logo
२०८० चैत्र १६ शुक्रवार



देवकोटाका काव्य सौष्ठव

शनिवार |


देवकोटाका काव्य सौष्ठव


प्रा.डा. उषा ठाकुर

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘प्रतिभावान्’ मात्रै भन्नु पर्याप्त छैन । उहाँ वस्तुतः ‘प्रतिभाका पुञ्ज’ हुनुहुन्थ्यो । बहुमुखी प्रतिभाका धनी देवकोटा विराट् कल्पनाशील आशुकवि हुनुहुन्थ्यो । जसले आफ्नो काव्यमा शैलीगत अद्भुत कला र विशिष्ट शिल्प दक्षताका प्रमाण दिनुभएको छ । वास्तवमा नेपाली साहित्यको इतिहासमा भाव र भाषा–शैली माथि यस्तो दक्षतापूर्ण अधिकार राख्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । उहाँको विलक्षण प्रतिभा देखेर प्रसिद्ध हिन्दी साहित्यकार राहुल साङ्कृत्यायनले भन्नुभएको थियो, ‘देवकोटा हिन्दी के पन्त, प्रसाद, निराला तीनों हैं ।’
यस लेखमा हाम्रो अध्ययनको विषय हो– देवकोटाको काव्यका अभिव्यञ्जना पक्ष । यस दृष्टिकोणले हाम्रो ध्यान सबभन्दा पहिले देवकोटाको शब्द–कला माथि जान्छ । देवकोटाको शब्द भण्डार अत्यन्त विशाल थियो । भावहरू अनुरूप उहाँ नयाँ–नयाँ शब्दहरूको सिर्जना गर्नुहुन्थ्यो । संस्कृत शब्दहरूका प्रयोग उहाँले अधिक गर्नुभएको छ । विशेष रूपमा उहाँको ‘शाकुन्तल’ महाकाव्यमा तत्सम शब्दहरू अधिक प्रयोगले जटिलता पनि देखा पर्छ । एकातर्फ ‘शाकुन्तल’ महाकाव्यमा ‘मृद्माधुर्य विलासमोहिनी’, ‘शिवसत् सुन्दरतानिनादिनी’ जस्ता संस्कृतका कठिन शब्दहरूको प्रयोग उहाँले गर्नुभएको छ भने अर्काेतर्फ उहाँका अनेक कवितामा सरल शब्दको प्रयोगद्वारा भाषामा अत्यन्त सहजता र सरसता पनि आएको देखिन्छ । ‘यात्री’ कवितामा कविले भन्नुभएको छ, ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?’ यस्तै ‘झ्याउरे’ लयमा लिखित ‘मुनामदन’मा अत्यन्त सरस, कोमल र सरल भाषाको प्रयोग उहाँले गर्नुभएको छ ।
कविका अनुसार, ‘शब्दाडम्बर कविता होइन, छन्द मात्र कविता होइन, लय मात्र कविता होइन, कविता हो स्वानुभावको आत्मा । मौलिकता र स्वकीयता नै सच्चाइका चिह्न हुन् ।’ देवकोटाले कहिले पनि शब्दहरूको बाह्य आडम्बरलाई प्राथमिकता दिनुभएन । उहाँको भाषाको मुख्य उद्देश्य भाव–प्रेषणीयता नै हो । भाषालाई उहाँले भावका अनुगामिनी रूपमा प्रयोग गर्नुभएको छ ।
स्मरणीय छ कि नेपाली भाषाका परिष्कार, विकास र संवद्र्धनमा कवि देवकोटाले अपूर्व र महìवपूर्ण योगदान दिनुभएको छ । वस्तुतः देवकोटा काव्यमा नेपाली भाषाका शिष्ट, परिमार्जित र प्रौढरूप हामी पाउँछौँ ।
हृदयबाट प्रस्फुटित अजस्र भावधाराको अभिव्यक्तिका लागि जब कुनै उपयुक्त शब्द कविले भेट्नुहुँदैन, तत्क्षण नै भावानुकूल नयाँ शब्दको निर्माण गरेर आफ्नो अद्भुत प्रतिभाको परिचय उहाँले दिनुभएको छ । यदाकदा उहाँले विदेशी शब्दहरूको प्रयोग पनि गर्नुभएको छ । उहाँले आवश्यकता अनुसार हिन्दी, उर्दू, फारसी शब्द पनि प्रयोग गर्नुभएको देखापर्छ । यस्तै ‘घाँसी’ कवितामा नेपाली शब्द ‘चरा’को प्रयोग नभएर हिन्दी शब्द ‘चिडियाँ’को प्रयोग भएको छ । अनि फारसी शब्द ‘स्याही’ नेपाली शब्द ‘मसी’को ठाउँमा प्रयुक्त भएको देखिन्छ । यत्रतत्र अनुप्रासका लागि कविले ‘शबनम’, ‘पर्दा नशिन’, ‘कब्र’, ‘सन्नाटा’, ‘महफिल’ जस्ता विदेशी शब्दको प्रयोग गर्नुभएको छ । यस्तै ‘लाजवाली’, ‘शरमवाली’ जस्ता हिन्दी विशेषणले युक्त शब्दहरू पनि प्रयुक्त भएको देखिन्छ । स्मरणीय छ कि अङ्ग्रेजी साहित्यका विद्वान् भएर पनि कविले अङ्ग्रेजी शब्दलाई त्यति स्थान दिनुभएको छैन । एउटा कुरा विशेष मननीय यो छ कि विदेशी भाषाका शब्दलाई प्रयोग गर्दा ती शब्दलाई प्रायः नेपालीपनमा ढालेर प्रयोग गर्नुभएको छ । यसप्रकार शब्द संसारमा कविको अपूर्व प्रभुता देखापर्छ र यत्रतत्र अतिक्लिष्ट एवं अप्रचलित संस्कृतका तत्सम शब्दको अति प्रयोगले भाव–बोधमा जटिलता पनि उपस्थित भएको हामी अनुभव गर्छाैं ।
हामीले यो कुरा बिर्सिनु हुँदैन कि देवकोटा कालका नेपाली भाषाको अभिव्यक्ति सामथ्र्य सम्भवतः त्यति समृद्ध थिएन कि देवकोटाका अद्भुत कवि–व्यक्तित्वका अविरल भाव–प्रवाहलाई वहन गर्न सकोस् । नेपाली भाषाको भण्डार भर्नका लागि निश्चय नै उहाँले स्तुत्य प्रयास गर्नुभयो ।
कवि देवकोटाको काव्य प्रतिभा अत्यन्त नै प्रखर थियो । उहाँ आशुकवि हुनुहुन्थ्यो र देवी सरस्वतीको उहाँलाई विशेष वरदान थियो । देवकोटा भित्रका कवि निर्झर जस्तै अजस्र, अद्भुत रूपमा तीव्र वेगले प्रवाहित भई रहन्थ्यो । मात्र तीन महिनामा ‘शाकुन्तल’ जस्तो विशाल महाकाव्य र मात्र दस दिनमा सुलोचना’ जस्तो महाकाव्यको सिर्जना गर्ने देवकोटाको आशुकवित्व बारेमा गर्व गर्नु नेपाली साहित्यका लागि स्वाभाविक नै हो ।
कवि देवकोटाका अनुसार सहजता नै कविताको प्रथम गुण हो । उहाँको लेखनीबाट जेजति निःसृत भयो, त्यो अत्यन्त सहज, स्वाभाविक र प्राकृतिक ढङ्गले । त्यसैले उहाँका काव्य पढ्दा पाइला–पाइलामा हृदयस्पर्शिता नै उहाँको काव्यको सर्वाेत्कृष्ट उपलब्धि होे भन्ने हामी अनुभव गर्छौं । कविको कथनानुसार, ‘कवि बोलोस्– जसरी चराहरू बोल्छन्, न कि जसरी उस्तादहरू कसरत गर्छन्, हृदयले हृदयलाई बोलाओस् कवितामा, न कि आडम्बरलाई ।’ विद्वान् समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ठीकै भन्नुभएको छ, ‘शिल्प र शैलीको दृष्टिले देवकोटा प्राकृत सहज कलाका पक्षमा देखा पर्छन् । कृत्रिम चमत्कार र आयोजित परिष्कारका विरुद्ध उनी बारम्बार बोल्छन् र उनको कवित्व पनि सहज प्राकृत भएर बहन्छ ।’
सहज, स्वाभाविक, प्राकृतिक कलाका पक्षपाती देवकोटा जस्ता महाकविलाई कविताको परिमार्जन मन पर्दैनथ्यो । विराट कल्पनाशक्ति र भाववेगको तीव्रताका कारण भाव–सम्प्रेषणका लागि नयाँ–नयाँ शब्दका नव–विधानतर्फ उहाँ अग्रसर हुनुभयो । त्यसकारण यदा–कदा व्याकरणका सीमा पनि उहाँले पार गर्नुभएको छ । उहाँका काव्यकृतिमा परिष्कार र परिमार्जनको अभाव पनि देखापर्छ । कहीँ–कहीँ शैलीगत क्लिष्टता भावगत दुरुहता, दुर्बाेधता र अति संस्कृतमय भाषा–प्रयोगका कारण जटिलता पनि देखापर्छ तर कविले आफ्नो बानी अनुसार जे लेख्यो, लेख्यो । त्यसलाई फेरि दोहो¥याएर हेर्ने, संशोधन, परिवर्तन वा परिष्कार गर्ने बारेमा कहिल्यै विचार गर्नुभएन । ‘वेगमय धाराप्रवाहको रूपमा उहाँका लेखनी अवाध गतिले निरन्तर गतिशील रह्यो । कविभित्र निहित विराट काव्य–प्रतिभालाई संशोधन, परिष्कार र परिमार्जन न त मनै पर्दथ्यो न यसका लागि कविलाई फुर्सद नै थियो । यस सन्दर्भमा कविका कथन मननीय छ, ‘राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ ।’ यही कारण हो कि असाधारण आशुकवित्व प्राप्त देवकोटाका नैसर्गिक कला प्रशस्त सरस, रोचक, रमणीय, प्रभावशाली भए पनि यत्रतत्र अपरिष्कृत
रहेका छन् ।
सजीव चित्रण देवकोटा–काव्यको प्रमुख विशेषता हो । जुन अद्भुत किसिमले उहाँ भाव अनुरूप छानी–छानी एउटा–एउटा शब्द राख्नुहुन्छ, त्यस्तै चित्रण कलामा पनि उहाँका शक्ति र कौशलता अद्वितीय देखिन्छ । शब्दहरूको अपूर्व ज्ञान भएकाले कुनै पनि चिजको अत्यन्त सटिक र स्वाभाविक वर्णन गर्नमा उहाँ सिद्धहस्त हुनुहुन्छ । ‘शाकुन्तल’ महाकाव्यमा वर्णित प्राकृत सौन्दर्यको सजीव चित्रण हामीले आफ्नै आँखाबाट हेरेको जस्तै अनुभव गर्छौं । ‘भिखारी’ कविता पढ्ने बेलामा हाम्रो अगाडि साँच्चिकैको एउटा कृशकाय, दीन–हीन भिखारी उभिएको हुन्छ । ‘महाराणाप्रताप’ मा युद्धको वर्णन त्यत्तिकै सजीव रूपमा प्रस्तुत भएको छ । ‘गाइन तिनले घँसिया गीत’ पनि चित्रणको सजीवताको दृष्टिले अपूर्व छ ।
कवि देवकोटा कल्पनाका महान धनी हुनुहुन्छ । उहाँका विराट कल्पनाशक्तिले नै उहाँलाई एउटा असाधारण प्रतिभाको कविका रूपमा हामी समक्ष प्रतिष्ठित गरेको छ । उदाहरणका लागि ‘गाइन तिनले घँसिया गीत’, ‘बादल’ जस्ता कवितामा कल्पनाका भव्य उडान अभूतपूर्व छ । ‘शाकुन्तल’ महाकाव्यमा पनि उहाँ कल्पनाका कुवेर र संवेदनशील हृदयका भावुक कविको रूपमा देखा पर्नुहुन्छ ।
कविको कल्पना जति सुन्दर छ, त्यस कल्पनाको भाव पनि त्यत्तिकै मङ्गलमय छ । यसै भव्य र उदात्त कल्पनालाई माध्यम बनाएर कविले साहित्यमा सत्यम्, शिवम् र सुन्दरम्का उपासना गर्नुभएको छ । कविका काव्यहरूमा अनुभूति र कल्पनाका सुन्दर समन्वय पाइन्छ । हार्दिकता र भाव–सौन्दर्यको दृष्टिले ‘शाकुन्तल’ को महत्ता अक्षुण्ण छ । कवि हृदयस्पर्शितालाई नै काव्यका साध्य मान्नु हुन्छ र आफ्नो यस सिद्धान्तका पालना उहाँले निष्ठापूर्वक आफ्नो काव्यहरूमा गर्नुभएको छ ।
सौन्दर्य–बोध कविका काव्यहरूका अन्यतम विशेषता हो । कवि सौन्दर्यका असल पारखी हुनुहुन्छ । जुन सौन्दर्यले कविलाई अभिभूत गर्न सक्यो, त्यस सौन्दर्यानुभूतिलाई अत्यन्त मार्मिक, सरल, मधुर र आकर्षक ढङ्गले प्रस्तुत गर्नु, कविको प्रमुख विशेषता हो ।
कविद्वारा प्रयुक्त भाषा–शैलीमा सरलता र सहजताका साथै अद्भुत प्रवाह पनि सहजै देखापर्छ । नवयुगको सिर्जनाका लागि कवि परिवर्तनको आवश्यकता महसुस गर्छ । निद्रित नेपाली जनताका उद्बोधनका लागि ‘परिवर्तन’लाई सम्बोधित गर्दै कविले जुन ओजस्वी भावना अभिव्यक्त गर्नुभएको छ, त्यसमा एउटा विशेष प्रवाह र जन–जनका तन–मन झङ्कृत गरी दिने एउटा असाधारण प्रतिभा देखिन्छ, जुन अपूर्व छ ।
कविलाई अनेकौँ भाषाको गहिरो ज्ञान थियो । अङ्ग्रेजी र संस्कृत भाषामाथि त उहाँका पूर्ण अधिकार थियो नै, साथै हिन्दी, बङ्गला, नेवारी, उर्दू, फ्रेन्च र जर्मन आदि भाषाको पनि उहाँलाई भरपूर ज्ञान थियो । यसका अतिरिक्त चिनियाँ, रुसी तथा तमिल भाषाप्रति पनि उहाँको गहिरो अभिरुचि थियो । यति मात्रै होइन तामाङ भाषामा पनि उहाँले कविता लेख्ने प्रयास गर्नुभएको थियो । स्मरणीय के छ भने नेपालका तत्कालीन प्रधानमन्त्री पद्म शमशेरको स्वागत–अभिनन्दनका लागि उहाँले नौ भाषामा (संस्कृत, नेपाली, हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, नेवारी, बङ्गला र उर्दूमा) ‘नव भावोद्गार’ शीर्षक कविता लेख्नुभएको थियो ।
रसको अभिव्यञ्जनामा कविलाई पूर्ण सफलता प्राप्त भएको छ । मूलतः कवि देवकोटा शृङ्गार र करुण रसका कवि हुन् । उहाँको ‘शाकुन्तल’ महाकाव्य शृङ्गार र करूण रसले परिपूर्ण छ । ‘मुनामदनमा’ पति–पत्नीको वियोग र आमा–छोराका वियोग वर्णनमा करूण रसका अत्यन्त दारुण दृश्य उपस्थित भएको छ । ‘भिखारी’ कविता करुण रसका जीवित तस्बिर हो । करुणता र सहृदयता उहाँका कृतिमा अबाध रूपले बगेको देखिन्छ ।
शृङ्गार र करुण रसका अतिरिक्त उहाँका कवितामा हास्य, वीर, बीभत्स, भयानक, शान्त, अद्भुत, रौद्र, भक्ति र वात्सल्य आदि रसको पनि सुन्दर परिपाक भएको पाइन्छ । ‘महाराणा प्रताप’ धीर रस प्रधान महाकाव्य हो । ‘नवरस’ शीर्षक कवितामा कविले क्रमशः शृङ्गार, शान्त, बीभत्स, भयानक, वीर, हास्य, अद्भुत, करुण र रौद्र रसलाई विषयवस्तु बनाएर आफ्नो बहुमुखी प्रतिभाको परिचय दिनुभएको छ । यसप्रकार विभिन्न मानव मनस्थितिहरूसँग सम्बद्ध प्रायः सबै रसका निरुपण कविले सहज, स्वाभाविक ढङ्गले गर्नुभएको छ ।
अलङ्कार प्रयोगमा कवि देवकोटा अत्यन्त सफल देखापर्नुहुन्छ । कविता–कामिनीका अलङ्करणका लागि उहाँले अलङ्कारको प्रयोग कदापि पनि गर्नुभएको छैन । आफ्नो भित्री हृदयका भावलाई अभिभूत गर्ने क्रममा उहाँले नैसर्गिक रूपमा अलङ्कारको प्रयोग गर्नुभएको छ । कविले उपमा, रूपक जस्ता स्वाभाविक अलङ्कार ज्यादै प्रयोग गर्नुभएको छ र त्यसका सुन्दर निर्वाह पनि भएको पाइन्छ । उदाहरणका लागि ‘मुनामदन’को प्रस्तुत पङ्क्ति ‘कमल झैँ फुलेकी, जून झैँ खुलेकी ।’ यस प्रकार उपमा र उपमेयका प्रयोगले कविताको सौन्दर्य खुब बढेको छ । ‘शाकुन्तल महाकाव्यमा पनि मालिनी नदीको तटस्थित महर्षि विश्वामित्र–तपोवनका वैभव वर्णनमा यस्ता स्वाभाविक अलङ्कारको प्रयोग भएको देखिन्छ । यत्रतत्र कविले श्लेष अलङ्कारको प्रयोग पनि गर्नुभएको छ । यस्तै अन्त्यानुप्रासका पनि कविले सफल प्रयोग गर्नुभएको छ ।
कलात्मकताको प्रवृत्ति पनि देवकोटा काव्यका मूलभूत विशेषता हो । ‘छायासँग कुरा’ मा सङ्कलित ‘झर्ना झरेको’ शीर्षक कवितामा कलात्मकताका प्रयोग अत्यन्त सुन्दर ढङ्गले भएको देखिन्छ ।
ध्वन्यात्मकताको दृष्टिले देवकोटाका कविताहरू अद्वितीय छन् । ‘महाराणा प्रताप’का युद्ध–वर्णन प्रसङ्गमा बन्दुक आदि शस्त्रहरूका आवाज आफ्नै कानले सुनेको जस्तो आभास हुन्छ । त्यस्तै ‘सुन्दरी जल’ शीर्षक कवितामा पहाडबाट प्रवाहित निर्झरको सङ्गीत लहरी हृदयलाई विशेष आनन्दले परिपूर्ण गरिदिन्छ ।
मानवीकरण शैलीलाई पनि देवकोटाले बडो आकर्षक र सफल ढङ्गले प्रयोग गर्नुभएको छ । सन्ध्याका मानवीकरणले सन्ध्या–सुन्दरीका अनुपम एवं अद्वितीय सौन्दर्यलाई कविले अत्यन्त आकर्षक ढङ्गले प्रस्तुत गर्नुभएको छ र कविले अङ्ग्रेजीका साँनेटको आधारमा ‘सम्झना’ शीर्षक कविता लेख्नुभएको छ । यस्तै उहाँका ‘म्हेन्दु’ अङ्ग्रेजी ‘ब्यालेड’ ढङ्गमा आधारित छ ।
देवकोटा काव्यमा हामी साङ्केतिकताका प्रवृत्ति पनि पाउँछौँ । ‘प्रश्नोत्तर’ शीर्षक कवितामा प्रश्नोत्तर शैलीमा जीवनका उच्च आदर्शलाई कविले दर्शाउनुभएको छ । यस कविताका भाषा र शैली साङ्केतिक छन् । यस्तै प्रतीकात्मक प्रवृत्ति पनि देवकोटाको काव्यमा प्रचुर मात्रामा उपलब्ध छन् ।
छन्दको क्षेत्रमा पनि देवकोटाका असधारण अधिकार देखापर्छ । भाव सौन्दर्य र कल्पना–सौन्दर्यका साथै उहाँका काव्यमा छन्द सौन्दर्य पनि अबाध गतिले बगेको पाइन्छ । उहाँले विभिन्न छन्दमा काव्य रचना गर्नुभएको छ । वार्णिक छन्द, मात्रिक छन्द तथा लोक छन्दमा उहाँले धेरै कविता लेख्नुभएको छ । उहाँका छन्दमा लयात्मकता र सङ्गीतात्मकता छ । उहाँका कविताहरूमा लय, छन्दका साथ एकाकार भएको देखिन्छ । ‘शाकुन्तल’, ‘सुलोचना’ जस्ता महाकाव्यमा उहाँले वार्णिक छन्दको सुन्दर प्रयोग गर्नुभएको छ । त्यस्तै मात्रिक छन्दका दृष्टिले देवकोटा सर्वश्रेष्ठ नेपाली कविको रूपमा प्रसिद्ध हुनुहुन्छ । ‘भिखारी’, ‘घाँसी’, ‘परिवर्तन’ जस्ता उहाँका अनेक प्रसिद्ध कविता उहाँले मात्रिक छन्दमा लेख्नुभएको छ । लोक छन्दका अपूर्व उदाहरण ‘मुनामदन’ हो । वस्तुतः लोकछन्दलाई कविता–क्षेत्रमा उत्कर्षता प्रदान गर्नु देवकोटाको ठूलो उपलब्धि हो । ‘मुनामदन’मा लोकछन्द ‘झ्याउरे’ को प्रयोग गरेर उहाँले एकसाथ रसमाधुर्य, गीतिमयता र सङ्गीतात्मकताका सम्यक निर्वाह गर्नुभएको छ । झ्याउरे लोकगीतको सरसता, मादकता र सहजताले ‘मुनामदनका एक–एक शब्द ओतप्रोत छन् र समस्त नेपाली जनताका हृदयलाई अभिभूत गर्नमा सफल भएको छ । यस्तै सङ्गीतात्मकता र गीतात्मकताका सुन्दर समन्वय ‘सुन्दरी जल’ जस्ता कवितामा भएको छ ।
गद्य कविताको क्षेत्रमा पनि कविका अद्भुत सिर्जनशील प्रतिभा प्रस्तुत भएको छ । खास गरेर कविका उत्तरवर्ती काव्यकृतिहरूमा गद्य कविताका क्षेत्रलाई उहाँले अत्यन्त उर्वर बनाइदिनु भएको छ । हुन त गद्य कविताको प्रारम्भ ‘साँढे’ शीर्षक कविताबाट भएको भनिन्छ । ‘बाघले बच्चा किन खान्छ’, ‘प्रभुजी मलाई भेडो बनाऊ’, तथा ‘भाँचू कि मेरो कलम’ जस्ता कविताहरूमा गद्य कविताको प्रारम्भिक रूप देखापर्छ । जुन क्रमशः प्रौढ भएर ‘पागल’, ‘ज्वर शमना प्रकृति’, ‘झन्झा प्रति’, ‘हुरीको गीत’ र ‘दाल भात डुकु’ जस्ता कवितामा परिष्कृत र प्राञ्जलरूपमा देखापर्छ । कलात्मक र काव्यत्मकताको दृष्टिले गद्यका क्षेत्रमा ‘पागल’ शीर्षक कविता अद्भुत छ । यसप्रकार देवकोटाले छन्दका परम्परागत बन्धनलाई तोडेर नेपाली कविता–कामिनीलाई नयाँ छन्दले सुसज्जित गर्नुभयो ।
स्पष्टतः महाकवि देवकोटाले साहित्यका भाव क्षेत्रमा मात्र होइन अपितु अभिव्यञ्जना पक्षमा पनि नयाँ प्रयोग गर्नुभयो । कविका भाषा–शैलीमा कविका आफ्ना निजी मौलिक छाप छ । उहाँका निजी भाव, निजी कवि व्यक्तित्व सर्वत्र अक्षुण्ण छ । उहाँका सक्षम, सशक्त भाषा–शैली ओजस्वी हुनाका साथै हार्दिकता, काल्पनिकता र श्रेष्ठ काव्य–कौशलताले ओतप्रोत छ । नेपाली साहित्यका यी महान् प्रतिभाप्रति हार्दिक श्रद्धाञ्जलि ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?