logo
२०८१ बैशाख ४ मंगलवार



विश्वबजारमा नेपाली साहित्य

शनिवार |


विश्वबजारमा नेपाली साहित्य


रामप्रसाद पन्त

साहित्यरूपी रसमय सत्ता बुझ्नका लागि आदिम कालदेखि साहित्य पारखीहरूमा साहित्यिक विमर्श चली नै रहेको छ । तर साहित्य रसास्वादन गर्नेहरूले साहित्यको स्वाद सठक यस्तै रहेछ भनेर किटानी साथ भन्न सकिरहेका छैनन् । पानीको स्वाद कस्तो हुन्छ ? वा पानीको रङ यस्तै हुन्छ भनेर किटान गर्नुजस्तै भएको छ साहित्यिक विमर्श पनि ।
यथार्थमा साहित्यरस पिउनेहरूले साहित्यको स्वरूप र स्वाद ठिक यस्तै हुँदो रहेछ, म तृप्त भएँ भन्ने हो भने साहित्यको चर्चा भोलिदेखि हुन छाड्छ र साहित्यिक विमर्श विद्वत् समुदायबाट हराउँदै जान्छ । यसर्थ पनि हामीले साहित्यलाई शाश्वत, सौन्दर्यपूर्ण, अविकारी, सर्वकालिक र सर्वहिताय ठानेर आत्मसात गर्नेतर्फ आफ्नो धारणा बनाउनुपर्दछ ।
विश्व–साहित्यका विशिष्ट चिन्तक र दार्शनिकहरूले साहित्यलाई आ–आफ्नै शैलीमा व्याख्या र विवेचना गरेका छन् । पूर्वीय विद्वान्हरूले साहित्यलाई ‘सत्यम् शिवम् सुन्दरम्’ को रूपमा स्वीकार गर्दै कीर्ति, कल्याण र सुसंस्कृत समाज निर्माणका लागि उपयोगी ठानेका छन् भने पाश्चात्य विद्वान्हरू पनि साहित्यिक अवधारणाबारे करिब करिब सहमत छन् । सिग्मण्ड फ्रायडले साहित्यलाई यौनतुष्टिको विषय बनाए भने कार्ल माक्र्सले साहित्यलाई सामाजिक परिवर्तनको मेरुदण्डको रूपमा स्वीकार गरे । साहित्य, यौनतुष्टि वा स्वान्तःसुखायकै लागि भए पनि, राज्य परिवर्तन वा सामाजिक समुन्नतिकै लागि भए पनि साहित्यले जीवन र जगत्लाई समेट्ने भएकोले साहित्य सर्व कल्याणकारी नै हुन्छ भन्ने कुरामा कसैको दुई मत छैन ।
आजको युग हिजोको जस्तो छैन । विश्व दिन प्रतिदिन यान्त्रिकीकरणतातिर उन्मुख हुँदै छ । मानिसका धारणाहरू पनि समयको परिवर्तनसँगै बदलिँदै छन् । विश्व जनमानसमा आएको परिवर्तनसँगै साहित्यिक आलोकमा पनि परिवर्तन वा विस्तारीकरणका सङ्केतहरू स्वाभाविक रूपमा देखा पर्दै छन् । अर्थात् हिजोभन्दा आज र आजभन्दा भोलिको युगलाई हामी सहजै आकलन गर्न सक्तैनौँ । समय सँगसँगै मानिसका इच्छा, आकाङ्क्षा तथा भावना र विचारहरू पनि परिवर्तन हुँदै जान्छन् र समयको गतिमा साहित्यको स्वरूप पनि धेरथोर परिवर्तन हुँदै जान्छ ।
हिजोको साहित्यको स्वरूप अलि बेग्लै थियो । राजा महाराजा वा शासकहरूलाई प्रसन्न बनाउनका लागि पनि साहित्य लेखिन्थ्यो । त्यस्तो साहित्य शक्तिमुखी हुन्थ्यो, जसलाई शक्तिकेन्द्रसँग असम्बद्ध जमातले भाटसाहित्य भन्दथे । जुन साहित्यको स्वरूप शासक सत्ताच्युत भएपछि पुनः बदलिन्थ्यो तर आजको साहित्यको स्वरूपमा आमूल परिवर्तन आएको छ । परिवर्तन, प्रगतिशीलताको द्योतक बनेको छ । कसैको गुणगान र भजनभित्र अट्न नसक्ने भएको छ आजको साहित्य । लेखन–प्रविधिमा पनि परिवर्तनकारी सिद्ध भएको छ आजको साहित्य । साहित्य लेख्नका लागि आज कलम खोज्नुपर्दैन, कापी किन्नुपर्दैन र पाण्डुलिपि हरायो भनेर चिन्ता गरिरहनुपर्दैन । न कागज भिज्ला भन्ने डर, न डढ्ला भन्ने डर, न त सड्ला भन्ने डर !
आजको युग, यान्त्रिकताको युग हो । आजको मानिस यन्त्रचालित छ । अनन्त साहित्यिक भण्डारलाई टाइप गरेर एउटा विद्युतीय यन्त्रभित्र ठेलीका ठेली पाण्डुलिपि सुरक्षित राख्न सकिन्छ । साहित्यकारले पोख्ने भावना र विचारहरू अनलाइन, फेसबुक वा ट्युटरका माध्यमबाट तुरुन्त विश्वबजारमा फैलाउन सकिन्छ । सञ्चारको द्रुततर विकासले विश्व साँघुरो बन्दै गएको छ । लेखकद्वारा व्यक्त विचार र भावनाहरूको प्रतिक्रिया विश्वमा छरिएका पाठकहरूबाट अविलम्ब प्राप्त हुने भएको छ ।
नेपालका सन्दर्भमा मात्र नभएर विश्व–साहित्यकै सन्दर्भमा देखापरेको वर्तमान सत्य के हो भने मानिसमा अध्ययनशीलता कमजोर बन्दै गएको छ । लेखकहरू सतही रूपमा देखा परिरहेका छन् । छिनमै चर्चामा आउने र लेखकीय फाइदा लिइहाल्ने प्रवृत्तिको विकास भएको छ । हामीले जुन विषयमा लेखे पनि विषयवस्तुको गहिराइमा पुगेर लेख्नुपर्छ र परिमार्जन गर्नुपर्छ । अध्ययनशीलता बढाउनुपर्छ र तुरुन्त प्रचारमा आइहाल्ने मानसिकता त्याग्नुपर्छ । अर्काे महत्वपूर्ण कुरा के हो भने हामीले नेपाली साहित्यलाई जतिसुकै समृद्ध बनाए पनि विश्वसाहित्यसँग जोड्न सकिएन भने विश्वमा नेपाली साहित्यको मान्यता रहन्न । यसका लागि अनुवाद साहित्यको खाँचो पर्छ । यसै भएर अहिले नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्न अनुवादसाहित्यतर्फ कलम चलाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । साँच्चै नै विश्वसाहित्यका विभिन्न भाषाभाषी बीच विचार आदानप्रदान गर्नका लागि अनुवाद साहित्यभन्दा अर्काे विकल्प छँदा पनि छैन ।
नेपाली साहित्यको मात्र होइन, दक्षिण एसिया वा समस्त एसियाकै साहित्य विश्वसाहित्यसँग सशक्त रूपमा जोडिन सकेको छैन । नसक्नुको कारण सबै भाषाको विश्वाव्यापीकरण नहुनु नै हो । यसका लागि हामीहरूले आफ्नो भाषालाई विश्वसमक्ष चिनाउने प्रण गर्नुपर्छ, तबमात्र आफ्नो मातृभाषाको विश्वव्यापीकरण हुन जान्छ ।कुनै पनि भाषाको आफ्नो स्वरूप छ, निर्माणमा वैज्ञानिकता छ, ऐतिहासिक तथ्य छ । यसर्थ कुनै भाषाभन्दा अर्को कुनै भाषा बढी महत्वपूर्ण छ भनेर विभेद गरिनु उचित पनि हुँदैन । तर विश्वप्रचारमा आएका वा संयुक्त राष्ट्रसंघले मान्यता दिएका भाषाहरूमध्ये कुनै एक भाषामार्फत् आफ्नो मातृभाषालाई विश्वसमक्ष लैजानु आजको टड्कारो आवश्यकता छ ।
हामी नोबेल पुरस्कारको कुरा गर्छाैँ, त्यो पुरस्कार सबै भाषा–साहित्यका लागि प्राप्त हुनु दुर्लभ छ । तर कुनै देशको भाषा–साहित्य उर्वर छ, समृद्ध छ, गौरवपूर्ण छ वा वैज्ञानिक छ भनेरमात्र त्यो भाषा–साहित्य विश्वबजारमा पुग्न सक्तैन । विश्वसाहित्यका स्रष्टाको आँखा पर्न पनि सक्तैन । अनि जतिसुकै सशक्त र समृद्ध साहित्य भए पनि त्यो साहित्य नोबेल पुरस्कारबाट वञ्चित हुन पुग्दछ । यस बाहेक एउटा भाषाभाषीले अर्को भाषाभाषीसँग प्रत्यक्ष भेटघाट गरेर साहित्यिक विमर्श गर्नु पनि जरुरी हुन्छ । हामीले मान्यता प्राप्त राष्ट्रिय स्तरका साहित्यिक संघ–संस्थाहरू मार्फत् अन्य राष्ट्रको साहित्यिक संस्थासँग सम्बन्ध कायम गरी आफ्नो साहित्य, संस्कृति र कलाको परिचय दिनु आजको अर्काे आवश्यकता पनि हो ।
यिनै विविध सन्दर्भहरूलाई ध्यानमा राखी केही साहित्यिक टोली विदेश भ्रमणमा जाने र विदेशी टोली नेपाल आउने क्रम पनि पछिल्लो चरणमा निकै देखा परेको छ । यसै गरी नेपाली साहित्य र विश्वसाहित्यका पुस्तकहरूलाई अनुवाद गरी आदान–प्रदान गर्ने क्रम पनि अगाडि बढेको छ । यो प्रशंसनीय र स्तुत्य कुरा हो, जुन साहित्य जगत्का लागि नभइनहुने सापेक्ष सिद्धान्त पनि हो ।
विश्वबजारमा माग भएको साहित्यको धार बुझ्न हामीले विश्वका अन्य भाषामा लेखिएका साहित्यिक कृतिहरू पढ्नुपर्छ । अन्यथा विश्वसाहित्यको स्वरूप थाहा पाउन सकिँदैन । खासगरी एशियाली मुलुकका जति साहित्यकारहरू नोवेल पुुरस्कारबाट विजयी भए, ती सबैले विश्वसाहित्यका अनुदित कृतिहरू पढेर विश्वसाहित्यको ढाँचा आत्मसात् गरी लेखेर वा अनुवाद गरेर मात्र पुरस्कार विजेता बनेका हुन् ।
नेपाली साहित्यलाई समृद्ध बनाउन र विश्वबजारमा पु¥याउन अनुवाद साहित्यको आवश्यकता हुन्छ भन्ने ठानेर नै नेपाली भाषानुवाद परिषद् स्थापना भएको थियो । महाकवि देवकोटा लगायतका कवि तथा साहित्यसेवीहरूले परिषद्बाट भरपुर सहयोग लिएर संस्कृतलगायत हिन्दी, बंगाली, उर्दू, अँग्रेजी भाषाहरू अध्ययन गरी ती भाषाहरूको सार खिचेर नेपाली भाषालाई थप समृद्ध बनाउने काम गरेका हुन् ।
वर्तमान अवस्थामा नेपाली भाषालाई अनुवाद गरेर विश्वजगत्मा पु¥याउन गोविन्दराज भट्टराई, अभि सुवेदी, कृष्णचन्द्र शर्मा, बलराम अधिकारी, महेश पौडेल, केशव सिग्देल, भीमनारायण रेग्मी लगायतका व्यक्तित्वहरू लाग्नुभएको छ । उहाँहरूले गर्नुभएकोे सत्कार्यमा नेपाली भाषा–साहित्यको मातृसंस्था मानिने नेपाल प्रज्ञा–प्रतिष्ठानले पनि चासो दिनुपर्छ र अनुवाद विभागमार्फत् अनुवाद साहित्यको गति तीव्र बनाइनुपर्छ भन्ने आम नेपाली साहित्यकारको चाहना छ ।
नेपालको पृष्ठभूमिमा भने नेपाली साहित्यलाई विश्वसाहित्य समक्ष पु¥याएर मात्र सन्तोष लिने ठाउँ छैन । अन्तरभाषाहरूसँग पनि समन्वय गर्नुपर्ने टड्कारो अवस्था छ । नेपालको पहिचान भनेको विविध भाषा, धर्म, संस्कृति र समुदायसँग समन्वय गरेर अगाडि बढ्नु हो । अर्थात् विविधतामा एकता कायम गरी राष्ट्रिय एकता मजबुत पार्नु हो । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय र वातावरणीय रूपमा भौगोलिक वैविध्य हुनु हाम्रो विशेषता हो र यी सबैलाई सन्तुलित रूपमा समन्वय गरेर एकत्वभाव जगाउनु अर्काे अभीष्ट हो । अतः नेपालभित्र बोलिने मैथली, भोजपुरी, अवधी, थारु, तामाङ, नेवारी लगायतका भाषाभाषीहरूलाई साथसाथै लिएर नहिँडेसम्म भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक एकता कायम हुन सक्तैन । यसतर्फ पनि हाम्रो ध्यान जानु जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?