logo
२०८१ बैशाख १२ बुधवार



माध्यमिक कालका कवि नरदेव

शनिवार |


माध्यमिक कालका कवि नरदेव


डिल्लीराम मिश्र

भानुभक्तको कवित्व, कृतित्व र व्यक्तित्वका बारेमा चिन्तन–मनन, अध्ययन–अनुसन्धान, चर्चा–परिचर्चा, वादविवाद, बहस र टीकाटिप्पणी आआफ्नै अध्ययन, शैली, क्षमता र अनुभवका आधारमा भइरहेका छन् । यो क्रम भानुभक्तको जीवनी सार्वजनिक भएको १३० वर्ष बितिसक्दा पनि रोकिएको छैन । यस अवस्थामा युवककवि मोतीराम भट्टले आफ्ना अग्रज कवि भानुभक्तप्रति गरेको योगदानलाई भने कदापि बिर्सन सकिन्न । नेपाली साहित्यमा जीवनीपरक पहिलो पुस्तक कवि भानुभक्तको जीवनचरित्र नै हो ।
भानुभक्त जन्मेको ७८ वर्ष र निधन भएको २४ वर्षपछि यो पुस्तक सार्वजनिक भएको थियो । मोतीरामले २५ वर्षको कलिलै उमेरमा विक्रम संवत् १९४८ भदौमा काशीबाट यो पुस्तक प्रकाशनमा ल्याएका थिए । जसरी मोतीरामले आफ्ना अग्रजकवि भानुभक्तको जीवनचरित्र प्रकाशित गरेर नेपाली वाङ्मयमा ठूलै गुन लगाएका थिए, त्यसैगरी निधन भएको ४२ वर्षपछि अर्थात् संवत् १९९५ मा मोतीरामको जीवनचरित्र प्रकाशन गरेर नरदेव पण्डेले त्यही गुन लगाएका छन् । त्यसैले नेपाली वाङ्मयको फाँटमा जीवनीकार मोतीराम र नरदेव आदरणीय प्रतिभा मानिन्छन् । मोतीरामबारे अहिलेसम्मको सोधखोज, अध्ययन र अनुसन्धानको आधिकारिक तथ्य नरदेवद्वारा लिखित कविवर मोतीराम भट्टको सचित्र जीवनचरित्र एक मात्र दरिलो आधार हो ।
नेपाली भाषासाहित्यको माध्यमिक काल अझ विशेष गरेर भन्ने हो भने मोतीरामले साहित्यिक नेतृत्व गरेको समयका एक हस्ती नै हुन्– कवि नरदेव पाण्डे पनि । कविकेशरी तीर्थराज पाण्डेभन्दा एक वर्षअघि र मोतीराम भट्टभन्दा झण्डै छ वर्षपछि जन्मेका नरदेव पाण्डे मोतीरामको नाता पनि पर्छन् । नरदेव र मोतीरामको पारिवारिक सम्बन्ध मामा–भान्जा पर्छ । संवत् १९२९ मा काठमाडौँको भोँसिको टोल अर्थात् मोतीराम जन्मेकै टोलमा पण्डित उमादेव पाण्डे र शिवप्रिया देवीको सन्तानका रूपमा नरदेवको जन्म भएको थियो । संवत् २००१ वैशाख १२ गते उनको देहान्त भयो । मोतीमण्डलीका एक सिद्धहस्त कवि नरदेवले पनि नेपाली भाषासाहित्यमा मोतीरामले जस्तै अविस्मरणीय योगदान पु¥याएका छन् ।
राणा प्रधानमन्त्री जुद्धसमशेरको शासन कालमा तत्कालीन डाइरेक्टर अफ पब्लिक इन्स्ट्रक्सन् मेजर जनरल मृगेन्द्रसमशेर जबराको असीम कृपा र सहायताद्वारा नरदेवले हितचिन्तक प्रेस रामघाट, काशीबाट मोतीराम भट्टको जीवनी प्रकाशित गरेका थिए । वनारसबाट संस्कृत साहित्यमा मध्यमासम्मको अध्ययन गरेका नरदेव ठहिँटीमा रहेको नेपालको पहिलो छापाखाना पशुपति प्रेसका मालिक पनि हुन् । उनले नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर (संवत् १९५५) को समेत सम्पादन गरेका थिए । संवत् १९५८ सालमा प्रकाशनमा आएको देशकै पहिलो समाचारपत्र गोरखापत्रमा पनि उनको नेतृत्वदायी भूमिका रह्यो । वास्तवमा कुनै पनि कोणबाट मोतीराम भट्ट, मोतीमण्डली र नरदेव पाण्डेले नेतृत्व गरेको माध्यमिक काल गद्यपद्य दुवै विधामा उर्वर मानिन्छ । मोतीरामका गद्यलेखक सहकर्मी र सहयात्रीहरूले पनि नरदेवद्वारा लिखित मोतीरामको जीवनीको योगदानको उच्च प्रशंसा गरेका छन् । मोतीराम वर्णन, समस्यापूर्ति र कविता लेख्ने नरदेवले आफ्नै भानिजकै भाषाप्रेमबाट यस क्षेत्रमा लाग्न प्रेरणा प्राप्त गरेका थिए । दाजु कृष्णदेवबाट पनि उनले साहित्यिक वातावरण पाएका थिए ।
उनका कृतिहरू श्रीगणेश सरस्वतीस्त्रोत्र (१९५०), वीरबल चातुरी (१९५६), नलोपाख्यान र अद्भुत मिलाप (१९५८), शङ्खमूल यात्रा र मेरिनाचरित्र (१९५९), चन्द्रभक्ति प्रकाश (१९६२) रहेका छन् । यस्तै आफ्ना समकालीन अग्रजहरूको तारिफ गर्ने क्रममा नरदेवले कवि मोतीराम भट्टको प्रतिभाको कविताद्वारा वर्णनसमेत गरेका छन् । उनीसहित मोतीमण्डलीमा रहेका पाँच जना प्रतिभाशाली कविहरू क्रमशः राजीवलोचन जोशी, पद्मविलास पन्त, लक्ष्मीदत्त पन्त, मोतीराम भट्ट हुन् । नरदेवले मोतीरामको प्रतिभाको वर्णन गर्दैै १५ श्लोक लेखेका छन्, जसमध्येको एक श्लोक यस प्रकार रहेको छ–
शृङ्गार रस्ले परिपूर्ण भाका ।
हरी वदन्का वस्मा प¥याका ।।
नेपाल फसीकेव विशेष वस्याका ।
श्री मोतीराम् नाम पनी भयाका ।।
यसरी नेपाली भाषासाहित्यमा खोजपूर्ण, ओजपूर्ण र अध्ययनपूर्ण शैली स्वरूपमा जीवनी र पृथक् पृथक् आकार प्रकारका ग्रन्थ लेख्ने कवि नरदेव पाण्डे माध्यमिक कालीन युगका एक कालजयी स्रष्टा हुन् ।
नेपाली साहित्यको अध्ययन र अनुसन्धानका क्रममा साधकहरूका जीवनीपरक कृतिको महìवपूर्ण भूमिका रहन्छ । माध्यमिक कालीन नेपाली साहित्य र सर्जकका अध्येता शरदचन्द्र शर्मा भट्टराईले अत्यन्त गहन अध्ययन गरेर यससम्बन्धी महìवपूर्ण तथ्(यहरूलाई उद्घाटित गरेका छन् । जसमा नरदेव पाण्डेको योगदानलाई पनि सर्वोपरि महìव दिइएको छ । माध्यमिक कालीन नेपाली साहित्यका आधिकारिक अनुसन्धाता शर्माको योगदान यो क्षत्रेमा अतुलनीय छ । उनको महìवपूर्ण ग्रन्थ ‘माध्यमिक कालीन नेपाली गद्याख्यान’लाई २०५० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । निधन भएको लामो समयसम्म पनि नेपाली साहित्यजगत्मा परिचयविहीन भएर रहेका नरदेवको बारेमा २०६० सालमा ‘सानो चिनारी नरदेव पाण्डेको’ शीर्षकमा भट्टराईको एउटा पुस्तक साझा प्रकाशनबाट सार्वजनिक भएको छ । यस ग्रन्थमा अध्येता भट्टराईद्वारा नरदेवका बारेमा गहन अनुसन्धान गरी साहित्यिक व्यक्तित्वको चिरफारसहित विश्लेषण गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?