logo
२०८० चैत्र १६ शुक्रवार



हिम चितुवा आङरिता शेर्पाको निधन

पढ्नै पर्ने |
खुला |


हिम चितुवा आङरिता शेर्पाको निधन


सोलुखुम्बु, असोज ५ गते । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।

आङरिताको आरोहण यात्रा

सन् १९४८ मा जन्मनुभएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।

आरोहणका क्रममै रहनुभएका आङ्रिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित हुनुभएको थियो ।

दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?