logo
२०७८ जेष्ठ २ आईतवार



बैङ्कका महिला ऊर्जा

शनिवार |


बैङ्कका महिला ऊर्जा


भेषराज बेल्बासे

रूपन्देहीको बुटवल उपमहानगरपालिका, कालिकानगरस्थित भैरहवा–बुटवल सडक खण्डको दाहिनेतर्फ टाढैबाट प्रष्ट देखिने चिटिक्क परेको एकतले भवन छ । हरियो, गाढा रातो र सेतो रङ लगाएर चिटिक्क सिँगारिएको यो भवनले देख्ने बित्तिकै मान्छेको नजर तान्छ ।
यति मात्र होइन, भवनको पार्किङ क्षेत्र छिचोल्दै मुख्य द्वार पुग्दा ढोका आफैँ खुल्छ । यहाँ ‘सेन्सर गेट’ जो राखिएको छ । भित्र पस्ने बित्तिकै बायाँतिर ‘कस्टुमर हेल्प डेक्स’ राखिएको छ । डेक्समा स्वागतको मुद्रामा देखिन्छन् कोट पाइन्टमा सजिएका दुई युवती ।
काउण्टरमा चेक साट्न, नगद जम्मा गर्न, रेमिट्यान्स तथा ऋण लिन, नयाँ खाता खोल्नलगायत सम्पूर्ण काम महिला कर्मचारीहरूले गरिदिन्छन् । अझ शाखा प्रमुख पनि महिला नै छन् । यतिसम्म कि चिया÷कफी तथा पिउने पानी ल्याइदिने र सरसफाइलगायत काममा सहयोगीको भूमिकामा पनि महिला नै भेटिए ।
शाखा प्रमुखको कार्यकक्षतर्फ नियाल्दा उभिएरै सेवाग्राहीसँग छलफलमा व्यस्त हुनुहुन्थ्यो– शाखा प्रमुख सीमा बन । महिलाले चलाएको शाखा र त्यसमा पनि शाखा प्रमुख हँुदा कस्तो लागेको छ त ? जिज्ञासा मेटाउँदै उहाँले भन्नुभयो– ‘‘एक दशकको जागिरे जीवनमा, यो शाखाको अनुभव एकदमै पृथक् लागेको छ । गौरवको अनुभूति भइरहेको छ ।’’ बैङ्कमा सबै महिला देखेपछि ग्राहक अचम्ममा पर्छन् । कसैले त किन महिला मात्रै भनेर जिज्ञासा पनि राख्छन् । कुनै कुनै ग्राहकले सेवा लिएपछि मलाई पनि भेटेर प्रतिक्रिया दिने गरेको जानकारी सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘‘महिलाले हरेक क्षेत्रमा खटेर काम गर्छन्, जिम्मेवारीबोध पनि बढी गर्छन् भन्ने उदाहरण पेस गरेका छौँ । यो कुरो नतिजाले पनि देखाएको छ ।’’
महिलाले चलाएको यो शाखा अन्य शाखाको तुलनामा राम्रो गतिमा अघि बढिरहेको छ । बचत र ऋण प्रवाहमा महिलाको उपस्थिति क्रमशः बढ्दो छ । यहाँसम्म कि बैङ्किङ च्यानलमा आउन नसकेका महिलालाई पनि समेट्न सफल भएको शाखा प्रमुख बन दाबी गर्नुहुन्छ ।
बैङ्कको उपत्यका बाहिर रहेको शाखामा यो शाखा मात्रै महिलाद्वारा चलाइएको नमुना शाखाको रूपमा रहेको उहाँ बताउनुहुन्छ । शाखा प्रमुख बन महिलालाई सामान्यतया समय व्यवस्थापन गर्न समस्या हुने अनुभव सुनाउँदै प्रष्ट्याउनुहुन्छ– ‘‘पुरुषको तुलनमा महिलाले घरव्यवहार पनि सम्हाल्नुपर्छ, जागिर र घरव्यवहार सँगै हाँक्दा व्यवस्थापनमा केही अफ्ठ्यारो हुँदोरहेछ । यति हुँदाहँुदै पनि महिलाले गर्न सक्छन् र ! भन्नेहरूलाई हामीले व्यवहारमै प्रमाणित गरेर देखाएका छौँ ।’’
कृषि विकास बैङ्कले उपत्यकाभित्र कमलपोखरी, त्रिपुरेश्वर र कपनमा तीन वटा शाखालाई महिलाले सञ्चालन गर्ने शाखा भनेर खोलेको छ । उपत्यका बाहिर यस्तै शाखाका रूपमा बुटवललाई छानेको छ । महिलालाई सशक्तीकरण गर्न र उनीहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने देखाउन यस्तो अवधारणा ल्याइएको बताउनुहुन्छ, बैङ्कका प्रवक्ता हिमलाल पौडेल । यसको नतिजा पनि राम्रो रहेको उहाँको भनाइ छ ।
‘‘यो काम महिलाले गर्न सक्छन् र !’’ भनेर नाक खुम्च्याउने मात्र होइन, महिलालाई धेरै ठूलो जिम्मेवारी दिनुहुँदैन भन्ने मानसिकता पनि हाम्रो समाजमा अझै भेटिन्छ । यस्तो अवस्थामा कृषि विकास बैङ्कको यी शाखा कुशलतापूर्वक महिलाले सञ्चालन गरेका छन् । गत असोजदेखि सञ्चालनमा आएको बुटवल शाखामा भने नौ जना कर्मचारी र चार जना सहयोगी छन् ।
कुनै समय महिलालाई काउन्टरमा मात्र राखिन्थ्यो । ठूलो जिम्मेवारी दिन व्यवस्थापन पनि हिच्किचाउँथ्यो । महिलाले केही गर्न सक्दैनन्, जान्दैनन् भन्नेलाई चुनौती दिँदै काउण्टर मात्र होइन, बैङ्कको शाखा तथा सिङ्गो बैङ्क नै महिलाले हाँक्दै आएका छन् ।
चिटिक्क परेको पहिरनमा टक–टक हिल बजाउँदै बैङ्कको ‘ग्लामरस’ जागिर गर्ने रहर कुन युवतीलाई नहोला र । ‘छोरा बिग्रे कमर्श र छोरी बिग्रे नर्स’ भन्ने उखानले पनि यतिबेला ‘फ्लप’ खाएको छ । यसै पनि कमर्श पढ्ने विद्यार्थी छरितो नै हुन्छन् । त्यसैमाथि अधिकांशको रोजाइ अहिले बैङ्क तथा वित्तीय संस्था पर्ने गरेको छ ।
काठमाडौँको मैतीदेवीमा मेगा बैङ्का दुई वटा शाखा छन् । नजिक नजिक रहेका यी दुवै शाखामा गरी १४ जना महिला कर्मचारी छन् । एउटामा १० जना र अर्कोमा चार जनाको नेतृत्व सम्हालेकी अमी श्रेष्ठ पनि महिला–महिला काम गर्दा सजिलो हुने अनुभव सुनाउनुहुन्छ ।
नौ वर्षअघि खुलेको यो शाखा साढे तीन वर्षदेखि महिलाले चलाएको शाखाको रूपमा परिचित छ । शाखा प्रमुख श्रेष्ठ भन्नुहुन्छ– ‘‘सबै महिला भएपछि एक अर्काको समस्या बुझ्न पनि सजिलो हुन्छ । यस्ता कुराले काम गर्ने हौसला बढ्दो रहेछ । शाखाले गरेको ‘ग्रोथ’ राम्रो छ ।’’ महिला शाखाले सेवा प्रवाहमा पनि महिलालाई समेट्न प्रयास गरिरहेको भन्दै शाखा प्रमुख श्रेष्ठले महिला उद्यमी कर्जा, महिला टेम्पो ड्राइभरलाई कर्जा प्रवाह गरिरहेको बताउनुभयो । मेगा बैङ्कको पहिलो महिला सीईओ अनुपमा खुँजेलीले पनि बारम्बार हौसला दिने गरेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘‘कतिपय भावनासमेत साट्न मिल्ने भएकोले कार्यालयको काममा पनि सहजता थपिएको छ ।’’

डेपुटी गर्भनरदेखि सीईओसम्म
देशकै सर्वोच्च पद राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख तथा मन्त्रालयको सचिव, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत महत्त्वपूर्ण पदमा महिलाले नेतृत्व गरिसकेका छन् । साढेआठ दशकको बैङ्किङ इतिहासमा नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर हुने पहिलो महिला बन्नुभयो । डेढ महिनाअघि उहाँ यो पदमा नियुक्त हुनुभएको हो । डेपुटी गभर्नर बनेसँगै उहाँको चर्चा यसरी चुलियो कि केही साता त खादा र बुकीको साथमा बधाई लिन नै उहाँ व्यस्त हुनुभयो ।
जुन तहमा पुग्दा पनि आफू एक तह माथि जान पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहन्थ्यो । यही इच्छाले उहाँलाई यो स्थानमा पु¥यायो । उहाँ भन्नुहुन्छ– ‘‘मैले आन्तरिक प्रतिस्पर्धा कहिल्यै पनि महिला कोटामा गरिनँ । सधैँ पुरुषहरूसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेँ ।’’
तीन वर्षअघि बैङ्किङ इतिहासमै पहिलोपटक मेगा बैङ्कले कार्यकारी अधिकृतमा महिलालाई नियुक्त ग¥यो । निजी बैङ्कको कार्यकारी अधिकृत हुने पहिलो महिलाचाहिँ अनुपमा खुँजेली बन्नुभयो । यद्यपि पूर्ण सरकारी स्वामित्वको बैङ्कमा भने राष्ट्रिय वाणिज्य बैङ्कमा अर्थ मन्त्रालयले शिवादेवी काफ्लेलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी यसअघि दिइसकेको छ । काफ्ले नेपाल राष्ट्र बैङ्कको कायम मुकायम कार्यकारी निर्देशक पदबाट अवकाश हुनुभएको थियो । अवकाशपछि उहाँ राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समितिमा व्यावसायिक विशेषज्ञका रूपमा २०६७ साल वैशाख ८ गते नियुक्त हुनुभयो । बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएपछि अर्थ मन्त्रालयले २०६८ साल साउन २५ गते उहाँलाई प्रमुख कार्यकारी अधिकृतको समेत कामकाज गर्ने गरी जिम्मेवारी दिएको थियो ।
निजी क्षेत्रको बैङ्कमा प्रमुख कार्यकारी अधिकृत हुने पहिलो महिला खुँजेली आठ वर्षअघि मेगा बैङ्कमा नायब महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । तत्कालीन ग्रिनलेज बैङ्क अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टड बैङ्कबाट उहाँले बैङ्किङ करिअर सुरु गर्नुभएको थियो । यस क्षेत्रको उहाँसँग २७ वर्षको अनुभव छ ।

आफैँले सपना देख्नुपर्छ
महिलालाई अगाडि बढाउने कुरामा संविधानदेखि अन्य ऐन–नियममा नै राज्यले सकारात्मक विभेदको नीति अवलम्बन गर्दै आएको बताउँदै डेपुटी गर्भनर ढुंगाना भन्नुहुन्छ– ‘‘हरेक क्षेत्रमा महिलाको सङ्ख्यात्मक उपस्थिति बढाउन सहयोग पुगेको छ । बाँकी रह्यो नीति निर्माणको तहमा पनि महिलाको सङ्ख्या बढाउने विषय । त्यसमा चाहिँ आरक्षणको व्यवस्थाले मात्र गुणस्तर पनि ल्याउँछ भन्ने हुँदैन । पहिलो कुरा महिला आफँैले सपना देख्नुपर्छ । त्यसलाई हासिल गर्न आफ्नै अग्रसरता, निरन्तर मिहिनेत र परिश्रमको खाँचो पर्छ नै । यसका लागि पारिवारिक साथ सहयोग र हौसलाको पनि उत्तिकै खाँचो पर्छ ।’’
महिलाले जे कुरा हासिल गर्न पनि निरन्तर मिहिनेत गर्नुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ– ‘‘कार्यस्थलमा आइपर्ने व्यावसायिक र अन्य चुनौतीको सामना गर्न पछि हट्नु हुँदैन । आफ्नो काम र जिम्मेवारीप्रति इमानदार भएर सकारात्मक सोचका साथ निर्वाह गर्नुपर्छ । आफ्नो योग्यता र क्षमतामा निखार ल्याएर प्रतिस्पर्धीका रूपमा उभिन सक्नुपर्छ । आफ्नो नियन्त्रणमा भएका कुरालाई कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ । नियन्त्रण बाहिरको विषयमा बढी चिन्तित भएर बस्नु हुँदैन ।’’
महिला वा पुरुष जोसुकैलाई पनि सफलता हासिल गर्न परिवारको हौसला, प्रेरणा र साथ सहयोग चाहिने भन्दै उहाँले भन्नुभयो– ‘‘मैले सुरुदेखि नै त्यो वातावरण पाएँ । महिलालाई घर र कार्यस्थल बीचको सन्तुलन मिलाउन निकै हम्मे–हम्मे पर्छ । हरेक ससाना कुरामा पनि परिवारको सकारात्मक साथ र सहयोग भयो भने महिलाले सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि मैले कहिल्यै गुनासो गर्नु परेन । निरन्तर साथ र सहयोग पाउँदै आएको छु ।’’

अवसर र सम्भावना प्रशस्तै
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्ककी डेपुटी सीईओ तथा प्रवक्ता बन्दना पाठकको अनुभवमा कुनै समय बैङ्कमा महिलाको सङ्ख्या अत्यन्तै कम थियो । स्नातकोत्तर गरेको कर्मचारीको माग गर्दा महिला आउनु भनेको दुर्लभजस्तै थियो । अहिले स्नातकोत्तर गरेर थप अध्ययन अनुसन्धान गरेका महिलाको कुनै कमी छैन । डेपुटी सीईओ पाठक भन्नुहुन्छ– ‘‘कतिपय बैङ्कमा महिलाको सहभागिता पच्चीस÷तीस प्रतिशत पुगिसक्यो । महिलाका लागि बैङ्किङ क्षेत्र समान सहभागिता जस्तै हुन थालेको छ ।’’ ‘‘बैङ्किङ सिर्जनशील क्षेत्र हो । यहाँ काम गरेर देखाउन सकिन्छ । सानो स्तरदेखि उच्चपदस्थ अधिकारीसँग भेट्न पाउनुका साथै देशकै अर्थतन्त्र बुझ्न सकिन्छ । त्यसैले अहिलेमात्र नभई यसको भविष्य पनि राम्रो छ । यसको आकर्षण कहिल्यै घट्दैन’’, उहाँले भन्नुभयो । करिअर माथि पु¥याउन बैङ्किङ क्षेत्र एक भरपर्दो माध्यम हो । समयमा तलबभत्ता पाउनुका साथै समाजमा प्रतिष्ठित व्यवसायका रूपमा पनि चिनिएकोे छ । घर र जागिर दुवै सन्तुलित अवस्थामा राखेर काम गर्न यो क्षेत्र उपयुक्त रहेको पाठकको ठम्याइ छ ।

कति छन् बैङ्कमा महिला
वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैङ्कमा कुल ४४ हजार ५०२ जना कर्मचारी छन् । यसमध्ये २७ हजार २०२ पुरुष छन् भने १७ हजार तीनसय महिला छन् ।
स्थापनादेखि नै महिला कर्मचारीलाई प्राथमिकतामा राख्दै आएको मेगा बैङ्कको उच्च व्यवस्थापनमा अहिले ५० प्रतिशत महिला छन् । बोर्डमा पनि स्वतन्त्र सञ्चालकको रूपमा शिवादेवी काफ्ले हुनुहुन्छ भने प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खँुजेली हुनुहुन्छ । बैङ्कको उच्च व्यवस्थापनमा दश जनामध्ये पाँच जना महिला छन् ।
बैङ्कको डेपुटी सीईओमा रविना देशराज श्रेष्ठ, चिफ रिस्क अफिसरमा प्रज्ञा पाण्डे, चिफ अफ ग्लोबल मार्केटिङमा डेनी श्रेष्ठ र चिफ लायबलिटी अफिसर जेनु थापा हुनुहुन्छ । डिपार्टमेन्ट इन्चार्जमा तीन जना तथा म्यानेजर तहमा सात जना महिला छन् ।
यसैगरी बैङ्कको उच्च तहमा महिला सहभागिताको कुरा गर्दा राष्ट्रिय वाणिज्य बैङ्कको बोर्डमा रोमिला ढकाल तथा डेपुटी एक्जिक्विटीभ अफिसरको रूपमा सरस्वती अधिकारी हुनुहुन्छ । कृषि विकास बैङ्कको सञ्चालक समितिमा एक जना महिला रहनुभएको छ । बैङ्कको बोर्ड सदस्यको रूपमा एक मात्र महिला इन्दिरा श्रेष्ठ (मास्के) हुुनुहुन्छ । नेपाल बैङ्क लिमिटेडमा एक्टिङ डेपुटी सीईओमा समता पन्त रहनुभएको छ भने बोर्डमा एक जना महिला हुनुहुन्छ । स्ट्याण्डर्ड चार्टड बैङ्कको सञ्चालक समितिको अध्यक्षमा जरिन दारुवाला हुनुहुन्छ ।
सिटिजन्स बैङ्कको पनि बोर्डमा पब्लिक डाइरेक्टरका रूपमा सीता केसी रहनुभएको छ भने एसिस्टेन्ट चिफ एक्जिक्विटिभ अफिसरको रूपमा उमङ्ग शर्मा हुनुहुन्छ । बैङ्क अफ काठमाण्डुको बोर्डमा अमृता उप्रेती र मोहना लोहनी हुनुहुन्छ ।
ग्लोबल आइएमईको प्रमुख व्यवस्थापकमा शान्ता सिवाकोटी रहनुभएको छ । सनराइज बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा हुनुहुन्छ । सोही बैङ्कमा डेपुटी सीईओको जिम्मेवारीमा रहेकी आशा राणा अधिकारी अवकाशपछि नबिल बैङ्कमा स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएको छ । सनराइज बैङ्कमा उहाँले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?