logo
२०८१ बैशाख ११ मंगलवार



के फर्केला त्यो सन्ध्या ?(कविता)

शनिवार |


के फर्केला त्यो सन्ध्या ?(कविता)


किरण दर्पण

म सोच्दैछु हर साँझ
किन बजाउँदैन मनले बाँसुरी ?
किन गाउँदैन झ्याउकीरीले गीत ?
किन बाल्दैन जूनकीरीले पुच्छर ?
किन कराउँदैन धोबी चरी ?
यो पत्थर जम्ने मङ्सिर पुसको जाडोमा
यो धर्ती निदाउने शिशिरयामको मौसममा
किन पग्लिँदैछ मेरो मन ?
म सम्झाउँदैछु मनलाई
यो वैशाख होइन कोइली कराउनलाई
यो वसन्त होइन पल्लव पलाउनलाई
यो असार होइन तिमी अङ्कुराउनलाई
ए मन भन त !!
पहाडलाई के हेक्का छ ?
कुन हावाको झोक्काले गरेको हो अन्तिम स्पर्श
भँवरालाई के सम्झना छ ?
कुन फूलमा गरेको हो अन्तिम चुम्बन
धत् ! ए मन तैले बिर्सन नसक्ने त्यो क्षण
भएको के थियो थाहा छ ?
चन्द्रमाले पठाएको थियो एउटा ठूलो ऐना
त्यसभित्र कैद थियो ऊ र मेरो एउटै तस्बिर
उसले मैले आपैmँलाई बिर्सिएको क्षण
भन त ए मन
के फर्केला त्यो सन्ध्या !!  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?