logo
२०७७ असोज १४ बुधवार

प्रिय डाक्टर !

शनिवार |


2020-09-12-22456


दीपक ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १३ गते एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भन्नुभयो, ‘...कति सुरक्षाकर्मीलाई कोरोना भयो । कति सेनालाई, कति प्रहरीलाई, कति सशस्त्र प्रहरीलाई, कति स्वास्थ्यकर्मीलाई, कति डाक्टरलाई, कति नर्सलाई ! उनीहरू चुप लागेर घर बसेको भए त सर्दैनथ्यो होला नि ! उनीहरू आफू ‘एक्पोज’ भएर उपचार दिँदाखेरी ज्यान खतरामा परेको छ । अनि ज्यान खतरामा पारेर, आफ्नो ज्यान गुमाएर उपचारमा संलग्न हुने, यसप्रति कृतज्ञ हुनुपर्दैन ?’
आफ्नो ज्यान जोखिममा पारेर पनि उपचारको अग्रमोर्चामा खट्नेहरूप्रति कतिपय अमानवीय हर्कत भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ निकै मननीय छ र अग्रमोर्चामा खट्नेहरूका लागि बलियो आत्मबल पनि ।

अमानवीय शृङ्खला
कुरा गरौँ डाक्टरका र सम्झौँ उहाँहरूमाथि भएका केही अमानवीय शृङ्खला ।
भदौ ६ गते राजधानी काठमाडौँमा एक होस्टेलमा बसिरहेका डाक्टरलाई निकाल्न धम्की दिइएको घटना बिर्सन सकिने प्रकृतिको छैन । नया(ँबानेश्वरमा टोलसुधार समितिका नाममा जम्मा भएको भीडले कोरोनाबाट जोगाउन भन्दै डाक्टरहरू बसेको लर्ड बुद्ध होस्टेल घेरा हाल्न गयो । डाक्टरहरू र स्वास्थ्यकर्मीलाई निकाल्न धम्की दिँदै प्रदर्शन भयो । अवस्था यस्तो पनि आयो कि तनाव रोक्न प्रहरी नै परिचालित हुनुप¥यो । डाक्टरहरूबाट कोरोना सर्ने उनीहरूको तर्क हदै दर्जाको टिठलाग्दो थियो । जब कि कोरोनाबाट अरूलाई जोगाउन दिन–रात खटिरहेका ती डाक्टर र स्वास्थ्यकर्मी सङ्क्रमित थिएनन् ।
०००
पुगौँ चितवनतिर । जहाँ एकपछि अर्को अमानवीय पराकाष्ठा दोहोरिए । ‘डाक्टर चोर देश छोड’ जस्ता नारा लगाउनेदेखि चिकित्सकको घरमा कोरोना सङ्क्रमित भनेर ब्यानर टाँस्ने हर्कतसम्म ।
चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्ड डा. विश्वबन्धु बगालेमाथि भएको दुव्र्यवहार झनै पीडादायी छ । जब डा. बगालेलाई कोरोना सङ्क्रमण भएको हल्ला फैलियो, टोलसुधार समिति हाँकिरहेका भनिएका एक हुल मानिस ‘कोरोना सङ्क्रमितको घर’ नारा लेखिएको ब्यानर बोकेर आए र डाक्टरलाई बाहिर निस्किन दबाब दिए । सोही अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि घरबेटीहरूले छिर्न नदिएका समाचारले त साँच्चै मन खिन्न बनाउँछ ।
डा. बगालेको प्रतिक्रियाले भने कति मन छुन्छ कति, ‘हामीलाई यो बेला हौसला चाहिएको छ । सबैको साथ आवश्यक पर्छ तर यस्तो विषम परिस्थितिमा नै स्वास्थ्यकर्मीमाथि यस्तो व्यवहार गरियो भने कसरी उच्च मनोबलसाथ सेवा दिन सकिन्छ ?’
यी सार्वजनिक भएका केही नमुना उदाहरण हुन् । त्यो पनि सभ्यताको सन्देश दिने ठूला सहरभित्रकै । राजधानी काठमाडौँ, चितवनजस्ता स्थानमा त हालत यस्तो छ । डाक्टरहरू नै तिरस्कृत बन्ने दूषित वातावरण छ । कल्पना गरौँ, कुनाकन्दराको चित्र झन् कति भयावह होला ? जुन घटना सामान्यतया सार्वजनिक हुन पनि गाह्रो छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, आइसोलेसन र क्वारेन्टाइन तोडफोड गर्नेजस्ता संवेदनाहीन घटना जति छन्, ती सबै सार्वजनिक भएकै छैनन् ।

यो पनि नबिर्सौं
स्वास्थ्यक्षेत्रमा पनि चरम बेथिति छन् । सरकारी सुविधा लिएका केही अस्पतालले जोखिमका बिरामी फर्काउने गरेका उदाहरण पनि छन् । कतिपय डाक्टरको लापरवाहीले मानवीय क्षति भएका घटना पनि छन् । सरकारी छात्रवृत्तिमा पढेका केही डाक्टर सरकारले पठाएको ठाउँमा जान अटेर गरेका उदाहरण पनि छन् । त्यसलाई आमप्रवृत्ति मान्न सकिन्न । एकाधको सनक र लापरवाहीलाई आमप्रवृत्ति बनाइनु दुर्भाग्यपूर्ण हो । त्यो पनि विश्वव्यापी महामारीको यस्तो विषम बेलामा । अरूको ज्यान बचाउने डाक्टरलाई नै दुश्मन ठान्ने प्रवृत्तिले हामी कहाँ पुग्दैछौँ ? तिरस्कार, घृणा, अपहेलनाका शृङ्खलाले के सङ्केत गर्छ ? हामीले डाक्टर अथवा स्वास्थ्यकर्मीलाई घिन मान्दा हाम्रो उपचार गर्न पनि उनीहरूले घिन माने भने के होला ? मनोबल बढाउनुपर्ने बेला हतोत्साह गरिँदा उनीहरूले कस्तो उपचार गर्न सक्लान् ? यस्ता प्रश्नका उत्तर त जरुर खोज्नैपर्छ ।

साहसी पात्र
अब कुरा गरौँ, ज्यानको बाजी थापेर उपचारमा संलग्न डाक्टरको दैनिकीबारे । प्रधानमन्त्री ओलीले भन्नुभए जस्तै आफ्नो ज्यान खतरामा पारेर कोरोनाको उपचार गर्दा आफैँ सङ्क्रमित हुने डाक्टर वा स्वास्थ्यकर्मीको सङ्ख्या नेपालमा धेरै छ । प्रदेश ५ मा मात्र झन्डै डेढ सय स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । यहाँका कोरोना विशेष अस्पताल र प्रयोगशालामा मात्र चार सय स्वास्थ्यकर्मी क्रियाशील छन् । अन्य सरकारी र निजी अस्पताल तथा उपचार केन्द्रको हिसाब बेग्लै छ । कोरोनाविरुद्ध अग्रमोर्चामा लडिरहँदा आफू सङ्क्रमित भएर पनि हार नमान्ने बरु साहसका साथ अरू सङ्क्रमितका लागि जीवनदानको अभियान चलाउने डाक्टरको सङ्ख्या बढ्दै गएको छ । प्रदेश ५ का यस्ता केही डाक्टरले देशभरको अवस्थाको प्रतिनिधित्व गर्छन् । विभिन्न ठाउँमा आफूजस्तै डाक्टरको मनोबल गिराउने गतिविधि भए पनि यी पात्रको उच्च मनोबलको प्रशंसा गर्न कन्जुस्याइँ गर्नुहुँदैन ।
प्रदेश ५ का झन्डै डेढ सय सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये प्रतिनिधि पात्र हुनुहुन्छ– प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशङ्कर चौधरी, कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्ड डा. किशोर बन्जाडे, लुम्बिनी प्रादेशिक अस्पतालको नवजात शिशु सघन कक्षका मेडिकल अफिसर डा. साजन श्रेष्ठ, भेरी अस्पतालका फोकल पर्सन डा. सङ्केत रिसाल, मेडिकल डिपार्टमेन्ट प्रमुख डा. राजन पाण्डे, नेपालगञ्ज मेडिकल कलेजका बाल विशेषज्ञ डा. रोमा बोहरालगायत ।
हरेक दिन प्रदेशभरको कोरोनाबारे ‘मिडिया ब्रिफिङ’ गर्ने डा. चौधरी सङ्क्रमणपछि उपचारमै हुनुहुन्छ तर सङ्क्रमितका लागि उच्च मनोबलको सन्देश प्रवाह गरिरहनुभएको छ । सङ्क्रमणमुक्त भएका डा. बन्जाडे र डा. श्रेष्ठ सङ्क्रमितको प्लाज्मा उपचारका लागि रगतदान गर्ने अभियानमा हुनुहुन्छ । उहाँहरूको दैनिकी उपचार गर्नेमा मात्र सीमित छैन, सङ्क्रमितको मनोबल बढाउने, आहारविहारको सल्लाह दिने र प्लाज्मा उपचारका लागि रक्तदान गर्न पूर्वसङ्क्रमितलाई अभिप्रेरित गर्न पनि केन्द्रित छ ।
पूर्वसङ्क्रमित डाक्टरको रगतबाटै यो प्रदेशमा प्लाज्मा थेरापी उपचार विधि सुरु गर्न सम्भव भएको छ । कोरोना ‘हटस्पट’का रूपमा चिनिएको कपिलवस्तुमा अघिल्लो साताको सोमबार पूर्वसङ्क्रमितले गज्जबको माहोल बनाएका थिए । जहाँ नयाँ सङ्क्रमितको जीवन रक्षाका लागि पूर्वसङ्क्रमितले रक्तदान गर्ने कार्यक्रम थियो । त्यो माहोलमा पूर्वसङ्क्रमित तीन डाक्टरसहित १६ जनाले रक्तदान गरे । यस्तो कार्यमा प्लाज्मा थेरापी संयोजक डा. सम्राट पराजुली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ का संयोजक डा. प्रशान्त आचार्यलगायतको सहजीकरण थियो । यो त्यही अस्पताल हो, जहाँ कार्यरत डाक्टरसहित २४ जना सबै कोरोना सङ्क्रमित हुनुभएको थियो । अरू मुक्त भए पनि अझै दुईजनाको उपचार भइरहेको छ । सङ्क्रमणमुक्तपछि पनि सङ्क्रमित बचाउन लागेकादेखि जोखिमविरुद्ध ज्यान फालेर लाग्ने प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. युवराज पौडेल, प्रदेशको पहिलो कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, फोकल पर्सन डा. सुदर्शन थापाजस्ता पात्रको दैनिकीलाई के घृणा गर्न मिल्छ ? देशभर यस्ता स्तुत्य पात्र धेरै छन् । प्रदेश ५ का यी केही पात्रले देशभरका कैयौँ कुशल पात्रको प्रतिनिधित्व गर्छन् ।
कोरोना बिल्कुल नयाँ विषय थियो, नेपालका लागि मात्र होइन विश्वकै लागि । अचानक भित्रिएको यस्तो सङ्क्रमणको उपचारबारे स्वास्थ्यकर्मीहरू अभ्यस्त त के कुनै सामान्य पूर्वतयारीमा समेत थिएनन् । जसका कारण सुरु–सुरुमा कतिपय चिकित्सक नै डराउनु, अन्योलमा पर्नु वा तोकिएको ठाउँमा जान अनिच्छुक देखिनुलाई निकै ठूलो अफवाह बनाइनुहुन्छ र ? यस्तो बेला मरिमेटेर अरूको ज्यान बचाउन खटेकाहरूलाई घृणा गरेर मनोबल गिराउनुहुँदैन । बरु भन्नुपर्छ ‘डियर डक्टर्स ! तिमीहरूप्रति कृतज्ञ छौँ । तिमीहरूले आफू जोखिममा परेर भए पनि धेरैको ज्यान बचाएका छौ । थप अरूको पनि जीवन बचाउनुपर्नेछ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?