logo
२०७७ कार्तिक ६ बिहीवार

थरीथरीका गुलाफ

शनिवार |


2020-10-17-24890


गोपाल अश्क


अचानक एक रात रामलाल यादव हरायो । कहाँ गयो ? कोसित गयो ? किन गयो ? कसैलाई केही थाहा भएन । अरूलाई त अरूलाई, उसकी श्रीमतीलाई समेत थाहा भएन । ऊ घरबाट बाहिरिएपछि रमपतिया अर्थात् उसकी श्रीमतीको जीवन झनै कष्टकर भयो । एउटा छोरो थियो गोपी, ऊ सानै थियो । ऊ आफ्नी आमालाई रुँदै गरेको बेला ‘नरुनु आमा, किन रुनु भा’को ?’ भन्नुको साटो ‘आमा ! बाबा कहिले आउनुहुन्छ ? उहाँ कहाँ जानु भा’को ? किन जानु भा’को ? आदि प्रश्न गर्न थाल्थ्यो । छोराको प्रश्न सुनेर आमा रुन बिर्सिन्थिन् र जवाफ दिने प्रयत्न गर्थिन्, ‘तिम्रो बाबा, सहर जानु भा’छ । आउनुहुन्छ । छिट्टै आउनुहुन्छ । तिम्रा लागि नयाँ लुगा लएर आउनुहुन्छ । तिमीलाई परार सालको मेलामा मन परेको त्यो कालो बन्दुक पनि ल्याइदिनुहुन्छ ।’
‘अनि, तपाईंका निम्ति नि ?’ गोपीले आमालाई सोध्ने गथ्र्यो ।
छोराको यस्तो प्रश्नमा रमपतिया केही बोल्न सक्दिनथिन्, चुपचाप हेरिरहन्थिन् । बरु आँखामा आँसु देखिन थाल्थे । आँसु भरिएको आँखाले उनी ढोकाबाहिरको बाटोतिर हेर्न थाल्थिन् ।
कैयौँ दिन बिते, कैयौँ रात बिते । तर रामलालको कुनै अत्तोपत्तो लागेन । गाउँघरमा कुरा सुनिन थाल्यो, ‘खोइ, रामलाल कहाँ बेपत्ता भयो भयो ? चार वर्ष भइसक्यो । तर उसकी श्रीमतीको हालत देखेर माया लाग्छ । कोहीसँग बोल्दिनन्, सधैँ चुप रहन्छिन् । डर लाग्छ, उनी कहीँ पागल नभइहालून् । छोरो त छ, तर सानै छ, पढ्ने–लेख्ने, खेल्ने–कुद्ने समय हो उसको । बिचरो, आमाबुबा छँदाछँदै टुहुरो भइहाल्यो ।’
रमपतिया र उसको छोराको जीवन अरूको खेतबारी र घरपरिवारमा काम गरेर हुने आम्दनीबाट बित्न थाल्यो । गाउँघरमा एकाध ठूलाबडाबाहेक कसैको घरपरिवारमा बाह्रै महिना काम गर्ने वातावरण हुँदो रहेनछ । आवश्यक परेको बेला मात्र यसो कसैलाई बोलाएर काम गराउने गरिन्छ । खेतीपातीको मौसममा त सजिलै काम पाइन्छ तर अन्य बेला काम पाउन निकै गाह्रो हुन्छ । त्यसमा पनि रमपतियाले गर्न सक्ने काम गाउँमा पाउन झनै गाह्रो । रमपतिया र उसको छोरोको जीवन भोक, गरिबी, दुःख र पीडामा बित्न थाल्यो । उनको घर नछाएको धेरै भइसकेको थियो, वर्षातको मौसममा चुहिन थालेको थियो । रमपतियाको जीवन उनको श्रीमान् फर्किने आसमा रित्तिन थालेको थियो ।
धेरै दिनपछि, एक रात रमपतियाको घरको ढोका कसैले ढक्ढकायो । ‘यो आधी रातमा को आयो’ भन्दै रमपतियाले ढोका खोलिन् । ढोका खोलेपछि उनले आफ्नो अगाडि एक जना अपरिचित पुरुषलाई देखेर डराउँदै सोधिन्, ‘हजुर ! को हो तपाईं ? मैले त चिनिनँ नि !’
पहिला मलाई भित्र आउन दिनुस्, अनि म तपाईंलाई सबै कुरो भन्छु ।’ आधा रातमा आउने त्यो व्यक्तिले भन्यो ।
‘नाइँ, तपाईं अहिले जानुस् । भोलि बिहान आउनुहोला । मैले तपाईंलाई कहिल्यै देखेकै छैन, चिन्दै चिन्दिनँ, अनि कसरी भित्र आउन दिऊँ ।’ रमपतियाले भित्र पस्न दिइनन् ।
‘के तपाईं आफ्नो श्रीमान् रामलालको बारेमा जान्न चाहनुहुन्न ?’ त्यो अपरिचित व्यक्तिको मुखबाट आफ्नो श्रीमान्को नाउँ सुनेपछि रमपतिया व्याकुल भइन् र सोधिन्, ‘तपाईंलाई मेरो श्रीमान्को बारेमा के थाहा छ ?’
‘हेर्नुस्, मेरोपछाडि आर्मी–पुलिस लागेका छन् । म उनीहरूलाई छलेर बडो मुस्किलले तपाईंकहाँ आइपुगेको छु । मसँग धेरै समय पनि छैन । म तपाईंको श्रीमान्को साथी हुँ । भित्र आउनु दिनुस् । म केही कुरा गरेर फर्किहाल्छु ।’ त्यो व्यक्तिको कुरा सुनेपछि रमपतिया झनै भयभीत भइन् । तर चार वर्षपछि श्रीमान्को बारेमा कोही केही भन्न आएको थियो, त्यसैले उनले आफूलाई रोक्न सकिनन् र त्यो व्यक्तिलाई भित्र आउन दिइन् ।
त्यो व्यक्ति भित्र पस्यो । उनी एकातिर उभिइन् । त्यो व्यक्तिले एक गिलास पानी माग्यो । उनले उसलाई एक गिलास पानी खान दिइन् । त्यो व्यक्तिले अलिक पनि विलम्ब नगरेर भन्न थाल्यो, ‘हेर्नुस् रमपतिया भाउजू ।’ त्यो व्यक्तिको मुखबाट आफ्नो नाउँ सुनेर उनले झन् आश्चर्यचकित हुँदै सोधिन्, ‘तपाईंलाई मेरो नाउँ कसरी थाहा भो ?’
‘थाहा छ, भाउजू मलाई तपाईंको नाउँ । तपाईंको छोरा, तपाईंका दाजुभाइबारे सबै थाहा छ किनभने म तपाईंको श्रीमान् रामलालको धेरै मिल्ने साथी हुँ । हामी दुवै जना लोकतन्त्र र गणतन्त्र स्थापनाको लडाइँमा एकसाथ लागेका छौँ । त्यही क्रममा हामी कहिले कता त कहिले कता पुगिराखेका हुन्छौँ’, अपरिचितले भने ।
‘तपाईं माओवादी हो ?’ रमपतियाले थरथर काम्दै सोधिन् । ‘हो, म माओवादी हुँ । म मात्र होइन, तपाईंको श्रीमान् पनि माओवादी हो । डराउनु पर्दैन भाउजू, हामी पनि मान्छे नै हौँ, हाम्रो छातीमा पनि मुटु छ । हामीलाई पनि अन्य प्राणीझैँ दुःखमा दुःख लाग्ने गर्छ र खुसीमा खुसी ।’
‘अनि उहाँ खोइ त ? उहाँ कहाँ हुनुहुन्छ ? चार वर्ष भइसक्यो, उहाँको अत्तोपत्तो छैन । एक रात अचानक घरबाट कसैलाई केही नभनेर बाहिरिनु भा’ हो । कता हराउनुभो ? कहाँ जानुभो ? केही थाहा भएन । आकाशले निल्यो कि पातालले, थाहै भएन ।’ बोल्दाबोल्दै रमपतियाका आँखाबाट आँसु झर्न थाले । ‘भाउजू, उहाँ अहिले जेलमा हुनुहुन्छ । उहाँ घरबाट निस्केर जङ्गलमा हामीकहाँ आइपुग्नुभो । हाम्रो पार्टीमा सामेल हुनुभयो । विद्रोही त पहिलादेखि नै हुनुहुन्थ्यो ।’ त्यो व्यक्तिले थप भने ।
‘थाहा छ मलाई । उहाँको त्यै विद्रोही प्रवृत्तिले गर्दा गाउँमा बस्न गाह्रो भा’थियो । उहाँ कोहीसँग डराउनु हुन्नथ्यो । गाउँमा कसैको अत्याचार, अन्याय सहन सक्नुहुन्नथ्यो । कति पटक गाउँको प्रधानपञ्चसँग झगडा गर्नुभयो, कति पटक सिमाना मिच्यो भनेर, बोडरमा गएर उताका मान्छेहरू र जवानहरूसँग विद्रोह गर्नुभयो । एक पटक उहाँ निकै घाइते भएर घर फर्किनुभाथ्यो । कैयौँ दिनसम्म ओछ्यानमा सुत्नु परेको थियो ।’ पतिका बारेमा रमपतियाले आँसु पुछ्दै भनिन् ।
‘हो भाउजू, त्यसैले उहाँ एक रात घरपरिवार सबै छाडेर जङ्गल पस्नुभो । हामीसँग मिलेर कतिपल्ट दुश्मनसँग लड्नुभो । एकपल्ट त उहाँलाई दुश्मनको गोली नै लाग्यो । केही दिन आराम गरेपछि निको भयो । तर एक दिन उहाँ पक्राउ पर्नुभयो र अहिले जेलमा हुनुहुन्छ’, त्यो व्यक्तिले रमपतियाको पतिबारे जानकारी दिँदै भने ।
‘अनि यतिका दिनपछि तपाईंलाई उहाँको बारेमा जानकारी दिन मन लाग्यो । यो चार वर्षको अवधिमा मेरो के हविगत भा’को छ ? मैले कसरी जीवन बिताएको छु ? अनि उहाँ पनि कस्तो मान्छे, हामीलाई यसरी छाड्ने, हामीलाई पनि लगे भइहाल्थ्यो नि ! जे हुन्थ्यो, हुन्थ्यो, कम्तीमा साथमा त रहन्थ्यौँ’, रमपतियाले आफ्नो पीडा बिसाइन् ।
‘उहाँले मात्र होइन, हामी सबै आफ्नो घरपरिवार, छोराछोरी छाडेर शोषण र दमनकारी सरकारविरुद्ध लागेका छौँ । म पनि गोली खाएर मरणासन्न अवस्थामा पुगेको मान्छे हुँ । बाँच्दिनँजस्तो लागेको थियो तर बाँच्न लेख्या रहेछ । आज हजुरको पतिका बारेमा जानकारी दिन आएको छु । तर भाउजू, चिन्ता नलिनुस्, अब हाम्रो माग पूरा हुने बेला भएको छ । हाम्रो र सरकारबीच शान्तिवार्ता चलिरहेको छ । छिट्टै हामी सबै भूमिगतबाट सार्वजनिक हुनेछौँ, जेलमा रहेका हाम्रा साथीहरू मुक्त हुनेछन् र स्वतन्त्रतापूर्वक आफ्नो जीवन व्यतीत गर्नेछौँ ।’ एकछिन रमपतियाको आँखामा हेरेर त्यो व्यक्तिले फेरि भन्यो, ‘ल भाउजू, म अब जान्छु । केही दिनको कुरा हो । रामलाल दाजु घर आउनुहुन्छ । यत्तिका दिनसम्म दुःखसुख गरेर, व्यथा–पीडा सहेर बस्नुभो, अब केही दिन मात्र हो ।’ यति भनेर त्यो व्यक्ति हिँड्न
खोज्दै थियो । रमपतियाले सोधिन्, ‘तपाईंको नाउँ के हो बाबु ? ‘मेरो मात्र होइन, दाइको नाम पनि फेरिएको छ । मेरो वास्तविक नाउँ निर्मलमणि सापकोटा हो र पार्टीले दिएको नाउँ हो ज्वाला ।’
‘अनि उहाँलाई तपाईंको पार्टीले के नाउँ दिएको छ नि ?’ रमपतियाले सोधिन् । ‘अग्नि ।’ यति भनिसकेपछि ज्वाला बाहिरियो । त्यो व्यक्ति आँखाबाट ओझेल नपरुन्जेल रमपतिया हेरिरहिन् । उनको मनमा श्रीमान् फर्किने आशाको ज्योति बल्न थाल्यो । उनी सोच्दासोच्दै निदाइन् ।
देशमा गणतन्त्र स्थापना भयो । जेल र जङ्गलमा रहेका सारा विद्रोहीहरू सार्वजनिक भए । स्वतन्त्र भए । रामलाल यादव पनि जेलबाट मुक्त भयो । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न थाल्यो । उसले पार्टीमा महŒवपूर्ण स्थान पनि पायो । उसकी श्रीमती र छोराको जीवनबाट दुःख, गरिबी तथा व्यथा र पीडाको बादल हरायो । निर्मलमणि सापकोटा मन्त्री भए । रामलाल पनि मन्त्री भयो ।
उसले आफ्नो जीवनमा विभिन्न पार्टीका कैयौँ पहाडी नेताहरूको मुखबाट तराईमा बस्ने मधेसीहरूबारे नकारात्मक कुरा सुनेको थियो । मधेसलाई आफ्नो राष्ट्रको अभिन्न अङ्ग मान्ने ती नेताहरूले मधेसीहरूलाई अराष्ट्रवादी र अनागरिक मान्ने गरेको तथा त्यसअनुरूप व्यवहार गरेको देखेको थियो । तर अब यसलाई हटाउन निर्मलमणि र रामलालहरू जागे । निर्मलमणि सापकोटाहरू र मधेसमा जवान भएका रामलाल यादवहरूबीच एक दिन संवाद चल्यो । निर्मलहरूले सोधे, ‘रामलालजी, हामीले केही कुरा गर्दा तपाईंहरूको मन किन दुख्छ ? रामलालहरूले जवाफ फर्काए, ‘यही कुरो तपाईंहरूमा पनि लागूू हुन्छ । हामीले पनि केही कुरो गर्दा तपाईंहरूको मन किन चस्स हुन्छ ?’ निर्मलहरूले हाँस्दै भने, ‘चित्त दुःखाउनु पर्दैन, हामी सबै थरीथरीका गुलाफ हौँ । कोही सेता, कोही राता, कोही गुलाफी । हामी सबै बगैँचाका थरीथरी गुलाफ हौँ । यो कुरो हामीहरूले पनि बुझ्नुपर्छ, तपाईंहरूले पनि बुझ्नुपर्छ । अनि मात्र देशको उन्नति र प्रगति हुन्छ ।’ निर्मलमणिको कुरो सुनेर रामलालहरू दङ्ग परे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?