logo
२०८० चैत्र १५ बिहीवार



पाँच महिना पछि बागलुङमा विद्यालय खुले

शिक्षा |
प्रदेश |


पाँच महिना पछि बागलुङमा विद्यालय खुले


नवीन शिशिर विक
बागलुङ, असोज ४ गते । विगत पाँच महिनादेखि बन्द रहेका बागलुङका सबै स्थानीय तहका विद्यालय खुलेका छन् । स्थानीय तहले कोरोना सक्रिय संक्रमित घटेपछि विद्यालयमा तोकिएका स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्दै विद्यालय सञ्चालन गरेका हुन ।

दशवटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयमा नियमित पठन पाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याले जानकारी दिनुभयो । विद्यार्थी संख्या थोरै हुने विद्यालयले एक चरण र धेरै विद्यार्थी हुने विद्यालयमा दुई चरणमामा पठन पाठन भएको    छ ।

विद्यालय खुलेपछि विद्यार्थी तथा अभिभावक खुसी भएका छन् । साना बालबालिकाका लागि अनलाईन कक्षा प्रभावकारी नहुँदा सिकाई क्रियाकलप प्रभावित भएकोमा अभिभावक चिन्तित थिए । ‘विद्यालय खुल्यो, खुःसी लागेको छ’ काठेखोला गाउँपालिका–२ का अभिभावक कौशिला विकले भन्नुभयो, ‘अनलाईन बसेर सिकाई हुने रै’नछ । घरबाटै मास्क, सेनिटाईजर तथा खाजाको व्यवस्थापन गरेर बच्चालाई विद्यालय पढाउन थालेको विकले बताउनुभयो ।

बागलुङ नगरपालिका र निसीखोला गाउँपालिकाले गत हप्ता मात्र विद्यालय खुलाउने निर्णय गरेका थिए । विगत दुई हप्ता यता अन्य आठ स्थानीय तहले विद्यालयको पठन पाठनलाई नियमित गरेका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमितको दरलाई हेरेर सम्बन्धित स्थानीय तहले विद्यालय सञ्चालन तथा बन्द गर्न सक्ने निर्णय गरेको थियो ।

‘हामीले नियमित समयमाजस्तै पठन पाठन गरेका छौँ’ काठेखोला गाउँपालिका–२ स्थित जनकल्याण माविमा कार्यरत शिक्षक चन्द्रमणी उपाध्यायले बताउनुभयो । ‘विद्यालयमा मास्क, सेनिटाईजर प्रयोगमा कडाई गरेर कक्षा सञ्चालन भएको छ’ उहाँले जानकारी दिनुभयो । कोरोनाको दोस्रो भेरियन्ट फैलिए पछि बागलुङमा बैशाख १९ गतेदेखि विद्यालय बन्द गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?