logo
२०८१ बैशाख ४ मंगलवार



दश बुँदे पूर्णरुपमा कार्यान्वयन गर्ने एमालेको निर्णय, कार्यदलबाट राजीनामा दिने रावलको घोषणा

राष्ट्रिय |


दश बुँदे पूर्णरुपमा कार्यान्वयन गर्ने एमालेको निर्णय, कार्यदलबाट राजीनामा दिने रावलको घोषणा


काठमाडौं, कात्तिक ५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठकले दश बुँदे सहमति पूर्णरुपले कार्यान्वयन गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले दश बुँदे आमरुपमा कार्यान्वयन भइसकेको र बाँकी रहेका क्षेत्रहरुमा पनि यो कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी, एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमालेले रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता पनि दिएको छ । जसमा, सह–संयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलर र दीपक देवकोटालाई मनोनयन गरिएको उहाँले बताउनुभयो । एक सदस्य भने पछि मनोनयन गरिनेछ ।

२०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेकाहरू दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु हुन योग्य रहनुहुने उहाँले बताउनुभएको छ । महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने र यसका लागि निर्वाचन आयोग समक्ष पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।
दशौं राष्ट्रिय महाधिवेशनको आवश्यक मापदण्ड तय गर्न एमालेको स्थायी कमिटीको बैठक कात्तिक ११ गत र केन्द्रीय कमिटीको बैठक कात्तिक १२ गते फेरि बस्नेछ ।

तर एमाले स्थायी कमिटी सदस्य डा. भीम रावलले भने दश बुँदे कार्यान्वयन सम्बन्धमा स्थायी कमिटीको बैठकमा विमति राख्नुभएको छ । दश बुँदे सम्बन्धमा असन्तुष्ट नेता रावलले भोलि नै राजीनामा दिने घोषणा पनि गर्नुभयो । पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा पारित भइसकेको र अन्तर पार्टी निर्देशन (अपानी) जारी भइसके पनि यसको कार्यान्वयनमा तत्परता नदेखाइएकोप्रति उहाँको असहमति छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?