logo
२०८१ बैशाख ५ बुधवार



जात व्यवस्थाविरुद्ध मेरो प्रेम

कला |


जात व्यवस्थाविरुद्ध मेरो प्रेम


 कविता नेपाल

म सनातनी हिन्दु ब्राह्मण परिवारमा जन्मिएँ । यस्तो परिवारमा जन्मेकी महिलाको हालत कस्तो होला ? अनुभवीलाई थाहै छ । मेरो स्वभाव सानैदेखि अलि विद्रोही खालको थियो । घर परिवारले भन्ने गर्थे, यसो नगर, उसो नगर, त्यो लगा, त्यो नलगा । मलाई यस्तो बन्देज स्वीकार्य हुँदैनथ्यो । लागेको कुरा गरिछाड्ने स्वभाव थियो ।
झापा सदरमुकाम चन्द्रगढीस्थित मेरो गाउँमा सबै जातजातिको बसोवास थियो । तर ब्राह्मण समुदायको बाहुल्य थियो । त्यही भएर ब्राह्मण कुलमा जन्मिएका धेरैको बाध्यता थियो, ‘संस्कारी’ भएर बस्नुपर्ने ।
गाउँमा दलित समुदायको पनि बसोवास थियो । उनीहरूमाथिको उचनिच र विभेद त्यो बेला झन् बढी थियो । मलाई यस्तो विभेद असह्य हुन्थ्यो । उनीहरू कथित उपल्लो जातिकहाँ श्रम गरेर पसिना बगाउँथे र आफ्नो छाक टार्थे । उनीहरूको श्रमबिना हाम्रो खेत बाँझो हुन्थ्यो । उनीहरूले लुगा नसिउने हो भने दसैँमा हाम्रो आङ
नाङ्गो हुन्थ्यो । उनीहरूले खुकुरी, हँसिया, हथौडा नबनाइदिने हो भने हाम्रो खेतीपाती र घर व्यवहार नै चल्दैनथ्यो । तर उनीहरू समाजमा सधैँ उपेक्षित थिए । मन्दिर छिर्न पाउँदैन थिए । कसैका बिहेलगायत शुभ कार्यमा अलग्गै बस्न बाध्य हुन्थे । यो समस्या मेरो गाउँमा अझै उस्तै छ । थोरै पनि कम भयो भन्ने मलाई लाग्दैन ।
मेरा छिमेकी थिए, मानबहादुर विश्वकर्मा । उनलाई गाउँलेहरू माने भनेर होच्याउँथे । मलाई यो प्रवृत्ति बिझाउँथ्यो । उनकी छोरी सङ्गीता मेरी दिदीकी साथी थिइन् । उनीसँग मेरो पनि राम्रो सम्बन्ध थियो ।
उनको घरमा हत्तपत्त कोही पुग्दैनथ्यो । एक पटक म अचानक उनको घर गएँ । उनको परिवार छक्क प¥यो । भित्र भान्सामा पाकेको मासु मगमग बास्ना आइरहेको थियो । म पुग्दा खाना खान ठिक्क परेका रहेछन् । मलाई सङ्गीता दिदीले भनिन्, ‘मासु पकाको छ, चाख्छौ ?’
मैले उनको अनुरोध स्वीकारँे । एक कचौरा ल्याएर दिनुभयो । मैले मीठो मानेर कपाकप खाएँ । उनीहरू मैले खाएको हेरेको हे¥यै भए । मीठो लागेर मैले सोधेँ, ‘केको मासु हो ?’ सङ्गीता दिदीले जबाफ दिइन्, ‘सुँगुरको ।’ उनकी आमा (माल्दिदी) सुर्तीको धुवाँ उडाउँदै मजाले हाँसिन् र भनिन्, ‘नानीलाई मार्ने भए पण्डित बाजेले ।’ मैले भनँे, ‘कसरी थाहा पाउँछन् र मैले सुँगुरको मासु खाको भनेर ।’ जिब्रो पड्काउँदै म निस्किएँ । घर पुग्दासम्म मासुको स्वाद मेरो जिब्रोमा झुन्डिरहेकै थियो ।
स्कुल पढ्दादेखि नै नाटकहरू गर्थें । २०५६ सालतिर सरस्वती पूजाको बेला गाउँमै नाटक गर्ने भइयो ।
‘उजाडिएको सिउँदो’ भन्ने नाटक मैले लेखँे । सबै मिलेर अभिनय ग¥याँै । गाउँमा सबैले तारिफ गरे ।
पछि पनि धेरै नाटकहरू गरियो । मूलतः जातीय विभेद, एकल महिलाका अधिकार जस्ता विषय नाटकका मूल थिम हुन्थे । म अभिनय पनि गर्थें । नाटक गर्न मज्जा लाग्थ्यो । परिवारको समर्थन पनि थियो । कान्छा दाजुका साथी रङ्गकर्मी कृष्ण अनमोलको हौसलाले पनि नाटक क्षेत्रप्रति म उत्साहित भएकी थिएँ । त्यस उप्रान्त मैले नाटक छाडेकी छैन ।
२०६० मा म उच्च माध्यमिक अध्ययनका लागि काठमाडौँ गएँ । मदन भण्डारी कलेजमा पत्रकारिता पढ्थँे । कलेजबाट हामी सानो पत्रिका पनि प्रकाशित गथ्र्यौं । त्यही क्रममा मनोक्रान्तिका अभियन्ता डा. योगी विकासानन्दको अन्तरवार्ता लिने मौका मिल्यो । उहाँको विचारले प्रभावित भएँ । पछि मनोक्रान्ति शिविरमै केही समय बिताएँ । मनोक्रान्तिमा गई भनेर बुवा र दाजुहरू रिसाउनुभयो । एक किसिमले म परिवारको बहिष्करणमै परेँ ।
मनोक्रान्ति अभियानमा देशका विभिन्न ठाउँ पुगियो । त्यही क्रममा आफ्नो गृह जिल्लामा पनि कार्यक्रम किन नगर्ने भनेर म २०६५ को अन्त्यतिर झापा आएँ । त्यही क्रममा पत्रकार पर्वत पोर्तेलसँग भेट भयो । उनी दलित समुदायका थिए । पछि उनैसँग बिहे गर्ने टुङ्गोमा पुगँे ।
मैले जातको पर्वाह गरिनँ । अन्ततः २०६७ सालमा हामीले भागेर बिहे ग¥यौँ । दलितसँग बिहे गरेको कुरा भुसको आगोझैँ फैलियो गाउँमा । कविताले कामीसँग बिहे गरी भनेर गाउँभरि ढोल पिटियो । मैले रोजेर गरेको बिहेप्रति परिवारको साथ थिएन । समाजको त कुरै छाडौँ । मैले
रोजेको मान्छेसँग म खुसी छु भने परिवार वा समाजले मान्यता नदिनुको कुनै अर्थ थिएन । जिन्दगी मैले बिताउने पो हो त ! मेरो जीवनबारे निर्णय गर्नु मेरो निजी अधिकार हो ।
जन्म कहाँ र कसको कोखमा हुने भन्ने कुरा
कसैको अधीनमा हुँदैन । दलित परिवारमा जन्मनु पर्वतजीको दोष थिएन । मैले रोजेको मान्छेका कारण माइती, आफन्त, कुलकुटुम्ब सबै मसँग रुष्ट भएँ । उनीहरूले मान्छे होइन जात हेरे । मैले जात हेरिनँ, मान्छे हेरेँ । उनीहरू र मबीचको फरक यति थियो ।
नेपाली समाजमा जात यसरी गढेर बसेको रहेछ जसलाई दिमागबाट निकालेर मिल्काउन त परको कुरा, निकाल्नेबारे सोच्नसमेत सक्दैनन् धेरैले । मैले जातलाई कहिल्यै प्राथमिकता दिइनँ । व्यक्तिको प्रतिभा, क्षमता, सोच र विचारलाई मात्रै प्रथम स्थानमा राखँे । त्यसकारण मैले त्यस्तै मान्छेलाई जीवनसाथी रोजेँ जो जन्मका हिसाबले दलित थियो ।
बिहे भएको एक दशक बित्यो । यसबीच मेची नदीमा धेरै पानी बग्यो । तर जातीय अहङ्कार र सोच यथावत छ । नयाँ पुस्ताको आगमनसँगै यो कुरीति सकिनेछ भन्ने धेरैले ठान्छन् । तर किन हो म त्यो सम्भावना अत्यन्त क्षीण देख्छु । युवापुस्तामा झनै यो कुरीति झाँगिदै गएको छ । जातिभेद हटेर जानेभन्दा पनि पुस्तान्तरण भइरहेको छ ।
जातका कुरा गर्नेबित्तिकै दलितसँग बसेर खाएको, पिएको छु भन्ने धेरै सुनिन्छ । दलितसँगै बसेर खाएको भरमा सार्वजनिक ठाउँमा आफूलाई क्रान्तिकारी ठान्ने र ऐनमौकामा जातिवाद नछोड्ने प्रवृत्ति हामीकहाँ साधारण प्रवृत्तिका रूपमा देखिन्छ । त्यो जति ठूलो ढोँग अरू के होला ? पश्चिम रुकुमकै घटना हेरौँ । नवराज विक
मारिनुको मूल कारण जात थियो । तर आफूलाई उच्च जाति मान्नेहरूले त्यो स्वीकार्नै चाहेनन् । नवराज विकको ठाउँमा नवराज शर्मा वा नवराज राणा भएको भए त्यो हत्याकाण्ड हुन्थ्यो ? अवश्य हुँदैनथ्यो ।
जात व्यवस्था नमासेसम्म देशका करिब ६० लाख दलितको मुक्ति सम्भव छैन । मूलतः हिन्दु वर्णाश्रम व्यवस्थाको उपज हो जात व्यवस्था । जसले हिन्दु धर्मलाई आफ्नो मूल धर्म मान्छ, निश्चित रूपमा उसले जात प्रथा मान्छ । २०२० को मुलुकी ऐनमै छुवाछुत प्रथा अन्त्यको घोषणा भएको थियो । देश छुवाछुत मुक्त गणतन्त्र घोषित भइसकेको छ । संविधानले नै जातिभेदलाई दण्डनीय मानेको छ । तर आज पनि अवस्था किन उस्तै छ ? हामी धर्मनिरपेक्ष गणतान्त्रिक मुलुकका नागरिक हौँ । तर पनि नवराज विक, अङ्गिरा पासी, अजित मिजारहरू अझै किन मारिइरहेका छन् ?
संविधानको प्रस्तावनामै जातीय विभेद गर्न नपाइने उल्लेख छ । धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार वा बहिष्कार गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपियाँदेखि पच्चीस हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुँदा छुवाछुतजन्य सामाजिक अपराध गर्नेहरूलाई दण्ड वा सजाय एकदमै न्यून रूपमा मात्रै भइरहेको छ । धेरैजसो छुवाछुतका घटनामा गाउँमै मिलापत्र गर्ने प्रथा छ जसले गर्दा जातका आधारमा छुवाछुत गर्ने, हेप्नेहरू अहिले पनि ‘मैले जसलाई जे गरे पनि कसैले केही गर्न सक्दैन’ भन्ने ठान्छन् । कुनै जात विशेषमा जन्मेकै कारण उसलाई आत्मसम्मानपूर्वक बाँच्न नदिनेजति घृणित चलन अरू के होला ? दलितको समस्या सम्पूर्ण मानव समुदायकोे समस्या हो । तर हाम्रो बुझाइ त्यस्तो छैन । केही उपबुजु्रकहरू दलित समस्या समस्या नै होइन भन्छन् । यो विचार पूर्णतः गलत छ । पुरातन विचार राख्नेले त जात व्यवस्थालाई समाज मर्यादित राख्ने प्रणाली ठान्ने नै भए । उन्नत मानवीय समाज निर्माणका लागि सचेत सबैले प्रहार गर्नुपर्ने विन्दु नै त्यही हो । जात व्यवस्थाको अन्त्यबिना दलित मात्र होइन आफूलाई सवर्ण ठान्ने जाति पनि मुक्त हुँदैन ।

(नेपाल परिवर्तन थियटर, झापाकी अध्यक्ष तथा नाटक निर्देशक हुन् ।) 

मधुपर्क, असोज कात्तिक २०७७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?