logo
२०८० चैत्र १६ शुक्रवार



कोही खुसी, कोही दुःखी

शनिवार |


कोही खुसी, कोही दुःखी


सुकृत नेपाल

नेपालीहरूको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ । दशैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । गत वर्ष कोरोनाले थिचेको दशैँलाई यस पटक धेरैले धूमधामका साथ मनाउने योजना बनाएका छन् । नेपाली कलाकारहरूले पनि दशैँको विभिन्न योजना बनाएका छन् ।

अभिनेता नीर शाह भन्नुहुन्छ, ‘‘मैले नेपाली मौलिक परम्परा र संस्कृतिअनुसार नै हरेक वर्ष दशैँ मनाउने गरेको छु । काटमार गर्ने, बलि दिनेजस्ता विषयमा मलाई खासै चासो छैन । तामझाम पनि मन पर्दैन । कोभिड लागेपछि मेरो रुचि किताबमा बढेको छ ।’’
‘‘दशैँ, धेरै वर्षसम्म कुराकानी नभएका र टाढा बसेकाहरूसँग भेटघाट गर्ने पर्व हो । पोहोर साल कोरानाले खासै दशैँ मनाउन पाइएको थिएन तर यस पटक सबैलाई मेरो यही सल्लाह छ कि दशैँ मनाउनुहोस् तर सावधानी अपनाएर’’, सल्लाह दिँदै उहाँले भन्नुभयो ।

साथीभाइ, घरपरिवार र आफन्तबीच भेटघाट तथा खानपानको एउटा सुनौलो अवसर पनि हो दशैँ, सँगसँगै मान्यजनहरूको आशीर्वाद ग्रहण गरी जीवनमा अझै उन्नति र प्रगतिपथतर्फ लम्कन प्रेरित गर्ने पर्व हो यो । दशँंैलाई कतिपयले सम्बन्ध नवीकरण गर्ने समयको रूपमा पनि लिन्छन् भने धेरैजसोले घर फर्कने मौसमको रूपमा लिन्छन् ।

नायिका रेखा थापाले दशैँमा विशेष योजना केही बनाउनु भएको छैन रे । ‘‘हामी अझै पनि जोखिममुक्त भइसकेका छैनौँ । यस वर्ष धेरैले आफन्त गुमाउनुभएको छ । सबैले भ्याक्सिन लगाउन पाएका छैनौँ । त्यसैले सावधानी अपनाएर दशैँ मनाउनुपर्छ । शरीर छ त सबै कुरा छ’’, नायिका थापाले भन्नुभयो ‘‘दशैँमा बाल्यकालको जस्ता रमाइलो हुँदैन तर पिङ भने मज्जाले धितमर्ने गरी खेल्छु । जुवातास खासै खेल्न आउँदैन तर मासु भने खान्छु । आमा र अन्य परिवार काठमाडौँमै हुनुहुन्छ । टीकाटाला यतै गरिन्छ ।’’

कलाकारहरू यो वर्ष फुर्सद निकालेर आफन्तसँग दशैँ मनाउने योजनामा छन् । दशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । कोरोना महामारीको कारण यो पर्व मनाउँदा सचेत हुनुपर्ने कलाकारहरूको सुझाव छ ।
गायक युवराज चौलागाईं भन्नुहुन्छ, ‘‘कोरोना चाहेर–नचाहेर हाम्रो जीवनमा प्रवेश गरेको छ । हामी धेरैले आफन्त गुमाएका छौँ । त्यसैले सजगता अपनाउँदै रमाइलो गर्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ । दशैँमा मासु खाने रहर सबैको हुन्छ तर विचार गरेर ठिक्क खानु राम्रो हो ।’’

‘‘अहिले पनि चाडपर्व रमाइलो लाग्छ तर बाल्यकाल विशेष हुने रहेछ । पिङमा चचहुई गरेको, लङ्गुरबुर्जा खेलेका दिन अझै पनि सम्झन्छु । कुनै जिम्मेवारी लिनु नपर्ने भएपछि आफ्नै किसिमको रमाइलो हुँदो रहेछ’’, चौलागाईंले भन्नुभयो ।
यस्तै कलाकार बिपिन कार्की यस पटकको दशैँ आफ्नै जन्मथलो विराटनगरमा मनाउने तयारीमा हुुनुहुन्छ । उहाँ पनि दशैँको खासै त्यस्तो योजना नभएको बताउँनुहुन्छ । फेरि अहिले दशैँ लागेको जस्तो महसुस भएकै छैन् । सपिङहरू त्यस्तो खासै गरिन्न, सानोमा नयाँ लुगा लगाउँदा जुन उत्सुकता र रमाइलो हुन्थ्यो त्यो अहिले हुन्न । दशैँमा जुवातास खासै नखेल्ने कलाकार कार्की जुवातास खेल्दा पैसा हारिन्छ कि भन्ने डर लाग्ने गरेको पनि बताउनुहुन्छ ।

ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दशैँ मनाउने चलन फरक छ तर परम्परागत तवरबाटै आफन्तजनसँग भेटघाट तथा टीकाटालो गरेर दशैँ मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि कमी छैन । दशैँ नेपालीहरूको एक मात्र त्यस्तो ठूलो पर्व हो, जसलाई हरेक वर्ग, जात–जाति तथा भूगोलमा मनाइन्छ ।

हास्य कलाकार केदार घिमिरे (माग्ने बूढा) यस पटक आफ्नो दशैँ नभएको दुःखेसो सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘ठूलो बुवाको छोरा बित्नुभयो, टीका लगाइँदैन । दशैँमा अरूबेलाभन्दा बढी पैसा खर्च हुन्छ तर यस पटक धेरैको दशैँ सस्तो दशैँ हुने उहाँको भनाइ छ । धेरै मान्छेको पैसा यस पटक बन्दाबन्दी र कोरोनाले सकिदिएको छ । त्यसैले पनि यस पटकको दशैँ धेरैले तामझाम तरिकाले मनाउलान् जस्तो मलाई लाग्दैन ।’’

चाडपर्वहरूको आगमनसँगै स्टेजमा व्यस्त हुने कलाकारहरूको गतविधि यस पटक पनि खासै नदेखिने भएको छ । कलाकारहरूका लागि मुरी उब्जाउने सिजनको रूपमा रहेको दशैँ, तिहार यस पटक पनि घरपरिवारमा नै सीमित हुने भएको छ । विभिन्न कार्यक्रम तथा महोत्सवमा दर्शकका बीच रहने कलाकारहरू यसपालि पनि गएको वर्षजस्तै परिवार तथा साथीभाइमै सीमित हुने भएका छन् ।
यता गायक शिव परियार दशैँमा हुने पारिवारिक भेटघाटलाई विशेष मान्नुहुन्छ । विदेशमा कार्यक्रम गर्न जाने कुनै योजना छैन । अहिले आफ्नो नजिकका आफन्तको मृत्युले शिवको परिवार पनि शोकमा छ । टीका लगाउने त कुरै भएन । परिवारका सदस्यसँगै बसेर पीडा भुल्ने प्रयासमा छ परिवार । गायक परियारले भन्नुभयो,

‘‘पहिले पहिलेका दशैँका रमाइला दिनहरू स्मरण गर्दै यो दशैँ बित्नेछ । खानपान मेरो प्रथामिकतामा खासै पर्दैन । परिवार जे गर्दा खुसी हुन्छ म पनि त्यस्तै भइदिन्छु ।’’
रङ्गकर्मी पशुपति राई भन्नुहुन्छ, ‘‘दशैँमा सबैसँग भेटघाट हुने भएकाले रमाइलो लाग्छ । त्यसैले हरेक वर्ष म घर (धरान) जान्छु । भाइबहिनीहरूसँग बसेर रमाइलोका लागि तास खेल्छु । सधैँजस्तै दशैँ रमाइलो गरेर मनाउने योजनामा छु । यस पटक पनि सुँगुरको मासु मज्जाले खाइन्छ ।’ अघिल्लो साल कोरोनाले बन्दबन्दी भए पनि दशैँ मनाउन धरान गएको स्मरण उहाँले गर्नुभयो ।

कमेडी च्याम्पियन बिजेता भरतमणि पौडेल दशैँमा आफू ताप्लेजुङतिर हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘म पूर्णिमाको दिनसम्म एकदमै व्यस्त छु । पुराना साथीभाइ भेट्ने, सुखदुःख सेयर गर्ने, गाउँका समस्या बुझ्नेलगायत कार्य दशैँ बिदामै गर्दैछु । पुराना यादहरू यसपालिको दशैँमा ताजा हुनेछन् । म बिजेता भएपछि नभेटेका साथीहरूलाई भेट्ने र उनीहरूसँग भलाकुसारी गर्ने योजना पनि छ । जुवातास खासै जान्दिन । बरु मासु मज्जाले खाइन्छ । आफूभन्दा ठूलासँग टीका थाप्ने आफूभन्दा सानोलाई टीका लगाउने यही त हो दशैँ ।’’
नायिका स्वस्तिमा खड्काको पनि यस पटक दशैँ छैन । आफन्त बित्नु भएकोले टीका लगाउन हुन्न । टीका नभएपछि रमाइलो कम नै हुन्छ । कामले व्यस्त हुँदा परिवारसँग उहाँले समय बिताउन पाउनु भएको थिएन । अब यो दशैँमा परिवारसँग बस्ने उहाँको योजना छ ।
दशैँलाई मीठो खाने, राम्रो लगाउने पर्वको रूपमा लिइन्छ । वर्षभरि एक्सन कटमा रमाउने कलाकारलाई पनि यस पटकको दशैँको माहोलले छोइसकेको छ । त्यसैले दशैँ मनाउँ तर सावधानी अपनाएर । अहिले सावधानी अपनाइयो भने फेरि फेरि पनि दशैँ मनाउन पाइन्छ । कोरोनाले दशैँ, तिहार केही भन्दैन । विचार गरौँ । स्वास्थ्य छ त सबैकुरा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?