logo
२०८१ बैशाख ६ बिहीवार



राष्ट्रियताको विश्वासिलो संरक्षक

शनिवार |


राष्ट्रियताको विश्वासिलो संरक्षक


जीवनाथ धमला


“पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ।”—
कविवर माधव घिमिरे

‘नेपाल’ को निर्माण नेपाली सेनाले गरेको हो । नेपाल गणतन्त्रात्मक राष्ट्रको रूपमा घोषित हुनु अघिसम्म राजामा सेनाको सर्वोच्च नेतृत्वदायी अधिकार रहने गथ्र्यो । राणा शासनकालमा प्रधानमन्त्रीहरूमा त्यो अधिकार थियो । राजा त्यसबेला नाम मात्रका थिए । नेपाल निर्माणका सन्दर्भमा राजा पृथ्वीनारायण शाहको कुशल नेतृत्वमा नेपाली सेनाले राष्ट्रिय एकीकरण अभियानलाई तीव्रता दियो । यस क्रममा वि.सं. १८२६ सम्ममा काठमाडाँै उपत्यका विजय भएपछि नेपालको भौगोलिक र प्रशासनिक एकीकरणको बलियो केन्द्र स्थापित भयो । उनका उत्तराधिकारीहरूका पालामा एकीकरण अभियान टुङ्गियो । वि.सं. १८७३ को सुगौली सन्धिले नेपाललाई भौगोलिकरूपमा खुम्च्यायो । काँगडा र टिष्टालगायतका विजित इलाकाहरू नेपालले गुमाउनुप¥यो । नेपाली सेनाको वीरत्व, सौर्य र अतुलनीय साहस एवं पराक्रमको गतिमा ठेस लाग्यो । तर नेपाललाई अब कसैले पनि खण्डित गर्न नसक्ने स्थिति पनि तय भयो । त्यस समय यता मेची–महाकालीभित्रको भूभाग (जङ्गबहादुरका पालामा नेपालमा गाभिएका पश्चिम तराईका केही जिल्लासहित) सूर्यचन्द्राङ्कित राष्ट्रिय झण्डामुनि रहन थाल्यो ।
पृथ्वीनारायण शाहले एकीकरणमा सिपाहीको भूमिकाका सम्बन्धमा अनेक पटक उल्लेख गरेका छन् । “सय नालका कम्पनीले छरितो हुन्छ । यसो भए सय नालका कम्पनीले हजार जवानलाई पाउँछ । किल्ला किल्लापिच्छे एक एक कम्पनी राखी गर्खा बाँडिदिनु र जगेडा बाँधी भरी राख्नु ।” (दिव्योपदेश)
उनले विजित प्रदेशहरूको सुरक्षाका लागि हतियारबन्द सिपाहीहरूको कम्पनी खडा गरी किल्ला किल्लामा स्थापना गर्न उपदेश दिएका थिए । आफूले दुःखले आर्जेको मुलुक फेरि छिन्नभिन्न हुन नपावस्, वैरीले मुलुकमाथि दागाधरी यसको सार्वभौमसत्ता र अखण्डतामाथि आँच पु¥याउन नसकोस् भन्ने सन्देश दिएका थिए ।
एकीकरणकालीन सेनाका सम्बन्धमा बीपीले मूल्याङ्कन गर्नुभएको छ; “पृथ्वी नारायण शाह र उनका लगत्तैपछिका उत्तराधिकारीहरूको मातहतमा रहेको गोरखा पल्टनको भूमिका क्षेत्रीय विजयद्वारा नै भए पनि राज्यको एकीकरण गर्ने रह्यो । यी विजयहरू पूर्वयोजनाबाट होस् या संयोगले, सेना राम्ररी सङ्गठित थियो र विभिन्न राज्य र उपराज्य भएको हिमालयको सामरिक महìवको क्षेत्रमा एक समरूप नेपाली राज्यको एकीकरण गर्ने राष्ट्रिय उद्देश्य पूरा गर्न कार्यकुशलताका साथ सञ्चालित थियो भन्ने स्पष्ट हुन्छ ।” (बीपीका राजनीतिक अभिलेख, सं. प्रदीप गिरि)
पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले सेनालाई राष्ट्रिय उद्देश्यका लागि प्रेरणा दिन नसके पनि केही सेनापतिहरूले सेनामा राष्ट्रियताको भावना भर्ने प्रयत्न गरेका थिए भन्ने बीपीको मूल्याङ्कन रहेको पाइन्छ; “...नेपाली सेनाले अमर सिंह, माथवर सिंह, रणजंग पाण्डे र अरू केही यस्तै असाधारण व्यक्तित्व जन्मायो । यिनीहरूले सेनाको मर्यादा र स्तरलाई माथि उठाउने प्रयत्न गरेका थिए र यसमा राष्ट्रियताको भावना पनि भर्ने काम गरेका थिए ।”
नेपाली सेनाले इतिहासदेखि नै सरकारको निर्देशनलाई पालना गर्दै देशको सार्वसौमसत्ता र भौगोलिक अखण्डतालाई जोगाइराख्न आफूलाई सजग राख्दै आएको पाइन्छ । पहिलो तथा द्वितीय विश्व युद्धमा विदेशको सहायतार्थ नेपाली सेनाको प्रयोग हुनु इतिहासको दुखद पक्ष भएको महसुस हुन्छ । तर ती युद्धहरूमा भएको नेपाली सेनाको वीरतापूर्ण उपस्थितिका कारण विश्वमा नेपाल चिनिनलाई केही मद्दत पनि पु¥याएको मान्न सकिन्छ । त्यस वीरताको परिचयले गर्दा कालान्तरमा आएर संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकहरूमा शान्ति स्थापनार्थ सहभागी हुन नेपाली सेनालाई सजिलो भएको पनि मान्न सकिन्छ ।
नेपाली सेना इतिहासदेखि नै आफ्नो बहादुरी एवं व्यावसायिकताका लागि, अनुशासनको पालना तथा सांस्कृतिक तटस्थता एवं शान्तिप्रियता आदिका लागि विश्वविख्यात भइसकेको पृष्ठभूमि भएको संस्था हुनुका कारण संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा प्राथमिकताका साथ छनोटमा पर्न सकेको कुरा नेपाली सेनाको इतिहासमा उल्लेख छ । शान्ति सेनामा नेपाली सेना छनोटमा प्राथमिकतामा पर्न सफल हुँदै आउनुमा अन्य कारणका अतिरिक्त “...(ङ) नेपाली सेनाको लामो गौरवमय इतिहास हुनु” एक कारण रहेको विश्लेषण गर्दै सो इतिहासमा लेखिएको छ; ‘नेपाली सेना (तत्कालीन गोरखाली नामले प्रचलित रहेको) ले पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध तथा अन्य बाह्य तथा आन्तरिक द्वन्द्वहरूमा देखाएको बहादुरी र व्यावसायिकता विश्वविख्यात भएको थियो । यसका साथै नेपाली सेना अनुशासन, मिलनसार व्यवहार, सरलता, घुलमिल गर्ने क्षमता, शान्ति स्थापना कार्यमा लामो अनुभव, धार्मिक तथा सांस्कृतिक तटस्थता, निष्पक्षता, आत्मभरोसा, शान्तिप्रियता आदि मानवीय भावले समेत ओतप्रोत हुनु पनि लोकप्रियताको कारण रहेको छ ।’ (नेपाली सेनाको इतिहास)
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९५८ देखि नै विश्व शान्ति कायम राख्ने अभियानमा नेपाली सेनाको सक्रिय सहभागिता रहन थालेको हो । यसनिम्ति अन्तर्राष्ट्रिय स्तरबाटै नेपाली सेना प्रशंसित हुँदै आएको छ । शान्ति सेनाका माध्यमबाट राष्ट्रको प्रतिष्ठालाई बाह्य जगतमा सुपरिचित गराउँदै आएको नेपाली सेनालाई वर्तमानसम्म नै संयुक्त राष्ट्रसङ्घले उत्तिकै विश्वासका साथ उच्च मूल्याङ्कन एवं पुरस्कृत पनि गर्दै आएको छ । शान्ति सेनामा खटिएको नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेका भूमिकाहरू तथा अन्य जनसेवा कार्यहरूबाट द्वन्द्वरत मुलुकका जनता पनि लाभान्वित हुँदै आएका छन् । नेपाली सेनाका यस्ता कार्यहरूका कारण द्वन्द्वरत कैयौँ मुलुकले नेपाललाई सम्मानजनक दृष्टिले हेर्न‘ आमनेपालीकै लागि प्रतिष्ठाबोधको कुरा हो । राष्ट्रियताको भावनामा अभिवृद्धि हुनका निम्ति आमजनतामा हीनताको नभएर आत्मसम्मानको भावना बढ्नु जरुरी हुन्छ । त्यसका निम्ति नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनार्थ गरेका कार्यहरूले उच्च महìव राख्दै आएका छन् ।
आधुनिक नेपालको राष्ट्रिय राजनीतिका अग्रणी सिद्धान्तकार बीपीले नेपाली सेनाका सम्बन्धमा आफ्ना वैयक्तिक अनुभव वा अनुभूतिहरूका साथै यस सङ्गठनको वस्तुगत विश्लेषण पनि गर्नुभएको छ । उहाँले राणाकाल र पञ्चायतकालमा अनेकाँै पटक सैनिक कठघरामा र पूर्ण नियन्त्रणमा बस्नुपरेको इतिहास छ । त्यसो त पञ्चायतकालमा सैनिक नियन्त्रणमा रहेका धेरै जना राजनीतिज्ञ वर्तमानमा राष्ट्रिय राजनीतिको नेतृत्वमा छन्, सबैका आ–आफ्नै अनुभव हुन्छन् । बीपीले दुवै निरङ्कुश कालखण्डमा सेनाको कठोरता, कोमलता एवं मानवीय ÷ अमानवीय व्यवहारको सामना तथा अनुभव गर्नुभएका वृत्तान्तहरूले तत्कालीन नेपाली सेनाको अवस्थाबारे बुझ्न सजिलो भएको छ । नेपाली सेनाका सम्बन्धमा उहाँका टिप्पणीहरू कतिपय भने अझै सान्दर्भिक र यथार्थपरक पनि पाइन्छन् । बीपीले नेपाली सेनाको सङ्गठनात्मक सबलीकरणका लागि दिनुभएका सेनाको नैतिक सुधार, भर्तीको नीतिमा राष्ट्रवादी सिद्धान्तको मान्यता, यसको शिक्षा र तालिममा प्रजातन्त्र, राष्ट्रिय भावना र आदर्शलाई समावेश गरिनुपर्ने लगायतका सुझावहरू मननयोग्य छन् । यसैगरी, सेनाले वास्तविक अर्थमा राष्ट्रिय सेना बन्नका लागि पनि बीपीका केही मान्यता रहे । बीपीका सुझावहरू पञ्चायतकालीन निरङ्कुश समयमा राजाद्वारा प्रत्यक्षरूपमा नियन्त्रित सेनाका सम्बन्धमा थिए भन्ने कुरालाई स्मरणमा राख्दै उहाँका केही सुझावलाई मनन गर्न सकिन्छ; “...ग) राष्ट्रिय सेनाको वफादारी एउटा व्यक्तिप्रति नभएर राष्ट्रप्रति र राष्ट्रको संविधानप्रति हुनुपर्छ । घ) सेना जनताको प्रतिनिधिसभाको नियन्त्रणमा रहनुपर्छ । सेनामा जनताको सेवक मान्ने भावना जागृत हुनुपर्छ । ङ) सेना जनताको रक्षक हो, त्यसको भक्षक होइन भन्ने कुरा सेनाले बुझ्नुपर्छ । च) सेनाले जनताको नुन खाएको हो, राजाको होइन, राजाले स्वयं पनि जनताको नुन खाएको छ । छ) सेना ऐन–कानुन र मानवीय मर्यादामा रहनुपर्छ । उसले हुकुम पनि कानुनी हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । उसले ऐन कानुन र न्यायभन्दा बाहिरको हुकुमलाई पालना गर्नुहुँदैन ।” बीपीका यी सुझावहरूको सार हो, सेना जनता केन्द्रित, राष्ट्र केन्द्रित हुनुपर्छ ।
नेपालमा प्रजातन्त्रको स्थापनार्थ तत्कालीन नेपाली सेनाले कतिपय ठाउँमा जनक्रान्ति कालमा मुक्ति सेनालाई सहयोग पु¥याएको इतिहास पनि छ । २००७ साल यता सेनाको पुनर्संरचना तथा पुनर्गठन बेलाबेलामा हुँदै आएको पाइन्छ ।
नेपाली सेना विगतका कतिपय घटनाक्रमका सन्दर्भमा आलोचित पनि भएको छ । त्यस्ता आलोच्य परिस्थितिहरू उत्पन्न हुनु सेनाको लागि शोभनीय हुँदैन पनि । त्यस्ता कमीकमजोरीको पुनरावृत्ति भइरहेमा सेनाको छविप्रति आमजनतामा असम्मानको भाव बढेर जानसक्छ । यसतर्फ नेपाली सेना सजग र बढी गम्भीर बन्दै जानु उपयुक्त देखिन्छ । नेपाली सेना राष्ट्रियताको अति विश्वासिलो संरक्षक हो । त्यो सदाकाल सम्मानित रहिरहनुपर्छ ।
नेपाली सेनाप्रति नेपाली जनताको आत्मीयता बढ्ने कारण देशमा ठूला प्राकृतिक प्रकोपजन्य समस्याहरू आइलाग्दा उसले देखाउने गरेको तत्परता पनि हो । प्राकृतिक विपत्तिका कारण उत्पन्न भएका अनेकाँै ठूला समस्याबाट जनधनको सुरक्षा गर्न नेपाली सेनाले हरबखत आफ्नो साङ्गठनिक क्षमता र तत्परता देखाउँदै आएको छ । भूकम्प, बाढी, पहिरो, आगलागी, आँधी, तूफान, रोगव्याधी आदिका प्रकोपजन्य दुर्घटनाहरूमा अग्रसर रही नेपाली सेनाले जनस्तरमा निकट रहेर समस्याहरूबाट आमजनतालाई मुक्त गर्न सधैँ जिम्मेवारीको काँध थाप्ने गरेको छ ।
नेपालको संविधान २०७२, भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थाको उल्लेख गरिएको छ । संविधानको धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद् र धारा २६७ मा नेपाली सेनासम्बन्धी व्यवस्थाको उल्लेख छ । धारा २६७ को (१) मा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक सङ्गठन रहनेछ’ भन्ने लेखिएको छ ।
नेपाली सेनाको विशिष्ट जिम्मेवारीका कार्यहरू यसरी संवैधानिकरूपमा घोषित हुनु र गरिनुको अर्थ देशको राष्ट्रियताको संरक्षणमा सेनाको भूमिकालाई सम्मान गर्नु हो भन्ने स्पष्ट बुझिन्छ । धारा २६७ को (६) मा कुन र कस्तो अवस्थामा सेनाको परिचालन हुने भन्ने विवरण दिइएको छ, जसअन्तर्गत; “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ।” नेपाली सेनाको समावेशी स्वरूपका बारेमा पनि संविधानमा स्पष्ट पारिएको छ । नेपाली सेनालाई कानुनबमोजिम राष्ट्रको विकास निर्माण एवं विपद् व्यवस्थापन गर्ने कार्यमा पनि परिचालन गर्न सकिने कुरा संविधानमा उल्लेख गरिएको छ ।
नेपाली सेनालाई सुम्पिएका जिम्मेवारीहरू राष्ट्रिय अस्तित्व र सुरक्षासँग गाँसिएका छन् । ती जिम्मेवारीलाई सेनाले विभिन्न कालखण्डमा तत्कालीन संवैधानिक राज्यव्यवस्थाहरूले निर्णय गरेअनुसार पालना गर्दै आएको इतिहास छ । विगतका संविधानहरूमा पनि सेनालाई मूलरूपमा राष्ट्रिय सुरक्षाकै जिम्मेवारी सुम्पिने व्यवस्था गरिएको थियो ।
राष्ट्रको सार्वभौमसत्ता माथि खलल पुग्ने काम आन्तरिक वा बाह्य कारणबाट पनि उत्पन्न हुन सक्छ । भौगोलिक अखण्डता कायम राख्नु कुनै पनि देशको प्रथम शीर्ष जिम्मेवारी हो । राष्ट्रिय सुरक्षामा खलल पार्ने अवस्था आन्तरिक कारणले पनि उत्पन्न हुनसक्छ । सशस्त्र विद्रोह एवं राष्ट्रियरूपमा चरम आर्थिक सङ्कटापन्न स्थितिको सामना देशले गर्नुपर्ने अवस्था आएमा संविधानअनुसार राष्ट्रिय सेनालाई जिम्मेवारी दिइन्छ । यस्ता अनेकौँ कारण उत्पन्न हुनसक्ने राष्ट्रिय चुनौतीहरूलाई सामना र समाधान गरी आमजनताको मनोबललाई उच्च बनाइराख्नाले राष्ट्रिय भावनामा नकारात्मक प्रभाव पर्न जाँदैन । अनेक चुनौतीहरूको सामना गर्न एवं राष्ट्रियताको जनभावनालाई मधुरो बन्नबाट रोक्ने देशको प्रमुख सुरक्षा–कार्यकारी निकाय नेपाली सेना हो ।

“रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो
ज्युँदो रगत सरी यो बल्दो यो शान हाम्रो”
– सैनिक गान, कवि गोपालप्रसाद रिमाल
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?