logo
२०८१ बैशाख १२ बुधवार



निबन्ध : रङ उपचार

शनिवार |


निबन्ध : रङ उपचार


तेजेश्वरबाबु ग्वंगः

‘रङ्ग अभिज्ञान’ निर्बन्ध आत्मपरक आयामिक निबन्ध सँगालो भन्ठानेथेँ । परन्तु, जेजति सोचेको हुन्छु, ती परिवेश मण्डित प्रभावका परिणाम बन्दारै’छन् । अनि उस्तै परिमाणका नतिजा पनि त परिणामै हुँदा हुन् । सीधा सोझा लवजमा भनुँ भने प्रत्येक कर्म कर्तुतका परिणाम हुन्छन्; बन्छन् । कर्म हामी प्रत्येकले गर्नैपर्ने धर्म हो । कर्मलाई हामी धर्म भन्ने गर्छौं, भन्छौँ । यो हाम्रो नेपाली धर्म बनेको छ । धर्म कर्तव्य परायणताकै पर्याय हुन्छ, बन्छ । केही वस्तुभावलाई अभ्यन्तरबाटै बुझेर पालन गर्ने नैतिक आचरण बन्छ, रहेको छ धर्म । धर्म अन्ध विश्वास होइन । भित्री मर्म बोध भए पछि धर्मको वास्तविक अर्थ खुल्छ । वास्तविक अर्थ खुल्नु, खुलाउनु पनि त रङ उपचार बन्छ र हो । प्रकृतिको नियम यस्तै छ । सुखै हुन्न नमानी । प्रकृतिको लीला अपरम्पार । पार गर्नै सकिन्न कसैले ! अछूत रहन पाउँछु र ? नियतिले अँगालेको बाबै म नि त । रङको नि त आफ्नै कर्मवादी पक्ष हुन्छ । रङ बोल्दैन । रङ मौन धारणा राख्छन् । मात्र धारणा अवधारण गर्छ । तपाईं हामीले त हो रङलाई सस्वर बाचल वाचन गरिहाल्नु पर्दो हुन्छ ।

‘रङ्ग अभिज्ञान’ निबन्ध सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशित भएथ्यो । उनकै आयोजनामा तत्कालीन महाप्रबन्धक डोलिन्द्र शर्माको अध्यक्षतामा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण भएथ्यो । नाजुक स्वास्थ्यको कारण मञ्चमा उक्लनसम्म सकिनँ । निबन्धकार–समालोचक डा. लक्ष्मण गौतम, कवि निबन्धकार दीनानाथ शर्माले ‘रङ्ग अभिज्ञान’ माथि मन्तव्य राख्नु भएथ्यो । सुझाव सहित । लोकार्पण अवसरमा वाङ्मय शताब्दी पुरुषले उपचारमा रङका प्रसङ्ग पनि जोडेथे सप्रसङ्ग । मनमा लागेर पनि अकर्मण्य रहेँ । कर्मशीलताका लागि मन र देह दुवै उत्तिकै सब्बल–सार्थक हुनुपर्दो रहेछ । बल्ल जमर्किंदैछु । यस्तै रहेछ !

रङका मूल रङहरू सूर्य किरण भित्रबाट निश्रृत हुने सात रङ नै हुन् । दुई थप रङ सम्मिश्रण भई नवरस, नवरङ बने । आध्यात्मिक पूर्वीय जीवन दर्शनले हेरे देखेका ती रङभेदहरू विश्वजीवन दर्शनले एकैनास उस्तै उही नै भेटे देखेछन् । यो मानवीय दृष्टिकोण रहे बनेका छन् । मानवीय दृष्टिकोण त्यो दृष्टिकोण बन्छ जहाँ, जसमा कुनै विवाद र विभेद रहेको हुन्न । भनौँ कि निर्विवाद सत्य या शाश्वत सत्य मानवीय दृष्टिकोण ..... सर्व मङ्गल माङ्गल्यम्– कहीँ कसैको केही अफाप अहित हुन्न हुन्न ! यो दृष्टिकोण पनि रङ उपचारकै सुखद उपज मान्छु । यो सकारात्मक दृष्टि रङ उपचारकै सुमधुर उपज हो पक्कै ! सकारात्मक मधुरस वाणि सौहार्द सोच विचारबाट उद्भव हुँदोरै’छ । आफ्नै अनुभूतिले लेपन गर्न जमर्किंदै औकातभरिको सौगात अर्पी रहेछु । रङ उपचार !

निद्रामा नि रङहरू सुमसुम्याउँदै उपचार गर्न आउँछन् मलाई । निद्रित मुद्राका रङ उपचार नितान्त आनन्ददायक पो हुँदारै’छन् । रङउपचारका ती मदहोस क्षण साँच्चैका आनन्ददायक स्वर्णिम क्षण हुँदारै’छन् । जजसलाई त्यस मुहूर्तले अँगालेका छन्; पक्कै नि उहाँहरूले जीवनका जिउँदा अनुभूति सम्हाल्न र सँगाल्न पाउनुभएको ठान्छु । तर, निद्रित अवस्थाका सुखद मदहोस अनुभूति चिरञ्जीवी बन्दारै’नछन् । अल्पायुधारी ती क्षणहरू साँच्चिकै उपचार बन्दारहेछन् अबल दर्जाका । चिन्ता मुक्तिका मणि नै हुँदा हुन् ती ..! चिन्ता मुक्त रहेको छु । सम्भवतः यिनै तारतम्यले अनुमान गर्छु सरासर ! राष्ट्रले नै घोषित शताब्दीव्यापी वाङ्मय शताब्दी पुरुष सय वर्ष पार गरी दुई वर्ष उँभो चुचुरो उक्लने सार्थक सामथ्र्यवान् नेपाली प्राण सावितिएका छन् । प्रकृति–वातावरण अनि सामाजिक पर्यावरणले शिवपुरी बाबाका समान स्वस्थ आयुष बरदपुरुष बनून् ! रङ उपचार कामना ...! लाग्छ उहाँलाई नि निद्रित अवस्थाका स्वप्निल क्षणहरूले दीर्घायु कामनाका रङ उपचार गर्दा हुन् । सहज अनुमान गर्न भ्याउँछु आहा !

आनन्द सागर त आफ्नै हुँदारै’छौँ । सोचेँ मेरा महाकवि गुरु स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा जसका मैतीदेवीस्थित कविकुञ्जमा महिना दिन ट्युसन शिक्षा हासिल गरेथेँ २०१० माघमा । ‘नसा नदीका तरल तरङ्ग मन्दिर आफू अपार’ का व्याख्यान पाएँ बेजोड अनुपम ! जे अनुपम हुन्छ त्यो बेजोड बन्दोरहेछ । नसा नदीका तरल तरङ्ग आफूभित्रका ती अविरल आनन्दका तरङ्ग बहार बन्दा रहेछन् । यस बैँसमा अनुभूत गर्दैछु बल्ल ! हाम्रा पूर्वज ऋषिमुनिका दीर्घायु स्वरूप आफ्नै रातो रङ्गका तरल तरङ्ग नसा नदीका स्वस्थ–स्वच्छन्द गतिमै त निर्भर हुँदारै’छन् । रङ उपचारका प्रसङ्गले मेरै तेजेश्वरे घैँटोमा घाम लगाई दिएछ । यसो भन्दैगर्दा आफैँ गौरवान्वित हुन्छु । सत्यार्थ प्रकाशमा गौरवगाथाका चेत जाग्दो रहेछ । यहीँ पनि त रङ उपचार हुँदारै’छन् । रङले उपचार नगर्ने छेउ कुनै नहुँदा रहेछन् ! रङ उपचार रङ्गीन किरणका विम्बहरूबाट यथेष्ट हुँदारै’छन् । एक्स् रे, गामा रेहरू स्वास्थ्योपचारमा भइरहेकै छन् मनग्गे । रसायन शास्त्रका विद्यार्थी हुँदो हुँ त प्रचूर मात्रामा उल्लेख गर्न पाउँदा हुुँ । सर्वज्ञको मात्र हुँदा हुन् ! आश्चर्यान्वित हुन्छु आफँैमा ! छातीमा हात हाली भन्दैछु ! घरघरमा हामी बालक वान्धवलाई बिहानी घाममा मनतातो पानीमा तोरीको पिनाले जिउ नुहाई पखाल्ने गर्छौं । बिहानी घामको किरणले भिटामिन डी पोषण गर्छ । स्वास्थ्य विज्ञानले चरितार्थ पारेको छ यसलाई । के यो रङ उपचारका परम्परागत उदाहरण नबन्ला ?

जीवन उपचारमय छ – रङ उपचारपूर्ण ! चालै नपाइकन अङ्गप्रत्यङ्गभरि सूक्ष्म उपचार पाइरहेकै हुन्छौँ हामी । हाम्रा अङ्गहरू बहिरङ्ग र अन्तरङ्गहरू अबिरल गतिमा उपचार पाइरहेका हुन्छन् । हाम्रै दैहिक अङ्ग प्रत्यङ्गले प्राकृत तवरले शाश्वत उपहारस्वरूप उपचार पाइरहेकै हुन्छन् । रातमा निदाउँछौँ शाश्वत उपहार भनौँ वरदान । बेलाबखत कोल्टिन्छौँ । उत्तानिन्छौँ । घोप्टिन्छौँ । मुद्रामय ती गतिका आफ्नै रङ हुन्छन् । चाल पाउन्नौँ हामी रतिभर । प्रकृतिका लीला अपरम्पार यी । अनुसन्धाताहरू खोजीनीति गर्दा हुन्, गरुन् । आआफ्ना रुचिगत तलास ! यसमा कपाल दुःखाउनु परोइन । आआफ्ना सरोकार निजी अभिरूप सीपवान् अभिरुचि ! लाग्छ भिन्न भिन्न रुचि–सीपले अग्रगमन गराएको मानवीय क्षमता ! ती सबका आफ्नै रङ हुन्छन् । त्यति गहिरो अभिरुचिपूर्ण चासो राख्दैनौँ हामी । कताकता लाग्छ मलाई त्यसभित्र रङ उपचारका प्रभाव छ । रङ उपचार हाई हाई ! कुनै समय आउलान् पक्कै खोजीनीतिले अहिलेसम्म नसोचिएका इन्तु न चिन्तुका अथाह उपलब्धि हासिल गर्नेछन् । भविष्यप्रतिको आस्था र विश्वास यो मेरो !

इन्द्रियै इन्द्रियहरूका सपाङ्ग शरीरधारी हामी । पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियका संयुक्त देह यो । इन्द्रियहरू चेतनाका पुञ्ज ! तिनकै माध्यमबाट चेत खुल्छ हाम्रो । जननेन्द्रिय हाम्रा प्रजननका मूल साधना मार्ग । दूधे बालक आमाका स्तनपान माध्यम हृष्टपुष्ट हुन्छ । बढ्छ, हुर्कन्छ । आमाका काखमा लेट्दै दूध चुस्नु रङ उपचार बन्छ । जीवनको रङ । बालक दूध चुस्दै मातृ स्नेह र ममताको रङ भर्छ जीवनदायी । लाग्छ मातृ स्नेहको रङ जीवनकै रङले ममतामयी रङ बन्छ । जीवनको रङ कुलघरानको रङ हो । बहिरङमा भौगोलिक वातावरण, स्थानीय पर्यावरण र जलवायुको प्रत्यक्ष प्रभाव परेको हुन्छ । रङ संवेदना साथ भनूँ कि यसमा रङ उपचार लेसिएको पाउँछु ! स्तनपान गराउँदै आमा बालक अवर्णनीय रङ उपचार ग्रहण गर्दा हुन् ! त्यस क्षणका ती रङ उपचार अव्यक्त योग बनेको अनुभवी मातृत्वधारीबाटै जानेको धारणा । सबै सबै नै पितृ घरानकाले आफ्नै गृहस्थाश्रममा मनग्गे बोघ गर्न पाउँदा हुन् यसलाई ! मातृत्वधारी गृहिणीहरूबाट यो अनुभूतिगम्य रङ उपचार मनग्गे उपयोग गर्न पाइन्छ । मात्र जिज्ञासामय रङ उपचार आवश्यक पर्छ ! जिज्ञासाका रङ उपचार घरघरै उपलब्ध छ हामीलाई !

रङ भेदका मूल उपकरणाधार इन्द्रिय आँखै हो । रातो, नीलो, हरियो, पहेँलो, सुन्तला, बैजनी र सेतो सप्त रङ आँखैले छुट्याउँछ । अनौठो मान्नु परोइन, सायद इन्द्रियहरू मध्ये नाक, कान, जिब्रो आदिले पनि आआफ्नै पारामा रङ भेदी उपचार गरी राखेकै हुँदारै’छन् । घ्राणेन्द्रियले वासनाका माध्यम रङ उपचार गरी रहेका हुन्छन् । रङका वासना त हुँदैन प्रत्यक्ष । तथापि महक त महकाइ रहेकै हुँदारै’छन् । मात्र सूक्ष्माति सूक्ष्म सचेतना चाहिँदो हो; त्यसको अन्तर अनुभूति हुन थाल्छ । आफू भित्रभित्रै । यस घडी मभित्र यस चेतले मन्त्रदान दिइरहेझैँ लाग्छ । नत्र यो तन, मन र इन्द्रियहरू कसरी ओतप्रोत हुँदा हुन् ? रङ उपचार विधि–विधान–तन्त्र आदिले । आदिम युगमा विज्ञान र वैज्ञानिक पद्धति थिएन । तैपनि मान्त्रिक–तान्त्रिक मार्गहरू हिँड्दथे मानिसका समाज र समाज भित्रका मानिस । किन्तु, सप्तरङ होस् कि नवरङ एकै चक्रमा घुम्दा रङहरू सम्मिश्रण भएर सबै एकाकार हुन्छन् । वैज्ञानिक सर आइज्याक न्यूटनले यसलाई न्यूटन ह्विल फनफनी घुमाई चरितार्थ गरेकै हुन् । बहुरङहरूका सम्मिश्रित रेसाका रेखा फनफनिँदा सेतामा परिणत हुँदारै’छन् । आफ्नै धुरीमा फनफनिरहँदा त रातो सूर्यबाट सेतो किरणका तेज निश्रृत हुँदारै’छन् ।

हाम्रो आफ्नै समाजमा पुुस्तान्–पुस्ताअघिदेखि छाती, पिठ्यूँ, कम्मर, जाँघ जहाँतहीँ एक प्रकारका कनिके खटिरा रोग लाग्छ । तीन प्रकारका रङले सिँह लेखाएर रोग निवारण गर्ने रङ संस्कार मूलक उपचार पद्धति चलेकै छ । यो रङ उपचार पद्धति अद्यावधिकै छ । खटिराले आक्रान्त शरीरका ठाउँठाउँमा परम्परागत, पेसेवर चित्रकार परिवारका सदस्यद्वारा सिँहहरूको चित्र लेखाएर उपचार गर्छ, गराउँछ । रङ उपचारमा रातो, हरियो, पहेँलो, तीन रङ प्रयोग गर्छन् । रङ उपचारका उपकरण यिनै रहेका छन् । हाम्रा परम्परागत चित्रकार समाज पनि कुलिन धर्मका दीक्षाद्वारा दीक्षित रहेका हुन्छन् । कुलिन धर्म दीक्षा वंशज परम्परालाई जगेर्ना गर्नका लागि दिइने संस्कार रहेको छ । ‘पापाय परपीडनम्; पुण्याय परउपकारम्’ मन्त्रले अभिप्रेरित गर्नु गराउनु हो – रङ उपचारमा हाम्रा परम्परागत संस्कार र संस्कृति !

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?