logo
२०८० चैत्र १५ बिहीवार



पृथ्वी : एक नेता (कविता)

शनिवार |


पृथ्वी : एक नेता  (कविता)


रामगोपाल आशुतोष

ढुङ्गा – नेता हो
नेता – ढुङ्गा हो !

मिहिनेतीले
पाखुराको बर्कत, परिश्रमले
आफ्नो तक्दिर बनाउँछन्
ढोँगीहरूले
शब्दको पुलिन्दा, आदर्श छाँटेर
आफ्नो औकात देखाउँछन् ।

यो संसार
अर्बौं झुटाले डुबाउन खोजे पनि
दुईतीन निष्ठावान्ले बचाउँछन् ।

स्वार्थ पूरा गर्न चढाइने – निरीह पशुको होस्
या अभीष्ट सिद्ध गर्न – निर्दोष जनताको
बलि त आखिर बलि नै हो ।

आगोको स्वभाव अर्कै हुन्छ
पानीको प्रकृति बेग्लै हुन्छ
हावाको गुण भिन्न हुन्छ
माटोको धर्म फरक हुन्छ ।

कसैको आत्मा बस्ने घर बनेर
कसैको आस्था सजिने मन्दिर बनेर
कसैको गन्तव्य पुग्ने सडक बनेर
कसैको सम्मानले पुज्ने मूर्ति बनेर
आगो, हावा, पानी वा माटो
सबैसँग मिल्न सक्ने – ढुङ्गा
संसारकै उत्कृष्ट प्रेमी हुन् ।

किनकि
करोडौँ करोड रोगी बचाउने – डाक्टर
करोडौँ करोड संरचना बनाउने – इन्जिनियर
सबैको गन्तव्यसम्म पु¥याउने – ड्राइभर
जहाज चलाउने – पाइलट
शान्तिसुरक्षा गर्ने – प्रहरी
देशको सीमा सुरक्षा गर्ने सैनिक
अनि सबैलाई शिक्षा दिने शिक्षक
आगो, हावा, पानी, माटो,
वन, जङ्गल, समुद्र, सबैसबैलाई जोगाउने
विश्व– ब्रह्माण्ड थाम्ने
संसारको सृष्टि बचाउने
एक्लो नेता हो – पृथ्वी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?