logo
२०८१ बैशाख १३ बिहीवार



पुनर्कर्जाका लागि आवेदन आह्वान

अर्थ |


पुनर्कर्जाका लागि आवेदन आह्वान



भेषराज बेल्बासे

काठमाडौँ, पुस २५ गते । तोकेको मापदण्ड पूरा नभएका वा अन्य कारणले पुनर्कर्जाका लागि आवेदन दिन छुट्नुभएको छ ? यदि त्यस्तो हो भने पुनर्कर्जाका लागि आवेदन दिइहाल्नुस् ।
नेपाल राष्ट्र बैङ्कले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैङ्कले पुनर्कर्जाका लागि बैङ्क तथा वित्तीय संस्थाहरूलाई आगामी माघ १६ गतेसम्म आवेदन पेस गर्न आह्वान गरेको छ । उद्योगी व्यवसायीबाट पुनर्कर्जामा पर्याप्त आवेदन नपरेपछि राष्ट्र बैङ्कले पुनः प्रस्ताव आह्वान गरेको हो । यसअघि भदौमा आह्वान गरिएकोमा राष्ट्र बैङ्कले दोस्रोपटक पुनर्कर्जाको आवेदन दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको हो ।
राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूले प्रवाह गरेको कोरोनाबाट अतिप्रभावित तथा मध्यम प्रभावित क्षेत्रको ऋणमा ब्याज सहुलियतका लागि पुनर्कर्जाको माग गर्न सक्नेछन् । ‘नेपाल राष्ट्र बैङ्क पुनर्कर्जा कार्यविधि २०७७’ मा भएको व्यवस्थाअनुसार एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो ।
राष्ट्र बैङ्क नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार गत भदौमा पहिलो पटक आह्वान गरिएको सूचनामा पर्याप्त आवेदन नपरेको तथा परेका आवेदनले राष्ट्र बैङ्कले तोकेको मापदण्ड पूरा नगरेको कारणले फेरि प्रस्ताव आह्वान गरिएको हो । पुनर्कर्जामार्फत १४८ अर्ब रुपियाँ दिनुपर्नेमा जम्मा ७२ अर्बको आवेदन प¥यो, ५० अर्ब मात्रै गएको छ भने अझै ९८ अर्ब रुपियाँ पुनर्कर्जाका लागि बाँकी रहेको छ ।
कार्यकारी निर्देशक ढकालले भन्नुुभयो, “हामीसँग एकमुष्ठ रूपमा वितरण गर्नेगरी करिब ९८ अर्ब रुपियाँ अब वितरण गर्ने हो । यसपालि १५ लाखदेखि पाँच करोडसम्मको कर्जालाई बढी समेट्ने गरी सूचना निकालेका कारण धेरै माग आउन सक्ने उहाँको अपेक्षा छ । नेपाल उद्योग वाणिज्य महासङ्घ उद्योग समितिका सभापति भरतराज आचार्य पनि पुनर्कर्जाको पछिल्लो प्रावधानले ठूला व्यवसायी पनि लाभान्वित हुने बताउनभयो । बढ्दो कोरोना सङ्क्रमणको रोकथामका लागि अवलम्बन गरिएको लकडाउन, निषेधाज्ञा जस्ता कारणले पुनर्कर्जाका लागि आवेदन पेस गर्न नसकिएको भन्दै गुनासो आएपछि म्याद थप गरिए पनि पर्याप्त आवेदन
आउन सकेको थिएन ।
नियमन विभागका कार्यकारी निर्देशक ढकालका अनुसार अघिल्लो पटकको प्रस्ताव आह्वानमा कम्तीमा ७० प्रतिशत कर्जा लघु, घरेलु तथा साना उद्योगमा जानुपर्ने सर्त तोकिएको थियो । जसले गर्दा पर्याप्त मात्रामा आवेदन पर्न सकेको थिएन । अघिल्लोमा रहेको ७० प्रतिशतको सीमालाई हटाएर ऋणीलाई अधिकतम मात्रामा समेट्ने व्यवस्था गरिएको छ भने बैङ्क तथा वित्तीय संस्थाले पुनर्कर्जाका लागि आवेदन गर्न पाउने अधिकतम सीमालाई भने खुम्च्याइएको छ । यसअघि बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म पुनर्कर्जाका लागि आवेदन गर्न पाउँथे । अहिले यो सीमालाई २० प्रतिशतमा झारिएको छ । सीमा नघटाउँदा बैङ्कहरूले धेरै आवेदन दिन सक्ने र यसको छनोटमा समस्या हुने भएपछि राष्ट्र बैङ्कले यो सीमालाई घटाइ दिएको हो ।
पुनर्कर्जाका लागि २० प्रतिशतको सीमा पर्याप्त हुने भएकाले यस्तो सीमा घटाइएको हो । बैङ्कहरूको प्राथमिक पुँजी करिब पाँच खर्ब रुपियाँ जति रहेको भन्दै उहाँले भन्नुुभयो– “त्यसको २० प्रतिशत राख्दा एक खर्ब रुपियाँ हुन आउँछ । यो हाम्रो पुनर्कर्जाको सीमा बराबर हो । यसैले यो सीमालाई घटाइएको हो । ”

के हो पुनर्कर्जा ?
बैङ्क तथा वित्तीय संस्थाहरूले तोकिएको क्षेत्रमा ऋण प्रवाह गरेबापत राष्ट्र बैङ्कले इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई दिने कर्जा नै पुनर्कर्जा हो । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा सस्तो ब्याजदरमा राष्ट्र बैङ्कले कर्जा प्रदान गर्छ । राष्ट्र बैङ्कले अहिले तीन भागमा वर्गीकरण गरेर पुनर्कर्जा वितरण गर्नेगरी कार्यविधि पनि ल्याइसकेको छ । सो कार्यविधिले लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन प्रकारले यस्तो कर्जा प्रवाह गर्दै आएको छ ।
लघु घरेलु तथा साना उद्योग पुनर्कर्जाबापत १५ लाख रुपियाँसम्मको पुनर्कर्जा दिन्छ । यसमा नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूसँग दुुई प्रतिशत ब्याजदर लिन्छ भने बैङ्कहरूले ग्राहकलाई पाँच प्रतिशत ब्याजदरमा ऋण दिन्छन् । विशेष पुनर्कर्जा निर्यातजन्य उद्योग, महिला तथा अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित उद्योगहरूलाई प्रदान गरिन्छ । यस्तो पुनर्कर्जाबापत राष्ट्र बैङ्कले बैङ्कहरूसँग एक प्रतिशत ब्याजदर लिन्छ भने बैङ्कहरूले तीन प्रतिशतमा लगानी गर्नुपर्नेछ ।
साधारण पुनर्कर्जाका लागि भने राष्ट्र बैङ्कले बैङ्कहरूसँग तीन प्रतिशत लिन्छ भने बैङ्कहरूले ग्राहकसँग पाँच प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ ।

पुनर्कर्जा पाउन योग्य
कोभिड प्रभावित उद्योग व्यवसायलाई मात्रै पुनर्कर्जा दिने व्यवस्था गरेको राष्ट्र बैङ्कले तोकेको अति प्रभावित, मध्यम प्रभावित क्षेत्रका उद्यमीहरूले यसका लागि आवेदन दिन सक्ने जनाएको छ । पर्यटन, हवाई क्षेत्र, मनोरञ्जन पार्क, क्रियसन, सिनेमा हल, पार्टी प्यालेस, तरकारी, फलफूल, मासुजन्य तथा दानाजन्य उद्योग, तयारी पोसाक, वैदेशिक रोजगारी जस्ता क्षेत्रलाई अति प्रभावित सूचीमा राखेको छ । त्यस्तै धेरै खप्ने प्लास्टिक, फलाम स्टिललगायत घरायसी उपकरण बनाउने उद्योग, निजी तथा आवासीय विद्यालय, कलेज, विश्वविद्यालय, यात्रुवाहक स्थल यातायात, भण्डारण, निर्माण व्यवसाय, छपाइ तथा प्रकाशनगृह, जलविद्युत् आयोजनालगायतलाई मध्यम प्रभावित सूचीमा राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?