logo
२०८१ बैशाख ८ शनिवार



कथा : अनिश्चित यात्रा

शनिवार |


कथा : अनिश्चित यात्रा


भाउपन्थी

सरले आज पनि मुम्बई, दिल्लीका नयाँ कथा भन्लान् –उसलाई यो आस थियो । राति निद्रा परेन, ऊ सखारै सर भएतिर निस्क्यो । सरको हँसिलो अनुहार देख्न पाइएला भनेको त चियापसलमा पुग्दा सर राति नै गइसक्नुभो भन्यो रामले । सरलाई महिनावारी आश्रय दिएको थियो रामले । ऊ यो चियापसलको मालिक हो । ‘राति नै ! सर गए तर राति नै ? किन ?’ यो खबरले ऊ खिस्रिक्क प¥यो । केही नभए सरले उसलाई खास आफ्नो मानिस मान्थे । सरसहयोग केही गरेका थिएनन् तर महिना पन्ध्र दिनमा एक गिलास चिया खान दिन्थे । पैसा तिर्थे । कुनै अवसरका लागि जगेर्नामा राखेका थिए उसलाई । उसलाई यो थाहा थिएन तर बाहिरबाट हेर्दा यस्तो भान हुन्थ्यो ।
गाउँको धेरै खबर रामबाट नै सुन्न पाइन्थ्यो । ‘‘सर कहाँ जानुभो ?’’ उसले सोध्नुपर्ने रामलाई नै थियो । यति बिहानै चिया खान ग्राहक पसलमा आउन सुरु गरेका पनि थिएनन् । पहिले यो आएर गइसेकेको मानिसका बारेमा सोध्दै छ– रामलाई मनमनै झनक्क रिस उठ्यो । बोहनी गर्नु त कता हो कता । बोहनी हुने सम्भावना यसबाट छैन । गरिब मोरो । टाउकोमा फाटेको टोपी छ । मैलो थैला छ । यो यस्तै हो । रामले रिस दबायो । बिहान बिहानै मुख तितो पार्नु छैन ।
गाउँघरमा चियाको चलन पसेको पनि धेरै भइसक्यो । चियाको लत बसिसकेको छ । ‘अलि पर बस् ।’ रामले त पहिले ऊ पसलभित्रै अनधिकृत रूपमा प्रवेश गर्छ भन्ने लागेछ र त्यसो भन्यो । हुन पनि अर्काको गाईबस्तु र बाख्राभेडा चराउनेसँग चिया खाने हैसियत पनि हुन सक्दैनथ्यो । उसमाथि उसको जात पनि खुल्दैनथ्यो । बिना जातपात । कहिलेकाहीँ चिया खाएपछि गिलास खकालेर घोप्ट्याउन भन्थ्यो राम । सानैको टुहुरो । कसरीकसरी यो गाउँमा आइपुग्यो र यतै काममा लाग्यो, पशु चराउने ।
‘‘सर किन चाहियो तँलाई ?’’ रामले सोध्ने सधैँ यही गथ्र्यो । सर किन चाहियो तँलाई ? उसले जबाफमा केही भन्न सक्दैनथ्यो । सत्रअठारको भइसक्दा पनि ऊ रामसित खुलेर बोल्न सक्दैनथ्यो । एउटा डर व्याप्त रहन्थ्यो, कतै रामले उसलाई चिया पकाउन चाहिने दाउरा चिर्न लगाउने छैन । भनेजति दाउरा चिरेपछि उसलाई एक कप चिया दिन्थ्यो राम र कहिलेकाहीँ एउटा बासी अमिलो बन पनि । अहिलेसम्म चिया र बन नै मुखले फेर्ने पाइने गरेको खाद्य पदार्थ थिए, उसको नजरमा साजी नत्र धेरैजसो बासी खानामै उसको जीवनको गुजारा चल्थ्यो । रामले आफ्नो मतलबको कुरो सोध्यो – ‘‘आज वनतिर जान्छस् ?’’ उसको सोधाइको आशय थियो, वनतिर गइस् भने दाउरा लिएर आएस् । उसले टाउको हल्लायो । रामले उसको टाउको होमा हल्लिएको हो वा होइनमा, कुनतिर सङ्केत गर्न हल्लिएको भेउ पाएन । यो केटोलाई कुन दिन के हुन्छ थाहा पाउन सकिन्न । सरलाई ऊ खोजिरहन्थ्यो । हेर्दा लाटो छ तर मनको बाठो ।
सर हेर्दा खाइलाग्दा थिए । गफ पनि मिठामिठा गर्ने । गाउँको स्कुलमा स्वयम्सेवी बनेर पढाउँथे । कताबाट आएका थिए, त्यो कसैले खुट्ट्याएर भन्न सकेन । कहिले भन्थे काठमाडौँ त कहिले कुन्नि कुन सहरमा घर छ भन्थे । गाउँमा चर्चा हुन्थ्यो – ‘‘कुन सहरको मान्छे काठमाडौँ बसेर त्यहीँबाट गाउँ छिरेको हुन सक्छ ।’’ कसैकसैले भन्थे – ‘‘ठीकसँग परिचय नखुलेको मानिस गाउँमा पसेपछि अनिष्ट हुन सक्छ ।’’ त्यस्तो कुनै अनिष्ट हुने सम्भावना देखिएन । गाउँमा कसैले यो पनि शङ्का गथ्र्यो–‘‘अपराधी होला । प्रहरीबाट बच्न गाउँ छिरेको छ ।’’ कसैले कानेखुसी स्वरमा भन्थे – ‘‘होइन, चेली बेच्ने धन्दामा छ । गाउँका केटी छान्दै छ, बेच्नलाई ।’’ तात्पर्य, अपराधी हो र त यसरी अपरिचित गाउँमा आएर बसेको छ । त्यसो भनिए पनि गाउँकाहरूसित सर झ्याम्मिसकेका थिए । उसलाई नै हेरौँ, ऊ सर खोज्दै एकाबिहानै चियापसलमा आएको छ । तर सर छैन । ‘सर गए त कता गए ?’
बिहानको चिसो अझ पन्छिएको थिएन । बासमै चराहरू चिर्बिर गर्दै थिए । माथि बादल थिए र उज्यालो भुइँमा पसारिन सकेको थिएन तैपनि उज्यालो थियो । कुइरोले ढाक्ने छाँट गर्दै थियो । पहाडी गाउँ, कुइरोको सम्भावना रहरिहन्थ्यो, यस्ता दिनमा । जुन दिन घाम देख्न ढिलो भयो, त्यस दिन वनजङ्गलतिर निस्कन मानिस डराउँथे । कताको एउटा चितुवा पनि पल्केको छ भन्थे । ठूलालाई होइन, सानालाई लतार्दै लैजाने गर्छ भन्थे । चितुवा मार्न सरकार गुहारिएको थियो । मार्ने होइन, वन विभागवालाहरू आएर चितुवालाई जिउँदै समातेर लैैजान्छन् भनियो । चितुवाको आक्रमणपछि वातावरण भयभीत हुन्थ्यो । आजको दिनको पनि त्यस्तै लक्षण थियो । त्यसमाथि राम वन जाने होस् भनेर सोध्दै थियो । हातमा बन्चरो बोकेर वनभित्र पस्न उसलाई डर लाग्दैन । तर जाने कि नजाने ? ऊ दोधारमा थियो ।
ऊ पसलबाहिरको बेन्चमा बस्यो । रामले यो देख्यो, तर केही भनेन । आज चियाका ग्राहक आउने छाँट देखेन, आए पनि ढिलै आउलान् । होइन भने, ऊ भन्न सक्थ्यो – ‘‘बेन्चमाथि बसिस् ? छेउमा भुइँमा बस् ।’’ आज त्यसो भनेन । विचारमग्न भएर हेरिरह्यो । ऊ द्वन्द्वताका चियापसल छोडेर सहर पसेको थियो । मारिने डर थियो । द्वन्द्व सकिएर गाउँ फर्कंदा यो केटो आइसकेको थियो । द्वन्द्वमा उसका आमाबाबु मारिएका थिए कि ? केटो स्वयं पनि यो भन्न सक्दैनथ्यो । गाउँमा यो एउटा केटो मात्रै थियो जसलाई बेलाबेला सबैले काम अराउँथे । केही दिन्थे । खान र बास पनि । तर उसको नामगामको टुङ्गो थिएन ।
त्यतिखेरै एउटी अठार वर्षकी केटी पसलको छेउमा उभिन आइपुगी । ऊ यै गाउँकी थिई । नाम थियो राधा । राम्री मानिन्थी । जातकै छोरी थिई । उसले केटी छेउमा उभिन आएको देखेर ऊ बसेको ठाउँबाट उभियो । केटीले एउटा पोको दुवै हातले छातीमा टाँसेर बोकेकी थिई । उसले सोधी– ‘‘सर भित्र छन् ?’’ ऊ समेत सरलाई खोज्ने दुई जना भए । भित्र राम थियो, चियापसले । ‘‘किन राधा ? सर त राति नै हिँडिसकेछन् ।’’ उसले राधा हतार भएको देखेर अरू कारण नसोधी छिटै नै जबाफ दियो ।
‘‘लौ न । मलाई बिहानै गाउँ छाडेर जाउँला भनेर बोलाएको थियो । हिँडिसकेछ ।’’ राधाले रुन्चे स्वरमा भनी । ऊ राधालाई मनमनै मनपराउँथ्यो भन्ने होइन । तर एउटी तरुनी उसको अगाडि रुन्चे स्वरमा बोलेको देखेर उसको मनमा माया पैदा भयो । उसले सोध्यो – ‘‘सहरतिर भाग्न ?’’ राधा बोलिन । टाउको होमा हल्लाई । ‘‘अब आमाबाले मार्छन् मलाई । गाउँमा मुख देखाउन पनि भएन ।’’ पेटमा सरको दुई महिनाको बच्चा भएको लुकाइ । राधा बेन्चमा बस्न खोजेकी थिई उसले पाखुरा समात्दै भन्यो – ‘‘तिमी यहाँ नबस । अलि पर जाऊँ ।’’ राधाले पनि परिस्थिति बुझी । रामले थाहा पाए गाउँभरि बाइँबाइँ हुन सक्थ्यो ।
‘‘अब के गर्ने ?’’ राधा उसले डो¥याएतिर जाँदै गाउँबाहिर जाने ओरालोमा पुगेपछि उसलाई सोधी । ऊ पनि अकमक्क प¥यो । ‘‘समय अझै छ । सर धेरै टाढा पुगेको छैनन् होला । बस रोक्ने ठाउँमा फेला पार्न सकिन्छ कि ? जाने ?’’ राधाले अलि बेर सोची र भनी– ‘‘जान त जाने तर सर भेटिएन भने ?’’
अब सोच्ने पालो उसको थियो, सोचेर भन्यो – ‘‘जे पर्लापर्ला । म छँदैछु । मसित बसौली नि ?’’
सोच्ने पालो फेरि राधाको भयो, धेरै सोचिन । छोटोमै सोची । यो पेट लुकाउन पनि गारै छ गाउँमा । बा औधि रिसाहा छन्, चिर्पटले हानेर मार्न बेर लाउन्नन् । सहरतिर गएर यसैसँग बस्दा पनि हुन्छ । दुई महिनाको उसलाई के थाहा हुने ? उसको हो भने पनि भो । हेर्दा सोझो तर बलियै छ । आपूmसँग पनि केही छ– थोरै नगद र थोरै सुन । तर यो को हो ? जो भए पनि मेरा लागि भागेर लोग्ने हुन तयारै छ त ? अनि उसले टाउको पनि हल्लाई र मुखले ‘हुन्छ’ पनि भनी । उनीहरू छिटछिटो पाइला चाल्दै ओरालो झरेर जङ्गलको अँध्यारोभित्र छिरे । मुर्मैलो मौसम सहायक भइदियो । अलिकति यात्रा तय भएपछि केही ढुक्क भए । बाटो लामै छ । यता राम पसलभित्र बेन्चमा बसेर उङ्दै थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?