logo
२०८० चैत्र १६ शुक्रवार



फुटबलर विदेशमा अरू स्वदेशमै

शनिवार |


फुटबलर विदेशमा अरू स्वदेशमै


प्रजित शाक्य
परिवार र आफन्तसँग बसेर रमाइलो गर्ने चाड पनि हो– दशैँ । त्यसैले कामको क्रममा गाउँघरबाट टाढा रहेकाहरू यो बेला घर फर्किन्छन् । परिवार र आफन्तसँग बसेर रमाइलो गरी मनाउँछन् तर कुनैकुनै पेसा यस्तो पनि हुन्छ, जुन पेसाले दशैँ भन्न पाउँदैन । प्रहरी, सेना र सञ्चारकर्मीहरू दशैँमा पनि आआफ्नो काममा सक्रिय रहन्छन् । खेलकुद क्षेत्रलाई पनि यही कोटिमा राख्न सकिन्छ ।
यद्यपि दशैँमा घरेलु खेलकुद भने ठप्प नै हुन्छ तर अन्तर्राष्ट्रिय प्रतियोगिताले दशैँ भन्दैन । त्यस्तो बेला खेलाडीहरूले देशका लागि दशैँलाई पनि माया मार्नुपर्ने हुन्छ । यस्तो बेला खेलाडीहरूको मनोभावना मिश्रित हुन्छ । एकातिर देशको प्रतितिधित्व गर्न पाएको खुसी र अर्कातिर दशैँ मनाउन नपाएको दुःख । कोभिड–१९ का कारण नेपाली खेलाडीले यसपालिको दशैँमा खासै त्यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु परेको त छैन तर नेपालको सबभन्दा हाइप्रोफाइल टिम नेपाली फुटबल टोली अहिले माल्दिभ्समा छ । दक्षिण एसियाको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अहिले भइरहेको छ । खेलको फाइनल असोज ३० गते हुनेछ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन तर यसपालि सुरुका दुई खेल जितेर नेपालले आफूलाई ऐतिहासिक फाइनलको नजिक पु¥याएको छ । त्यसैले नेपालका अन्तर्राष्ट्रिय फुटबलरहरू यसपालिको दशैँमा विदेशमै रहने सम्भावना प्रबल छ । यद्यपि नेपालले साफ च्याम्पियनसिप जितेमा नेपाली फुटबलरहरूको मात्र होइन, सम्पूर्ण नेपालीकै यसपालिको दशैँ अविस्मरणीय हुनेछ । नेपालका अन्य खेलाडी भने परिवार, आफन्त तथा साथीभाइसँग ढुक्कले दशैँ मनाउने तयारीमा छन् । उहाँहरूमध्ये केही खेलाडीले दशैँ मनाउने तयारी कसरी गरिरहनु भएको छ त ?

दीपक विष्ट
(ओलम्पियन, तेक्वान्दोकर्मी)
यसपालिको दशैँमा परिवारसिहत डडेल्धुरा गएर कुलदेवता दर्शन गर्ने योजना छ । आयशाले साफ गेम जिते कुलदेवताको दर्शन गर्छौं भन्ने भाकल गरेका थियौँ (१३औँ दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा दुई स्वर्ण पदक विजेता आयशा शाक्य दीपक विष्टकी पत्नी हुनुहुन्छ ) । त्यसैले पनि गाउँ जाने विचार गरेका हौँ तर परिस्थिति अलि प्रतिकूल छ । पानी परिरहेको छ, बाटो राम्रो छैन । कोभिडले पनि हाम्रो योजनामा भाँजो हाल्नसक्छ । पछिल्लो दशैँमा काठमाडौँमा मनाएकाले पनि यसपालि गाउँ जाने इच्छा गरेका हौँ ।
गाउँमा दशैँ विशेष हुन्छ । तुलनात्मक रूपमा काठमाडौँमा खासै रमाइलो हुँदैन । यहाँ टीका लगायो, मन्दिर गयो । दशैँ सकियो जस्तै हुन्छ । यहाँका साथीहरूसँग सधैँ भेटिरहेको हुन्छ तर पहाडको दशैँ रमाइलो हुन्छ । उता जाँदा हाम्रो परिवारलाई खेलाडी भनेर ठूलो महìव पनि दिइन्छ । आयशाले सागमा दुई स्वर्ण पदक जितेकाले पनि मेरो गाउँ हामीलाई स्वागत गर्न उत्साहित बनिरहेको छ । दुई स्वर्ण पदक जितेकाले गाउँका सबै हेर्न पनि आउँछन्, छुट्टै रमाइलो हुन्छ । पुराना साथीभाइसँग भेटघाट पनि हुन्छ ।
दशैँ मेरा लागि विशेष चाड हो किनभने मैले खेलाडी जीवनमा दशैँको बेला धेरै पटक देश बाहिर रहनु परेको छ । शायद दशैँको बेला आफ्नो खेलाडी जीवनको कर्म पूरा गर्न धेरै पटक देश बाहिर रहने म नै हँुला । धेरै पटक दशैँ देश बाहिर मनाएँ । सन् २००८ मा ओलम्पिकको क्याम्पमा छँदा त दशैँमा पनि हामी अभ्यास गरिरहेका थियौँ । त्यतिबेला धेरै चित्त दुखेको थियो । यस्तो धेरै पटक भएको छ । त्यसैले नेपालमा हुँदा दशैँ विशेष रूपमा मनाउने इच्छा हुन्छ । त्यसैले परिस्थिति अनुकूल हुनासाथ दशैँमा गाउँ जान मन लाग्छ ।

पारस खड्का
(राष्ट्रिय क्रिकेट टिमका कप्तान)
दशैँ अरूले जसरी मनाउँछन्, म पनि त्यसरी नै मनाउँछु । त्यसैले दशैँमा मेरो विशेष कहिल्यै पनि हुँदैन । शायद काठमाडौँ बाहिर घर भएको भए अलि ‘एक्साइटमेन्ट’ हुन्थ्यो कि । मेरो दशैँ सधैँ एकनासको रहिआएको छ । हामी पनि परिवार र आफन्तजनसँगको साथमा रमाइलो गर्छौं । ठूलाबाट टीका लगाउँछौँ, आशिष लिन्छौँ । त्यसबाहेक दशैँ आयो भनेर म खासै उत्साहित हुँदिन । पछिल्लो वर्षसम्म खेलाडी जीवनमा रहँदा दशैँ मेरा लागि लामो बिदासरह हुन्थ्यो । क्रिकेटको अभ्यासबाट छुट्टी पाउँथेँ । अन्तर्राष्ट्रिय क्रिकेट परेन भने दशैँको समय आरामको अवधि हुन्थ्यो तर यो बेला लामो बिदा भए पनि खेलको तनाव भने भइरहन्थ्यो । खेलको बारेमा सोचिरहन्थेँ । खेलाडी जीवनबाट सन्न्यास लिएँ । अब तनावमुक्त भएर दशैँ मनाउँछु । दशैँमा जुवातास खेल्ने, जाँडरक्सी खाएर रमाइलो गर्ने परम्परा छ । मलाई यस्तो पटक्कै मन पर्दैन । म त सबैलाई जुवा तास नखेल्न, जाँडरक्सी धेरै नखान नै अनुरोध गर्दछु । यसैगरी हामी कोभिडको महामारीमा छौँ । दशैँ मनाउँदा हामीले धेरै सतर्कता पनि अपनाउनुपर्छ । भीडभाड नगर्न अनुरोध गर्दछु । दशैँ दशा नहोस् । अन्तमा दशैँको अवसरमा म सबै नेपालीलाई शुभकामना दिन चाहन्छु ।

नविता श्रेष्ठ
(नम्बर एक महिला टेबलटेनिस खेलाडी)
विगतमा जस्तै यसपालिको दशैँमा पनि केही सिर्जनात्मक काम गर्ने योजना छ । कोभिड आउनुअघिको दशैँमा पारा टेबलटेनिस खेलाडीलाई आफूले विभिन्न प्रतियोगितामा जितेका करिब एक लाखभन्दा बढीको खेल सामग्री प्रदान गरेर दशैँको सुरुवात गरेकी थिएँ । यसैगरी एक पटक दशैँमा लैनचौरमा अवस्थित टेबलटेनिस हलमा भएको टेबलटेनिस प्रतियोगतामा विजेताहरूलाई पनि खेल सामग्री प्रदान गरेकी थिएँ । यसपालि अलि फरक गर्ने योजना छ । यस वर्ष मात्र मैले स्ट्याग इन्टरनेसनल टेबलटेनिस एकेडेमी खोलेकी छु । दशैँको अवसर अन्य एकेडेमी आफ्नो एकेडेमीका खेलाडीबीच मैत्री टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने र उनीहरूलाई खेल सामग्री प्रदान गर्ने योजना छ । जसले ती प्रशिक्षार्थी खेलाडीहरूको दशैँ विशेष होस् ।
दशैँ मलाई मनपर्ने चाड हो ।  अझ बच्चाबेला दशैँ आयो कि हामी हुरुक्कै हुन्थ्यौँ । लामो बिदा, नयाँ लुगा, मिठो खाना, तास खेल्ने, चङ्गा उडाउने, नाचगान, पूजाआजा, किनमेल गर्ने, बोका काट्ने । यी सबै कुराले बच्चा बेला दशैँ एकदम मनपथ्र्यो । तास खेल्नु राम्रो होइन भन्ने थाहा छ तर हामी दशैँमा रमाइलोका लागि तास खेल्छौँ । यद्यपि म दशैँको समय भए पनि टेबलटेनिसको अभ्यास छुटाउँदिन । हामी नेवारहरूको दशैँ सकेपछि पनि चेलीबेटीलाई बोलाएर भोज खुवाउने चलन छ । जसलाई नखःत्याः भनेर भनिन्छ । सोही समयमा एकैचोटी टीकाको कार्यक्रम सकिन्छ । धेरै ठाउँमा नखःत्याः जानुपर्छ । घरमै पनि बोलाउनुपर्छ । नखःत्याः जाने क्रम दशैँ सकेपछि पनि करिब एक हप्ता चलिरहन्छ ।

सरु लिम्बू
(प्लेमेकर, राष्ट्रिय महिला फुटबल टिम)
दशैँ एकदम रमाइलो लाग्छ तर यसपालि दशैँ मनाउन नहुने भएको छ । हजुरआमा बित्नु भयो । पहिलेका दशैँको कुरा गर्ने हो भने टीकासम्म नै परिवार र साथीभाइसँग रमाइलो गरेर यो पर्व मनाउँथ्यौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले खेल्नुपर्ने प्रतियोगिता यसपालि दशैँमा परेको छैन । म सशस्त्र प्रहरी बल (एपीएफ)मा पनि आबद्ध छु । प्रधान सेनापति महिला फुटबल प्रतियोगता नजिक छ । यसको तयारीका लागि दशैँ मनाएर तुरुन्तै फर्किहाल्नुपर्छ ।
दशैँ मनाउन नहुने भए पनि घर गएर रमाइलो गर्ने योजनामा छु । पुराना साथी विभिन्न ठाउँमा छरिएर रहेका छन् । दशैँमा सबै घर आउँछन् । सबैसँग भेटघाट हुन्छ । यसले पनि मलाई दशैँमा उत्साहित बनाउँछ । यद्यपि म मेरा समर्थकहरूलाई यसपालिको दशैँमा भीडभाड नगर्न अनुरोध गर्छु । देखासिखी गरेर भड्किलो हुनेभन्दा पनि रमाइलोसँग आफ्नो क्षमताले धान्नसक्ने गरी यो चाड मनाउन सल्लाह दिन्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?