logo
२०८० चैत्र १६ शुक्रवार



‘पर्यटनको ढोका खुल्यो’

पर्यटन |


‘पर्यटनको ढोका खुल्यो’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । कोभिड–१९ विरुद्धको खोप पूरा गरी आउने विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने नयाँ प्रावधानले नेपालमा पर्यटन सम्भावनाको ढोका खुलेको होटल सङ्घ नेपाल(हान)ले जनाएको छ । हानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नाका खोल्ने तथा क्वारेन्टाइन बस्नु नपर्नेजस्ता कार्यले उत्साहित भएको उल्लेख गरेको छ ।
“हामीले सम्पूर्ण सेवा बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
सरकारले हालै मात्र विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थासम्बन्धी आदेश २०७८ जारी गर्दै यात्रासम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । हानले आदेशको पूर्ण कार्यान्वयनका लागि पनि आग्रह गरेको छ ।
विदेशबाट आउने पाहुनालाई खोपको मात्रा पूरा गरेका ९५ प्रतिशतभन्दा बढी कर्मचारीले सेवा उपलब्ध गराउने र त्यसबाट सङ्क्रमण न्यून हुने हानले जनाएको छ । त्यस्तै हानले विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण पर्यटन व्यवसायी एक स्वर गरी अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई ‘रेड जोन’बाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको पनि हानको विज्ञप्तिमा उल्लेख छ ।
देशमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा बढी नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा यसका लागि पहल हुनुपर्ने हानले जनाएको छ ।
त्यस्तै द्विविधा भएका विषयमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि लागू गर्न हानले आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?