logo
२०८० चैत्र १६ शुक्रवार



दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा  

खुला |


दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा  


  
काठमाडौँ, असोज ४ गते । दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ । आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन बञ्चरेडाँडाको अवलोकन गर्नुभएको छ । अवलोकनपछि उहाँले यही असोज महिनाभित्र ल्याण्डफिल साइटको पहिलो चरणको निर्माण सकिने जनाउँदै आगामी कात्तिक पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने बताउनुभयो ।    

कोरोना भाइरसको कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै राज्यमन्त्री मानन्धरले अब एक महिनाभित्र साइट निर्माण सकिने जिकिर गर्नुभयो । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारले स्यानेटरी ल्याण्डफिल साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्डफिल गर्दा कम्तीमा ५० वर्षका लागि उक्त स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने बताइएको छ ।    

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि त्यसभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरी निर्माण थालिएको हो । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब र कम्तीमा दुई वर्ष समय लाग्ने अनुमान गरिएको छ ।    
उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी काठमाडौँ महानगरबाट पाँच सय मेट्रिक टन फोहर लाने गरिएको छ ।    
हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या नौलो होइन । नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेंसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा ल्याइने गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?