logo
२०८१ बैशाख १३ बिहीवार



जीवन (कविता)

शनिवार |


जीवन (कविता)


डा. बमबहादुर थापा ‘जिताली’


चौतारीमा बास बस्न ला’को जस्तो जीवन
शिकारीले हान्न ला’को चराजस्तो जीवन
जलुकीको पातमाथि पानीथोपा जस्तो
खहरेको भेलजस्तो पनि छ यो जीवन ।

धरालाई हराभरा पार्न सके जीवन
वसुन्धराजस्तो पनि हुन सक्छ जीवन
शिल्पकला, पौरखमा शिर उठाएमा
हिमालको शिखर झैँ उठ्न सक्छ जीवन ।

छातीभित्र राष्ट्रियता विश्वासिलो भए
आमालाई हँसाउने काव्यकला भए–
बुद्धले झैँ ज्ञानज्योति फैलाउन सके
चन्द्र–सूर्यजस्तो पनि जीवन छ सखे ।

पौरखमा बाँचेको पो ! जीवन्त छ जीवन
आकाश झैँ फराकिलो दिलभए जीवन
मर्यादा र उदारता अटाउन आँटे
कालजयी गीतजस्तो पनि छ यो जीवन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?