logo
२०८१ बैशाख ८ शनिवार



निर्वाचनमा द्विविधा नराखी जनतामाझ जान निर्देशन

मुख्य समाचार |


निर्वाचनमा द्विविधा नराखी जनतामाझ जान निर्देशन



दीपक श्रेष्ठ

काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे कुनै द्विविधा नराखी दृढ विश्वास र साहससाथ जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भन्नुभयो, “यो प्रणालीको रक्षा गर्ने हामी छौंँ । अब एक–दुई चुनाव लडेर राम्रा काम गरेपछि हाम्रा सन्ततिले सुख पाउनेछन् । हामीले हा¥यौँ भने देशले हार्छ, त्यसैले तपाईंहरू दृढ साहस लिएर जनतामा जानुस् ।”
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित केन्द्रीय कमिटी बैठकमा उहाँले सरकारले गरेका राम्रा कामका पक्षमा कहिल्यै पनि नेताहरूले नबोलेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको पक्षमा कहिल्यै बोलेनन्, राष्ट्रको पक्षमा बोलेनन् । भूमिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइयो ।” उहाँले नेकपाको अध्यक्षबाट आफूलाई हटाउने कुरा तमासा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले प्रस्ताव अरे, अहिले त अध्यक्षमाथि स्पष्टीकरण अरे । यो कुन तमासा हो ?”

‘प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’
नेकपाको आन्तरिक कलहमा केही समय तटस्थ रहनुभएका गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा अध्यक्ष ओली पक्षमा उभिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुभएका थापाले कम्युनिस्ट आन्दोलनको एकता एवं मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन उभिएको बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य सूर्य थापाले दिनुभएको जानकारी अनुसार बैठकमा थापाले स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि प्रतिनिधि सभाको विघटन भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले यसमा खुसी र उत्सव मनाइरहेका छन् । जनता दुःखित भएका छन् ।”
उहाँले निर्वाचनमार्फत फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने चर्चा गर्नुहुँदै भन्नुभयो, “पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अगाडि बढाउनेछ ।”
उहाँले प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढङ्गले नेतृत्व गर्ने दृढतासमेत व्यक्त गर्नुभयो ।

जिम्मेवारी हेरफेर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अधिकारबाट हटाएको छ । यद्यपि अध्यक्षबाट प्रचण्डलाई हटाइएको छैन । बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारीसमेत हेरफेर गरेको छ । जसअनुसार प्रदेश १ को इञ्चार्जमा भीम आचार्यको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ । प्रदेश २ को इञ्चार्जमा सत्यनारायण मण्डल यथावत् हुनुहुन्छ । त्यस्तै बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको ठाउँमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा शङ्कर पोखरेल हुनुहुन्छ । कर्णालीमा जनार्दन शर्माको ठाउँमा मणि थापा, सुदूरपश्चिममा भीम रावलको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ । यसैगरी जनवर्गीय सङ्गठनमा जनार्दन शर्माको ठाउँमा टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ । काठमाडौँ उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

१६ बुँदे प्रस्ताव पारित
केन्द्रीय कमिटीको तेस्रो बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको छ । पुस ७ गतेदेखि सुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने पुस ५ गतेको निर्णयलाई ‘पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदम’ का रूपमा व्याख्या गरेको छ ।
नेकपा केन्द्रीय सदस्य सूर्य थापाका अनुसार बैठकले प्रथम अध्यक्षको हैसियतले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गरिएको केन्द्रीय कमिटी विस्तारलाई अनुमोदन गरेको छ ।
बैठकले कुनै पनि अन्योल र भ्रममा नपरी, कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ ।
यस्तै बैठकले कोभिड–१९ भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र प्राथमिकताका आधारमा र निःशुल्क रूपमा खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
बैठकले तराई मधेसका विभिन्न जिल्लाबाट काठमाडौँ आई शान्तिपूर्ण धर्नामा बसेका उखु किसानको सबै रकम उद्योगीबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गरेको छ ।
बैठक नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक राजनीतिक नक्सा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिविम्बित गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्दै
संविधान संशोधन गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?