरिबक्स्याको मोहर ताम्बापत्र गरिबक्स्यौँ’ भन्दै कृष्ण पाध्या ढुङ्गानालाई जग्गा दिएको देखिन्छ । यसैगरी सोही समयमा काठमाडौँ सहरको इन्द्रचोक चोखाछेंभित्र गङ्गादत्त अधिकारीलाई घर दिइएको थियो । ती सम्पत्ति जफत गर्न नपाउने, घरमा जाने पानीका नाल कायम राख्नुपर्नेलगायतका व्यहोरा उल्लेख गर्दै मोहरपत्रमा चेतावनी दिइएको हुन्थ्यो– ‘जो यस बन्देजमा रहैन सो यस लोकमा भयाको पातकी होला ।’

उबेला विवाहमा हात्ती दिने चलन पनि थियो । ‘मिनिष्टर यान कम्यांडर इन् चिफ’ जनरल मातवरसिंह थापा बहादुरलाई १९०१ सालमा तत्कालीन अधिराजकुमारका विवाहमा १९०१ सालमै मोतीप्रसादले पक्रिएको मकुना (हात्तीको नाम) मत्ता हात्ती उपहार दिइएको थियो । १९०० सालमा तत्कालीन युवराजको विवाहमा कल्याणी, मढेउली, मङ्गल्यानी आदि सुसारेलाई इनाम स्वरूप जघियाखोर खेदाका हात्ती दिइएको थियो । सुर्खेत हात्तीसारका हात्ती काजी बदरीवाण शाहीलाई दिइएको थियो । त्यो बेला कप्तान डिल्लीसिंह बस्न्यात, डिठ्ठा विद्यानाथ पाध्या, भैरवलाल झा, दरोगा कीर्तिदत्त रिमाल, देवीदाश पाध्या लगायतलाई रुक्का जारी हुन्थ्यो र यसरी दिइएको हात्तीको वही बुझ्दा असुलीका रसिदबमोजिम गरिन्थ्यो ।

राज्यकोषबाट खर्च
श्री ५ र श्री ३ का सन्तानहरूको विवाह खर्च राज्यकोषबाटै हुन्थ्यो । २००५ सालमा आइपुग्दा गोडधुवा वापत राणाजीहरूले देसी नोट पाँच सयसम्म दिएको देखिन्छ । नजिकका आफन्तजनलाई विवाह खर्च पाँच हजार रुपियाँसम्म राज्यकोषबाटै दिने चलन कुमारीचोकमा रहेका ढड्डाले प्रष्ट पार्छ । मोफसलमा रहेका कतिपय राणा वा कारिन्दाले बिहे खर्च श्री ३ महाराजमार्फत राज्यसँग माग्ने चलन पनि थियो । यस्ताहरूलाई गरिबका लागि स्थापित कोषबाट बढीमा पाँच सय रुपियाँसम्म दिइएको देखिन्छ ।

१९९९ साल वैशाख २२ गते पाल्पा तोसाखानाका बडा हाकिम नाममा जारी एउटा रुक्का– “...हेमजंग राणााले छोरा प्रतापजंग राणाको विवाह गर्न खर्च पाउ भनी विन्तीपत्र चढाइ पठाएको बेहोरा हाम्रा हजुर्मा जाहेर भयो । निज हेमजंग राणालाई छोराको विवाह गर्ना निमित्त मोह ४०० दीनोद्धार फन्डबाट बक्सेको छ । विवाह हुने पक्का भया पछी सो मोह ४०० निजको भर्पाइ गराइ दी सो भर्पाइ पठायेपछि भर्पाइ बमोजिम मोह ४०० दीनोद्धार फन्डबाट खर्च लेखी पाल्पा तोसाषानाका आम्दानीमध्ये आयेको भनी सदर मुल्कीषाना दाखिल गरी कवज ली सो कवज पाल्पा तोसाषानामा पठाइदिनु भन्ने श्री नानी कम्यान्ड इन चिफका तहवीलको सुब्बा नरेन्द्रराज जोशीका नाउमाआजका मितिमा खड्ग निसाना भै गयको हुनाले सोबमेजिम विवाह हुने पक्का भया पछि भर्पाइ गराइ दी सो भर्पाइ सुब्बा नरेन्द्रराज जोशी कहाँ पठाइदिनु...।” झाँगाझोलीका छत्रप्रतापजङ्ग राणाले दोस्रो विवाह गर्न खर्च माग्दा १९७४ साल असोज १६ गते चार सय रुपियाँ उपलब्ध गराउन सनद भएको देखिन्छ । 


बिहेमा श्रीपेच
ओहोदावाल राणाका छोराहरूले बिहेमा श्रीपेच लगाउने चलन थियो । साहित्यकार बालकृष्ण समले ‘मेरो हीराको श्रीपेच हुमाउ कल्की हीरामोतीका गहनाहरू र तासको जामा थियो’ भनेर बयान गरेका थिए । कन्याले हीराको मुकुट लगाउने चलन थियो । समको विवाह त्यो बेला १५ हजार रुपियाँमा भएको थियो जबकी उनका दाइ पुष्करशमशेरको बिहेमा ४० हजार रुपियाँ खर्च भएको थियो भन्दै उनले लेखेका थिए–
‘दाज्यूको विशेष भड्किलो थियो ।’
मृगेन्द्रशमशेरका छोरा तथा राजनीतिज्ञ सागरशमशेर जबराले त्यो बेला विवाहमा श्रीपेच लगाउने चलन रहेको सुनाउँदै भने, “आफ्नो हैसियतअनुसारका श्रीपेच हुन्थे । नेपालमा श्रीपेच लगाउन बन्द गरिएपछि नेपालभित्र बिहेमा श्रीपेच लगाउने चलन हट्यो तर भारतमा गई बिहे गर्नेहरूले श्रीपेच बोकेरै जान्थे ।” राजा महेन्द्रले श्री ५ ले मात्र श्रीपेच लगाउन पाउने नियम बनाएका थिए ।

विन्तिपत्र
उप्रान्त बागका श्री जेठा साहेबज्यूका छोरी मैञाको र हाम्रा माहिला छोराको विवाह गन्र्या सायेत असारका २३ दिन जादाको ठेगान भयाको हो सो विवाहलाई दुलही पट्टीबाट केही कुराले अट्काउ हुन्या नहुन्या हजुरबाट तजवीज गरी सो कुरा श्री ३ महाराजबुबाज्यूका हजुरमा विन्ति चढाइ हुकुम भया बमोजिमको जवाफ पर्सी दिन भरमा लेषी पठाइ बक्स्या बढीया होला । श्री पूर्वतर्फका कम्यान्डीङ जनरल जगत जङ्ग बहादुर राणाके दण्डबक्से वा सहस्रम
इति सम्वत् १९३५ साल मिति आषाढ बदि ९ रोज २ शुभम् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?