logo
२०८१ बैशाख ७ शुक्रवार



क्लिनफिड :चलचित्र क्षेत्र अवसर र चुनौती

विचार/दृष्टिकोण |


क्लिनफिड :चलचित्र क्षेत्र अवसर र चुनौती


कौशिक नवराज

नेपाल सरकारले क्लिनफिड त लागू गरेको छ । तर यसले कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्नेबारे अहिलेसम्म कसैले अध्ययन र अनुसन्धान गरेका छैनन् । धेरैजसोले क्लिनफिड भनेको भारतीय टेलिभिजनहरू विज्ञापनरहित भएर प्रसारण हुनु र नेपाली मिडियामा पनि विदेशी भाषाका विज्ञापनहरू डविङ गरेर बजाउन पाइँदैन भन्ने अर्थमा मात्रै बुझेका छन् । विशेषगरी राजनीतिज्ञहरूले यसलाई राष्ट्रवादसँग जोड्दै चुनावी मसला बनाउने निश्चित रहेको देखिन्छ । क्लिनफिड कार्यान्वयन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रसारण विभाग र विज्ञापन बोर्डले पनि दैनिकरूपमा सम्पादन हुने कार्यलाई नै क्लिनफिडको उपलब्धि भन्दै सार्वजनिक गरेको देखिन्छ । यसले यी सबै क्लिनफिडबारे त्यति धेरै संवेदनशील नभएको देखाउँछ ।
क्लिनफिड न राष्ट्रवाद हो न त दैनिकरूपमा सम्पादन हुने कार्यको फेहरिस्त पस्किने माध्यम नै हो । व्यापक अर्थमा यसले राष्ट्रिय अर्थतन्त्रदेखि चलचित्र र मिडिया क्षेत्रमा अवसर र चुनौती थपिदिएको देखिन्छ । क्लिनफिडले प्रभाव पार्ने विभिन्न क्षेत्रमध्ये एक हो चलचित्र । क्लिनफिडले प्रत्यक्षरूपमा नेपाली चलचित्र बजार र यहाँको विज्ञापन बजारलाई प्रभाव पार्छ ।

चलचित्र उद्योगको विकास
क्लिनफिड र चलचित्र क्षेत्र एक आपसमा नजिकका विषयहरू हुन् । नेपालमा चलचित्रको बजार हिस्सा एकदमै सानो छ । यसले समग्र अर्थतन्त्रमा खास असर पार्न सक्दैन । वास्तवमा नेपाली चलचित्र क्षेत्र उद्योगको रूपमा विकास भएकै छैन । यद्यपि क्लिनफिड भएपश्चात नेपाली कलाकार, मोडल, प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ । अब नेपालमा प्रसारित विदेशी च्यानलले विज्ञापन बजाउने नपाउने अनि मिडियाले पनि नेपाली कलाकार भएको र नेपाली भाषी विज्ञापन मात्रै प्रसारण गर्नुपर्ने भएको छ ।
त्यसैले बहुराष्ट्रिय कम्पनीका सामानको विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नुपर्ने छ । यसले नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुने देखिन्छ । जसको कारण चलचित्र क्षेत्र अब उद्योगको रूपमा विस्तार गर्न मद्दत पुग्नेछ ।
सांस्कृतिक अतिक्रमण
क्लिनफिड अघि विदेशी चलचित्रहरूमा सम्बन्धित देश अनुकूल धर्म र संस्कृति प्रचार हुन्थ्यो । यसले देशको मौलिक संस्कृतिमा प्रत्यक्ष असर पारिरहेको थियो । तर अब नेपाल विदेशी संस्कृतिको ‘गुलजार’ बाट मुक्त हुनसक्ने अवस्था देखिन्छ । यतिमात्रै होइन, अन्तर्राष्ट्रिय भाषा भन्दै साथै सङ्गीतको कुनै भाषा हँुदैन भन्दै नेपालमा सेन्सर नभएका दक्षिण भारतीय चलचित्रहरूको वर्चस्व तिब्बती सिमानासम्म सहजै पुगेको अवस्था देखिन्छ । भारतीय चलचित्रमा देखाइएका ‘रकि पाइन्ट’ ‘लेहंगा र घाँघर’ जस्ता पहिरन नेपाली समाजमा निक्कै धेरै प्रचलनमा आउनु सांस्कृतिक अतिक्रमणको एउटा उदाहरण हो । अब त्यो क्रम कम हुने अपेक्षा गर्न सकिन्छ ।
प्रविधि हस्तान्तरण
नेपाली चलचित्रकर्मीहरूले सिक्ने भनेकै विशेषगरी बलिउड र मुम्बइका स्टुडियोहरू हुन् । क्लिनफिडपश्चात् नेपाली भाषामा र नेपाली कलाकारहरू राखेर विज्ञापन सुटिङ र डबिङ गर्न बलिउडदेखि मुम्बइका राम्राराम्रा कम्पनी र प्रविधि नेपाल भित्रिने निश्चित छ । जसले गर्दा नेपाली कलाकार र प्राविधिकहरूले पनि बलिउडका प्रयोग र रुचाइएका क्यामेरादेखि सफ्टवेयर तथा अन्य प्रविधिहरूको अनुभव लिन सक्छन् । चलचित्र क्षेत्रले मल्टिनेशनल कम्पनीहरूबारे विभिन्न अवार्ड तथा प्रायोजनयुक्त कार्यक्रम हात पार्न सक्छन् । जुन यस क्षेत्रको लागि उपलब्धि हुनेछ ।

चुनौतीको चाङ
कुनै विदेशी विज्ञापन एजेन्सीले वा कम्पनीका थिङ्क ट्याङकहरूले नेपाली कलाकारहरूलाई सम्पर्क गर्ने माध्यम हालसम्म विकास हुनसकेको छैन । बलिउडमा एउटै कलाकारको फ्यान पेज भनेर हजारौँ आइडी बनेका हुन्छन् । उनीहरूको सम्पर्क सञ्जाल राम्रो हुन्छ । गुगल विकिपिडियादेखि वेभसाइटमा व्यक्तिगत तथा व्यवसायिक जानकारी भेटिन्छ । तर नेपालमा सीमित कलाकारहरूको मात्रै वेभसाइट भेटिन्छ । गुगल र विकिपिडियामा त उनीहरूको विवरण एकदम कम भेटिन्छन् ।
कुनै विदेशी विज्ञापनदाताले आफ्नो उत्पादनको विज्ञापन नेपाली कलकारलाई खेलाउँछु भन्दा उसले कुन माध्यमले सम्पर्क गर्ने वा नेपाली कलाकार र मोडलबारे कुन वेभसाइट र विकिपिडियाले जानकारी प्रदान गर्छ ? त्यस्तो जानकारी दिने कुनै राम्रो प्लेटफर्म हालसम्म विकास हुनसकेको छैन । यो निक्कै ठूलो चुनौती हो । अनियन्त्रित ढङ्गले अघि बढिरहेको यूट्युब च्यानल, कलाकारहरूको असम्मान चुनौतीको अर्को पक्ष हो । यी सबैको व्यवस्थापन गर्न सके क्लिनफिडले नेपालको चलचित्र क्षेत्रलाई निक्कै ठूलो अवसर दिन सक्छ ।

(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?