logo
२०८० चैत्र १५ बिहीवार



एक करोड मात्रा खोप आउने सुुनिश्चित

मुख्य समाचार |


एक करोड मात्रा खोप आउने सुुनिश्चित


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताउनुुभएको छ ।
संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिनुभयो ।
उहाँले हालसम्म एक चौथाइ बढीले खोपको पूर्णमात्रा पाइसकेको प्रस्ट पार्नुभयो । अबको खोप अभियानका लागि एक करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको हाम्रो ध्यान सक्रिय जनसङ्ख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।”
प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराउनुभयो । कोभिड महामारीको त्रासदी अहिलेको पुस्ताले सामना गर्नुपरेको औँल्याउँदै उहाँले पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै सुुविधा विस्तारमा लागेको बताउनुुभयो । साथै कोभिडको जिन सिक्वेसिङ क्षमताको विकासमा पनि नेपाल अघि बढेको बताउनुभयो ।
कोभिडबाट सुरक्षा प्रदान गर्ने शिक्षा जारी राखिएको भन्दै प्रधानमन्त्री देउवाले नेपाललाई सङ्कटको समयमा सहयोग गर्ने सबै साझेदारलाई धन्यवाद प्रकट गर्नुभयो ।
विश्व स्वास्थ्य सुरक्षा कोष स्थापनाको समर्थन गर्दै र त्यसको सही परिचालनका लागिसमेत उहाँले आह्वान गर्नुभयो । त्यस कोषमा विकसित साझेदारबाट नियमित सहायताका लागि प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
अमेरिकी राष्ट्रपति जोए बाइडेनको अध्यक्षतामा भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले आफ्ना अनुभव तथा दृष्टिकोण आदानप्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?