logo
२०८० चैत्र १६ शुक्रवार



श्रम स्वीकृति धमाधम

अर्थ |


श्रम स्वीकृति धमाधम


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते । विश्वव्यापी महामारीका रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका बीचमै ५८ देशमा वैदेशिक रोजगारीमा जानका लागि सात हजार बढीले नेपालीले श्रम स्वीकृति लिएका छन् ।
गत असार १८ गते पुनः श्रम स्वीकृति र गत भदौ १४ गते नयाँ श्रम स्वीकृति खुला गरेपछि भदौ महिनासम्म ती देशमा जानका लागि सात हजार १७१ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कार्यालय ताहाचलले जनाएको छ । जसमा नयाँ श्रम स्वीकृति लिने एक सयभन्दा कम छन् भने बाँकी सबै पुनः श्रम स्वीकृति लिने रहेका छन् ।
कोभिड–१९ को जोखिम स्वदेश र विदेश जताजतै बढेपछि गत फागुन २९ बाट सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो । सो कार्यालयका अनुसार यस अवधिमा छ हजार ६४६ पुरुष र ५२५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
गएको भदौ महिनासम्म विभिन्न ५८ देशमा जानका लागि श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तीन हजार ४६८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै श्रम स्वीकृति लिनेमा दोस्रो कतारका लागि एक हजार ३५३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस अवधिमा मलेसियाका लागि ६३९, जापानका लागि ३८३, साउदी अरेबियाका लागि ३०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुवेतका लागि २१७, ओमानका लागि १३५, बहराइनका लागि १४९, माल्दिभ्सका लागि ७१, पोल्यान्डका लागि ७० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगललगायत अन्य देशका लागि पनि नेपाली कामदारले श्रम स्वीकृत लिएका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले नयाँ श्रम स्वीकृति खोल्ने निर्णय गरेसँंगै वैदेशिक रोजगार व्यवसायी तथा व्यक्तिगततर्फ नयाँ श्रम स्वीकृति लिने क्रम धमाधम भइरहेको जानकारी दिनुभयो ।
रोजगारदाता कम्पनीले श्रमिक लिनका लागि यसअघि भएको सम्झौता अनुसारको सेवा सुविधा दिने प्रतिबद्धता पत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?