logo
२०८० चैत्र १६ शुक्रवार



महुवाको गन्ध (कथा )

शनिवार |


महुवाको गन्ध   (कथा )


विनोद दीक्षित
यो गाउँकाले मात्र होइन, छिमेका तीन–चार वटा गाउँका अधिकांश मान्छेले नत्थुलाई दरुवाहा, शराबी, महुवाटी भन्ने गर्थे । काम नहुँदा केही गर्न नसके पनि लट्टुजस्तो नचाई सनको डोरी बनाउँथ्यो, सुरुसुरुमा सनको रेसा बाँटिने लट्टु तिघ्रामा घर्षण गरेर । जुन भट्टीमा रक्सी खान्थ्यो, त्यो भट्टीवालले महुवा भन्ने किसमिसभन्दा अलि ठूलो फलको रक्सी बनाउँथ्यो र गाउँले सडकमै भट्टी भएकोले महुवाको गन्ध टाढैबाट आउँथ्यो र भट्टीबाट कालो गनाउने पानी सडकको बीचोबीचबाट बगेको पनि देखिन्थ्यो ।
भट्टीवाल कहिलेकाहीँ महिनामा एकदुई पटक परेवा र हाँसको मासु पनि ‘सर्भ’ गथ्र्यो । हुनलाई हाँडीमा भुटेको चना वा मकै ‘स्न्याक्स’ हुन्थ्यो । कहिलेकाहीँ तास पनि खेलाउँथ्यो । मात्तिएको बेला उही छत्तीस प्रतिशत ब्याज लिने गरी सापट दिएर । कुनै पैसाको साउँ त के ब्याज पनि तिर्न सकेन । एक कठ्ठा, दुई–तीन–चार गर्दै साढे चार कठ्ठा भट्टीवाललाई बुझायो ।
नत्थुको बुबा बिरामी पर्दा, घर खर्च चलाउन इत्यादि भनेर दुई ठाउँमा उसले पाँच कठ्ठाजति बुझाइसकेको थियो छत्तीस प्रतिशत ब्याज अनि ब्याजको स्याजका रूपमा ।
नत्थु म¥यो भन्ने समाचार त्यो गाउँमा दिनभर बन्यो । ‘लिभर सिरोसिस’ भएर मृत्यु भएको कसैले भनेन । ती गाउँमा जन्मिने र मर्ने मात्र खबर हुन्छ, रोगहरू आआफ्नो नाउँको ट्याग झुन्ड्याएर पसेका हुँदैन ।
घरको पीडा सहन नसकेर हाड र छाला मात्र भएकी नत्थुकी आमाको पनि नत्थु मरेको दुई महिनाभित्र मृत्यु भयो । किशोर अवस्थाको छोरो रजैया पढ्न चाहन्थ्यो तर उसले कमाउनु पनि परेकाले गाउँका केही असल भलादमीले अर्को गाउँमा रहेको ‘मिडिल’ स्कुलका अध्यक्षले उता स्कुलमा दिनभरि रातभरि बस्ने गरी पाले बनाइदिए अनि काम नभएको बेलामा रजैयाले जुन कक्षामा बस्न खोज्दछ बस्न दिनू भन्ने फरमान जारी गरेका थिए । ऊ निजी तवरमा पढाइ पनि गथ्र्यो अनि दिक्क लाग्दा बुबाले जस्तै सनपाटको डोरी पनि बाँट्थ्यो ।
भलादमी थोरै तर मौका पर्दा बदमासी गर्ने, एकअर्कालाई ठग्ने तथा चोर मनोवृत्ति भएकाहरू नै प्रायःजसो थिए, विशेष गरी पुरुष वर्ग । त्यसैले अन्याय, अत्याचार, बेइमानी र धोकाधडी हुँदा बोल्ने कोही भएनन् ।
जहाँ रावणहरू देखिन्छन्, जहाँ अत्याचारले सीमा पार गर्न थाल्छ त्यहाँ राम आउनुपर्ने हुन्छ ।
रामजस्तै देखियो, जयशङ्कर प्रसाद जो रजैयाको साक्खे मामाको ‘कजन’ भाइ थियो । दसैँको लामो बिदा भएकाले साहिँला बाकी छोरी जो नातामा दिदी परिन् उनैकहाँ आउने विचार ग¥यो आफ्नो भाइका साथ अर्थात् रजैयाको साक्खे मामाका साथ ।
दिदी बिहानदेखि साँझसम्म एक भलादमी भनिनेको घरमा काम गर्थिन् आफ्नो खाने केही नभएकाले ।
दिदीको हालत बुझेपछि जयशङ्करलाई जाँच–पडताल र खोजखबर गर्न मन लाग्यो । ऊ सहरमा एक नामी वकिलकहाँ सहायक थियो र काम गर्दै जाँदा कानुनको अलि ज्ञाताजस्तो पनि भइसकेको थियो ।
दिदीको गाउँ आयो । दुई दिन गाउँमा डुलेपछि उसले थाहा पायो, नत्थु खराब मानिस होइन रहेछ, खालि रक्सी खाने बानी मात्र नराम्रो, तर नशामा हुँदा भट्टीवालले जे भन्थ्यो, जतिको बिल देखाउँथ्यो, प्रायःजसो हेर्दै नहेरी ‘मेरो विश्वास छ तिमीमाथि, म गरिबलाई कति ठग्छौ ?’ भन्थ्यो । तर नत्थुलाई भट्टीवालले ठग्ने ग¥यो ।
गरिबलाई तैँले शोषण गर्ने ? उसको नशालाई आफ्नो जालझेल निम्ति प्रयोग गर्ने भन्दै जयशङ्करले कागजात त्यही भट्टीमा गएर हेरेपछि तर्साउने स्वरमा हप्काउँदै ‘तैँले मनोमानी रूपमा चर्को ब्याज लिने ? तैँले थोरै ख्वाएर बढी ख्वाएको देखाउने ? तँलाई पर्खी थुनामा पार्छु, हेर म को हो ?’ भन्दै परिचय–पत्र देखाउँदै, ‘वकिल हो, मसित पुलिस पनि डराउँछन् । यहाँ फोन नजदिक कुन गाउँमा छ, पुलिसहरूलाई बोलाउनुप¥यो ।’ भन्दा त्यहाँ जाँड खाइरहेका एकले भन्यो, ‘विशुनपुर्वामा छ, दुई माइलजति होला ।’
जयशङ्करले नत्थुको मात्र होइन, अन्य एकदुईका नियमित जँड्याहाका हिसाबकिताब पनि जाँच गरे । परेवाको मासु र कहिलेकाहीँ हाँसको पनि मासु ख्वाए तापनि बिलमा प्रायः हरेकको दिन ख्वाएको लेखेका रहेछन् ।
भट्टीवाल, सुरुमै तर्सिसकेको थियो, किनभने वर्षौंवर्ष बाबुबाजेपालाको बेलामा स्थापित भट्टीमा बाहिरबाट आएर छानबिन पहिलो पटक भएको हो ।
भट्टीवाल हात जोड्दै, बाबू भन्दै हात जोडेको जोड्यै थियो । पुलिस थुन्नलाई बोलाउँछु भन्दा ‘मेरा बालबच्चा, मेरो परिवार मर्छन्, मलाई जेल नपठाउनोस्’ भन्दै गिडगिडाइरह्यो । भट्टीवालले साढे चार कठ्ठा फिर्ता ग¥यो, सबै कागजात च्यातेर जयशङ्करले भने ‘तिमीले जाँड ख्वाएबापत केही पैसा पाउँछौ, म न्याय रुचाउँछु, तिमीलाई शोषण गर्दिनँ, समयलाई पर्ख ।’पछि अर्को ठाउँमा छत्तीस प्रतिशत ब्याज लिएर जग्गा हडपेका दुई जनाको पैसाबापत बिना ब्याजमा फिर्ता गर्ने निर्णय गरायो । भट्टीवालसहित तीन जनालाई गर्दा लगभग डेढ लाख दिनुपर्ने भयो । अनुकूल समयमा जग्गावालले दिने भन्ने पो यति निर्णय गरायो जयशङ्करले ।
एक वर्षभित्रै चौध धुर बेचेर नत्थुका परिवारले ऋण चुक्त गरे । उता छोरो रजैया नजिक गाउँको हाईस्कुलमा पढ्न थाल्यो । पूरै इमानदार देखिने गरेकाले त्यो हाईस्कुल रहेको अर्धगाउँको एक पसलेले हिसाब दुरुस्त राख्ने काम दियो ।

‘कमर्स’को छात्र अवस्थामै हुँदा आजको युगमा पैसा भएन भने उसको इज्जत हुँदैन जतिसुकै पढ्दा पनि भन्ने विचार उसमा पलाउँदै गयो । सुरुसुरुमा यस्तै सोच आउँदा मेरो पनि कस्तो मति भ्रम भएको–धनं सर्व धनं प्रधानम्–यसै भनेका हुन् त अथवा–स्वदेशे पूज्ययते राजा, विद्वान् सर्वत्र पूज्ययते–यसै हाम्रो शास्त्रले हाम्रा बूढापाका तथा विद्वान्हरूले भनेका हुन् त भन्ने विचारले खण्डित गथ्र्यो भने पछिपछि चारैतिर समयको अन्तरालमा पैसै ठूलो कुरा भन्ने विचारले उसको मनमस्तिष्कमा जरो गाड्न थाल्यो । उसलाई इज्जत पढाइले दिँदैन, पैसाले दिन्छ भन्ने लागेर विदेशतिर पलायन भएर पैसा कमाउने र पाउन्जेल पढ्ने पनि भन्ने कुराबाट मन बुझाउन थाल्यो ।
‘कमर्स’ मा बी. कम. भर्ना भएको केही समयपछि ऊ आफ्नी आमा र दुई वर्षअगाडि बिहे गरेर काखमा एउटा बच्चा दिएकी श्रीमतीलाई पैसा कमाउन जान्छु भनेर अनेक सपना देखाउँदै भारततर्पm लाग्यो ।

रजैया गएदेखि चिठी पठाएन । उता आमाले गाउँलाई चाहिने सामानहरूको सानो पसल खोली । गाउँका मानिसहरूको नत्थु परिवारप्रति सहानुभूति, सद्भाव रहेकाले उनैको पसलमा किन्न थाले । पसल चल्न थाल्यो तर सामानको सधैँ अभाव । उही बिक्री भएको पैसाबाट नत्थुकी श्रीमती आफैँ किनेर ल्याउँथी चाहिने सामान थोरै रूपमा भए पनि ।
हरेक तेस्रो दिन जान्थिन् उनी डेढ कोसजति टाढा रहेको ठूलो पसलमा । रजैयाको अनुपस्थितिलाई सासू–बुहारीले बिर्संदै गए । यता छोरो उभिने भयो र दुईचार पाइलो चाल्न पनि थाल्यो ।
एक पटक नेपाली चालीस हजारको चेक आयो नत्थुकी श्रीमतीको नाउँमा । रजिस्ट्री गरिएर पठाइएको त्यो चेक रहेको खाममा पठाउने मानिसको नाम र ठाम कुनै उल्लेख थिएन । नत्थुकी श्रीमतीले मलाई पैसाको अभाव भइरहेको बेलामा भगवान्ले पठाउनुभएको भन्दै आज भगवान्को पूजा गर्नुपर्छ भनेर सासू–बुहारी दुवै तम्सिएर घर लिपे, गाउँले मिठाई बनाए, दियो बाले र दुईचार छिमेकीकहाँ गएर भगवान्को फोटो ल्याए, कहिले भगवान् भनेर पुज्ने गरेको पत्थर ल्याए, घण्टी ल्याए र जेजसो जानेका थिए, त्यहीअनुसार पूजा गरे ।एक वर्षपछि पनि अठ्चालीस हजारको चेक आएको थियो दोस्रो पटक ।

दिनेशा चार क्लासमा पढ्ने भएको थियो । कसैले चिठी ल्याएको देखेपछि ऊ आफ्नी आमालाई बोलाउन गयो । आमाले चिठी आफ्नो नाउँ लेखेको बुझेपछि त्यो चिठी लिएर सासूलाई दिन पसल पुगी एकदम खुसी हुँदै किनभने एक पटक चालीस र अर्को पटक अठ्चालीस हजारको चेक आएको थियो । बुहारी खुसी भएको देखेर एक दुई गाउँले ‘के भयो यस्तो’ भन्दै पसलसम्म पुगेका थिए ।
बूढी पनि खाम देखेर खुसी भइन् । खामलाई ढोगिन् र आकाशतिर हेर्दै भगवान्लाई नमन गरिन् । रजैयाको श्रीमतीले पनि आकाशलाई हेर्दै नमन गरिन् । नेपाली अस्सी हजारको चेक थियो त्यो । वरपर रहेका दुईचार गाउँले पनि खुसी भए । धेरैबेरसम्म खाममा रहेको चिठी नपढेकाले र चेक देखेर निकैबेर खुसी भएकाले एकले ‘चिठी पढ्न प¥यो नि’ भन्यो । चिठी पढियो, जसमा रजैयाले ‘मैले अर्को बिहे गरेँ, अब म गाउँमा फर्किन सक्तिनँ र यो अन्तिम पटक पैसा पठाउँदै छु’ भनेर रजैयाले लेखेको रहेछ । चिठीले सासू–बुहारीमा कुनै चिन्ताको रेखा देखिएन ।

दुई वर्ष चानचुनपछि अर्को चिठी आयो । त्यस चिठीमा लेखिएको थियो–ट्रेनमा रजैयाले ग्याङ डकैती गर्दै उक्त समूहको नेतृत्व गरी ग्याङले ए.टु. बोगीमा तीन यात्रुलाई मारेकाले ऊ दसवर्षे थुनामा प¥यो तर उसले आफू मात्र एक्लैले गरेको भन्यो । त्यस बोगीमा भएभरको सुनको गहनाबाट सुसज्जित एक सत्र–अठार वर्षकी नवविवाहितालाई केही नगरी छोडिदियो । सँगै बसेको पतिले हजारका केही नोट दिन खोजे पनि उसले लिन मानेन ।
उसले भन्यो, ‘म नवविवाहिता र गर्भवती महिलाप्रति अत्याचार गर्दिनँ । असहाय, असक्षमप्रति अत्याचार गर्दिनँ । मेरो लक्षित समूह अर्कै हो । मेरो दस वर्षदेखिको डकैतीको मान्यता यही हो ।’ त्यो चिठीमा दुई लाख १२ हजारको चेक थियो । १२ हजार जेलभित्रको कमाइ र दुई लाख कुनै राजेश सिंहानियाले उसलाई पठाएको कुरा चिठीमा जेल प्रशासनले जनाउ दिएका रहेछन् ।
सासू–बुहारी रजैया मरेको भन्दा पनि त्यत्रो पैसा पाएकोमा खुसी भए । सानो दिनेशाले सब थाहा पायो, गम्भीर भयो, आमा र हजुरआमातिर छक्क पर्दै दिनभरि टोलाउँदै हेरिरह्यो । बाबुको अनुहार सम्झिने प्रयास ग¥यो, सकेन ।
अचानक सहन नसक्ने अचम्मको गन्ध आएको दिनेशालाई लाग्यो । केहीबेरपछि सहन नसकेर हजुरआमा र आमानेर आएर सोध्यो, ‘यो केको गन्ध आइरहेछ ?’
दुवैले एकै पटक ठ्याक्क मिलाएर भने, ‘महुवाको गन्ध ।’ आकाशतर्पm निकै माथि क¥याङकुरुङ ठूलो लावालस्कर बाँधेर उत्तरतर्पm उडिरहेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?