logo
२०८० चैत्र १६ शुक्रवार



फूलको घुम्टोमा खप्तड

शनिवार |


फूलको घुम्टोमा खप्तड


डिलबहादुर सिंह


सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडलाई धर्तीको स्वर्गका रूपमा पनि लिइन्छ । डोटी, अछाम, बाजुरा र बझाङको सङ्गमस्थलमा रहेको खप्तड क्षेत्र वर्षायाममा फुल्ने फूलहरूले ढकमक्क ढाकिएका छन् । हिउँदमा हिउँको घुम्टोभित्र लुक्ने खप्तड वर्षायाममा फराकिला पाटनमा फुलेका विभिन्न रङ्गीचङ्गी फूलहरूले ढाकिएको छ । यो दृश्यले खप्तड बेहुलीझँै सिँगारिएको भान यहाँ पुग्ने जोकोहीलाई हुन्छ ।

विसं २०४२ मा २२५ वर्गकिलोमिटर क्षेत्रफल समेटेर खप्तड राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । समुद्री सतहबाट तीन हजार ५०० मिटरसम्मको उचाइ रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ५६७ थरिका वनस्पति पाइन्छन् । खप्तडलाई २२ पाटन, ५२ झोती (थुम्का)को सङ्गमस्थलका रूपमा पनि लिइन्छ । खप्तड राष्ट्रिय निकुञ्जलाई अन्य निकुञ्जभैmँ नेपाली सेनाले संरक्षण गरिरहेको छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । चैत–वैशाखमा भने यहाँ रङ्गीविरङ्गी लालीगुराँस फुलेको देख्न पाइन्छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दी खुकुलो भएसँगै खप्तडमा प्रकृतिसँग रमाउन जाने क्रम पनि सुरु भएको छ । रङ्गीचङ्गी फूलहरूको सौन्दर्यसँगै विभिन्न चराहरूको चिरबिर आवाजले यस क्षेत्रमा आउने जोकोहीलाई मन्त्रमुग्ध पार्दछ ।
प्राकृतिक रूपमा खप्तड जति सुन्दर छ, धार्मिक हिसाबले यस क्षेत्रको आफ्नै महìव छ । खप्तडलाई धार्मिक हिसाबले पवित्र तीर्थस्थलका रूपमा लिइन्छ । यहाँ नागढुङ्गा, खप्तड दह, खप्तडबाबा आश्रम, सहस्र लिङ्ग, त्रिवेणीघाटजस्ता स्थल रहेका छन् । यस क्षेत्रमा गङ्गा दशहरा र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । प्राचीनकालमा यहाँ ऋषिमुनिहरूले तपस्या गर्ने गरेको बताइन्छ । स्कन्दपुराणको मानसखण्डमा खेचराधी पर्वतका नामले खप्तडका बारेमा वर्णन गरिएको पाइन्छ । खप्तड बाबाले ५० वर्षसम्म यसै क्षेत्रमा तपस्या गर्नुभएको थियो । गङ्गा दशहरामा त्रिवेणीघाटमा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास छ । त्रिवेणीमा दुई नदी गङ्गा र जमुनाको सङ्गम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको जनविश्वास रहेको छ । पछिल्लो समयमा खप्तडलाई धार्मिक पर्यटकको गन्तव्यका रूपमा समेत हेर्न थालिएको छ ।
खप्तड यात्रा भने केही कठिन छ तर खप्तडको सौन्दर्यले बाटोको थकान मेटाउँछ । खप्तडमा घुम्न आउने पर्यटकका लागि बास बस्नेलगायत कार्यका लागि भौतिक संरचना निर्माण गरिएका भए पनि संरक्षण हुन सकेको छैन ।

कसरी जाने खप्तड ?
अछाम, बझाङ, बाजुरा र डोटीबाट खप्तड पुग्न सकिन्छ । यहाँ पुग्ने बाटाहरू धेरै भए पनि बढी चलनचल्तीमा रहेको बाटो डोटीको हो । काठमाडौँबाट हवाईजहाज वा बसबाट धनगढी पुग्न सकिन्छ । धनगढीबाट अछाम, बझाङ, डोटीका लागि हवाई सेवा सुरु गरिएको भए पनि नियमित हुन सकेको छैन ।
धनगढीदेखि डोटीको सदरमुकाम सिलगढीसम्म सात घण्टा बसको यात्रा गर्नुपर्छ । यहाँबाट दुई घण्टाको जिपको यात्रा गरेपछि डोटीकै झिग्रानासम्म पुगिन्छ । सिलगढीबाट हिँडेकै दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै अप्ठ्यारो तथा निकै ठाडो उकालो बाटो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठूल्ठूला चट्टान र घना जङ्गलको बाटो हिँड्नु पर्छ । बाटोमा फुलेका रङ्गीचङ्गी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जाँदा
बाटोमा आवश्यक पर्ने लुगा तथा खाना पकाउने भाँडाकुँडा लिएर जानु बेस हुन्छ । साथै तयारी
खानेकुरा पनि बोक्नुपर्छ । यहाँ बास बस्नका लागि गेस्टहाउस भए पनि तिनको उचित व्यवस्थापन हुन सकेको छैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?