logo
२०७८ बैशाख ९ बिहीवार



खुट्न सक्ने सियो नै छैन (कविता)

शनिवार |


खुट्न सक्ने सियो नै छैन (कविता)


उदय निरौला

हाँस्ने कुराहरू पनि धेरै हाँसियो
रूने कुराहरू पनि धेरै रोइयो
हिँड्ने बाटाहरू पनि धेरै नै हिँडियो
जीवनमा धेरै नै समेटियो सुख दुःखहरू
होइन त के तपाईंले बेहोर्नु भएन र ?
बेहोर्नु भयो
तर पनि पुगेन अलिकति कमै भयो
जीवन !
अलिकति बढी पनि भयो जीवन ।

अझ हिँड्नु छ
कति ओरालाहरू
उक्किनु मन छ
तर जीवन ओर्लिसकेको छ
उकालो ओर्लन थालेको छ
ओरालो उक्ले झैँ लाग्न थालेको पनि छ
तै पनि ओरालो भएर उक्लन मन कहाँ छ र
उकालो भएर ओरालो उक्किनु पनि मन कहाँ छ र
तैपनि उक्लँदा उक्लँदै ओर्लिरहेको छ जीवन

खुशीहरू बटुल्दा बटुल्दै पनि
दुःखहरू बटुलिनु पनि रङ नै हो जीवनको
तर महाशय मन त पर्दैन तपाईंलाई
तर त्यही बजारको बाटो हिँड्नुपर्छ तपाईंले
मैले भन्दा, उहाँले भन्दा, उसले भन्दा बढी
किनकि तपाईंको काँधमा धेरै थाङ्नाहरू छन्
तपाईं बडेमाको हुनुको परिणाम नै ती थाङ्नाको पहाड हो
जो तपाईं बोक्नु हुन्छ
अनि त्यही थाङ्नाको पहाडले तपाईं धेरै किचिनु हुन्छ
अनि ओरालो पनि उकालो सम्झिएर उक्लँदा
धेरै तल झर्नुहुुन्छ
महाशय ती आँखाको पट्टी कहिले खोल्नु हुन्छ ?
यो प्रश्न कतै तपाईंको मनमा हुनुपर्छ
उत्तर छैन
त्यसैले जीवन भोग्नु पर्छ
अमिलो गुलियो सब भएर पनि हिँड्नु पर्छ
कतै हाँस्दै रुएर
कतै रुँदै हाँसेर
बेमेल छ जीवन
खुट्न सक्ने सायद सियो नै छैन
जोड्न सक्ने सायद धागो नै छैन ।