logo
२०८१ बैशाख ८ शनिवार



फूलको हार्दिकता (कविता )

शनिवार |


फूलको हार्दिकता (कविता )


ओम आचार्य

कसैको आगमनमा ऊ
‘सुस्वागतम्’ भन्दै टक्रिन्छ
दुवै हात जोडेर
मुस्कुराउँदै शिर झुकाउँदै
नजिकै पुगेर
बाटो कुरिरहेको थिएँ नि भन्दै ।

कसैको प्रस्थानमा ऊ
‘शुभयात्रा’ भन्दै उभिन्छ
दुवै हात जोडेर
मलिन मुख लगाउँदै
नजिकै पुगेर न्यास्रो लाग्छ
छिट्टै फर्कनु ल भन्दै ।

कसैको विजयमा ऊ
‘हार्दिक बधाई’ भन्दै आउँछ
दुवै हात खोलेर
प्रफुल्लित मुद्रामा
काँधमा धाप मार्दै
स्याबास ! सधैँ यस्तै
कीर्तिमान कायम गर्नु ल भन्दै ।

कसैको मृत्युमा ऊ
‘हार्दिक श्रद्धासुमन’ भन्दै लाम लाग्छ
दुवै हात जोडेर
अश्रुधारा चुहाउँदै शिर निहुराएर
छातीमा चुम्छ ढुकढुकी खोज्दै
जिन्दगीको अभीष्ट
सिद्धि जाऊ ल भन्दै ।

अनि,
नित्य शुभ सन्ध्या
सबैजसोका पूजाकोठामा छिर्छ ऊ
‘हरि शरणम्’ भन्दै
दुवै हात जोडेर
भक्तिभाव दर्शाउँदै
समर्पण भावले कर्म गर ल भन्दै ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?