logo
२०७८ कार्तिक २ मंगलवार



हाइकिङ मोह

शनिवार |


हाइकिङ मोह


कृष्णप्रसाद भुसाल


‘हाइकिङ’ अङ्ग्रेजी शब्द हो तर नेपालमा यो शब्दको प्रयोग अचेल बढ्दो छ । घना सहरबाहिर ग्रामीण क्षेत्रमा गरिने लामो पैदल यात्रालाई यो शब्दले जनाउँछ । अझ बिहान घरबाट निस्केर बेलुका आइपुग्ने एकदिने पदयात्रालाई हाइकिङ भन्न थालिएको छ । सहरको व्यस्त दैनिकी र तनावबाट एक दिन भए पनि टाढा रहन तथा प्रकृतिको नजिक पुगेर शरीर र मनलाई तन्दुरुस्त र पुनर्ताजगी बनाउन हाइकिङ जाने गरिएको छ ।

हाम्रो वरपरको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्ने एक उपयुक्त माध्यम पनि हो– हाइकिङ । यति मात्र होइन, सहरका घना बस्तीमा हुर्कंदै गरेका हाम्रा नानीबाबुहरूलाई प्रकृतिसँग साक्षात्कार गराउँदै हिँड्ने बानीको विकास गराउन पनि हाइकिङले सहयोग नै गर्छ । हाम्रा सहरमा पर्याप्त खुला ठाउँ, बगैँचा, सफा नदी र प्रकृतीमैत्री संरचनाहरू छैनन् । बालबालिका बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर कृत्रिम वातावरणमा हुर्कन बाध्य छन् । यो वातावरणले बालबालिकाको सर्वाङ्गीण विकासमा असर परेको छ । बालबालिकालाई बिस्तारै प्रकृति र समाजबाट बिमुख पनि बनाउँदै लगेको छ । वन, चरा, पुतली, जनावर, सफा पानीका कलकल बग्ने झरना/नदी केवल मोबाइल, ल्यापटप तथा टेलिभिजनको स्क्रिनमा मात्र हेर्न बाध्य छन् बालबालिका । त्यसैले अहिलेको हुर्कंदो सहरी पुस्ताका लागि स्वच्छ हावा लिँदै, चराको चिरबिर आवाज सुन्दै उकाली ओराली हिँड्न हाइकिङ एक अवसर पनि हो ।

काठमाडौँ उपत्यकाको वरिपरि शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङमती, गोदावरी, फूलचोकी, लाँकुरीभञ्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनीजस्ता ठाउँहरूमा खासगरी सार्वजनिक बिदाको दिन हाइकिङ जानेहरूको भीड पछिल्ला वर्षहरूमा बढ्दो छ ।
यही कुरालाई ध्यानमा राखेर हाइकिङ संस्थागत र सामूहिक अभियानका रूपमा देखा परेको छ । यो अभियानले कहाँ, कहिले र कसरी हाइकिङ जाने होला भनेर अलमलमा परेकाहरूलाई पनि सजिलो भएको छ । यसका साथै नजिकका साथीहरूको समूहमा, पारिवारिक समूहमा अथवा एक्लै हाइकिङ जाँदा बाटोमा आइपर्ने सम्भावित चुनौती तथा दुर्घटनाबाट पनि जोगिन सकिन्छ किनकि यस्ता अभियानमा अनुभवी पथप्रदर्शकको नेतृत्व र निर्देशनमा यात्रा गरिन्छ । अनुशासित भएर यात्रा गर्न, स्थानीय संस्कृति, धार्मिक आस्था, जीवनशैली र गाउँलेको सम्मान गर्न, बोटबिरुवा नभाँच्न, जङ्गली जनावरलाई नजिस्क्याउन, जथाभावी फोहोर नफ्याँक्ने जस्ता प्रकृतिमैत्री तथा उत्तरदायी क्रियाकलापको पालना गर्न पनि सिकिन्छ ।

प्रकृतिप्रेमी समूहले २०६३ सालदेखि हरेक महिनाको अन्तिम शनिबार ‘स्वास्थ्यका लागि पदयात्रा’ सञ्चालन गर्दै आएको छ । गणेश शर्मा, सन्तोष पौडेललगायत युवाको नेतृत्वमा २०७२ सालदेखि हरेक हप्ताको शनिबार ‘हाइक फर नेपाल’ अभियान निरन्तर चलिरहेको छ । नेपाल पन्छी संरक्षण सङ्घले पनि लामो समयदेखि पाक्षिक रूपमा शनिबारका दिन काठमाडौँ उपत्यका आसपासमा चरा अवलोकन तथा छोटो दूरीका हाइकिङ सञ्चालन गर्दै आएको छ । सङ्घले बेलाबेलामा ‘वाल्क फर बर्ड’ भनेर चराको आवाज सुन्दै र चरा हेर्दै संरक्षण सचेतना बढाउने उद्देश्यले पदयात्रा अभियान चलाउने गरेको छ । यसैगरी साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनलगायत अन्य संरक्षण, स्वास्थ्य र पर्यटनसँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाले पनि बेलाबेलामा हाइकिङ अभियान चलाइरहेका छन् ।

अहिले त कतिपय ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले व्यावसायिक रूपमै हाइकिङ प्याकेज चलाउन थालेका छन् । यसबाट आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि लाभान्वित हुने गरेका छन् । बहत्तर सालको महाभूकम्पले दिएको असीम पीडा भुलाउन, थिलथिलिएको पर्यटनलाई ब्युँताउन र देश दर्शनमा हिँड्नुपर्छ भन्ने उद्देश्यले ‘हाइक फर नेपाल’ले हाइकिङ आयोजना गर्दै आएको छ । यही भदौ पहिलो शनिबार १३९औँ शृङ्खला शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको गुर्जेभञ्ज्याङदेखि विष्णुद्वार हँुदै पानीमुहानसम्म आयोजना गरियो । हाइकिङमा जान इच्छुकले ‘हाइक फर नेपाल’को फेसबुक पेजबाट हाइकिङ पदमार्ग, लाग्ने समय, बस चढ्ने ठाउँ, शुल्क बुझाउने तरिका र बोक्नुपर्ने आवश्यक सामग्रीका बारेमा जानकारी लिन सक्छन् । १३९औँ शृङ्खलाको हाइकिङ यात्रामा केही विदेशीसहित ६५ जनाको टोली थियो । २३ जना हाइकर्सबाट सुरु गरिएको यस अभियानमा हालसम्म हजारौँ सहभागी भइसकेको ‘हाइक फर नेपाल’का संयोजक गणेश शर्माले हाइकिङका क्रममा जानकारी गराउनुभयो । जङ्गलको स्वच्छ हावा फोक्सोमा भर्दै, शिवपुरी जलाधार क्षेत्रका दर्जनौँ झरनामा सिञ्चित भएर फोटो खिच्दै, चराको आवाजसँग मन्त्रमुग्ध हुँदै, रङ्गीचङ्गी पूmलसँग सेल्फी लिँदै, घुमाउरा ट्रेलहरूमा टिकटक बनाउँदै, कुहिरोले ढाकिएर सिमसिमे पानीमा भिज्दै, जुका टिप्दै र रगत पुछ्दै करिब १८ किलोमिटरको यात्रा आठ घण्टामा पूरा भएको थियो ।

चरा र वन्यजन्तुमा रुचि भएकाले स्वाभाविक रूपमा मेरो ध्यान बढी चरामा हुन्थ्यो । यसै मेसोमा साथीका अनेकन् जिज्ञासा मेट्न पाइन्थ्यो भने अनुभव सुन्न पनि । प्रतिकूल मौसम र सामूहिक हिँडाइले हुनसक्छ, यात्रा अवधिभर ३९ प्रजातिका चरा मात्र देखियो तर शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा ३२७ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । भर्खरै सम्पन्न चरा सर्वेक्षणमा १५३ प्रजातिका चरा अभिलेख गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । यसका साथै यस क्षेत्रमा १०२ भन्दा बढी प्रजातिका पुतली, १२९ भन्दा बढी प्रजातिका च्याउका साथै दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लङ्गुरलगायत विभिन्न जङ्गली जनावर पनि पाइने निकुञ्जको वेबसाइटमा उल्लेख छ ।

जब शिवपुरी डाँडाबाट तल विष्णुद्वार झ¥यौँ, त्यहाँका झरनामा भिज्दै टिकटक बनाउने र फोटो खिच्नेको निकै भीड थियो । कोलाहल र छरपस्ट फोहोर फ्याँकिएका थिए । यो देख्दा आफैँलाई प्रश्न गर्न मन लाग्यो, हामी जिम्मेवार र प्रकृतिमैत्री कहिले हुन्छौँ ? नुहाउन र खान सकिने त्यो पवित्र जल करिब पाँच किलोमिटर बगेर विष्णुमती नदी बन्दा नाक थुनेर तर्कने अवस्था हामी आपैmँले बनाएका हौँ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको महìवपूर्ण धार्मिक स्थलहरू फन्को मारेर गरिएको यस हाइकिङ समग्रमा अविष्मरणीय बन्यो ।
काठमाडौँ उपत्यका आसपासमा गरिने यस प्रकारका हाइकिङमा जाँदा हरेक घण्टा फरक प्राकृतिक र भौगोलिक विशेषता तथा धार्मिक–सांस्कृतिक–ऐतिहासिक स्थलहरू भेटन सकिन्छ । यात्रा रोमाञ्चक र जानकारीमूलक बन्छ । शारीरिक कसरत र रमाइलो पनि हुने हाइकिङमा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा बुझ्न पाइने यो खुला विश्वविद्यालय नै हो । अझ अहिलेको महामारीले साँघुरो घेरामा थुनिएर बस्न बाध्य हामीलाई हाइकिङ ठुलो उन्मुक्ति लाग्छ तर कोराना महामारीको डर कायमै रहेकाले स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाउनुपर्छ । एक दिन भए पनि सहरको धुवाँ, धुलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाउन सकिन्छ ।

हिमाली, पहाडी भू–दृश्य, प्रकृति, समाज, धार्मिक–सांस्कृतिक स्थल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी हेर्ने चाहना एउटै हाइकिङमा पूरा हुँदैन । हप्तैपिच्छे नियमित रूपमा नयाँनयाँ ठाउँमा हुने हाइकिङमा सहभागी हुँदा यो चाहना पूरा हुन्छ । यसैले अबका दिनमा हाइकिङलाई थप परिमार्जन र व्यवस्थित गर्नुपर्ने देखिन्छ । पदमार्गको विस्तृत विवरण र त्यहाँ यात्रा गर्दा कति समयमा कुन ठाउँमा पुग्न सकिन्छ र खास के हेर्न पाइन्छ जस्ता जानकारी पहिला नै यात्रीलाई दिन सके हिँडाइ उत्साहप्रद हुनसक्छ । मासिक रूपमा वा कुनै निश्चित समयको अन्तरालमा स्थान विशेषमा खास उद्देश्यले प्रेरित हाइकिङ सञ्चालन गर्दा यसको सार्थकता झन् बढ्न सक्छ । बेलाबेलामा विषयगत विज्ञहरूलाई पनि सहभागी गराएर छोटो प्रवचन र अन्तत्र्रिmया गर्न सके अझ प्रेरणादायी बन्न सक्छ ।

हाइकिङ गर्दा पैदलयात्रीले फोहोरमैला व्यवस्थापन र प्रकृतिमैत्री आचरण अवलम्बनमा त्यति धेरै ध्यान दिएको देखिँदैन । यसर्थ कर्तव्यबोध र नियम पालनमा हाइकिङ सञ्चालकहरूले ख्याल गर्नुपर्छ । हुन त यस्ता अभियान गैरनाफामूलक र स्वयंसेवी भएकाले यसको सुधार, व्यापकता र निरन्तरतामा हामी सबैको योगदान आवश्यक छ । घुमन्ते उपनामले पनि चिनिने वरिष्ठ पत्रकार भैरव रिसालले भनेजस्तै देशको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीविका बुझ्न र त्यसैअनुसारका संरक्षण तथा विकासका कार्यक्रम बनाउन पहिला डुल्नुपर्छ । त्यसैले राष्ट्रसेवक कर्मचारी, सामाजिक र राजनीतिक नेतृत्वलाई पनि हाइकिङमा सँगै हिँड्न अनुरोध/पहल गराँै । हाइकिङ मोह कायम राखी शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ रहौँ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?