logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



कवि दुर्गालाल सिर्जनामा अझै जवान

शनिवार |


कवि दुर्गालाल सिर्जनामा अझै जवान


आर. मानन्धर

साउन कृष्ण एकादशीको दिन (यस वर्ष साउन २० मा) जनकवि दुर्गालाल श्रेष्ठ छयासी वर्ष पुगेर सतासी वर्ष टेक्दै हुनुहुन्छ । उमेरले उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका सत्तरीभन्दा बढी कृति प्रकाशित भइसकेका छन् । सिर्जनाको हिसाबले भने उहाँ अझै जवान हुनुहुन्छ ।
ऋतुपर्व आदि आउँदा तिनैसित सम्बन्धित् गीत/कविता लेख्ने उहाँको पुरानो बानी हो । त्यो उहाँमा अझै छ । अनि देश विदेशमा भइरहने मानवतासित जोडिएका कुनै पनि घटना विशेषमा जागरुक र संवेदित भई कवितामार्फत नै प्रतिक्रिया जनाउने बानी पनि यथावत नै छ । गत सालको इन्द्रजात्रामा उहाँले यस्तो कविता रच्नुभएको थियो । उक्त कविताको अंश –

न्याय थियो उहिले यति गहिरो
यो नेपाली माटोमा,
इन्द्रतकै पनि उभिनु परेथ्यो
दण्डित भै दोबाटोमा !

यही सत्य–निर्मित संस्कृतिले
विश्व–सामु नेपाल
छ खडा हेर उचाली आफ्नो
गौरव हिमगिरिभाल !

अनि आफ्नै नवजात पनातिनीको जन्ममा पनि आफ्नो मनमा उब्जेको भावना कवितामा पोखिहाल्नु हुन्छ । यस कविताको अंशलाई पनि यहाँ उदाहरणको रूपमा प्रस्तुत गरिन्छ –

हुनुमा अबोध शिशु हुनु नै हो
हुनुको निख्खर नाम !
परमेश्वर नै त्योसँग दाँज्नु
बिलकुल हो बेकाम !

हो म त्यही बच्ची हेर्दैछु
अहिले, हो अहिले;
र त्यही बच्ची म पनि हुँदै छु
जबकि थिएँ उहिले !

राम्रा नराम्रा सबै समसामयिक घटनाहरूले कवि–हृदयलाई छोइरहेका हुन्छन् । देशको भूमि वा जनताको घर अतिक्रमित भएको बेला होस्, कुनै पनि घटनाले उहाँलाई केही छुन्छ त तत्काल कविता कोरिहाल्नु हुन्छ । न्याय र जनताको पक्षमा साथ दिनुपर्ने आफ्नो जिम्मेवारी ठान्नु हुन्छ । रुकुमको सोती घटना होस् वा अमेरिकी प्रहरीबाट कालो जातिका मानिसको हत्या भएको घटना होस्, उहाँ संवेदनाले उद्वेलित भइहाल्नु हुन्छ । रुकुम घटनाको समाचार सुन्दै उहाँले कविता लेख्नुभएको थियो–
आज रुकुम त्यै युद्ध थलोको
जुन हो मूलाधार
उल्टै पो झन् त्यहीँ झाँगियो
ऐँजेरुको झार !

सामाजिक मुद्दा बोकेका जुलुस, जनसभामा पनि उहाँ शरीरले धानेसम्म उपस्थित नै हुनुहुन्छ । त्यस्तैमा एउटा घटना हो, २०७६ सालमा ल्याइएको गुठी विघेयक । यो विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको विशाल जनप्रदर्शनलाई सम्बोधन गर्न पनि उहाँ पुग्नुभएको थियो । काठमाडौँमा सडक फराकिलो बनाउने नाउँमा जनताको घर भत्काउने कार्यको विरोधमा पनि उहाँ पीडितहरू सँगै हुनुहुन्छ । अहिले कोरोना कालमा बाहिर गएर पीडित जनताको माझ आफ्नो सहभागिता जनाउन नसकिएको अवस्थामा उहाँले आफ्नो सन्देश वा कविता सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न छुटाउनु भएको छैन ।
त्यस्तै अर्को घटना हो, ऐतिहासिक थलो खोकनामा स्थानीयको जग्गा अधिग्रहण । खोकनाका जनता र सम्पदा प्रेमीले त्यसको विरोध प्रदर्शन गर्दै थिए । त्यस्तैमा उहाँले एक पत्रिकामा खोकनाका दुई बालबालिका झ्यालबाट हेर्दै हाँस्दै गरेको तस्बिर छापिएको देख्छन् । झ्यालमा खुर्सानी सुकाइराखेको पनि हुन्छ । तस्बिर हेर्दै ती दुई बालबालिकामा उहाँ खोकनाको भव्य विरासत देख्नु हुन्छ, अनि उहाँको कलमबाट कविता प्रवाहित हुनथाल्छ–

खुर्सानीको माला पैह्री
खोकनाको झ्याल
उभिएको देख्दा लाग्यो
हाँस्यो उषाकाल
यद्यपि सिर्जनामा उहाँको युवा जोस टुटेको छैन । तर उहाँभित्र मृत्यु चेतना आउँदै गरेको उहाँका रचनाहरूमा स्पष्ट देख्न सकिन्छ । दुर्गालालले आफू चौसठ्ठी वर्षको हुँदै नेपालभाषामा कविता–सङ्ग्रह सिर्जना गर्नुभएको थियो– ‘बीनिभालय् व्हःगु ख्वीप्यफ्वः स्वां’ अर्थात् ‘ढल्किँदो घाममा फुलेका चौसठ्ठी फूल’ । यो कविता–सङ्ग्रहमा जहाँ उहाँ डुब्दै गरेको सूर्यसित वार्तालाप गरिरहनु हुन्छ, त्यहीँ उहाँ ढल्किँदो सूर्यसित एकाकार पनि भइरहनु हुन्छ । नेपालभाषाका ज्ञाता डा. डेविड हाग्र्रिभ्सको हातमा सो पुस्तक पर्छ र उहाँलाई ती कविताले छुन्छ । भाषाशास्त्रका प्राध्यापक हाग्र्रिभ्स आफैँ पनि कवि हुनुहुन्छ । यो कृति अनुवादकै लागि भनेर हाग्र्रिभ्स दुई महिनाका लागि काठमाडौँ आउनुहुन्छ, कविसँग बस्नु हुन्छ । अनि त्यो कविता–सङ्ग्रहको अङ्ग्रेजी अनुवाद प्रकाशित हुन्छ– ‘दि ब्लसम्स् अप्m सिक्स्टी–फो सनसेट्स’ ।
हुन त ‘फूलको आँखामा’ गीतमा रहेको अन्तिम चरणमा पनि उहाँले आफ्नै बाह्य र आन्तरिक अवस्था स्पष्ट पार्नुभएको छ –
टहटह जून देखूँ कालो रातैमा
जीवन सङ्गीत सुनूँ म सुक्खा पातैमा

मृत्युलाई सम्झेर पनि उहाँले नेपाल भाषामा (ग्वींनिला, ने. सं. ११२०) कविता लेख्नुभएको छ । नेपाल भाषामा लेखिएको यो कविताको भावार्थ यस्तो छ–
कुर्ने क्षण तर सबभन्दा पछि
मेरै मृत्यु म जब कुर्छु
उसले पनि अत्याए भगवन्
म त अति मर्माहत हुन्छु
वास्तवमा उहाँका जति पनि पछिल्ला कविता सङ्ग्रहहरू छन्, तिनमा आध्यात्मिक चेतना र मृत्यु चेतना स्पष्ट झल्किरहेको पाउँछौँ । ‘सँघारैनेर’ कविता–सङ्ग्रहको अन्तिम कवितामा उहाँ लेख्नुहुन्छ–
समय अहो ! गोधूलि भएछ
पुगियो क्यारे मेरो घर,
जे होस् तिम्रै कारण मैले
गाउन पाएँ बाटोभर !

लामो छोटो जे होस् आखिर
यात्रा गर्नु थियो, गरियो,
हो, यो पनि मेरा ती यात्रा
तिमी तिमीले नै भरियो !

जानेहरू को छन् र पुगेका
जसले जत्ति गरोसन् अहम् ?
किन्तु म धन्य छु कि तिमीसम्म
पुग्नै पाएँ कमसे कम !

अहिले पनि उहाँ कविता लेखिरहनु भएको छ । उहाँले ‘भजन’ नाममा सिर्जेको अप्रकाशित कविता–सङ्ग्रहको पहिलो कविता यस्तो छ–
जत्ति जिउनु छ जिन्दगीमा
जिउँ म भरपूरै जिउँ !
तृप्त भै तिम्रो चरणमा
फिर्न पाऊँ हे प्रभू ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?