logo
२०७८ कार्तिक २ मंगलवार



देखेको मान्छे नचिनेको प्रतिभा

शनिवार |


देखेको मान्छे नचिनेको प्रतिभा


रमेशानन्द वैद्य

कहिले नरसिङ चोकभन्दा उँभोतिर त कहिले भगवती मन्दिर वरपर झल्याकझुलुक देखिरहन्थेँ एउटा खाइलाग्दो मान्छे बाक्लो फ्रेमवाला चस्माद्वारा अनुहार र लवेदा–सुरुवालले शरीर सजिएको । त्यति बोल्न नपर्ने अथवा उहाँले बोलेको थोरै मात्र देखेकाले हो यस्तो भनेको, निश्चित भएन । नचिनेको मान्छेको पछि लाग्नु पनि भएन । आकर्षित थिएँ म, किन हो थाहा छैन तर पनि केही दूरी राखेर वरिपरि भन्कन्थेँ म, उहाँ किनमेलका लागि सातघुम्ती (अहिलेको प्रमुख पर्यटकीय बजार, ठमेल)बाट बजार आउजाउ गर्नुहुँदा र एकादुकासँग कुराकानी गरिरहनुहुँदा भेउ भने पाउँदिनथेँ ।

सत्यबा (सत्यप्रसाद प्रधान)सित उहाँको कुरा भएको धेरैपटक देखेको छु । त्यो बेला बुवाको उमेरसरहकोलाई बा÷काका शब्दले सम्बोधन गरिन्थ्यो, अझ पाकोलाई बाजे र आफूभन्दा जेठालाई दाइ पुकारिन्थ्यो । हुन त बाहुनजति सबैलाई ‘बाजे’ भन्थ्यौँ बालकै भए पनि । सत्य बाबाटै थाहा भयो, उहाँ भनेको मान्छे जनकलाल शर्मा हुनुहुँदो रहेछ ।

डबलीभन्दा तीन घर उँधो दक्षिण दिशामा लक्ष्मण साहु (लक्ष्मण मानन्धर)को खाद्यान्न पसलमा महिनामा एकाध पटक भेट्थेँ उहाँ जनकलाललाई । भेट्थेँ त्यहाँ उहाँलाई किनभने म त्यो पसलमा झुम्मिरहन्थेँ ।
त्यहाँ भन्किनुको आनन्द बेग्लै थियो, बिहान–साँझको समयबाहेक । बिहान र साँझ ग्राहकको घुइँचो, दिनमा बिहानको १० बजेपछि भने ग्राहक निकै पातलो । घुइँचोहरू आ–आफ्नो काममा हानिइसकेका हुन्थे तर अर्को लस्कर भने लोभलाग्दो । धर्मस्थली, मनमैँजू, फुटुङ, टोखा वरपरका कृषक र तिनका बोरा र ढाकरको लाम हुन्थ्यो । कपडाको बाक्लो टाट पेटीमा ओछ्याइन्थ्यो, सडक पनि अलिअलि ढाकिने गरी । टाटमा ढाकर र बोराबाट सर्रर्र चामल खन्याइन्थे रास । लक्ष्मण साहु बा अथवा कुनै बेला साहुनी आमा टल्कने ढलोटको पाथीले भर्थे चामल राम–राम–राम, दुन–दुन–दुन, तीन–तीन–तीन भन्दै । यो गन्ती यति सुरिलो लाग्थ्यो मलाई, कीर्तन भजन सुनेजतिकै आनन्द आउने । बताउन गाह्रो छ ।
जनकलाल शर्मा कहाँका थिए ? कता बस्थे ? थाहा नाइँ ।

कालो न गोरो, अग्लोमा भने सुन्तलाकै बोट । उहाँलाई बाजे भन्थे कोही, कोही माड्साब भन्थे, कसैकसैले हाकिम साब पनि भन्थे । यति धेरै सम्बोधन ! माड्साब भन्नुको कारण त बुझिसकेथेँ सत्य बाबाट, घरेलु उद्योग, त्रिपुरेश्वरमा देशमा प्रजातन्त्र आउनुअघिबाटै शिक्षक पदमा जागिरे हुनाले । तत्कालीन समय अर्थात् जुन समयको तस्बिर खिचिरहेको छु म, त्यो बेला उहाँ पुरातìव विभागमा हाकिमी जागिर गर्नुहुन्थ्यो । त्यसैले हाकिम साब पनि कहलिनुभएको तथ्य बुझेँ तर बाजे भन्नुको कारण भने बुझ्न सकिरहेको थिइनँ । बा, काकाहरूभन्दा निकै जेठो वा पाको हुनुहुन्नथ्यो, त्यसैले त्यो अर्थमा बाजे निश्चित होइन । अब एउटै विकल्प रह्यो, त्यो हो– बाहुन हुनाले । हाम्रा जुँगे माड्साब बाजे याने योगनाथ प्याकु¥याल बाजे धोती बेर्नुहुन्थ्यो । महाँकाल लुइँटेल बाजे पनि धोती बेर्नुहुन्थ्यो । उहाँहरूको घरमा चाडबाडको बेला र हाम्रो घरमा अन्य पूजा पर्व परेको बेला दूध, गोबर लिन जाँदा र गाईलाई हरियोपरियो र सिधा ख्वाउन जाँदा देख्थेँ । बाहिर बजारतिर उहाँहरू साँझ बिहान आउनुहुँदा पनि धोती बेरेकै देख्थेँ । अरू बाजेहरूले पनि धोती बेरेको देखेको हुँ सधैँ नभए पनि पूजा र खासखास पर्वमा । कविशिरोमणि लेखनाथ बाजेले पनि धोती बेरेको देखेका आँखाले उहाँलाई भने कहिल्यै धोती पहिरनमा देखेको थिइनँ त कसरी मानी हालुँ बाहुन बाजे नै भनेर ! घरभित्र बाँध्नु हुन्थ्यो भने राम जानून् । सधँै दौरासुरुवालमा चिटिक्क र टिमिक्क । मात्र टोपी भने अरूकै जस्तो समान, ढाकाको ।

अर्को एउटा कुरा अरूकोभन्दा नमिल्दो । उहाँको नाक पनि अरूहरूको जस्तो न लामो, सुलुक्क न चुच्चो । बालक आँखाले देखेको चित्र नै यही । सही ठान्यो गिलो गिदीले । के थाहा उहाँ साँचो अर्थमा नै बाजे हुनुहुँदोरहेछ धुरन्धर विद्वान हुनुका साथै ।
विद्वान जनकलाल कहाँ बस्नु हुन्थ्यो हाम्रो टोलमा ! ठूलो जिज्ञासा । नसोधी कसले बताउँछ र, सोध्ने कुरो नि भएन । बहाना एउटै हुन्थ्यो, पाङ्ग्रा खेल । उहाँ चल्चा गल्लीतिर लाग्नुभएको अलिक समयपछि पाङ्ग्रा (साइकलको रिम, तारहरू सबै झिकिएको)लाई सानो पातलो लट्ठीले ठेलेर सुस्तरी सुस्तरी गुडाउँथेँ । सचेत थिएँ उहाँले कसै थाहा नपाऊन् ।

चल्चा गल्ली किन भनिएको भने नरसिङ राणाजीहरूको त्यहाँ सिनेमा हल थियो । हालको काठमाण्डु गेस्ट हाउसको दक्षिण अनि लौहपुरुष गणेशमान सिंहको चाक्सीबारी निवासको उत्तर । सिनेमाघरको नाम चलचित्र भवन थियो । त्यसको अगाडि (पूर्व दिशा) र दायाँबायाँ (दक्षिण–उत्तर) बाटोको नाम जनजिब्रोले चल्चा गल्ली भन्ने गर्दथे । बजारको सडकजत्तिकै फराकिलो बाटो तर पनि गल्ली किन भनिएको होला एउटा कौतुहल बालकमा । सायद थोरै मानिस मात्र हिँडडुल गर्ने भएर होला यसो
भनेको ! सिनेमाघर पनि लामो समय चल्न नसकेको दर्शक नपुगेरै हुनुपर्दछ । र, त्यस बाटोलाई कोही कोही ठट्टामा स्वर्ग–पथ पनि भन्ने गर्दथे, कारण बजारबासी कोही मर्दा शवयात्रा त्यहाँबाट लग्थे शोभाभगवतीको मसानतिर । अद्यापि त्यो कायम छ ।

अँ, म थिएँ जनकलाल बाजेको पछिपछि धीमा गतिमा पाङ्ग्रा गुडाउँदै । उहाँ दायाँ (उत्तर) मोडिनु भयो हरेराम बाजे (बिहान सबेरैदेखि साँझ अबेलासम्म भजनकीर्तन हुन्थ्यो)को घर कटेपछि । आयो एउटा घर ठमेलको प्रधानको । उहाँ सर्वोच्च न्यायालयमा न्यायाधीश हुनुहुन्थ्यो । जुन खाली घरमा प्रधानन्यायाधीश भगवतीप्रसाद सिंह बस्नु भयो पछि । टोलमा बडेमाको राष्ट्रिय झण्डा फहरिएको त्यही नै पहिलोपल्ट हो । यस घरपछि लस्कर सुरु हुन्छ बाहुन बाजेहरूको घर । पहिलोमा आउँछ, पण्डितराज (राजा महेन्द्रले कोटीहोमपश्चात् बक्सेको पदवि) सोमनाथ सिग्द्यालज्यूको घर । क्रमशः हुँदै शान्ति विद्यागृह विद्यालय, लैनचौर (यसको जन्म ठमेलको भगवान बहाल परिसरभित्रको दलानमा भएको थियो)का संस्थापक प्रधानाध्यापक योगनाथको घर, सडकबाट अलि भित्र २० पाइलाजति टाढा । यहाँबाट सडक मोडिन्छ बायाँ । बाजेहरूकै घर; जहाँ एउटा घरमा जनकलाल पस्नुहुन्थ्यो कहिलेकाहीँ, निस्कनुहुन्थ्यो थोरै बेरमा त कहिले धेरै बेरपछि । त्यस घरमा पहिला बस्नुभएको थियो रे उहाँ । यही लहरको अन्तिम कुनाको घरमा ‘रहस्य’ पत्रिकाको छापाखाना थियो सम्पादक र प्रकाशक मुरारी दाइ । अब भने पूर्वाभिमुख बार्दलीसहितको घर जहाँ जसको पछि लाग्दै थिएँ छिर्नु हुन्थ्यो । त्यो १६/५४ नम्बरको घरका धनी जेपी स्कुलका हाम्रा गुरु रामजीप्रसाद रिमालको रहेछ । स्कुल भर्तीपछि थाहा भयो । थाहा भयो पछि हाम्रा प्रसिद्ध साहित्यकार रमेश विकलको दिदीको घर नाता पनि ।

ठमेलमा जनकलाल शर्माज्यू बस्ने घर थाहा पाएको त्यो क्षण यति खुसी थिएँ, चित्रण गर्न असमर्थ छु । त्यो खुसीलाई थाम्न नसकेर घरतिर यसरी वेग हानेको थिएँ, लाग्थ्यो म अघिअघि कुदिरहेको पाङ्ग्रा मेरो पछिपछि गुडिरहेको ।
कुरा बाँकी रह्यो कहाँको ? पूर्व वा पश्चिम, उत्तर वा दक्षिण; कुन दिशाबाट यता पस्नुभएको थियो उहाँ अर्थात् उहाँको गाउँ, जिल्ला, अञ्चल कुन हो ? पकनाजोल, ठमेल, क्षेत्रपाटी, ठँहिटी आसपास पश्चिम भेगबाट आएका मानिसकै बसोबास हुन्थ्यो र छ तर यसबारे मेसो पाउनै सकिन उहाँको थातथलोसम्बन्धमा (त्यस सम्बन्धमा ठुलो भइसकेर साहित्यमा रुचि जागेपछि मात्र थाहा पाएँ । त्यो तिर्खा मेटाउन मैले वर्षौं पर्खनु परेको थियो) ।

जनकलाल शर्माबारे अरू केही केही थाहा पाइसकेथेँ । सत्यप्रसाद प्रधानसँग उहाँको भेट हुन्थ्यो बजार निस्कनु हुँदा । उहाँहरू कुरा गरिरहँदा वरिपरि बाक्लो धुवाँको बादल हुन्थ्यो, कहिले त अनुहार चिन्न नै हम्मे । त्यो बादल चुरोटको धुवाँको थियो । जनकलाल शर्माले चुरोटको सर्को तान्नुभएको कुनै हेक्का छैन मलाई, सायद पिउनुहुन्न । यसबारे मैले कसैसँग आजसम्म पनि सोधनी गरेको छुइनँ । सत्यप्रसाद भने यति धेरै चुरोट पिउनुहुन्थ्यो, दृश्य अचम्भित पार्ने किसिम थियो । ठट्टा गर्थे टोलियाहरू सत्यप्रसाद निद्रामा पनि कस मारिरहन्छ भन्थे । चुरोटको फिल्टर टिप उहाँको ओठले च्यापेको नदेखे हाततिर आँखा लगाए पुग्थ्यो माझी र चोरऔँलाले जतनपूर्वक सम्हालेर राखेको देखिन्थ्यो, औँलामा नदेखे ओठमा हुन्थ्यो क्याप्टेन फिल्टर टिप । धुवाँको बादलले पूरै मुख छोपिँदा पनि कुनै असहजता पोखेको भने देखिनँ जनकलालले ।

उहाँहरूको यस्तो भेट भगवती मन्दिरको छेउछाउतिरै हुन्थ्यो । कहिले भने गौरीदाइको हातामा पनि, तर सत्यप्रसाद बासँग होइन । पेसामा हाँस, कुखुरा र साना कदका चौपायाको व्यवसायी गौरीदाइ सफासुग्घर उत्तिकै, लवाइमा कमिजसुरुवाल, अग्लै कद र गोरो छालाका हुनुहुन्थ्यो । उहाँलाई सम्बोधन भने धेरैले तल्लोस्तरकै गर्थे पेसा वा जातका कारण । उहाँका सजातीय मास्टर रत्नदास प्रकाशसँग जनकलाल शर्मालाई त्यहीँ देखेथेँ एकाधपल्ट कुरा गर्दै गरेको । थोरै फराकिलो आँगनमा काठको बेन्चमा ‘छोला छोला’जस्तो अवस्थामा एउटा बाहुन त्यसरी भेटिनु त्यो जमानामा आपत्तिजनक थियो र थियो नै तर जनकलालमा त्यसबारे कुनै चिन्ता देखिँदैनथ्यो ।

दिन बित्यो, साँझ भयो, राति भयो र सुत्यो । उज्यालो भयो, बिहान भयो र दिउँसो भयो । खायो, खेल्यो कुद्यो । फेरि साँझ आयो बित्यो, राति भयो र सुत्यो । यसरी धेरै धेरै बिहान, दिउँसो र रातहरू आए गए, तिर्खालु आँखाले प्यास मेट्न भने पाएनन् । कारण जनकलाल शर्मालाई टोल बजारमा देख्न नपाएको महिनौँ भइसकेको जो थियो । तिर्खा तिर्खा नै भएर रहिरहे । बालकको यो लहड थाती नै रहे । अरू नै लहडमा रमाउन थाले बालक ।

स्कुल जानु थिएन, स्कुलको मुख त देखेथेँ । कोही कोही साथीहरू मात्र स्कुल जान्थे, तीन, चार, पाँच र छ, कोही त सात कक्षामा पढ्थे । कोही ठँहिटीको शान्ति शिक्षा मन्दिरमा, कोही शान्ति विद्यागृहमा, बाँकी कुन कुनमा अत्तो भएन । आफूलाई हाइसञ्चो । बिहान र साँझ घरैमा पढ्यो । गुरुहरूबाट अङ्ग्रेजी, नेपाली, संस्कृत, गणितहरू । शनिबारको बिहान भने हार्बिनको पट्टाहरूमा औँला चलाउन सिकाउने नारायणहिटीमा भजन गाउनुहुने एक जना गुरुबाट विमुख भएको दुई–तीन वर्ष भइसकेको थियो । एउटा खल्लो थियो, त्यो जुन विस्मृतिमा जाँदै थियो पनि तर समय गुच्चा, पाङ्ग्रा, पाँय्, चुरोट बट्टाको तासहरू त्यस्तै काँचका चुराका टुक्राहरू र यस्तै उस्तै केके केके खेलमा रमाउँदै गइरह्यो, बाहुलाले रसाएको नाक स्वाट्ट पुछ्दै र च्याम्पटी लडाउँदै । खेलहरूमा भुल्दा जनकलाल पनि शनैःशनैः विस्मृत हुँदै गए ।

दिन आयो मेरो पनि स्कुलमा घुस्ने । २०१९ फागुन १ मा छिरियो जेपीको कक्षा पाँचको कोठामा । कोठाभरि अटेसमटेस शिक्षार्थी । टोलका केही साथीहरू पनि हुनाले कक्षामा ठुलो अप्ठ्यारो भएन । नयाँ साथी बनाउन समयमाथि समय लाग्यो । स्कुल भवनको पूर्वी खण्डको अघिल्लो कोठामा हाम्रो कक्षा । त्यही खण्डको माथ्लो तलाहरूमा प्याजी रङको फ्रक र सेतो सुरुवाल लगाउने छात्रा मध्यान्तर र छुट्टी हुँदा हुरुरु झर्थे । साना कदका मजस्ताहरू कोठामै थुनिन्थे, निस्के पनि हुलमा बिलाउँथे ।
जेनतेन दिनहरू पचाइयो र त्यो समस्याबाट छुट्टी मिल्यो, अर्को वर्ष केटीहरू जब आफ्नै नयाँ भवनमा सरे प्याफलमा । कान्ति ईश्वरी राज्यलक्ष्मी स्कुल पुरानो भवन भत्काएर नयाँ नबनुन्जेल मात्र हाम्रो भवनमा बसेको रहेछ । तिनका हेडमास्टर विजयानन्द जोशी सरलाई इतिहास पानीजत्तिको थियो ।

घरमा नपढेको थप कुरा पढ्नुप¥यो, भूगोल, इतिहास, विज्ञान अनि केकेका पुस्तकहरू पसिना काढ्दै । ककसले लेखेका हुन्, त्यस्तो ज्ञानी कुरा मथिङ्गल हल्लाउने, छक्क पर्थें तर जब राम्रो नेपाली साहित्य पढ्न पाएँ, दङ्ग भएँ । मेरो स्मृतिबाट बिलाउँदै गरेको जनकलाल शर्मालाई ठ्याक्कै भेट्टाएँ । उहाँसँगै राजेश्वर देवकोटालाई पनि चिन्न पाएँ ।

कक्षामा एउटै बेन्चमा नयाँ सहपाठी सुमन ढकाल (हाल सेवानिवृत्त प्रा.डा.) थपिए । जिउसँगै मन पनि टाँसियौँ । राम्रो नेपाली साहित्य किताब पनि अरू किताबजस्तै सँगै पढ्यौँ तर अनौठो, उसले कहिल्यै भनेन जनकलाल शर्मा मेरो बुवा हो । यसो पनि बताएन उसले, म जनकलाल शर्माको छोरा हुँ । त्यो यथार्थ मलाई धेरै पछि मात्र थाहा भयो । जे होस्, मैले जनकलाल शर्मालाई जेपी स्कुल, क्षत्रपाटीको कक्षा कोठामा फेरि पाएँ, उहाँका छोरा सुमनलाई पनि त्यहीँ सँगसँगै पाएँ । सौभाग्य मेरो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?