logo
२०७७ मंसिर १२ शुक्रवार

तिहारको रमझम

शनिवार |


2020-11-14-26533


निर्मलकुमार आचार्य

तिहार अहिले केवल सांस्कृतिक पर्वको पाटो मात्र रहेको छैन;
आर्थिक, व्यापारिक कारोबारका निम्ति अधीर प्रतीक्षाको अवसर पनि बनेको छ ।
उज्यालोको मेला, फूलको रौनक, आनन्दको उत्सव र सद्भावनाको प्रतीक पर्व हो– तिहार । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म धूमधामसाथ मनाइने तिहारलाई दीपावली, दीवाली तथा यमपञ्चक पनि भनिन्छ ।
तिहारको एक नाम ‘सुखरात्रि’ पनि हो । शास्त्रमा वर्षभरिका रात्रिमध्ये चारवटालाई विशेष मानिएको छ । ती हुन्– महाशिवरात्रि, मोहरात्रि, कालरात्रि र सुखरात्रि । भगवान् शिवको उत्पत्ति भएको फाल्गुण कृष्ण चतुर्दशीको रात्रि महाशिवरात्रि, भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात्रि अर्थात् भगवान् कृष्णको जन्माष्टमी रात्रि मोहरात्रि, आश्विन शुक्ल पक्ष, महाष्टमीको रात्रि कालरात्रि र कार्तिक औँसीको रात्रि सुखरात्रि हो । महालक्ष्मीको पूजा गरिने रात्रिलाई सुखरात्रि भन्दछन् । समुद्र मन्थनका बखत यही दिन महालक्ष्मी प्रकट भएको पौराणिक वर्णन छ ।
कागतिहारदेखि भाइतिहारसम्म मनाइने यमपञ्चकले धार्मिक÷सांस्कृतिक, सामाजिक, पारिवारिक परम्परा निर्वहन गर्दै मानवीय मूल्य र मान्यत(ालाई सर्वोपरि राखेको पाइन्छ । कृषिप्रधान नेपालमा बाली भिœयाइएपछि हर्षोल्लासपूर्वक मनाइने तिहारले यहाँको सामाजिक, आर्थिक पाटोलाई पनि दर्शाएको छ ।
नेपालमा मनाइने यो दीपोत्सव ‘तिहार’ अन्यत्रको तुलनामा उल्लेखनीय छ । शरद ऋतुमै पर्ने बडादशैँ जस्तै तिहार पनि नेपालको राष्ट्रिय महान् चाड हो । हिन्दु धर्मावलम्बीमा मात्र सीमित नरहनु यहाँका दशैँ, तिहारको वैशिष्ट्य बनेको छ । विभिन्न धर्म, जात, जाति, समुदायका मानिसद्वारा मनाइने तिहारले यहाँको धार्मिक, सामाजिक सद्भाव मात्रै प्रकट गरेको छैन; परम्परागत सौहार्द, बन्धुत्व र अद्वितीयताको चिनारी पनि दिएको छ ।
तिहार संस्कृतिले देशभित्र तथा बाहिर रहेका नेपालीलाई एक–अर्कासँग नजिक्याउन र बन्धुत्वको साइनुमा गाँसिन निकै सघाएको छ । भारत, म्यानमार, हङकङ, थाइल्यान्ड, अमेरिका, बेलायत, जापान, अस्टे«लिया आदि देशमा समेत तिहार गुञ्जायमान हुनुले यसको विलक्षणता जनाएको छ ।
‘गुञ्जन’ तिहारको अपरिहार्य, सुमधुर, सौष्ठव हो । पहाड, हिमाल, मधेस÷तराई यत्रतत्र गुञ्जँदै आएको ‘भैली’ र ‘देउसी’ ले मुग्लानपारि त उहिल्यैदेखि गगन घन्काएकै हुन्, अहिले सात समुद्रपारि समेत ‘भन भन भाइ हो’ मा नरमाउने बिरलै भेटिन्छन् । नाचगान र रमाइलो गरी भैली, देउसी गाउनु÷भट्याउनुको रोचकता र मोहकता आफ्नो ठाउँमा छँदै छ; भैली गाउने, देउसी गाउने नभनी भैली खेल्ने, देउसी खेल्ने परम्परागत भनाइले बेग्लै सौरभ पनि दिएको छ ।
हे औँसीबार, गाईतिहार – भैलो !
भैलिनी आइन् आँगन
गुनिउँ चोलो माग न
बढारी कुढारी राख न
हे औँसीबार, गाईतिहार – भैलो !
कतै भैली वा भैलो, काहीँ भैलीराम थेगो हाल्दै मच्चिईमच्चिई गाउनुको मजा बेग्लै । महिलाले भैली गाउने र पुरुषले देउसी भट्याउने भनिए पनि सबैतिर त्यस्तो छैन, भैली र देउसीमा दुवैथरी संलग्न हुने गरेको पनि देखिएको छ ।
भनभन भाइ हो – देउसी रे
यसै घरमा – देउसी रे
लछिमीले सधैँ – देउसी रे
बासै गरून् – देउसी रे
‘हामी त्यसै आएनौँ, बलिराजाले पठा’को’ पदावलीले देउसी संस्कृतिको प्राचीनता झल्काएको छ । यसमा नेपाली मौलिकताको सुवास छ । देवासुर सङ्ग्राममा हारेका देवताका चेलीबेटीले दैत्यराजा बलिराजसित अनुमति लिई देवताकहाँ गई भैली गाएर आशीर्वाद दिएपछि ती बलशाली भई विजयी बनेको उल्लेख पाइन्छ भने जुम्लाका राजा बलिराजले भैली, देउसीको चलन चलाएको इतिहास पनि छ । वि.सं. १४५१ ताकाका कल्यालवंशी राजा बलिराज शाहीले भैली, देउसीको चलन चलाएका हुनाले यसमा वर्णित ‘बलिराजा’ यिनै जुम्लीराजा भएको लख काट्न सकिन्छ ।
भैली, देउसी खेल्ने चलन बलिराज शाहीकै पालामा थालिएको मत अचार्जबाडा, जुम्लानिवासी, खसभाषाका शब्दकोशकार, संस्कृतिविद् रमानन्द आचार्यको छ । उहाँका अनुसार वामन अवतारसँग सम्बन्धित बलिराजका पालामा भैली, देउसीको संस्कृति प्रारम्भ भएको भए भारतमा पनि त्यसको छनक पाइन्थ्यो । नेपाल र नेपालीजनमा मात्र भैली, देउसीको चलन रहनुले यो विशुद्ध मौलिक परम्परा भएकामा दुईमत रहँदैन ।
संस्कृतिविद् रमानन्दका अनुसार जुम्लामा प्रारम्भ भई भैली, देउसीको चलन पूर्वतिर फैलँदै गएको हो । कालान्तरमा पूर्वतिरको प्रभावसमेत यसमा गाँसियो र तिहारमा भैली, देउसी खेल्न थालियो । नत्र पहिले पहिले पुस महिनामा भैली, देउसी खेल्ने गरिन्थ्यो । पौष कृष्ण औँसीलाई ‘भैले औँसी’ भनिनुले पनि यसको पुष्टि हुन्छ । पौषकृष्ण औँसीको दिन नुहाइधुवाइ, सरसफाइ आदि गरी भोलिपल्टदेखि भैली, देउसी खेलिन्थ्यो; यसमा पुरुष, महिला सबै सहभागी हुन्थे । द्वितीयाको दिन चेलाचेलीलाई टीका लगाई मीठा खानेकुरा दिइन्थ्यो । चौथीसम्म भैली, देउसी खेल्ने भनिए पनि पञ्चमीसम्म यो रीति चल्थ्यो । ‘चौथमी चेलो–पञ्चमी घोडो’ भन्ने त आहानै छ । ठूलाबडाबाट घोडा उपहार पाउने सन्दर्भमा यहाँ घोडो उल्लेख भएको हो ।
भलाइको कामनासाथ खेलिने भैली होस् वा कल्याणका खातिर भट्याइने देउसी रे (देहीश्रियम्) नेपालको मौलिक गौरवमयी परम्परा भएकामा विमति छैन । कर्णाली, सुदूरपश्चिमतर्फ प्रचलित भुओ÷भुवो÷भोसो÷भोसी गीत पनि तिहारताकै गाइने भएकाले स्मरणीय छन् । भूतप्रेत आदिको बाधा हटाउन गाइने भुओलाई ‘भूतनृत्यगीत’ पनि भनिएको छ ।
कोरोना (कोभिड–१९) कहरका कारण यसपालि भैली, देउसी आदिको उत्साह नरहनु नाचगानपे्रमी नेपालीलाई खल्लो अनुभूतिको विषय बन्ने नै भयो । कताकतै ‘भर्चुअल देउसी, भैलो’ कार्यक्रमसमेत आयोजना गरिँदै छ । यसले विषम वस्तुस्थितिमा पनि नेपाली कला, संस्कृति र परम्पराको जगेर्नाका लागि पछाडि पर्न नहुने भावप्रवाह गरेको छ ।
तिहारमा देवी, देवताबाहेक पशुपक्षीको समेत पूजाआजा गरिनुले मानवीय उदात्तताको दृष्टान्त दिएको छ । सबै प्राणीको अस्तित्व र महŒवबोध गराउने तिहारमै ‘म्हः पूजा’ पनि गरिन्छ । नेवार समुदायमा प्रचलित म्हः पूजाले आत्मगौरवको महिमा उचालेको छ । लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत्को नयाँ वर्ष प्रारम्भ हुने दिन ‘न्हुदँया भिन्तुना’ले हार्दिकता बिछ्याउँदै आएको छ । गरिबगुरुवालाई ऋणमुक्त बनाई स्वनामधन्य बनेका नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण र सम्मान गरिनुलाई नागरिक कर्तव्यको उदाहरण मान्न सकिन्छ ।
दाजुभाइ, दिदीबहिनीबीचको आत्मीयता प्रबद्र्धनमा भाइटीकाले अपूर्व भूमिका खेल्दै आएको छ । पहाडी भेगमा भाइटीका र मधेस÷तराईमा भैयादूज आजको नौलो संस्कृति होइन, भ्रातृद्वितीया नामैले यसको पुरातनता झल्काएको छ । दाजुभाइ, दिदीबहिनी बीचको सुसम्बन्ध अभिवृद्धिमा यसको ठूलो योगदान छ । कालका देवता यम र बहिनी यमुनाको पौराणिक प्रसङ्गले भ्रातृत्व र भगिनीत्वको यशोगान गरेको छ । वर्षमा भाइटीकाको एक दिन मात्रै खुल्ने, काठमाडौँस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर पनि निकै वर्षपछि यसपालि खुल्दै छ । दाजुभाइ, दिदीबहिनी नहुनेले यहाँ टीका लगाई आफूलाई धन्य सम्झन्छन् । भाइटीकाको प्रसङ्गमा सबैकी दिदी अञ्जलीदेवी मास्केलाई पनि सम्झनैपर्छ । उहाँले दुई दशक अघिदेखि हरेक वर्ष काष्ठमण्डप, गोरखनाथ मन्दिरको परिसरमा सामूहिक भाइटीकाको आयोजना गर्दै आउनुभएको छ । यस वर्ष कोरोना कहरका कारण सामूहिक भाइटीका नहुने भएको छ ।
तिहार सन्देशै सन्देशको अनुपम चाड हो । यसका हरेक पाटामा अन्तर्निहित सन्देश मानव समाजका निम्ति अपरिहार्य तŒव हुन् । अँध्यारोबाट उज्यालोको यात्रामा अघि सर्न उत्पे्ररित गर्ने पर्व भएकाले नै तिहारको चर्चा चल्नासाथ ‘असतो मा सद्गमय’, ‘मृत्योर्मा अमृतं गमय’, ‘सत्यमेव जयते’ आदि प्राचीनसूक्ति अभिव्यक्तिमा समेटिन थाल्छन् ।
अँध्यारोमा लक्ष्मीको बास नहुने भएकाले तिहारमा घर, दैला, आँगन, बार्दली सबैतिर झिलिमिली बनाइनुको सन्देश गहन छ । दीपावलीले बाहिरी संसार उजिल्याएजस्तै ज्ञानको ज्योतिले मनको संसार पनि उजिल्याउनुपर्ने गहिरो पाठ यसमा छ । लक्ष्मीपूजाको राति महालक्ष्मी घर, घरमा पुगी को–को जागेका छन् ? हेर्न जान्छिन् भन्ने भनाइ छ । जाग्राम बस्नेमाथि लक्ष्मीको कृपा बर्सिने जनधारणाले जागृतिको महŒव दर्शाएको छ । उद्यम, व्यापार, शिक्षा, समृद्धि, राजनीति, अध्यात्मलगायत जुनसुकै फाँटमा उन्नति चाहनेका लागि जाग्नुको विकल्प छैन नै ।
मानव सभ्यताको उत्थानमा नजिक रही सघाउने पशुपक्षीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले काग, कुकुर, गाई, गोरु आदिको पूजा गर्ने चलन चलेको हुनुपर्छ । तिहारमा सर्वप्रथम कागको पूजा गरिन्छ । कागलाई सन्देशवाहक पक्षी मानिएको छ । कागले राम्रो, नराम्रो दुवै थरी सन्देश दिने भएकाले कराएको सुन्नासाथ ‘शुभ बोल, शुभ बोल’ (अशुभ नबोल) भन्ने चलन छ । सूर्यपुत्र शनिको वाहन कागका सम्बन्धमा पौराणिक साहित्यमा विशद उल्लेख भेटिन्छ । ‘काकभुसुन्डी’ को कथा प्रसिद्धै छ । भगवान् शिवले हाँसको रूप लिई काकभुसुन्डी नामको कागसित रामकथा सुनेको वर्णन रामायणमा पाइन्छ । काकभुसुन्डीको सम्बन्ध मनाङस्थित तिलिचो तालसँग रहेको भनाइ पनि छ । मुस्ताङको ‘कागबेनी’ क्षेत्र पनि स्मरणीय बनेको छ । मुक्तिनाथ धाम जानेहरू कागबेनीमा श्राद्धादि कर्म गर्छन् । पितृकार्यमा कागलाई विशेष पक्षी मानिएको छ । कागले खाइदिएमा पितृ तृप्त हुने जनविश्वास छ । काठमाडौँको उत्तरी भेगमा कागेश्वरी तीर्थसमेत छ । यहाँ भाद्र अष्टमीका दिन मेला लाग्छ । यही बेला यहाँ सेतो काग देखिने बताइन्छ । गोसाइँकुण्ड पुग्नेहरू त्यहाँबाट जल ल्याई यहाँ चढाउँछन् । कागेश्वरी महादेवको मन्दिरमा पूजा गर्दा कागस्पर्शजन्य अनिष्ट मेटिने भनाइसमेत छ ।
कागले क्वाँ–क्वाँ गरी कराए राम्रो हुने, कीँ–कीँ गरी कराए स्वादिलो भोजन गरिने, कूँ–कूँ गरे सम्पत्ति पाइने, केकव मात्र उच्चारण गरे साइत हुने, केयँ–केयँ वा कुलुकुलु बोले नराम्रो हुने, त्रूmँ–क्रूँ या क्राँ–क्राँ गरेमा लडाइँ हुने जस्ता परम्परागत अध्ययन पनि रहेका छन् । विद्यार्थीमा कागको जस्तो चेष्टा हुनुपर्ने अपेक्षा राखिए झैँ कुकुर जस्तो अल्पनिद्रा हुनुपर्ने नीतिवचन पनि छ । स्वामीभक्ति, इमानदारी र सुरक्षाको सन्दर्भमा कुकुर बेजोडको मानिन्छ । भैरवको वाहनका रूपमा चर्चित कुकुरको सुँघ्ने शक्ति अत्यन्त तीक्ष्ण हुने भएकाले यसको उपयोगिता सुरक्षा निकायमा बढ्दो छ ।
कृषिप्रधान नेपालमा गाई, गोरुको महŒव बखानिरहनै परेन । दूध, दही, नौनी, घिउ मात्र होइन, गहुँत तथा गोबरसमेत पवित्र एवं विशेष धन मानिएको छ । ‘पञ्चगव्य’ र ‘पञ्चामृत’को महनीयताले पनि यिनको श्रेष्ठता झल्काएको छ ।
गाईलाई लक्ष्मीको प्रतीक मानी पूजा गरिन्छ । गौधन भन्नु र गौलक्ष्मी भन्नु यस अर्थमा फरक होइन । शिवका वाहन नन्दी अर्थात् ‘गोरु’ को पूजाले हामी सबैलाई अथक परिश्रमी बन्न जगाइरहेको सन्देश अमूल्य छ । तिहारमा पुजिने पशुपक्षीलाई प्राकृतिक प्रकोपका पूर्वसूचक पनि मानिन्छ । ठूलो आँधीहुरी आउनुअघि, भूकम्प हुनुपूर्व यिनले कराएर सङ्केत दिने गरेका छन् । २०७२ सालको भुइँचालोका बखत पनि काग, कुकुर, गाईगोरु जोडजोडले कराएको बयान सुनिएकै हो । तिहारको पाँच दिनभित्र गरिने गोवद्र्धन पूजाको पनि कम महŒव छैन । लिने हो भने गोबरमा मोहर (धन) लुकेको ज्ञान गोवद्र्धन पूजाले दिएको छ ।
तिहारले कोरोनाको कहरबाट बच्नसमेत गूढ सन्देश दिएको आकलन गर्न सकिन्छ । तिहारका बेलामा गरिने सरसफाइले कोरोनाबाट बच्न स्वच्छताको अनिवार्यता झल्काएको छ, रोग लागेपछि उपचारमा तन, मन खर्चनुसट्टा रोगको मुहानै छेक्नु जाती भन्ने आशयलाई तिहारको सरसफाइले राम्रो पुट दिएको छ । रोग लागेमा पनि नआत्तिई उपचार गराउनुपर्ने आशय चिकित्सक धन्वन्तरिको प्रकटीकरणको कथाबाट अनुभूत गर्न सकिन्छ । तिहारमा मनाइने धन्वन्तरि जयन्तीले स्वास्थ्य नै धन हो भन्ने अर्थ समेटेको छ । तिहारका सेल, अनर्सा, भाइमसला आदिले सुस्वास्थ्यका निम्ति रसिला, पोसिला र भरिला खानेकुराको महŒव दर्शाएका छन् ।
दीपोत्सवका रूपमा बडो उमङ्का साथ मनाइने तिहारको थालनीका सम्बन्धमा अनेक धारणा छन् । चौधवर्षे वनवासपछि राम फर्कंदा अयोध्यावासीले दीपावली गरी धूमधामसाथ उत्सव मनाएदेखि यो पर्व प्रारम्भ भएको एकथरी कथन छ भने भगवान् विष्णुले दैत्य तारकासुरको बध गरी जगत्मा शान्ति, सुरक्षा कायम गरेकाले यो पर्व चलेको भनाइ पनि छ । वामन अवतार विष्णुलाई महादानी बलिराजले तीन पाउ भूमिदान गर्ने क्रममा सर्वस्व दिएकाले यसैको हर्षबढाइँमा तिहार मनाउन थालिएको मान्ने पनि छन् । नृसिंह अवतारबाट हिरण्यकशिपुको बध भई सारा संसारले त्राण पाएको खुसियालीमा यो पर्व प्रारम्भ भएको उल्लेख पनि छ । सत्ययुगमा समुद्र मन्थन गर्दाखेरि महालक्ष्मी प्रकट भएकीले हर्षपूर्वक तिहार पर्व शुभारम्भ गरिएको भनाइ पनि छ । बाह्रवर्षे वनवास र एकवर्षे अज्ञातवासपछि पाण्डव हस्तिनापुर फर्कंदा दीपोत्सव गरी तिहार पर्व मनाउन थालिएको उल्लेख पनि पाइन्छ । चौबीसौं तीर्थंकर महावीर स्वामीले निर्वाण प्राप्त गरेको वा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन जस्ता कारणबाट पनि तिहारको चहकमा चमक थपिएको छ ।
तिहार अहिले केवल सांस्कृतिक पर्वको पाटो मात्र रहेको छैन; आर्थिक, व्यापारिक कारोबारका निम्ति अधीर प्रतीक्षाको अवसर पनि बनेको छ । धन्वन्तरि जयन्ती ‘धनतेरस’ नामले पनि परिचित छ । कागतिहारका दिन पर्ने धनतेरसमा नयाँ, नयाँ गरगहना, भाँडाकुँडा, पूजाभाँडा, लत्ताकपडा आदि किन्दा घरमा सह हुने, श्रीवृद्धि हुने विश्वासले बजार चम्काउँदै आएको छ ।
तिहारलाई फूलैफूलको चाड पनि मानिन्छ । थरीथरीका फूल केवल शोभाका केन्द्र होइनन्, यसमा निहित आर्थिक पक्षले धेरैको दिन सुधारेको छ । भौगोलिक विविधतासम्पन्न नेपालमा दुनियाँमै नपाइने प्रशस्त फूल छन् तर यहीँ सयपत्रीसमेत विदेशबाट झिकाइने दुरवस्था छ । हुन त यस वर्ष बाहिरबाट उस्तो फूल झिकाइएको छैन तर सयपत्री, मखमली, गोदावरी लगायतका तमाम फूल हामीले आयात होइन, निर्यात गर्नसके हरेकका घर झनै जगमगाउने प्रस्टै छ ।
थरीथरीका मिठाई तिहारका विशेषता हुन् । अचेल बजारमा अनेक किसिमका मिठाई बेचबिखन हुने गरेका छन् । बाहिरिया मिठाईको बढ्दो चलनले पुराना मिठाई लोपोन्मुख बनेको दुःखद बिन्दु पनि छ । सेल, अनर्सा, अर्सा, लाखामरी, गजा, ऐँठामरी, खजुरी, गुँदपाक, रोट, बाबर, जेरी, स्वारी आदि परम्परागत मिठाई हराउँदै जानु कुनै पनि दृष्टिमा उचित होइन । बर्फी, कलाकन्द, काजुकतली, काजु गुजिया, बादाम रोल्स, सोनपापडी, सोहन हलुवा, रसभरी, कालाजामन आदिले बजार तताइरहेका बखत नेपालका परम्परागत मिठाई उदासीनताका सिकार बनेका छन् । नेपालका कुन, कुन ठाउँमा के कस्ता परम्परागत मिठाई छन् ? तिनको अध्ययन गरी बजार प्रवद्र्धन गर्नसके ढिलै भए पनि शुभकार्य हुनेछ । गुँदपाकको लोकप्रियतालाई मात्रै ध्यानमा राख्ने हो भने पनि यस्ता अनेकथरी नेपाली मिठाई विदेश समेत निर्यात गर्न नसकिने होइन । तर यही गुँदपाकसमेत कोसेली बन्न छाडेको छ । नयाँसडक, काठमाडौँका एक व्यापारीको कर्तुतले कहलिएको नेपाली मिठाई गुँदपाक विस्मृतिको सागरमा हराएजस्तो भएको छ । तसर्थ, गुणस्तरयुक्त नेपाली मिठाईको बजार प्रवद्र्धन गर्नेतर्फ को, कहिले जुर्मुराउने हो ? प्रतीक्षाको घडी बनेको छ । पुराना मिठाईका ठाउँमा विदेशी मिठाईको चल्ती बढ्नुमात्र अहिलेको समस्या होइन, नक्कली खुवा, कृत्रिम अखाद्य रङले जनस्वास्थ्यमाथि पु¥याइरहेका आघात चिन्ताजनक छन् । दियो, पाला, खोरी तथा केराका सुप्लामा बत्ती बाल्ने परम्परालाई पनि आयातीत वस्तुले विस्थापन गरिरहेधकै छ । भैली, देउसीमा मादल, खैजडी, बाँसुरी, सारङ्गी, डम्फू आदि मौलिक बाजा, परम्परागत नृत्य र सांस्कृतिक गानको जलप मेटिँदै जानु पनि दुःखदायी कुरो छ ।
तिहारसँग जोडिँदै आएका विकृतिलाई पनि यतिखेर सम्झनैपर्छ । तिहारमा जुवा (तास, कौडा, लङ्गुर बुर्जा आदि) खेल्ने, मदिरापानमा धुत्त हुने, रवाफी तथा भड्किलोपन प्रदर्शन गर्ने, भैली तथा देउसीका नाममा मनपरी गानबजान गर्ने र जबरजस्ती रकम असुल्नेलगायत कुप्रवृत्ति अन्त्य गर्नसके तिहारको सौन्दर्य अवश्य बढ्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?