logo
२०८१ बैशाख १३ बिहीवार



लक्षण देखिए मात्रै कोरोना परीक्षण

स्वास्थ्य |
मुख्य समाचार |


लक्षण देखिए मात्रै कोरोना परीक्षण


सरोज ढुङ्गेल

काठमाडौंँ, असोज १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर परीक्षण मापदण्डमा पर्नेलाई मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्बद्ध निकायलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले १२ बुँदे मापदण्ड जारी गरिएको भन्दै कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने बताउनुभयो । ती लक्षणमा ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखाला लागेका व्यक्ति पर्दछन् ।

यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि परीक्षण गर्न सकिनेछ । त्यसैगरी अकस्मात् श्वास प्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आई क्वारेन्टाइनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्नेछन् ।

थपिए सङ्क्रमित
शुक्रबार नेपालमा थप एक हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिलाई कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंँ उपत्यकामा ६४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप छ सङ्क्रमितको मृत्यु भएको छ ।
चिरिबाबु सङ्क्रमित
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना सङ्क्रमण भएको छ ।
प्रमुख महर्जनलाई बिहीबार टाउको दुख्ने समस्या भएपछि पाटन अस्पतालमा परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको हो । उहाँ सानेपास्थित आफ्नै निवासमा एकान्तवास रहनुभएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले दिनुभयो । यसैगरी ललितपुर जिल्लाकै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी पत्नी दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?