logo
२०८१ बैशाख ८ शनिवार



बहुमूल्य बिना

शनिवार |


बहुमूल्य बिना


जुद्धबहादुर गुरुङ

आजभन्दा लगभग ५० वर्षअघिको कुरो हो, गाउँका बूढापाकाहरूले अन्नपूर्ण हिमालतर्फ देखाउँदै बुकेनीतर्फ कस्तुरी मृगको ऐरी (शिकार) खेल्न जाने भन्थे । कस्तुरी मृगको बिना बहुउपयोगी औषधि हुने अनुभव सुनाउँथे । बिनाको प्रमुख बजार भारतको ‘गोर्खापुर’ भन्थे । यस्ता विषयले मेरो बाल मानसपटलमा कस्तुरीबारे कौतूहल जगाउनु स्वाभाविक थियो । यसबारे जान्न निरन्तर प्रयासरत रहेँ । परिणामस्वरूपमा वन्यजन्तु संरक्षणमा चाख जगाउन यो शिकारी कथा मेरा लागि प्रेरणा स्रोत बन्यो ।
कस्तुरी मृगको बारे अधिकांश मानिसलाई थाहा नै होला । पाका पुस्तालाई कस्तुरी बिनाको औषधिजन्य महìवबारे पनि जानकार नै होला । कस्तुरीको बिना बहुमूल्य औषधि र सुगन्धित गुण भएकोले महँगो मूल्यमा बिक्री हुन्छ । विश्व बजारमा बिनाको ठूलो माग छ । त्यसैले यो सुनभन्दा महँगो मूल्यमा बिक्री हुन्छ । बहुमूल्य भएकोले नै नेपालबाट अवैध शिकार गरी विश्व बजारमा यसको व्यापार हुने गरेको विभिन्न अध्ययनहरूले प्रमाणित गरेको छ । तर बहुमूल्य कस्तुरीको बिना बर्सेनि खेर गइरहेको पनि छ । सरकारले उचित कानुनी विधि अपनाए वैधानिक रूपमा बिक्री गरी रोजगारी र आर्थिकोपार्जन गरी राजस्व वृद्धि गर्न सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
आजभन्दा लगभग पाँचहजार वर्ष पहिलेदेखि कस्तुरीको बिना परम्परागत औषधि तथा सुगन्धित पदार्थको रूपमा प्रयोग हुँदै आएको पाइन्छ । दक्षिण पूर्वी एसियामा औषधिको रूपमा र युरोपेली बजारमा सुगन्धित वस्तुको रूपमा यसको प्रयोग बढी हुन्छ । चिनियाँ तथा कोरियाली समाजमा पराम्परागत उपचार पद्धतिमा तीन सयभन्दा बढी किसिमका औषधिमा कस्तुरीको बिना प्रयोग हुँदै आएको छ । यसैगरी हिन्दु समाज भारत र नेपालमा आयुर्वेदिक तथा इस्लामिक मुलुकहरूमा युनानी औषधिमा यसको प्रयोग हुँदै आएको छ । सुगन्धित पदार्थका लागि प्रमुख विश्व बजार जापान र फ्रान्स नै हो । एक अध्ययनअनुसार सन् १९८० देखि १९९५ सम्म लगभग एक सय केजी बिना फ्रान्सेली बजारले मात्र आयात गरेको छ । नेपाललगायत केही देशमा यसको व्यापारमा प्रतिबन्ध लगाइए पनि विश्वका ३५ देशमा कस्तुरीको बिना वैधानिक रूपमा व्यापार हुन्छ । हाल विश्व बजारमा प्रति ग्राम ९५ अमेरिकी डलरमा यसको बिक्री भइरहेको छ । जुन बहुमूल्य धातु सुनभन्दा महँगो दर हो ।
कस्तुरी मृग झट्टा हेर्दा बाख्राजस्तो भए पनि यसको शरीर खैरो हुन्छ । यसलाई विज्ञहरूले सामान्यतया मृग परिवारमा वर्गीकृत गरेका छन् । तर मृगभन्दा भिन्न वर्गका गुणहरू यसमा पाइन्छन् । यो चिसो हावापानी भएको उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हो । खासगरी भीर÷पहाडका अफ्ठ्यारो खोच, चट्टान, भोजपत्रको वन क्षेत्रमा बस्न रुचाउँछ । नेपालमा दुई प्रजातिका कस्तुरी मृग पाइन्छन् । ती हुन्– हिमालयन कस्तुरी मृग र कस्मिरी कस्तुरी मृग । यसैगरी कालो कस्तुरी मृग र अल्पाइन कस्तुरी मृग प्रजातिका पनि पाइने अनुमान गरिएको छ । संसारमा खासगरी एसिया महाद्वीपमा सात प्रजातिका कस्तुरी मृग पाइन्छन् । यस महादेशका हिमाली क्षेत्र भएका मुलुकहरू खासगरी नेपाल, भारत, पाकिस्तान, चीन, वर्मा, भुटान, अफगानिस्तान, रुस, मङ्गोलिया, कोरियालगायत १३ देशमा पाइने उल्लेख गरिएको छ । 
नेपालको पश्चिम हिमाली क्षेत्रमा खासगरी कालीगण्डकी नदीदेखि पश्चिम हिमाली क्षेत्रमा कस्मिरी कस्तुरी मृग पाइन्छ भने सोही सीमादेखि पूर्वतर्फ हिमाली क्षेत्रमा हिमालयन कस्तुरी मृग पाइन्छ । सामान्यतया कस्तुरी मृग दुई हजार सात सयदेखि चारहजार पाँचसय मिटरसम्मको उचाइमा पाइने तथ्य प्रकाशित भए पनि नेपालको सन्दर्भमा दुईहजार दुईसयदेखि पाँचहजार मिटर उचाइका भोजपत्रका जङ्गल तथा बुट्यान क्षेत्र यसको प्रमुख वासस्थान मानिन्छ । यसको आयु १४ देखि २० वर्ष हुन्छ । लगभग १८ महिनामा पोथी मृग प्रजनन गर्न सक्षम हुन्छ भने गर्भधारणको अवधि चार महिना हुन्छ । साढे दुई वर्ष भएपछि पोथी कस्तुरीले जुम्ल्याहा बच्चा जन्माउँछ । भाले र पोथीको अनुपात १ः४ हुन्छ । भाले कस्तुरी एक वर्षपछि बिना उत्पादन गर्न सक्षम हुन्छ । यसको जनङ्सख्या वृद्धि दर ४८ देखि ६२ प्रतिशत रहेको छ । विश्व संरक्षण सङ्घद्वारा सन् १९९८ मा प्रकाशित पछिल्लो प्रतिवेदनअनुसार जङ्गली अवस्थामा विश्वभर कस्तुरी मृगको सङ्ख्या लगभग चारलाखदेखि आठलाख जति रहेको अनुमान गरिएको छ । यसको अध्ययन वन्यजन्तु विज्ञ वीनरले गर्नुभएको हो । नेपालमा कस्तुरी मृगमा केन्द्रित भएर अध्ययन गरेको प्रतिवेदन विरलै पाइन्छ । यससम्बन्धी अध्ययनका केही तथ्य तालिकामा उल्लेख गरिएको छ । नेपालको उच्च हिमाली जिल्ला खासगरी दार्चुला, हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ, म्याग्दी, कास्की, मनाङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुुवासभा, ताप्लेजुङलगायत हिमाली जिल्लामा कस्तुरी मृग पाउने अनुमान गरिए पनि प्राप्त अध्ययन प्रतिवेदनको आधारमा निम्न वितरण रहेको अनुमान तालिकामा उल्लेख गरिएको छ । यो अध्ययन नेपालका संरक्षित क्षेत्रभित्र मात्र केन्द्रित छन् । संरक्षित क्षेत्र बाहिर कस्तुरी मृगको अध्ययन अनुसन्धान भएको भेटिएको छैन । सामान्यतया एक भालेसित चार पोथी हुुन्छ भनी विज्ञहरूको राय छ । यसको आधारमा हाल नेपालभर कम्तीमा पनि तीनहजार पाँचसयदेखि चारहजारको हराहारीमा कस्तुरी मृग रहेको अनुमान सजिलै गर्न सकिन्छ ।
यस किसिमको बहुमूल्य बिनाको बारेमा जिज्ञासा हुनुु स्वाभाविकै हो । भाले कस्तुरीको नाभीमा बिना हुन्छ । बिना विशेष किसिमको ग्रन्थी हो । सामान्यतया कस्तुरी मृग एक वर्ष पुगेपछि बिना सङ्कलन गर्न सकिन्छ तर तीनदेखि १४ वर्षको उमेरमा कस्तुरीको बिना सङ्कलनका लागि उपयुक्त उमेर मानिन्छ । एक अध्ययनअनुसार १४ वर्षदेखि माथिको उमेरमा बिना उत्पादन कमी हुँदै जान्छ तर २० वर्षको उमेरसम्म बिना उत्पादन गर्न सक्छ । एक भाले कस्तुरीबाट जीवनभर १४ पटकसम्म बिना सङ्कलन गर्न सकिन्छ । एक भाले कस्तुरीबाट सरदर ३० देखि ४५ ग्राम तौल बराबरको बिना प्रतिवर्ष उत्पादन हुन्छ । जोमसोमका अनुभवी पाका शिकारीहरूका अनुसार एक भाले कस्तुरीबाट ७७ ग्रामसम्म बिना उत्पादन हुन्छ । सरदर एक कस्तुरीले न्यूनतम ३० ग्राम एक सालमा उत्पादन गर्छ भन्ने अनुमान छ । नेपालमा विद्यमान कस्तुरीको सङ्ख्या लगभग चार हजार भएको अनुमान अध्ययन प्रतिवेदनहरूले देखाएको छ । प्राकृतिक रूपमा एक भालेसित चार वयस्क पोथीको लैङ्गिक अनुपात रहने कुरा माथि पनि उल्लेख गरियो । यसैको आधारमा लगभग एक हजार भाले कस्तुरी भए पनि पाँच सय कस्तुरीबाट सङ्कलन गरेमा प्रति कस्तुरी ३० ग्रामका दरले वार्षिक १५ किलो कस्तुरी सङ्कलन गर्न सकिन्छ । जुन हालको विश्व बजारमा १४ लाख २५ हजार अमेरिकी डलर (लगभग १७ करोड १० लाख रुपियाँ) मूल्यको हुने अनुमान गर्न सकिन्छ ।
साइटिस महासन्धिले संरक्षण गर्न भनेर अनुसूची १ मा कस्तुरी मृग सूचीकृत गरेको छ । नेपाल यो महासन्धिको पक्ष राष्ट्र हो । यस महासन्धिले लोपोन्मुख प्रजातिको संरक्षणका लागि वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको छ । कस्तुरी मृगको प्रमुख वासस्थानमा ह्रास र चोरी शिकारी नै कस्तुरी संरक्षणका लागि प्रमुख चुनौती हुन् । यो वन्यजन्तु संरक्षित सूचीमा परेकोले वैध शिकार गर्न पाइँदैन । त्यसैले तस्करहरू बिना सङ्कलनका लागि चोरी शिकारी गर्छन् । चोरी शिकारीले गोलीबाट भन्दा पासोद्वारा यसको शिकार गर्छन् । पासोमा लक्षित भाले कस्तुरी मात्र नपरी पोथी कस्तुरी पनि पर्ने सम्भावना हुन्छ । कस्तुरीको पारिवारिक संरचनामा पोथी बढी भएकोले पोथी पर्ने सम्भावना बढी हुन्छ र संरक्षणमा चुनौती थपिन्छ । त्यसैले शिकारमा गोलीभन्दा पासो बढी खतरानाक मानिन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा आ.व. २०७७÷७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा यस प्रदेशको हिमाली क्षेत्र खासगरी मुस्ताङ र मनाङमा कस्तुरी पालन गर्ने योजना बनाइएको छ । यस योजनालाई परिमाणमुखी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको सक्रियतामा सम्भाव्यता अध्ययन, कस्तुरी गणन, पूर्वाधार विकासका योजनासमेत तयार भई कार्यान्वयनको चरणमा रहेको छ । यस कार्यक्रमले कालान्तारमा कस्तुरी प्रजातिको संरक्षण ‘बन्धन प्रजनन’ कार्यक्रम विधिबाट अगाडि बढाउने छ भने रोजगारी सिर्जना, आर्थिक वृद्धि र पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ । तर यो साइटिसको सूचीमा परेकाले पालन गर्न सम्भावना कम छ भनी संरक्षण क्षेत्रका अधिकारीहरूको राय छ ।
विश्वभर संरक्षित सूचीका वन्यजन्तुलाई ‘बन्धन प्रजनन’ गरी संरक्षण गरेको थुप्रै उदाहरण पाइन्छ । कस्तुरी मृगको पालन नेपालको ललितपुरस्थित गोदावरीमा सन् १९९० ताका प्रयास गरिएको थियो । उचित व्यवस्थापन हुन नसकेर यो कार्यक्रम सफल हुन सकेन । यसैगरी सन् १९८२ मा कस्तुरी पालन भारतको उत्तराखण्डको पिथौरागढ क्षेत्रमा, चीनको सिचुवान प्रान्तअन्तर्गत सान्छी र मङ्गोलियाको खिम्तिई पहाडमा पालन गरिएको छ । यीमध्ये चीनको अनुभव राम्रो छ । सन् १९५८ मा परीक्षणका लागि स्थापित गरिएको ‘बन्धन प्रजनन’ कार्यक्रमले गति लिएको छ । सन् २०१७ सम्ममा चीनमा विद्यमान दुई केन्द्रमध्ये पहिलो केन्द्रका बीसहजार कस्तुरीबाट प्रतिवर्ष १५० किलो र दोस्रो केन्द्रमा चौधहजार कस्तुरीबाट एकसय किलो ग्राम कस्तुरीको बिना प्रतिवर्ष सङ्कलन हुन्छ ।
दक्षिण अमेरिकाको पेरु, चिली, आर्जेन्टिना र बोलिभिया मुलुकका उच्च पहाडी क्षेत्रमा भिकुना प्रजातिको वन्यजन्तु पाइन्छ । यो वन्यजन्तुको ऊन मसिनो र लुगा धेरै न्यानो हुन्छ । ऊनी लुगा जाडोमा धेरै न्यानो हुने भएकोले सबैले मन पराउँछन् । अधिक चोरी शिकारीका कारण सन् १९७४ ताका यो वन्यजन्तु लोपोन्मुख अवस्थामा पुगेकोले यसलाई संरक्षित सूचीमा सुचीकृत गरिएको थियो । त्यसताका जङ्गली अवस्थामा भिकुनाको सङ्ख्या लगभग छ हजारको हाराहारीमा झरेको थियो । ‘बन्धन प्रजनन’ कार्यक्रम कार्यान्वयन भएपछि हाल यसको सङ्ख्या ७५ हजारभन्दा बढी पुगेको छ । व्यवस्थित किसिमले ऊन सङ्कलन गरी आर्थिक उपार्जनका साथै यसको संरक्षण पनि भएको छ । यसैगरी दक्षिण अफ्रिकाको दुई सिङ्गे गैंडा ‘बन्धन प्रजनन’ गरेपछि यसको सङ्ख्या एकहजार पाँच सय पुगेको छ । थाइल्यान्डमा सिएमिज ताज पानीका गोहीको सङ्ख्या पनि ‘बन्धन प्रजनन’ विधिद्वारा बढ्न पुगेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचाँै संशोधनले वन्यजन्तुको अध्ययन अनुसन्धान, प्रजनन तथा पालन गर्न सक्ने व्यवस्था गरेको छ । यस ऐनले व्यावसायिक रूपमा प्रजनन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएबमोजिम अनुमति लिई माउ बीउ प्राणी उपलब्ध गराउन सकिने व्यवस्था छ । अझ यसरी व्यावसायिक रूपमा उत्पादन गरिएको वन्यजन्तु वा तीनबाट तयार गरिएको वस्तु तोकिए बमोजिम उपयोग, बिक्री, वितरण, निकासी गर्न सकिने व्यवस्था छ ।
नेपालले पनि लोपोन्मुख वन्यजन्तुलाई ‘बन्धन प्रजनन’ विधिद्वारा संरक्षण गर्दै आएको उदाहरण पनि छ । चितवन राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय कसरामा सन् १९७८ मा घरियाल गोही ‘बन्धन प्रजनन’ केन्द्र र सन् २००८ मा गिद्ध प्रजनन केन्द्र स्थापना गरिएको छ । भर्खरै संशोधन गरेको ऐनले पनि व्यावसायिक रूपमा पालन गर्न सक्ने व्यवस्था गरेको छ । यस सन्दर्भमा नेपालको अनुभव संरक्षण उन्मुख भए पनि यसलाई अर्थोपार्जनोन्मुख गर्नु जरुरी छ । यसका लागि गण्डकी प्रदेश सरकारले उपयुक्त समयमा उचित पहल गरेको छ । यसको परिणाम आउन लामो समय लाग्छ । व्यवस्थापनमा नियमित अनुगमन आवश्यक छ । लोपोन्मुख प्रजातिलाई आर्थिक उपार्जनसित आबद्ध गरी संरक्षण गर्ने विधिलाई कार्यान्वयन गर्नु आजको आवश्यकता हो । यसतर्फ सबै सरोकारवाला पक्षको ध्यान जानुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?