logo
२०८० चैत्र १५ बिहीवार



उत्तीर्णको नामावली इजरायली दूतावासमा

अर्थ |


उत्तीर्णको नामावली इजरायली दूतावासमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । सरकारले इजरायलमा सुसारे (केयरगिभर)मा जान भाषा परीक्षा उत्तीर्णमध्येबाट एक हजार छ सय जनालाई अर्को चरणका लागि सिफारिस गरेको छ । वैदेशिक रोजगार विभागले असोज ४ देखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट यो सङ्ख्या छनोट गरी नेपालस्थित इजरायलको दूतावासलाई नामावली बुझाएको हो ।
विभागका महानिर्देशक दीपक काफ्लेले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको अन्तिम छनोटका लागि दूतावासमा सिफारिस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।
एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल दुई हजार ३९ जनाले अङ्ग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेकामा अन्तर्वार्तामा एक हजार ८०३ जना सहभागी भएको विभागले जनाएको छ ।
विभागका अनुसार इजरायलमा जान चार हजार २०० महिला र पाँच हजार ४९९ पुरुष गरी नौ हजार ६९९ नेपालीले आवेदन दिएकामा छ हजार ३९७ जना भाषा परीक्षामा सहभागी भएका थिए ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।
यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकार–सरकारबीच (जीटुजी) मोडलबाट भएको छ । इजरायल रोजगारीमा जानेले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान लागत अनुमानित एक लाख ६५ हजार सात सय रुपियाँ लाग्नेछ । इजरायल गएकाको मासिक तलब झन्डै दुई लाख रुपियाँ हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?