logo
२०८० चैत्र १५ बिहीवार



पारिवारिक कानुनको सँगालो

शनिवार |


पारिवारिक कानुनको सँगालो


प्रा.डा. भागवत ढकाल

मुकुन्द शर्मा पौडेलको नवीन कृति ‘नेपालको पारिवारिक कानुन’ हालै बजारमा आएको छ । नेपाल ल क्याम्पसका सहप्राध्यापक तथा वरिष्ठ अधिवक्ता पौडेलको यो चौथो कृति हो । आषाढ शुक्ल एकादशी (हरिशयनी) मा प्रकाशित यो कृति त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा बढी आधारित छ तर कानुन सबैका लागि सधैँ काम लाग्ने कुरा हो । मलाई कानुन थाहा थिएन भनेर हामी कुनै घटनाबाट उम्किन सक्दैनौँ । तर कानुनको सामान्य जानकारीले कैयौँ घटनाबाट जोगिन सक्छौँ । तसर्थ आफ्नो क्षेत्र वा पेसा व्यवसाय भित्र पर्दैन भनेर हामी कानुनबाट भाग्न सक्दैनौँ, भाग्नु पनि हुँदैन ।

नेपालको पारिवारिक कानुनको यो कृति सिङ्गो नेपाल र नेपालीका लागि उपयुक्त छ । आजको भोगवादी र भौतिकवादी समाजमा पारिवारिक दायित्व र जिम्मेवारी ह्रासोन्मुख छ । सम्झौता र समन्वयका पारिवारिक मूल्य मान्यताहरू टुट्दा छन् । वैयक्तिक अहंको आगोमा मान्छे फरक मान्छेको अस्तित्व र गरिमाको रक्षा गर्न चाहँदैन, सक्दैन । यस्तो अवस्थामा नेपालको पारिवारिक कानुनले के बोल्छ, के भन्छ सबैका लागि सधँैको चासोको विषय हो । यसै चासोको सम्बोधन गर्ने उद्देश्यले विभिन्न कानुनका नजिर र ठेलीहरूको धुलो उहाँले झार्नु भयो होला तर हामीलाई एउटा गतिलो जीवन उपयोगी, समाज उपयोगी कृति दिनुभएको छ । ‘कीर्तियस्य सः जीवति’ कहाँ त्यसै भनिएको हो र ? पारिवारिक कानुनको अवधारणा र क्षेत्र, पारिवारिक कानुनका स्रोतहरू, नेपालमा पारिवारिक कानुनको परम्परा र वर्तमान अवस्था तथा पारिवारिक कानुनमा लैङ्गिक न्यायको प्रभावजस्ता आधारभूत कानुनको जगमा यो कृति जन्मिएको छ । जग बलियो भएपछि घर स्वतः बलियो हुने नै भयो ।
विवाहको अवधारणा, विभिन्न व्यवस्था, विवाहका सर्तहरू यसका परिणाम, बदर हुने वा गराउन सकिने विवाह, अपराधजन्य, दण्डनीय विवाह पुनर्विवाहको व्यवस्था, थर प्राप्ति परिवर्तनसम्बन्धी व्यवस्था, विवाह दर्ता सम्मका कुरा यहाँ छन् । साथै परिवार बन्नका लागि नेपाली समाजमा विवाह अपरिहार्य मानिने हुँदा त्यहाँसम्मका यस कृतिको दोस्रो युनिटमा बृहत् रूपमा सोदाहरण चर्चा गरिएको छ ।

कोर्टम्यारिज (दर्ता विवाह) का लागि कानुनी सर्तहरू र त्यसको कार्यविधिले तेस्रो युनिटमा ठाउँ पाएको छ । सम्बन्ध विच्छेद शीर्षक चौथो युनिटले यसको अवधारणा, सम्बन्ध विच्छेदका आधारहरू, प्रकार, सम्बन्ध विच्छेदको सिद्धान्त र न्यायिक पृथकीकरण र सम्बन्ध विच्छेदमा भिन्नताका कुरा उठान गरेको छ । सम्बन्ध विच्छेद मेलमिलापबाट वा न्यायिक प्रक्रियाबाट गर्दा सम्बन्ध विच्छेदका कार्यविधि के हुने ? पतिपत्नीको अधिकार र कर्तव्य, मासिक खर्च व्यवस्थापन, पुनर्मिलनका सम्भावना आदि अनेक कोणको व्याख्या यहाँ प्राध्यापक पौडेलले गर्नुभएको छ ।

आमाबुवा र छोराछोरी बिचको पारिवारिक कानुनले बोल्छ भन्ने कुरा पाँचौँ पूर्वीय युनिटमा आएको छ । सभ्यताले परिवारलाई ठूलो महŒव दिएको छ । पारिवारिक सम्बन्धको अवधारणा, आमाबुवा र छोराछोरीबिचको अधिकार कर्तव्यसम्बन्धी यावत् जानकारी यहाँ लेखकले गराउनु भएको छ । संरक्षकत्वका प्रकार, यसको निरन्तरता वा संरक्षकत्व अन्त्य हुने अवस्था अदालतद्वारा नियुक्त संरक्षक वा वास्तविक संरक्षक र तिनका कर्तव्य र अधिकारका कुरा छैठौँ युनिटमा छ ।
धर्मपुत्र÷पुत्री सम्बन्धी कानुनले के भन्छ भन्ने कुरा सातौँ युनिटमा छ । नेपालको समाजमा अंशवण्डा पनि एउटा ठूलो रोग हो । यसको कारणले कैयौँ परिवारमा पारिवारिक द्वेष बढेको छ । पैतृक अंशियार र निजी सम्पत्ति, अंशवण्डाको कार्यविधि, मानो छुट्टिने, जोडिने अवस्था अंशवण्डाका सम्बन्धमा केही मान्य सिद्धान्तहरू, अपुतालीको कानुनी व्यवस्था, अन्य व्यक्तिको अधिकार पुग्ने वा लाग्ने अवस्था, अपुताली पाउने व्यक्तिको दायित्व र अधिकारका कुरा आठौँ र नवौँ युनिटमा गरिएको छ ।

पारिवारिक अदालत यसको क्षेत्र, परामर्श, पारिवारिक अदालतको आवश्यकता र महŒव, अनुचित यौन सम्बन्ध र जारीजस्ता पक्षलाई पनि यस कृतिले आफ्नो दशौंँ र एघारौंँ युनिटमा समेटिएको छ । अन्तिम युनिट बाह्रौँमा नयाँ पाठ्यक्रम सुहाउँदा नजिरहरू, पुराना नजिरहरू र पारिवारिक कानुनसम्बन्धी नजिरहरूलाई राखेर कृतिलाई खोजमूलक तुल्याइएको छ । पारिभाषिक शब्दावली, पाठ्यक्रम, सन्दर्भ ग्रन्थ सूचीलगायतका प्रस्तुतिले २०३ पृष्ठ भरिएका छन् । सन्दर्भग्रन्थ सूचीमा वर्णानुक्रमको प्रयोगबाट लेखक विमुख हुनु भएको छ । केही कृति प्रकाशित गरिसक्नुभएका लेखकबाट अब सानातिना गल्तीको अपेक्षा पाठकले राख्दैनन् । यसर्थ प्रकाशन र मुद्रणसम्बन्धी केही महŒवहीन त्रुटि कमजोरी देखिए पनि समग्र कृतिले समाजलाई दिने योगदान बढी मूल्यवान र कालजयी छ । समयको माग र आवश्यकताले कानुन परिवर्तित र स्थापित हुँदै जान्छन् । समग्रमा यस कृतिमार्फत पौडेलले परिवारका मूल्यमान्यतालाई औँल्याउन तथा स्थापित गर्न सफल हुनुभएको छ ।

नेपालको नक्साको पृष्ठभूमिमा तीन पुस्ता परिवारलाई कृतिको आवरण पृष्ठमा सजाइएको छ । यो बहुमूल्य कृतिको प्रकाशन सङ्कल्प कानुनी च्याम्बरले गरेको हो । कृतिको मूल्य ४५०/– रुपियाँ रहेको छ । कृतिमा सुन्दर साजसज्जा र गुणस्तरीय कागज प्रयोग गरिएको छ । विश्वसाहित्यका सन्दर्भका आवश्यक दृष्टान्तहरू प्रयोग गरी सरल भाषामा सबैले बुझ्ने गरी पारिवारिक कानुनलाई एउटै कृतिमा बाँध्ने कार्य निश्चय नै सजिलो थिएन । परन्तु पौडेलको लेखन सक्रियता र आफ्नो विषय वस्तु प्रतिको गहिरो पहुँचले गर्दा यो सम्भव भएको हो । छोरा र छोरीमै विभेदको आँखाले हेरिने हाम्रो समाजलाई सन्तानको दायित्व अभिभावकको जिम्मेवारी, विवाहका प्रक्रिया, सम्बन्ध विच्छेद अंशवण्डा, अपुतालीसम्मका कुरालाई कानुनले कसरी परिभाषित गरेको छ भन्ने तथ्यलाई एउटै सरल र आकर्षक कृतिमा पस्किन लेखक पौडेल सफल हुनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?