logo
२०८१ बैशाख १२ बुधवार



चलिचत्र क्षेत्रमा निर्देशनमा क्रेज

शनिवार |
मनोरञ्जन |


चलिचत्र क्षेत्रमा  निर्देशनमा क्रेज


विजयरत्न तुलाधर

एउटा सफल चलचित्र बन्नुमा वा राम्रो चलचित्र बन्नुमा निर्देशक, कलाकारका साथै यसमा काम गर्ने सबै विधाका चलचित्रकर्मीको योगदान महत्वपूर्ण हुन्छ । तर, चलचित्रमा अभिनय गर्ने कलाकार विशेषगरेर नायकनायिका भएर खेल्ने कलाकार विशेष आकर्षणको केन्द्रबिन्दु बनेको हुुन्छन् भने निर्देशकलाई चलचित्रको मेरुदण्ड नै मानिँदै आएको छ । साहित्यलाई साहित्यकारको अभिव्यक्तिको माध्यम मानिएजस्तै चलचित्रलाई निर्देशकको अभिव्यक्ति मानिँदै आएको छ । त्यसैले हो कि जुनसुकै विधामा काम गर्ने चलचित्रकर्मीले पनि एकपटक निर्देशक बन्न पाए हुन्थ्यो भन्ने सपना बोकेका हुन्छन् । विशेषगरी अभिनयमा लागेका कलाकार अभिनय गर्न छाडेर वा अभिनय सँगसँगै निर्देशक बनेका उदाहरण धेरै छन् । दीपाश्री निरौलालाई यसको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । हास्य अभिनयमा ख्याति कमाउनुभएकी दीपाश्री निरौलाले अभिनयलाई थाती राखेर निर्देशनमा हात हाल्नुभयो । उहाँको निर्देशनमा बनेका छक्कापन्जा शृङ्खलाका तीनवटै चलचित्रले सर्वाधिक रकम आर्जन गरेर कीर्तिमान पनि कायम गर्न सफल भयो ।
नेपालमा यसको सुरुवात सम्भवतः नीर शाहले गर्नुभएको हुनुपर्छ । पाँच दशकअघि नै ‘परिवर्तन’ चलचित्रबाट एक अभिनेताका रूपमा यात्रा थालनी गर्नुभएका नीर शाहले पछि ‘वासुदेव’ चलचित्रबाट एक निर्देशकका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । हुन त बाघ निर्देशकका रूपमा कहलिएका प्रकाश थापा र नेपालको पहिलो चलचित्र ‘आमा’का निर्देशक हीरासिंह खत्री पनि निर्देशन र अभिनय दुवै विधामा सक्रिय थिए । तर, नीर शाह भने सुरुमा अभिनेता र पछि निर्देशकका रूपमा अघि बढ्नुभएको थियो । उहाँको पाइला पछ्याउँदै रमेश बुढाथोकी, कृष्ण मल्ल, विश्व बस्नेत, अशोक शर्मालगायत धेरै अभिनेताले आफूलाई निर्देशकका रूपमा पनि उभ्याउनुभयो । यसरी अभिनयबाट निर्देशनतिर लम्कनेक्रम चलिरहेको छ । अभिनेत्रीका रूपमा लोकप्रिय नायिका रेखा थापा र झरना थापाले पनि चलचित्र निर्देशन गर्नुभयो । रेखा थापाको निर्देशनमा बनेको पछिल्लो चलचित्र
‘मालिका’ हो भने यसभन्दा अघि उहाँले ‘हिम्मतवाली’ चलचित्र निर्देशन गरिसक्नुभएको छ । यसैगरी, झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर–२’ र ‘ए मेरो हजुर–३’ प्रदर्शित भइसकेका छन् भने हाल उहाँ ‘ए मेरो हजुर–४’ बनाउँदै हुनुहुन्छ । यो सूची बनाउने हो भने निकै लामो हुन सक्छ । यहाँ उल्लेख गरिएका नाम त केवल प्रतिनिधिमात्रै हुन् ।
निर्देशकका रूपमा स्थापित भइसकेका पनि चलचित्रको अर्को विधा अँगाल्न पुगेका पनि छन् । यसरी निर्देशकबाट अर्को विधातिर लम्कनेमा रामजी लामिछानेको नाम सबैभन्दा चर्चित छ । ‘पे्रमिका’, ‘ओम’, ‘सिकार’लगायतका एक दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएका रामजी लामिछाने एक निर्देशकका रूपमा स्थापित नाम हो । तर, पछि उहाँले आफूलाई एक नृत्य निर्देशक र पाश्र्व सङ्गीत संयोजकका रूपमा उभ्याउनुभयो । यी दुवै विधामा पनि उहाँ सफल हुनुभयो । लामो समयपछि फेरि उहाँले ‘रुद्र’ चलचित्र निर्देशन गर्नुभयो ।
त्यसो त एक चलचित्र निर्देशकलाई चलचित्रका सबै विधाको ज्ञान र अनुभव हुनु आवश्यक छ । तर, ज्ञान हुँदैमा काम गर्न सकिन्छ भन्ने हुँदैन । यहीक्रममा निर्देशक शोभित बस्नेतले अभिनय पनि गर्नुभयो । उहाँ कुशल नृत्यकर्मी पनि हुनुहुन्छ । कुनै–कुनै चलचित्रमा उहाँले नृत्य निर्देशन पनि गर्नुभयो । तुलसी घिमिरेले पनि चलचित्रको विविध विधामा हात हाल्दै आउनुभयो । चलचित्र सम्पादकका रूपमा आफ्नो यात्रा सुरु गर्नुभएका तुलसी घिमिरेले ‘श्रद्धाञ्जली’, ‘बन्धन कच्चे धागोका’ जस्ता हिन्दी चलचित्रको सम्पादन गर्नुभएको थियो भने नेपालमा पनि ‘वासुदेव’ चलचित्रको सम्पादकका रूपमा आफ्नो यात्रा अगाडि बढाउनुभएको थियो । सम्पादनबाट निर्देशनमा आउनुहुने रक्षा सिंह नेपालको पहिलो महिला चलचित्र सम्पादक हुनुहुन्छ ।
यसरी निर्देशन विधाबाट चलचित्रकै अर्को विधामा प्रवेश गर्नेमा सुदर्शन थापा र निश्चल बस्नेतलाई पछिल्लो उदाहरणका रूपमा लिन सकिन्छ । ‘मेरो एउटा साथी छ’ चलचित्रबाट निर्देशन यात्रा सुरु गर्नु भई ‘के यो माया हो’, ‘धन्दा’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ जस्ता चलचित्र बनाउनुभएका निर्देशक सुदर्शन थापाले पछि गएर ‘अझै पनि’, ‘चङ्खे शङ्खे पङ्खे’जस्ता केही चलचित्रमा नायकका रूपमा अभिनय गर्नुभयो । अहिले भने उहाँ निर्देशन पेसामा एकाग्र भएर लागिरहनुभएको छ । यसको ठीक विपरीत निश्चल बस्नेत भने निर्देशक विधाबाट विश्राम लिएर अभिनेताका रूपमा अगाडि बढ्नुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘प्रसाद’ले राम्रै प्रशंसा बटुल्न सफल भयो । ‘लुट’ जस्तो सफल चलचित्रका निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेका पछिल्ला चलचित्र ‘टलकजङ्ग भर्सेज टुल्के’ र ‘लुट–२’ ले एकातिर व्यावसायिक रूपमा अपेक्षित सफलता हासिल गर्न सकेन भने अर्कातिर उहाँले अभिनय र नृत्य प्रस्तुत गर्नुभएका चलचित्रका गीत लोकप्रिय हुन पुगे । उहाँले आफूलाई अभिनेताका रूपमै व्यस्त बनाउनुभयो । उहाँ अभिनीत ‘दुई रुपियाँ’ चलचित्रको गीत ‘कुटुमा कुटु सुपारी दाना’को सर्वत्र प्रशंसाले उहाँलाई एक नृत्य अभिनेताका रूपमा लोकप्रिय बनाएको छ ।
निर्देशनबाट अभिनयतिर लागेका चलचित्रकर्मीको चर्चा गर्दा बिर्सन नहुने नाम भनेको हीरासिंह खत्री र प्रकाश थापा हो । यसलाई एउटा संयोग नै मान्नुपर्छ कि उहाँहरू दुवैजनाले हिन्दी चलचित्रमा काम गर्नुभयो । खत्री र थापालाई नेपालमा नेपाली चलचित्र बनाउन बोलाइएको थियो । खत्रीले ‘आमा’, ‘परिवर्तन’ चलचित्रमा प्रमुख अभिनेताका रूपमा काम गर्नुभयो भने थापाले आफ्नो पहिलो चलचित्र ‘मनको बाँध’पछिका चलचित्र ‘सिन्दुर’ र ‘जीवनरेखा’मा प्रमुख भूमिकामा अभिनय गर्नुभयो ।
निर्देशक दीपक रायमाझीले ‘यो मायाले लौ न सतायो’ चलचित्रको एउटा गीतको सङ्गीत आफैँले सिर्जना गर्नुभएको थियो भने सङ्गीतकार र गायकका रूपमा ख्याति कमाउनुभएका किरण प्रधानले ‘कस्तूरी’ चलचित्र निर्देशन गर्नुभयो । नेपालको चलचित्र इतिहासमा ‘कस्तूरी’ नै विदेशमा सुटिङ भएको पहिलो चलचित्र बन्यो । यो चलचित्रको सुटिङ बेलायतको लन्डनमा भएको थियो ।
चलचित्रको द्वन्द्व निर्देशनबाट चलचित्र निर्देशनमा लागेकामा युवराज लामा पहिलो व्यक्ति हुनुहुन्छ । ‘भाग्यरेखा’मा द्वन्द्व निर्देशकका रूपमा काम गर्नुभएका युवराज लामाले पछि केही चलचित्रमा अभिनयसमेत गर्नुभयो । ‘प्रतिज्ञा’, ‘जीवन सङ्घर्ष’, ‘देउराली’लगायत चलचित्रको निर्देशन लामाले गर्नुभयो । द्वन्द्व विधाबाट निर्देशनतिर लम्केकामा राजेन्द्र खड्गीको नाम पनि आउँछ । उहाँले ‘नथिङ इम्पोसिबल’ निर्देशन गर्नुभयो भने एनबी महर्जनले ‘बजार’, ‘तोरीलाहुरे’, ‘सकस’ र हिमाल केसीले ‘किल्ला’लगायत चलचित्रको निर्देशन गर्नुभयो ।
पछिल्ला दिनमा चलचित्र सम्पादकका रूपमा सर्वाधिक व्यस्त रहँदै आउनुभएका सुरेन्द्र पौड्याल पनि चलचित्र निर्देशकका रूपमा देखिनुभएको छ । उहाँको निर्देशनमा बनेको ‘कृ’ एक चर्चित चलचित्र हो । यसैगरी, अर्का चलचित्र सम्पादक अनन्त घिमिरेले पनि ‘इस्केप’ निर्देशन गर्नुभयो । अहिलेका लोकप्रिय नायक प्रदीप खड्काले यही चलचित्रबाट नायकका रूपमा प्रवेश गर्नुभएको थियो ।
वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठले पनि चलचित्रको निर्देशन गर्नुभयो । उहाँले नेपालको पहिलो गीतिचलचित्र ‘गौँथली’को निर्देशन गर्नुभयो । यसैगरी, नृत्य निर्देशक राजु शाह, दिनेश पाख्रिन, गोविन्द राई र रेनेशा बान्तवा राईले पनि निर्देशनको काम गर्नुभयो । छायाङ्कनबाट निर्देशन विधामा आउनुभएकामा नेपालका प्रथम महिला छाँयाकारका रूपमा चिनिनुहुने शवनम मुखियालगायत वरिष्ठ छाँयाकार मञ्जुकुमार श्रेष्ठ पनि हुनुहुन्छ । उहाँले आफ्नो निर्देशनमा ‘दैवसंजोग’ र ‘सिउँदोको सिन्दुर’लगायत चलचित्र निर्देशन गर्नुभयो । अर्का छाँयाकार किशोर ढकालले ‘बुहारी’ र
‘इन्द्रेणी’लगायत चलचित्र निर्देशन गर्नुभयो । एकातिर उहाँहरू छायाङ्कन विधाबाट निर्देशन विधामा आउनुभएको देखियो भने अर्कातिर गायक उदितनारायण झाको अभिनय रहेको ‘पिरती’चलचित्रको निर्देशक चन्द्रप्रकाश घिमिरे ‘देउकी’,
‘प्रेयसी’ र ‘सडक’लगायत चलचित्रमा छाँयाकार बन्नुभयो । साहित्यकार नयनराज पाण्डेले ‘निर्मोही’ चलचित्रको निर्देशन गर्नुभयो भने चलचित्र लेखनमा ख्यातिप्राप्त गर्नुभएका लेखक शिवम् अधिकारी निर्देशक बन्नुभयो । उहाँको निर्देशनमा बनेको ‘पञ्चायत’ चलचित्रको सर्वत्र प्रशंसा भएको छ । यही चलचित्रमा प्रमुख भूमिका गर्नुहुने अभिनेत्री नीता ढुङ्गानाले कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्नुभएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?