logo
२०८१ बैशाख १२ बुधवार



लकडाउन (कविता)

शनिवार |


लकडाउन (कविता)


शुषमा चित्रकार

आवतजावतरहित
सुनसान चोक बजार
तातेका सडकमाथि
निरीह चौपाया
खाना खोज्दै
खाली फोहोरका कन्टेनरमा
असहाय मगन्ते
पसलका बन्द सटरभित्र
कैद, निमुखाका भोक
लकडाउन जारी छ ।

परीक्षण र त्रासबीच
थपिँदै सङ्क्रमण
आफन्त गुमाउँदै
हठात् मनहरू
अक्सिजनरहित आश्वासन
खालि छापा र टिभीमा
दैनिक बहस सत्ताका लागि
पक्ष प्रतिपक्ष आक्षेपका छिटा फाल्दै
मास्क छिचोली संवेदना भिज्यो ।
लकडाउन जारी छ ।

क्वारेन्टाइन र आइसोलेसनमा
नसुकेका अवसादहरू
चक्रवातहरू उडाउँछन्
नफक्रिँदै सपना
भिजेका भित्तामा भत्किएको गोठ
निभेका चूह्ला ताक्दै पेटको आगो
खोपका लाइनमा
भ्याक्सिनको सट्टा कोरोना बोक्दै
गरिब, रनभुल्ल हुँदैछ ।
लकडाउन जारी छ ।

एकाबिहानै झ्यालबाहिर
बिजुलीका तारमाथि
आक्रोशित एकझुण्ड भँगेरा
‘गुजारा भएन
राहतमा धाँधली
जातीय भेदभाव
भ्रष्टका मिलेमतो
बढ्दो भाउ
स्वार्थी नेता
औषधि अभाव
बिरामी अलपत्र’
चर्को नाराबाजी गर्दैछन् ।
लकडाउन.... लकडाउन
लकडाउन अझै जारी छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?