logo
२०८० चैत्र १६ शुक्रवार



नेपालका हितैषी राजकुमार फिलिप

शनिवार |


नेपालका हितैषी राजकुमार फिलिप


करुण अर्याल

शताब्दी पूरा हुन दुई महिनामात्र बाँकी रहँदा संयुक्त अधिराज्य (बेलायत)की महारानी एलिजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप (ड्युक अफ एडिनबरा)को गत साता निधन भयो । बेलायतको राजपरिवारसँग उहाँ ७३ वर्षअघि जोडिनुभएको थियो । बेलायती राजसंस्थाका एक वरिष्ठ सदस्य तथा ‘फस्र्ट जेन्टल म्यान’ राजकुमार फिलिपको निधनसँगै एउटा इतिहासको अवशान भएको छ ।
एलिजावेथसँग विवाह भएपछि राजकुमारको पद्वी पाउनुभएका फिलिप कहिल्यै राजगद्दीको उत्तराधिकारीको रोलक्रममा भने रहनुभएन । उहाँको छोरा राजकुमार चाल्र्स अहिले उत्तराधिकारीको रूपमा हुनुुहन्छ । विवाहपछि थरसमेत नयाँ लिनुभएका फिलिपले महारानी एलिजावेथको हरेक निर्णयमा निष्ठासाथ सहयोग र समर्थन गर्दै आउनुभयो । बेलायतको राजपरिवारलाई विभिन्न समयमा आएका साना, ठूला सङ्कटलाई साम्य पार्न ‘दी ड्युक अफ एडिनबरा’को उपाधिले विभूषित फिलिपको भूमिका महŒवपूर्ण रह्यो । राजकुमार फिलिपले पदको प्रयोग गरी राजसंस्थालाई परिवर्तित समयको भावना बुझ्न सहयोग गर्नुभयो ।
बेलायतको इतिहासमा राष्ट्राध्यक्षको जीवनसाथीका रूपमा सबैभन्दा लामो अवधि बिताउनुभएका फिलिपको सन् १९४७ नोभेम्बर २० मा हालकी महारानी एजिलावेथसँग विवाह भएको थियो । अग्लो कदका सुन्दर नवयुवक फिलिप २६ र एलिजावेथ त्यतिबेला २१ वर्षको हुनुहुन्थ्यो । विवाह भएको पाँच वर्षपछि सन् १९५२ मा एलिजावेथ बेलायतको राजगद्दीमा आसीन हुनुभयो । दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट नौसैनिक अधिकृतका रूपमा युद्धमा सहभागी हुनुभएका फिलिपलाई एलिजावेथले पहिलो नजरमै मन पराएपछि दुवैबीच आकर्षण बढेको बताइन्छ । एलिजावेथले आफ्ना पिता तथा बेलायतका तत्कालीन राजा जर्ज छैटाँैलाई आफूले जीवनमा एकमात्र व्यतिm फिलिपलाई प्रेम गरेको बताउनुभएपछि दुवैको प्रेम सम्बन्ध बाहिर आएको थियो । धेरै नबोल्ने लजालु स्वभावकी एलिजावेथसँग विवाह गरेपछि स्पष्ट वक्ताको छवि बनाउनुभएका फिलिपको जीवनशैलीमा परिवर्तन आउनु स्वाभाविक थियो ।
राजकुमार फिलिपको जन्म ग्लुक्सवर्ग राजपरिवारको सदस्यका रूपमा ग्रीसमा भएको थियो । बाल्यावस्थामै उहाँको परिवारलाई देशनिकाला गरिएपछि उहाँले फ्रान्स, जर्मनी र बेलायतबाट उच्च शिक्षा प्राप्त गर्नुभयो । धेरैलाई थाहा नहुन सक्छ, राजकुमार फिलिपको सम्बन्ध पूर्वमहारानी भिक्टोरियासँग पनि जोडिएको छ । एलिजावेथसँग विवाहको अनुमति पाएसँगै उहाँले ग्रीस र डेनमार्कको शाही पद्वी त्यागेर सामान्य बेलायती नागरिक बन्नुभयो । त्यसपछि उहाँले आफ्नो मामाघरको थर माउन्टबेटन राख्नुभयो । विवाह पहिले नै उहाँलाई बेलायतको राजपरिवारको पद र सम्मानद्वारा विभूषित गरिएको थियो । उहाँलाई बोलाउनका लागि ‘रोयल हाइनेस’ र ‘ड्युक अफ एडिनबरा’को उपाधि दिइयो । कमान्डर पदमा पुगी सक्नुभएका उहाँले एलिजावेथ महारानी भएसँगै सक्रिय सैन्य सेवा छोड्नुभयो ।
भव्य महलमा बसे पनि राजकुमार फिलिपको जीवन भने सामान्य थियो । आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । गाडी चलाउन सौखिन हुनुहुन्थ्यो । बेलायतको महारानीको प्रतिनिधिका रूपमा तथा कतिपय परोपकारी संस्थाका लागि विभिन्न सार्वजनिक कार्यक्रममा भाग लिनुभयो । सन् २०१७ अगस्टदेखि भने सार्वजनिक जीवनबाट उहाँले अवकाश लिनुभयो । बकिङ्घम राजदरबारका अनुसार सन् १९५२ देखि २०१७ सम्म राजकुमार फिलिप २२ हजार १९१ कार्यक्रममा सहभागी हुनुभयो । बर्सेनि तीन सयभन्दा बढी कार्यक्रममा उहाँ सहभागी हुनुहुन्थ्यो । उहाँसँग बेलायतको नम्बर एक रहेको राहदानी (महारानीलाई आवश्यकता पर्दैन) थियो । शाही जिम्मेवारीबाट बिदा लिँदा उहाँ आबद्ध संस्थाहरू ७८० भन्दा धेरै थिए । महारानीसँग उहाँले कमनवेल्थ र अन्य गरी १४३ देशको औपचारिक भ्रमण गर्नुभएको थियो । महारानी एलिजावेथ बेलायत र अन्य १५ देशकी राष्ट्राध्यक्ष हुनुका साथै कमनवेल्थकी प्रमुख पनि हुनुहुन्छ । कुनै समय बेलायतको अधिनमा रहेका ५४ वटा स्वतन्त्र देशको संस्था हो– कमनवेल्थ । एकल र औपचारिक भ्रमणका क्रममा उहाँले हजारौँ सर्वसाधारण, सरकारप्रमुख, राष्ट्रप्रमुख, पोप तथा ‘सेलेब्रेटी’लाई भेट्नुभएको छ ।
श्रीमतीको छाँयामा सात दशक बिताए पनि उहाँ सामाजिक कार्य, वातावरण र वन्यजन्तु संरक्षणमा विशेष सक्रिय हुनुहुन्थ्यो । सामाजिक कार्यअन्तर्गत सन् १९५६ मा स्थापित ड्युक अफ एडिनबरा अवार्ड विशेष थियो । १४ देखि २४ वर्षबीचका युवाले स्वयम्सेवा गरेर सो अवार्ड पाउन सक्थे । यो नवयुवा लक्षित कार्यक्रम थियो । यो उनीहरूको स्वविकाससम्बन्धी कार्यक्रम हो । जसमा शारीरिक क्रियाकलाप र सीप, पर्वतारोहणदेखि डुङ्गाा खियाउनेसम्मका काम पर्थे । १३० भन्दा बढी देशका लाखौँ नवयुवाले यसमा काम गरेका थिए । सन् १९६१ मा विश्व वन्यजन्तु कोष बेलायतको अध्यक्ष हुनुभएका फिलिपको सोही वर्ष भारतमा मरेको बाघसहितको तस्बिर सार्वजनिक भएपछि आलोचना भएको थियो । हवाईजहाज चलाउन मन पराउने उहाँ घोडादौड, क्रिक्रेटमा पनि रुचि राख्नुहुन्थ्यो । यसबाहेक उहाँ पोलो खेलाडीका रूपमा पनि चिनिनुभएको छ । उहाँ विन्डसर पार्क पोलो टीमको क्याप्टेनमात्र नभई, एक खम्बा नै हुनुुहुन्थ्यो ।
राजकुमार फिलिपको निधनसँगै नेपालले भने एउटा माया गर्ने व्यक्ति गुमाएको छ । नेपाल र बेलायतबीचको सम्बन्ध दुई सय वर्षभन्दा बढीको छ । यस अवधिमा महारानी एलिजावेथ द्वितीयले दुईपटक नेपालको राजकीय भ्रमण गर्नुभयो । भ्रमणमा फिलिप पनि सँगै आउनुभएको थियो । सन् १९६१ र १९८६ को राजकीय भ्रमणमा उहाँ नेपालका विभिन्न स्थानमा पुग्नुभएको थियो । ‘नेपालको शुभेच्छुकका रूपमा राजकुमार फिलिपलाई स्मरण गर्न चाहान्छु,’ बेलायतको लिड्स विश्वविद्यालयका प्रा.डा. सूर्य सुवेदी भन्नुहुन्छ, ‘बेलायती सेनामा कार्यरत गोरखा सैनिकको योगदान र नेपालको तत्कालीन राजपरिवारसँगको सम्बन्धका कारण उहाँको ममता र झुकाव नेपालप्रति थियो ।’ राजकुमार फिलिपसँग दुईपटक भेट्नुभएका प्रा.डा. सुवेदी भन्नुहुन्छ, ‘कुनै समय अस्थिरतातर्फ उन्मुख बेलायतको राजनीतिलाई स्थिरतातर्फ लैजान महारानीले निर्वाह गर्नुभएको उल्लेखनीय भूमिकामा राजकुमार फिलिपको महŒवपूर्ण योगदान छ ।’ दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउन भूमिका निर्वाह गर्नुभएका फिलिप संरक्षक रहेको परोपकारी संस्थाबाट नेपाललगायत थुप्रै देशले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ लिएको उहाँको भनाइ छ । बेलायतले मानवअधिकार तथा सुशासनका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ । यसमा राजकुमार फिलिपको माया र सद्भाव प्रत्यक्ष अनुभव गरेको डा. सुवेदी बताउनुहुन्छ ।
बेलायतको हकिन्स टाउन काउन्सिलका काउन्सिलर नवीन शिवा पनि राजकुमार फिलिपलाई नेपाल र नेपाली माया गर्ने व्यक्तित्वका रूपमा चिनाउनुहुन्छ । कुनै समय फिलिपकै नाममा रहेको रेजिमेन्टमा शिवा काम गर्नुहुन्थ्यो । काम गर्दा फिलिपकै हातबाट पदक पाउनुभएका शिवा भन्नुहुन्छ, ‘नेपालीमाथि विश्वास गर्नुहुन्थ्यो । सानो कुरालाई पनि चाख दिएर सुन्ने, त्यसको गहिराइमा पुगेर सक्ने सहयोग गर्ने बानी पनि उहाँको थियो ।’ कोरोनाका कारण परिवारका ३० जना सदस्यको उपस्थितिमा आज शनिबार उहाँको अन्तिम बिदाइ हुँदै छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?