logo
२०८१ बैशाख १३ बिहीवार



भावनामाथि सभ्यताको अतिक्रमण

निबन्ध

शनिवार |


भावनामाथि सभ्यताको अतिक्रमण


भागवत खनाल


हाम्रो मनभित्र कैयौँ यस्ता सत्य कुरा हुन्छन्, जुन बोल्नुहुँदैन । त्यसैले भनिएको पनि छ, जे मनमा आयो त्यो नबोल्नू । उपदेश दिनेहरू भन्छन्, मनलाई विचलित हुन दिनुहुँदैन । मन, वचन र कर्मले सेवा गरौँ । यी सभ्यताका कुरा हुन् । सबैलाई थाहा छ मन चञ्चल छ । हामी मनलाई रोक्न सक्दैनौँ । रोक्ने भनेको वाणी र कर्मलाई मात्र हो ।
हामीलाई सभ्यताले पढाएको मुख्य पाठ नै मनको चपलतालाई कर्ममा रूपान्तरण गर्नुहुँदैन भन्ने हो । सद्धे मानिसलाई पागलको कुरा सुन्दा रमाइलो लाग्छ, अघोरीको कुरा सुन्दा आनन्द लाग्छ । यसको कारण हो सद्धेले जुन कुरा चाहेर पनि अभिव्यक्त गर्न सक्दैन । उनीहरू सहजै बोलिरहेका हुन्छन् । पागल र सद्धेमा हुने फरक मनको होइन, वाणी र कर्मको हो । प्रकृतिमा कोही बहुला हुँदैन । जङ्गली हात्ती बहुला हुँदैन, पाल्तु हात्ती मात्र बहुला हुन्छ । प्रकृति स्वच्छन्द हुन्छ, सभ्यता बन्धनमा । सभ्यता बहुलाउँछ, प्रकृति बहुलाउन सम्भव छैन ।
मानिसको सोच्ने स्वतन्त्रताको अपहरण असम्भव छ । त्यसैले त कहीँ पनि सोच्न नपाइने कानुन बनाइएको छैन, बोल्न र गर्न नपाइने कानुन मात्र बनाइएको छ । एउटा मनुष्यले अर्कोको मनलाई देख्न र सुन्न सक्ने भए यो संसार कस्तो हुँदो हो ? मानिसले वाणी र कर्ममा संयम अपनाएर नै सभ्यता र समाजलाई थामेको छ । मन सधैँ तरङ्गमा हुन्छ । चन्चल मन सुन्दर, सुन्दरी, धन, तन, सबै देखेर विचलित हुन सक्छ । मनको चाहनाले जैविक शरीरको नसा नसा उन्मत्त हुन सक्छ । परन्तु मनुष्य हुनुको बाध्यता छ र गरिमा पनि ।
नीति उपदेशकहरू, प्रेरक सम्भाषण गर्नेहरू र धार्मिक प्रवचन दिनेहरू मनलाई नियन्त्रणमा राख्नुपर्छ भन्छन् । उनीहरू बुद्धिवादी हुन्छन्, बुद्धि सिकाउँछन् । सधैँ नैतिकताको उपदेश दिने कन्फ्युसियसलाई लाओत्सुले भनेका थिए, जो सच्चा नैतिकवान् हुन्छ, उसले नैतिकताबारे सोचेकै हुँदैन, नैतिकताबारे भन्नै जान्दैन । प्रायः मुखालेहरू नै अरूमा शालीनता खोज्छन् ।
भनिन्छ, अर्काको धन र तनलाई देखेर मनलाई विचलित बनाउनु हुँदैन । मन त विचलित हुने चिज हो विचलित हुन्छ नै । विचलित नबनाउने कर्मलाई हो, चपल नबनाउने वाणीलाई हो । अरूको विद्या, धन, सुख र सम्पत्ति देखेर चञ्चल मन ईष्र्यालु हुनु स्वाभाविकै हो । लालची मनले त माग्छ, मागलाई व्यवस्थापन गर्ने बुद्धिले हो । पूर्वीय दर्शनअनुसार मनुष्यको अन्तःकरण भन्नाले मन, अहङ्कार र बुद्धिलाई बुझिन्छ । मनले मनुष्यलाई इन्द्रियसम्बन्धी विषयमा प्रवृत्त हुन प्रेरित गर्छ । बुद्धि मनुष्यको निर्णयात्मक पक्ष हो । चञ्चल मनको बेगलाई सम्यक नियन्त्रण र परिचालन बुद्धिले गर्छ ।
मानसिक भावुकताको जागरण नहुने हो र बुद्धि मात्र हावी हुने हो भने सबै कुरा मिथ्या लाग्न थाल्छन् । मानवी मनको स्वाभाविक प्रवृत्तिले कुनै पनि सांसारिक कुरालाई मिथ्या मान्दैन । मनको सम्बन्ध जैविक इच्छा र भावनासँग छ भने बुद्धिको सभ्यता, संस्कृति र समाजसँग । मानिसले कानुनको पालना प्रायः डरले गर्छ । नैतिकतामा प्रायः डरको उपस्थिति हुन्छ, चाहे त्यो कानुुनको होस् या समाजको । मानिसले कानुनको पालना स्वस्फूर्त गर्छ भन्नु झुट हो । स्वस्फूर्त भावना त्यति कर्तव्यशील भएको भए कानुनको आवश्यकता नै पर्ने थिएन । कानुन बुद्धिमूलक हुन्छ । कानुनले मनलाई लगाम लगाउन सक्दैन, लगाम लगाउने वाणी र कर्मलाई हो । हाम्रो समग्र सभ्यता नै तोकिएको वाणी र कर्म गर्न प्रेरित गर्नुमा केन्द्रित छ ।
सभ्यताले मानव जातिलाई दिएको अर्को उपहार त्रास हो । त्रासबाट त्राण पाउन सभ्यताले राज्य जन्मायो । आफ्ना धेरै अधिकार परित्याग गरेर बाँकी रहेका केही अधिकारको रक्षाका लागि राज्यलाई स्वीकार गरेको हो मानवले । तर विडम्बना ! राज्य नै निर्मम त्रास बनेर खडा भयो । राज्यले समृद्धि दिन नसके पनि त्रास अवश्य दिन्छ । सभ्यताले सनातन, जैविक र प्राकृतिक मनमाथि अतिक्रमण गरेर अर्को कृत्रिम मनको आविष्कार ग¥यो, सांस्कृतिक र सभ्य मन । जुन चेतना सभ्यताबाट निर्देशित हुन्छ, त्यही नै बुद्धि हो । सभ्यता र संस्कृति मानवीय चेतनामाथिको अतिक्रमण हो । तर अर्को उपाय पनि त छैन ।
मन चञ्चल छ तर सभ्य मनुष्य मनोभावलाई झट्ट प्रकट गर्दैन किनभने उसलाई बडो संयमित र स्थिर छु भन्ने देखाउनुछ । आफूलाई बुद्धिमान् र ज्ञानवान् प्रमाणित गर्नुछ । व्यक्तिमा देखिने यही संयम र स्थिरता नै सभ्यता हो । सभ्यको अर्थ सभामा बस्न लायक हुनु हो । सभामा बस्दा भलाद्मी हुनु भनेको चञ्चल मनलाई बुद्धिको लगामले कस्नु हो । जसले मनमाथि बुद्धिको लगाम लगाउन सक्दैन त्यो सभामा बस्नलायक हुँदैन । भावना प्रकृति हो, बुद्धि सभ्यता र संस्कृति ।
सभ्यता मनलाई नियन्त्रण गर्ने बन्धन हो । मानिस एक सभ्य प्राणी हो भन्नुको सोझो अर्थ हो, मानिस एक बन्धनयुक्त प्राणी हो । त्यसैले त रुसो भन्छन्, मनुष्य जति सभ्य हुँदै गयो त्यति नै दुःखी हुँदै गयो । जति बुद्धिमान हुँदै गयो त्यति नै मनको भावना पिल्सिँदै गयो । बोल्न मन लागेको बोल्नु हुँदैन, भेट्न मन लागेकोलाई भेट्नु हँुदैन, खान मन लागेको खानु हुँदैन, लाउन मान लागेको लाउन मिल्दैन । सभ्यताले भित्री मनले घृणा गरेको व्यक्तिलाई सम्मान गर्न विवश तुल्याउँछ । मान्न मन नलागेको ईश्वर मान्नुपर्छ भन्छ । कसैलाई मन नपर्ने तर सबैले मान्नुपर्ने आदर्शका नियम बनाउँछ । छोटो जीवनमा मनको इच्छाबिनाको प्रतिस्पर्धा गर्न बाध्य छ मानिस । शैशव अवस्थामै भावना र मनका इच्छा मारेर बुद्धिको भारी बोकी हिँड्न विवश छ जीवन ।
सभ्यताको आश्चर्यजनक उत्पादन हो राजनीति । बुद्धिपक्ष प्रबल हुँदा राजनीति सभ्य देखिन्छ । राजनीति सभ्य देखिएको मात्र हो सभ्य भएको होइन । राजनीतिमा आफ्नो मन र भावनालाई बुद्धिरूपी दाम्लाले कसेर बाँध्नु नै सभ्य देखिनु हो । जुन दिन दाम्लो खुकुलो हुन्छ, भावनाहरू वाणीको रूप लिएर बाहिर पोखिन्छन्, अप्रकाशित कुरा प्रकाशित हुन्छन् । त्यसैले त भावना सकियो भनिँदैन, बरु बुद्धि सकियो भनिन्छ । मन सकिँदैन, बुद्धि सकिन्छ । बुद्धि निर्मित हो, आर्जन गरिएको । अर्जित वस्तु नाश हुन्छ भने सिर्जित चिरस्थायी । स्वतः सिर्जित मन मिहिनेतको कमाइ होइन । मन कमाउनु पर्दैन, आफँै छ, बुद्धि कमाउनुपर्छ । धेरै बुद्धिमान् हुनु भनेकै मनमाथि धेरै नियन्त्रण गर्न सक्ने र तार्किक हुने प्रक्रिया हो ।
सभ्यता प्राकृतिक जीवनमाथिको अतिक्रमण हो । सभ्यताको अन्यायले पास हुनेलाई फेल गराउँछ । रुसो अगाडि भन्छन्, स्वतन्त्र जन्मेको मनुष्यलाई सभ्यताले बन्धन दियो, दुःख दियो । जति सभ्यताको विकास हुँदै गयो मनुष्य त्यति नै स्वार्थी, लोलुप र दम्भी हुँदै गयो । बलात्कार, भ्रष्टाचार र अनाचार सभ्यताका उपज हुन् । धर्म र नैतिकताका बन्धन सभ्यताले निर्माण गरेको हो । प्रकृतिमा भ्रष्टाचार र बलात्कार हुँदैन, संस्कृतिमा मात्र हुन्छ ।
मन हो शाश्वत र चिरन्तन । बुद्धि लगाम हो, जसको आडमा सभ्यता यहाँसम्म आएको छ । यो यात्रा भावनामाथिको कुठाराघातबाट तय भएको हो । सभ्यताले संस्कृति जन्मायो, ईश्वर जन्मायो, एउटा अन्त्यहीन विवशता । बुद्धिले नै अज्ञात र अनुमानित शक्ति जन्मायो, जसलाई धेरै बुद्धि हुनेले धेरै डरलाग्दो बनाए । मन शुद्ध, यथार्थ, जैविक र प्राकृतिक छ, शाश्वत एवं वास्तविक ।
मनुष्यसँग सभ्यताबाट उम्कन पाउने विकल्प छैन । भविष्यमा भावनालाई नियन्त्रण गर्न अझै बुद्धिमान हुनुपर्नेछ । सभ्यता निर्विकल्प छ । मानव जीवनलाई अझै सभ्य हुन, अझै बलिया बन्धनको आवश्यकता पर्नेछ । मानवजाति सभ्यतासँग अझै निर्दयी र कठोर सम्झौता गर्दै जान विवश हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?