logo
२०७८ कार्तिक २ मंगलवार



अफगानी संस्कृतिका निशानी

शनिवार |


अफगानी संस्कृतिका निशानी


यमबहादुर दुरा

अफगानिस्तान, इतिहासको रक्तरञ्जित अध्यायबाट गुज्रिएको मुलुक । दुनियाँसमक्ष युद्ध, अशान्ति र असुरक्षाको कुरूप विम्ब बन्न पुगेको भूगोल । तर पनि, प्राचीन कला र संस्कृतिको वैभवशाली निशानी च्यापेर बसिरहेको एउटा सभ्यता ।
शक्तिसम्पन्न मुलुकको हस्तक्षेप र गृहकलहको भुमरीमा परेर अफगानिस्तानले बम र बारुदसँग सामना गर्न परिरहेको छ । यही कारणले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बरोबर छाइरहने मध्यएसियाली मुलुक अफगानिस्तान फेरि पनि चर्चाको शिखरमा छ ।
तालिबान (धार्मिक विद्यार्र्थी) नामले परिचित विद्रोही शक्तिले दोस्रो पटक सत्ता कब्जा गरेपछि अफगानिस्तानको भविष्यबारे विश्वव्यापी चिन्ता र चासो बढेको छ । पटक पटक युद्ध र अशान्ति भोग्न अभिशप्त अफगानिस्तानको भविष्य फेरि पनि चौबाटोमा पुगेको छ ।

अफगान रणभूमिको विगत
अफगानिस्तानका लागि युद्ध र हस्तक्षेप कुनै नयाँ विषय होइन । विगत दुई हजार वर्षभन्दा बढी समयदेखि यो मुलुकले युद्धको विभीषिका झेल्दै आएको छ । अफगानिस्तानको इतिहास लामो र जटिल छ । अफगानी भूमिमा भएको युद्धको सुदूरपूर्व इतिहासतिर फर्कंदा प्राचीन म्यासेडोनियन सम्राट अलेक्जेण्डर महानले ईसापूर्व ३३० मा अफगानिस्तानमा आक्रमण गरेको इतिहास छ ।
यसपछि पनि समयको विभिन्न कालखण्डमा अफगानिस्तानले युद्धको मार निरन्तरजसो झेलिरह्यो । विभिन्न अरब शासकले ईश्वीको सातौँदेखि नवौँ शताब्दीमा, मङ्गोल सम्राट चङ्गेज खानले तेह्रौँ शतब्दीमा, मुगल सम्राटहरूले चौधौँ र साह्रौँ शताब्दीमा र सिख राजा रञ्जित सिंहले उन्नाइसौँ शताब्दीमा अफगानिस्तानमा युुद्ध मच्चाएको ऐतिहासिक अभिलेख भेटिन्छ ।
विगतमा अनेक शक्तिशाली शासनहरूको घोडचडी फौजले धावा बोलेको अफगानिस्तानमा आधुनिक समयमा पनि शक्तिसम्पन्न मुलुकहरूले निसाना बनाइरहे । उन्नाइसौँ शताब्दीमा बेलायत, बीसौँ शताब्दीमा सोभियत सङ्घ र एक्काइसौँ शताब्दीमा अमेरिकाले आ–आफ्नो स्वार्थ राखेर अफगानिस्तानमाथि गोला–बारुद वर्षाए । यद्यपि, यी तीनवटै मुलुकले हार बेहोर्नुप¥यो । यी तीनवटै ‘मै हुँ’ भन्ने मुलुकले बेहोर्नुपरेको असफलताबाट अफगानिस्तानको एउटा बेग्लै पहिचान बनेको छ । अफगानिस्तानलाई ‘साम्राज्यवादीहरूको चिहान’ भनेर पुकारिन्छ, जुन बहुधा अर्थपूर्ण र सान्दर्भिक प्रतीत हुन्छ । यो शब्दावलीले अफगानी नागरिकको जुझारुपनलाई पनि सङ्केत गर्छ ।

वर्तमान तस्बिर
अफगानी नागरिक जति नै जुझारु भए पनि बाह्य मुलुकको हस्तक्षेप र गृहकलहबाट मुलुक जर्जर बनेको छ । सोभियतकालदेखि अहिलेसम्मको युद्धमा बिछ्याइएकामध्ये एक लाख जति विष्फोटक पदार्थ (ल्याण्डमाइन) अझै पनि देशका विभिन्न भागमा छरिएर रहेका छन्, जसबाट समय–समयमा अनाहकमा सर्वसाधारणको ज्यान जाने गर्छ ।
राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार अफगानिस्तानको कुल जनसङ्ख्या पुग–नपुग चार करोड छ । मुलुकको जर्जर अवस्थाबाट वाक्क भएर देशै छाडेर जानेहरूको सङ्ख्या उच्च छ । यही आधारमा अफगानिस्तान विश्वकै ठूलो शरणार्थी उत्पादक मुलुक भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार शरणार्थीको रूपमा दर्ता भएका नागरिकको सङ्ख्या २५ लाख छ, जुन वास्तविक सङ्ख्याभन्दा निकै कम मानिन्छ ।
मुलुकमा भ्रष्टाचारको दर उच्च छ । यसबाट अन्तर्राष्ट्रिय मानकमा अफगानिस्तानको स्थान निकै तल पर्न गएको छ । ‘ट्रान्सप्यारेन्स इन्टरनेसनल’द्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार पारदर्शिता र आर्थिक सदाचारको कसीमा अफगानिस्तान १६५औँ स्थानमा छ ।
मानव विकासमा यो मुलुक पछाडि नै छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) का अनुसार अफगानिस्तानको मानव विकास सूचकाङ्कमा क्रमिक सुधार आए पनि अझै धेरै सुधार हुन आवश्यक छ । अफगानिस्तानको मानव विकास सूचकाङ्क ०.५११ रहेको छ, जुन विश्व वरीयतामा १६९ स्थानमा पर्छ ।
युएनडीपीकै अनुसार अफगानिस्तानमा १३ प्रतिशत नागरिकले मात्र इन्टरनेट सेवा उपयोग गर्न पाएका छन्, जहाँ इन्टरनेट सेवा तुलनात्मक रूपमा महँगो पनि मानिन्छ । नागरिकमा मोबाइल फोनको पहुँच भने उत्साहप्रद छ । त्यहाँका ९० प्रतिशत नागरिकमा मोबाइल फोनको पहुँच रहेको आँकडा छ ।
अफगानिस्तानको साक्षरता दर ४३ प्रतिशत छ । यो मुुलुकले शिक्षामा सबै बालबालिकाको समान पहुँच बढाउन धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ । एक अनुमानअनुसार त्यहाँ ३ं७ लाख युवा शिक्षाको उज्यालो घामबाट वञ्चित भएका छन्, जसमा महिलाको हिस्सा ६० प्रतिशत हुन आउँछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बुर्का लगाएका अफगानी महिलाहरूको तस्बिर तथा भिडियो बारम्बार देख्दा धेरैलाई लाग्न सक्छ– विगतदेखि नै अफानिस्तान बुर्काभित्र गुटमुटिएको परम्परापरावादी मुस्लिम मुलुक हो । यो बुझाइ आंशिक सत्य हो ।
सन् १९७० को दशकअघि अफगानिस्तानका शहरीया महिलाहरू बुर्काबिनै हिँडडुल गर्न सक्थे, त्यहाँ खुलेका डिस्को र नाइट क्लबमा उनीहरू जान सक्थे । अफगानी समाजलाई नजिकबाट नियालिरहेका कतिपय मानिसका दृष्टिमा तत्कालीन अफगान भूमिको शहरी क्षेत्र युरोपजस्तै थियो । कतिपय अफगानी शासकहरू महिला अधिकारका पक्षमा खुलेर लागेको इतिहास भेटिन्छ । यसको एउटा दृष्टान्त राजा अमानुल्लाह खान (सन् १८९२–१९६०) हुन् । उनले महिलालाई बुर्काबाट छुटकारा दिएर पश्चिमी शैलीका पहिरनमा रमाउन प्रेरित गरेका थिए । मुजाहिद्दीन, तालिबानजस्ता कट्टरपन्थीहरूको हातमा शासन गएपछि अफगानी समाज दुर्भाग्यवश ‘ब्याक गियर’ मा गएको प्रष्टै देखिन्छ ।

रेशममार्ग
प्राचीन रेशममार्ग (सिल्क रोड) को महŒवपूर्ण नाकाको रूपमा रहेको अफगानिस्तान नेपालजस्तै भूपरिवेष्टित मुलुक हो, जुन युरोप र एसियालाई जोड्ने योजक–भूमि मानिन्छ । समयको लामो कालखण्डमा रेशममार्गबाट व्यापारिक वस्तुमात्र होइन, अनेक धर्म, कला र संस्कृति पनि आदानप्रदान भए ।
यस किसिमको आदानप्रदानको प्रतिविम्ब अफगानी संस्कृतिमा देखिन्छ । अफगानिस्तान युरोप र मध्यएसियाका लागि एउटा महŒवपूर्ण भौगोलिक कडी मानिन्छ, जहाँबाट पाकिस्तान, भारतलगायतका दक्षिण एसियाली मुलुक छिर्ने ढोका खुल्छ । बाटोघाटो उचित व्यवस्थान नभएको समयमा चर्चित युरोपेली व्यापारी, अन्वेषक तथा यात्री मार्को पोलो (सन् १२५४–१३२४) ले अफगानिस्तानसँग जोडिएको रेशममार्ग हुँदै भारत, मङ्गोलिया, चीनलगायतका एसियाली मुलुकको कष्टसाध्य यात्रा सम्पन्न गरे । उनले कायम गरेको कीर्तिमानीको गौरवगाथा इतिहासका पानाभरि भेटिन्छ ।
आधुनिक समयमा अफगानिस्तानलाई पश्चिमी गोलाद्र्धमा चिनाउने काममा स्कटिस् अन्वेषक सर अलेक्जेण्डर बर्नस् (सन् १८०५–१८४१) को नाम अग्रपङ्क्तिमा आउँछ । बर्नस्ले अफगानिस्तान, तुर्कमेनिस्तान तथा इरानको लामो र कष्टप्रद भ्रमणपछि सन् १८३५ मा ‘ट्रभल्स् इनटु बुखारा’ पुस्तक निकाले ।
रोचक यात्रावृत्तान्तले भरिएको त्यो पुस्तक निस्केपछि उनी त्यस समयमा सेलिब्रिटी नै बने । त्यस पुस्तकमार्पmत पश्चिमी दुनियाँले अफगानिस्तानलगायत मध्यएसियाबारे जानकारी प्राप्त गरे । यसभन्दा अघि अफगानिस्तानबारे पश्चिमा दुनियाँलाई धेरै कम जानकारी थियो भनिन्छ ।

अथाह प्राकृतिक वैभव
भौगोलिक दृष्टिले रणनीतिक अवस्थितिमा रहेको अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले पनि वैभवपूर्ण छ । फलाम, तामा, सुन, मार्बल, प्राकृतिक ग्यास, कोइला, निकेल, कोल्बाटजस्ता प्राकृतिक स्रोतका लागि धनी मुलुक मानिन्छ । यति मात्र होइन, विश्वकै दुर्लभ खनिज मानिने लिथियमको ठूला भण्डारमध्ये एक यहीँ छ ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट (अगष्ट १९, २०२१) मा प्रकाशित एक लेखका अनुसार अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले अत्यन्त्य वैभवशाली भएर पनि अधिकांश नागरिक दैनिक दुई अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवन गुजारा गर्छन् ।
मुलुकमा विद्यमान अथाह प्राकृतिक सम्पदालाई उपयोग गर्न सक्ने हो र शान्ति सुव्यवस्था कायम हुने हो भने एक दशकभित्रै अफगानिस्तान त्यस क्षेत्रको समृद्ध मुलुकमध्ये एक बन्न सक्छ भन्ने तथ्य लेखमा औँंल्याइएको छ । अफगानिस्तान नशालु पदार्थ अफिमको प्रमुख उत्पादक मानिन्छ, जुन अफगानी अर्थतन्त्रको महŒवपूर्ण हिस्सा मानिन्छ । अफगान भूमिमा शक्तिशाली मुलुकहरूले अनेक बहानामा पटक पटक हस्तक्षेप गर्नुको मूल ध्येय त्यहाँको अथाह प्राकृतिक सम्पदा हत्याउनु हो भन्ने दृष्टिकोण राख्नेहरू पनि थुप्रै छन् ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदा
अफगानिस्तान कम पानी पर्ने शुष्क जलयुक्त मुलुक हो । झलक्क हेर्दा त्यहाँको शुष्क जलवायुयुक्त प्राकृृतिक परिवेश उतिविधि चित्ताकर्षक देखिँदैनन् । तर पनि, अफगानी भूगोलमा लुकेर रहेको प्राकृतिक सौन्दर्य र मनमोहकपन अद्वितीय मानिन्छ । कतिपयले अफगानिस्तानलाई पृथ्वीको स्वर्ग मानेका छन् । भारतमा मुगल साम्राज्यको जग बसाल्ने बादशाह जाहिरूद्दीन मोहम्मद बाबर (सन् १४४३–१५३०) अफगानिस्तानको राजधानी काबुलको उच्च प्रशंसक थिए । बाबरले सन् १५०४ मा काबुलमा विजयको ध्वजा फहराएका थिए । उनले आफ्नो आत्मावृत्तान्त ‘बाबरनामा’ मा काबुलको खुलेर प्रशंसा गरेका छन् ।
बाबर प्रकृतिप्रेमी थिए । उनले काबुलको हावापानी, भौगोलिक अवस्थिति, यस वरपर भेटिने चराचुरुङ्गी, नदी, तालतलैया तथा फलपूmलबारे मीठो वर्णन गरेका छन् । उनले आफ्ना कृति ‘बाबरनामा’ मा काबुल वरपर अङ्गुर, कागती, अनार, आरु, स्याउ, आलुबखडा, बयर, बदाम, ओखर, सुन्तला आदि फलपूmल पाइने र तिनीहरूको स्वाद वर्णन गर्नै नसकिने चर्चा गरेका छन् ।
अनार अफगानस्तिानको चर्चित फल हो । अफगानिस्तानलाई ‘अनारको देश’ भनेर पुकार्ने चलन पनि छ । एक तथ्याङ्कअनुसार अफगानिस्तानमा तरभुजा, अङ्गुरलगायतका विविध प्रकारका १५ लाख टन फलपूmल प्रत्येक वर्ष उत्पादन हुने गर्छ ।
काबुल बाबरले निकै मन पराएको ठाउँ थियो । उनले त्यहाँ १० वटा बगैँचा बनाउन लगाए भनिन्छ । उनले बनाउन लगाएका एउटा बगैँचा बाग–ए–बाबर नामले परिचित छ । बाबरको बगैँचा ११.५ हेक्टरमा पैmलिएको छ । बाबरको समाधि पनि यही बगैँचामा छ । बाग–ए–बाबर विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ ।
बाबरको बगैँचा सन् १८४२ को भूकम्पबाट क्षतिग्रस्त बन्न पुग्यो । युनेस्कोले यसलाई जीर्णोद्धार गरेपछि सन् २००८ मा सर्वसाधारणका लागि खुला गरिएको थियो, जुन एउटा चुम्बकीय आकर्षणयुक्त गन्तव्य मानिन्छ । सन् २०१६ मा दश लाख पर्यटकले बाग–ए–बाबरको भ्रमण गरेका ‘फ्याक्टस्’ नामक वेबसाइटमा उल्लिखित छ ।
काबुलबाहेक कन्दाहार, मजार–ए–सरिफ, जलालावाद, बाख, हेरात, पैmजावादलगायतका कैयौँ स्थानमा प्राचीन सभ्यताका डोबहरू भेट्टाउन सकिन्छ । यी स्थानको भ्रमण ऐतिहासिक तथा पूराताŒिवक अन्वेषणका दृष्टिले महŒवपूर्ण मानिन्छ । यसैगरी, संसारको छानो नामले परिचित पामिर, हिन्दुकुश पर्वत शृङ्खलाका अनेकन् भूखण्ड र अन्य विविधतायुक्त भूभाग पदयात्रा तथा दृश्यावलोकनका दृष्टिले मात्र होइन, प्राकृतिक सम्पदा र जीवनशैलीको अध्ययन–अन्वेषणका दृष्टिले परम महŒवपूर्ण गन्तव्य हुन् ।

बामियान उपत्यकाको वैभव
बामियान उपत्यकाको शाब्दिक अर्थ हो, ईश्वरको उपत्यका । यो उपत्यका राजधानी काबुलबाट १३० किलोमिटर उत्तर पश्चिममा हिन्दुकुश पर्वत शृङ्खलामा पर्छ । दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित बामियान उपत्यका ऐतिहासिक तथा पुराताŒिवक दृष्टिले अतिशय अर्थपूर्ण गन्तव्य मानिन्छ ।
बामियन उपत्यकामा ईश्वीको पाँचौँ शताब्दीतिर निर्मित बुद्धको दुईवटा मूर्ति विशेष चर्चित थियो । ५५ मिटर र ३८ मिटर अग्लो मूर्तिले विश्वको ध्यान खिचेको थिया । यी मूर्ति पहाडलाई खोपेर तयार पारिएका हुन् । सन् २००१ मा तालिबानले नष्ट गर्नुभन्दा अघि यी मूर्ति विश्वकै अग्लो र पुरानो बुद्धमूर्ति मानिन्थ्यो ।
बामियन उपत्यकामा निर्मित अग्लो मूर्तिको उचाइलाई बीस तला अग्लो भवनसँग तुलना गरिन्छ । आधुनिक यन्त्र–उपकरण र प्रविधि विकास नभएको त्यस युगमा यस प्रकारका अद्भूत कलाकृति सिर्जना हुनु निश्यच नै अनौठो घटना हो, जुन अन्वेषकहरूका लागि दिमाग रन्थन्याउने विषय बन्दै आएको छ । बामियान उपत्यकामा यी दुई बुद्धमूर्तिका अतिरिक्त अरू साना मूर्तिहरू छन् । थुप्रै गुफा पनि छन् । ती गुफामा तैलचित्रहरू छन्, जुन विश्वको पुरानो तैलचित्रमध्येकै मानिन्छन् । बामियान उपत्यकामा लोपोन्मुख अवस्थामा रहेका यस्ता सांस्कृतिक तथा पुराताŒिवक वस्तुले प्राचीन समयको सांस्कृतिक वैभवबारे मुकभाषामा वर्णन गरिरहेका छन् ।

हिप्पी ट्रेल
अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार अमेरिकी मूलधारको समाजभन्दा भिन्न जीवनशैली अपनाएका शान्तिप्रेमी र मानवतावादी दृष्टिकोणका हिमायतीहरू नै हिप्पी हुन् । अरूको भन्दा बेग्लै खालको पहिरनमा हिँड्नु, लामो–लामो कपाल तथा दाह्रीजुँगा पाल्नु तथा गाँजाजस्ता लागू औषध प्रयोग गर्नु उनीहरूको थप परिचय हो ।
सन् १९५० को मध्यदेखि १९७० को दशकसम्म हिप्पी आन्दोलन जारी रह्यो । यस आन्दोलनमा अमेरिका, क्यानडा तथा बेलायतका युवाको संलग्नता रह्यो । ती युवा युरोप हुँदै एसियाको भ्रमण गरेर जीवनको आनन्द लुट्दै हिप्पी आन्दोलनको सन्देश प्रवाह गर्थे ।
त्यस कालखण्डमा पश्चिमाहरू टर्कीबाट स्थलगत यात्रा सुरु गरेर इरान, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । यो रुट ‘हिप्पी ट्रेल’ नामले परिचित थियो, जुन एक समय ज्यादै चर्चित थियो । यसरी स्थलगत यात्रा गर्नु वैकल्पिक पर्यटनको अभ्यास पनि थियो ।
‘हिप्पी ट्रेल’ मा पर्यटकहरू हिँड्ने समयमा अफगानिस्तान सापेक्षित रूपमा शान्त देश मानिन्थ्यो । विविधतापूर्ण भूगोल, मौलिक जीवनशैली, गाँजा–अफिमजस्ता लागू पदार्थको उपलब्धताजस्ता कारणले हिप्पीहरूका लागि अफगानिस्तान आकर्षक गन्तव्य मानिन्थ्यो ।

अफगानी सङ्गीत
अफगानिस्तानमा पस्तुन, ताजिक तथा हजारा समुदायमा प्रचलित परम्परागत भावप्रधान रैथाने गीत–सङ्गीत निकै लोकप्रिय मानिन्छन् । अफगानी सङ्गीतमा भारतीय, इरानी तथा अरबी साङ्गीतिक प्रभाव पनि देखिन्छ । समयको प्रवाहसँगै अफगानी सङ्गीतमा रक तथा पप सङ्गीत पनि भित्रिएको छ । आधुनिक इतिहास नियाल्दा सन् १९५० देखि १९७० को कालखण्डलाई अफगानी सङ्गीतको स्वर्ण युग मान्न सकिन्छ ।
सन् १९९६ मा तालिबानी युग सुरु भएपछि सङ्गीतकर्मीहरूमाथि कुटपिट तथा गीत–सङ्गीत सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध हुन थालेपछि कतिपय सङ्गीतकर्मी देश छाडेर भागे । तालिबानी युग (सन् १९९६–२००१) अफगानी साङ्गीतिक परिवेशका अँध्यारो युग मानिन्छ । अब, फेरि पनि तालिबानी युग नै सुरु भएको अवस्थामा अफगानी सङ्गीतको भविष्य फेरि पनि दोबाटोमा पुगेको छ ।

बिसौनी
अफगानिस्तानको शासनसत्तामा फेरि पनि तलिबानको हातमा गएको छ । रजगज सुरु भएको छ । यस पटक उदारवादी चेहरा देखाउने प्रयास गरेको छ । अब, पुरानो सभ्यतासँग जोडिएको विराट अफगानी समाज उही बुर्का र लामा लामा दाह्री जुँगाको युगमा फर्कन्छ वा नयाँ सुधारका साथ लोकतान्त्रिक तरिकाले अघि बढ्छ ? अफगानी नागरिकको भविष्यसँग जोडिएको यो प्रश्नको उत्तर समयले मात्र दिन सक्नेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?