logo
२०८१ बैशाख ११ मंगलवार



कोभिडविरुद्ध नेपाली ‘हिरो’

शनिवार |


कोभिडविरुद्ध नेपाली ‘हिरो’



सोमराज पोखरेल

चीनको वुहानबाट सुरु भएको कोराना भाइरसको त्रास अहिले पनि विश्वमा उस्तै छ । नेपालमा पनि यसको सङ्क्रमण र सङ्क्रमितको मृत्युदर बढ्दो छ । यसलाई निस्तेज पार्न पुनः बन्दाबन्दीमा जानुपर्ने राय जनस्वास्थ्यविद्ले सुझाउन थालेका छन् । यसै सन्दर्भमा सङ्क्रमितसँग सबैभन्दा नजिक रहेर उपचारमा संलग्न चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीको भूमिका पनि यो बेला महत्त्वपूर्ण हुन्छ । अमेरिकामा त यस्ता व्यक्तिलाई ‘हेल्थकेयर हिरो’ नै भन्न थालिएको छ । विश्वमै देखिएको यो स्वास्थ्य सङ्कटको बेला विदेशमा बसेर सङ्क्रमितको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न केही नेपाली चिकित्सकको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

अमेरिकाको पेन्सिल्भानियामा बस्ने डा. सरोजप्रकाश कडेल छातीरोग तथा सघन उपचार विशेषज्ञ हुनुहुन्छ । उहाँ पेन्सिल्भानियास्थित वेल्सपान हेल्थ अस्पतालमा काम गर्नुहुन्छ । डा. कडेलका लागि कोभिड–१९ को समय निकै नै चुनौतीपूर्ण रह्यो किनभने उहाँको विशेषज्ञतासँग सम्बन्धित रोग भएकाले पनि संवेदनशील भएर काम गर्नुपर्ने अवस्था आइलाग्यो ।

कोभिडको सुरुका दिन सम्झँदै डा. कडेलले भन्नुभयो, ‘मार्चको बीचबाट केस बढ्न थाल्यो । सुरुमै चार सयभन्दा बढी कोभिड सङ्क्रमितको उपचार गरियो । आईसीयूमै पनि ६०–६५ जनाको उपचार गरियो । आईसीयूमा बाँच्ने रेट १६ः६ हुन्छ । बिरामी बचाउने प्रयत्न अन्तिमसम्म नै गरिन्छ ।’ उहाँले कोभिड लाग्दैमा सबै बिरामी गम्भीर नहुने भन्दै ८० प्रतिशतलाई केही नहुने, १० देखि १५ प्रतिशतलाई ज्वरो, खोकी बढ्दै गएर अक्सिजन दिएरसमेत राख्नुपर्ने र पाँचदेखि १० प्रतिशत गम्भीर भएर आईसीयूमा राख्नुपर्ने जानकारी दिनुभयो । आईसीयूमा मुटु तथा मिर्गौलाले काम नगर्ने भएपछि भेन्टिलेटरमा राख्नुपर्ने डा. कडेलको अनुभव छ । मोटोपन, डाइबिटिज भएको र ६५ वर्षभन्दा माथि उमेरका सङ्क्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । उहाँ सम्झनुहुन्छ, ‘अन्य रोग नभएकालाई पनि भेन्टिलेटरमा राखियो तर उमेरका बिरामी बिस्तारै निको हुँदै जान्छन् । उमेर बढी भएकाका लागि यो रोग अलि खतरा छ । ७५ वर्षभन्दा माथिको बिरामीलाई भेन्टिलेटरमा राखियो भने ८० प्रतिशत मर्ने सम्भावना हुन्छ । अमेरिकामा त्यस्तै भएको छ ।’

अमेरिकामा सङ्क्रमित बढी हुनु र मृत्यु बढी हुनुमा डा. कडेल ‘स्वतन्त्रता’ लाई दोष दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रत्येक राज्यका आफ्नै नियमकानुन छन् । कुनै राज्यमा त मास्क पनि नलगाई मानिस हिँडडुल गरे । व्यक्तिगत स्वतन्त्रताको कुरा पनि भयो ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यही स्वतन्त्रता प्रयोग गरेको हो त ? जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘विशेषज्ञले पनि उहाँलाई सहमत गराउन सकेनन् । अन्ततः मास्क लगाउन उहाँ आफैँ राजी हुनुभयो ।’

अमेरिकामा रहेका नेपालीको पनि ज्यान गएको, चिकित्सक पनि सङ्क्रमित भएको उदाहरण दिँदै डा. कडेलले भन्नुभयो, ‘हस्पिटलले उपलब्ध गराउनुपर्ने पीपीई हो । त्यसको व्यवस्था हुनुपर्यो । आइसोलेसन र क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्न सक्नुपर्याे । त्यो भएपछि पुग्छ । त्यसको केही अभाव भएर हो कि नेपाली डाक्टर पनि बिरामी पर्नुभयो तर यहाँको उत्तरपूर्वी क्षेत्रमा त्यो दर कम छ ।’

‘कोरोनाको उपचारमा सेवारत रहँदा सुरुमा त मलाई पनि चिन्ताले सतायो । चीन र इटालीको हालत देख्दा डर पनि लाग्यो । बिरामीलाई कसरी प्रत्यक्ष उपचार गर्ने भन्ने भयो । मुख्य कुरा डाक्टरलाई चाहिने पीपीई हो । त्यसको अभाव भएन । त्यसपछि त ‘रिल्याक्स’ महसुस भयो’, कोरोना बिरामीसँगको पहिलो साक्षात्कारबारे डा. कडेलको अनुभव हो यो ।

नेपालका चिकित्सकमाथि परेको मर्काबारे उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, ‘नेपालमा काम गरिरहनुभएका डाक्टरहरूसँग पनि सम्पर्कमा छु । कुराकानी पनि भइरहेको छ तर स्वास्थ्यकर्मी भन्नासाथ कोठा भाडामा नदिने, दुव्र्यवहार गर्ने काम कतिपय ठाउँमा भएको सुनिएको छ । यो त सारै नराम्रो कुरो हो । यहाँ त सडकभरि हामीलाई सम्मान गरिएका नारा पढ्न पाउँछौँ । ‘हेल्थकेयर हिरो’ भनेर कतिपय ठाउँमा लेखिएको पनि छ ।’

नेपालमा भइरहेको उपचार र यसको शैलीबारे डा. कडेलले भन्नुभयो, ‘नेपालमा आरडीटी परीक्षणलाई बढी महŒव दिइयो । यो राम्रो भएन । अमेरिकामा आरडीटीको प्रयोग नै भएन । नेपालमा सङ्क्रमितको पहिचान नै हुनसकेको छैन । पीसीआर टेष्टिङ बढी हुनुपर्छ । त्यसपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ पनि हुनुपर्छ । त्यो हुनै सकेको छैन ।’
उहाँले थप सुझाव दिँदै भन्नुभयो, ‘सरकारी तवरबाट गर्नुपर्ने लकडाउन हो । कोभिडमा अवस्था हेरेर लकडाउन गर्ने हो । सधैँ पनि हुँदैन । तर जब लकडाउन खोलिन्छ तब भयावह स्थिति बन्छ । जनस्तरमा सचेतना हुनुपर्याे । आफूलाई सरेको थाहा नभई अरूलाई सर्न सक्छ । युवालाई लागे केही नहोला तर परिवारको हजुरबा–हजुरआमालाई सर्न सक्छ ।’

यो रोगको निदान सजिलै हुने छाँट उहाँ देख्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पूरै नियन्त्रणमा आउन तत्कालै मुस्किल छ । कि महामारी उच्च तहमा पुग्नुपर्याे । ५०–६० प्रतिशत मानिस मरेपछि आफैँ नियन्त्रणमा आउन सक्छ । अर्को विकल्प भनेको खोप हो । यो कहिले आउला थाहा छैन । त्यसैले बढ्न नदिन मास्क लगाउँ भौतिक दूरीमा बसौँ ।’ धादिङको धुनिबेँसी नगरपालिकामा जन्मनुभएका डा. कडेलले सन् २००८ मा शिक्षण अस्पताल, महाराजगञ्जबाट एमबीबीएस पूरा गर्नुभएको थियो । उहाँ सन् २०१२ देखि अमेरिकामा बस्दै आउनुभएको छ । यसैगरी बेलायतको मिडिल्सब्रोस्थित जेम्स कोक विश्वविद्यालय अस्पतालमा कार्यरत हुनुहुन्छ डा. सबिन पोख्रेल । उहाँ एनेस्थेटिस्ट हुनुहुन्छ । कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीलाई उहाँले पनि रेखदेख गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कोभिडका गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यस्ता बिरामीको रेखदेख गर्नु भनेको जोखिमपूर्ण काम नै हो ।’ बन्दाबन्दी भइरहँदा डा.सबिनले ४८ घण्टासम्म निरन्तर अस्पतालमै रहेर काम गर्नुपर्यो । उहाँ भन्नुहुन्छ, ‘त्यो बेला निकै गाह्रो भएको थियो । अहिले सामान्य हुँदैछ ।’

कोरोना सङ्क्रमणको सुरुआती ती दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘नयाँ रोगको सङ्क्रमण भएकाले चिन्ता धेरै भयो । बालबच्चा र परिवार सम्झँदा चिन्ताको यो पारो झनै बढ्थ्यो तर पछि बानी पर्दै गयो । यहाँ तयारी राम्रो छ । डाक्टरलाई चाहिने पीपीई हो । त्यसको कमी कहिल्यै भएन । ठूलो हस्पिटल भएकोले पनि कुनै असहज अनुभव गर्नुपरेन ।’ यसैगरी कोरोना भित्रिनासाथ यहाँ सङ्क्रमण अनियन्त्रित हुनपुग्यो । यसबारे उहाँ भन्नुहुन्छ, ‘लकडाउन भएन । लकडाउन नहुँदा मानिसमा बढी स¥यो । फेरि यहाँ ६५ वर्षभन्दा माथिका बिरामीलाई बढी खतरा भयो । तिनीहरूमध्ये धेरैको ज्यान गयो ।’

बढी सङ्क्रमित हुने र ज्यान गुमाउनेहरू बेलायतमा बसिरहेकाभन्दा पनि बाहिरबाट आएकाहरू रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘बाहिरबाट आउनेहरूमध्ये अफ्रिकाली, एसियालीमा बढी सङ्क्रमण देखियो । एसियालीमा डाइबिटिज, रक्तचाप, मोटोपना जस्ता रोग भएकाले सङ्क्रमणले छिटो समायो । फेरि बेलायतको लन्डनमा बस्नेहरू बढी सङ्क्रमित हुनुमा गरिबी पनि एक कारण रह्यो । खानपिन नमिल्ने, एकैठाउँमा धेरैजना बस्ने र क्षेत्र हेरेर झुण्डमा रहने गर्दा उनीहरूमा छिट्टै फैलियो । सचेतना कार्यक्रम पनि उनीहरूमा कम पुग्यो । फेरि उनीहरूलाई काम नगरी खान पुग्दैन । हिँडडुल गर्दा सर्ने नै भयो ।’ यसबाट बच्न उहाँले भन्नुभयो, ‘दुई मिटरको दूरीमा बस्ने, ताजा र पोषणयुक्त खानेकुरा खाने, हरेक दुई घण्टामा हात धोइरहने बानी सबभन्दा राम्रो हो । बेलायतमा चाँडै लकडाउन ग¥यो भने मानिस वाक्क भएर बाहिर निस्कन्छन् भनेर ढिला गरियो तर नेपालमा भने उल्टो भएको छ । छिट्टै लकडाउन गरियो । अहिले खुला भएको छ ।’ बेलायतको शासनव्यवस्था राम्रो भएको भन्दै डा. सबिन भन्नुहुन्छ, ‘यहाँ पनि निर्णय राजनीतिज्ञले नै गर्ने हो तर विज्ञ र वैज्ञानिकको धारणा लिएर गरिन्छ । जे विज्ञले भन्छन्, त्यही सरकारले गर्छ । यो व्यावहारिक पनि हुन्छ । नेपालमा पनि निर्णय यसरी नै हुनसके कोभिडलाई जित्न सकिन्छ ।’

डा. पोख्रेलकी श्रीमती डा.सेलिना पोख्रेल पनि चिकित्सक हुनुहुन्छ । सन् २०११ देखि नै बेलायतमा बसेर उहाँहरूले काम गर्दै आउनुभएको छ । डा. सेलिना भने मनोरोग विशेषज्ञ हुनुहुन्छ । उहाँ मिडिल्सब्रोको रोजबेरी पार्क अस्पतालमा कार्यरत हुनुहुन्छ । मनोरोग विशेषज्ञ भए पनि कोभिडको पहिलो चरणमा उहाँलाई पनि चिन्ताले सतायो । बेलायतमा कोभिड एकैपटक ह्वात्तै फैलिएको थियो । एकाएक धेरै मानिस त्रसित भएका थिए । त्यसबाट डा. सेलिना पनि टाढा हुन सक्नुभएन तर उहाँले तुरुन्तै आपूmलाई सम्हाल्नुभयो । ‘कोभिडका बिरामीबाहेक अरू बिरामी अस्पतालमा आउन डराए । हामीले पनि टेलिफोनमै समस्याको समाधान दियौँ । नियमित बिरामीलाई औषधि पनि थप्यौँ तर ‘सुसाइडल थट’ (आत्महत्या विचार) भएकाहरूलाई मात्र भेटेरै उपचार गर्यौँ । ५० प्रतिशतलाई अहिले पनि टेलिफोनबाटै उपचार गरिरहेका छौँ ।’ डा. सेलिनाले भन्नुभयो, ‘बेलायतमा बिरामीका रोगहरू पूर्णरूपले बाहिर आएकै छैनन् । जब जनजीवन सामान्य हुन्छ तब अन्य रोगहरू बाहिर आउनेछन् । स्वास्थ्यकर्मी त चिन्ताले ग्रसित भए भने सामान्य मान्छेमा त यस्तो देखिनु स्वाभाविक नै हो । उनीहरू कोभिडको ‘ह्याङ’बाट बाहिर आएकै छैनन् ।’ काठमाडौँको चाबहिल घर भएका डा. नितेश अर्यालले भने दश वर्षदेखि कतारमा चिकित्सकीय सेवा दिँदै आउनुभएको छ । उहाँले बङ्गलादेशबाट एमबीबीएस तथा शिक्षण अस्पताल, महाराजगञ्जबाट जनरल मेडिसिनमा एमडी गर्नुभएको छ । डा. अर्याल गैरआवासीय नेपाली सङ्घ एनआरएनए स्वास्थ्य कमिटी, मध्यपूर्वका संयोजक पनि हुनुहुन्छ । कतारमा २० जना जति नेपाली चिकित्सक छन् । कतारको दोहास्थित अल एटिया मार्केटमा उहाँले ‘डा. नितेश अर्याल क्लिनिक’ खोल्नुभएको छ । कोभिड–१९ का कारण अन्य रोगका बिरामीमा त्रास बढेको उहाँको अनुभव छ । आफूले पनि सुरुसुरुका दिनमा त्यस्तो खालको महसुस गरेको उहाँले बताउनुभयो । कतारमा रहेको नेपाली दूतावाससँग मिलेर नेपालीलाई हटलाइनमार्फत डा. अर्यालले परामर्श दिइरहनुभएको छ । कतारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई अनुसरण गरेकोले सङ्क्रमितको स्थिति यहाँ भयावह भएन । न्यूनीकरणका लागि समुदायमा परामर्श दिने र सामाजिक सञ्जालमार्फत सम्झाउने गरिएका छ ।

नेपालमा कोरोनाविरुद्ध लड्न सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सबभन्दा महत्त्वपूर्ण विषय भएको डा. अर्यालले सुझाउनुभयो । यसका लागि मोबाइल एप पनि प्रयोग सकिन्छ । धेरै नेपालीले स्मार्ट फोन बोक्छन् । यसले ट्रेसिङ गर्न पनि सजिलो हुन्छ । सङ्क्रमितलाई पत्ता लगाएर एकान्तवासमा राख्न सकियो भने रोग बढ्न पाउँदैन । बिरामीको ज्यान पनि जोखिममा पर्दैन ।’

यसैगरी, डा. बोधराज सुवेदी तीन दशकदेखि पोल्यान्डमा बसोबास गर्दै आउनुभएको छ । एक दशकदेखि भने उहाँ यहाँको अटवोकमा रहेको युरोपियन हेल्थ सेन्टरमा क्यान्सर रोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ सर्जिकल अन्कोलोजी विभागका उपप्रमुख हुनुहुन्छ । अन्य युरोपेली देशमा जस्तो कोभिडको असर पोल्यान्डमा नपरे पनि धेरथोर असर यहाँ पनि परेको छ ।

डा. बोधराजकी श्रीमती डा. अलिनी पोखरेल सुवेदी पनि चिकित्सक नै हुनुहुन्छ । परिवारमा दुवैजना चिकित्सक भएपछि कोभिड व्यवस्थापनमा सहज त उहाँहरूलाई भएको छ । अस्पतालमा लगातार ‘अप्रेसन’को काम परिरह्यो, यो बेफुर्सदीले पोल्यान्डमा लकडाउन भएको अनुभूति भएन’, डा. अलिनीले भन्नुभयो । उहाँका अनुसार पोल्यान्डमा तीन हजार जति नेपाली छन् । बन्दाबन्दीका कारण रेस्टुरेन्टमा काम गर्ने नेपालीलाई भने ठूलो मर्का परेको छ । सरकारले विभिन्न प्याकेज त ल्याएको छ तर अनधिकृत रूपले बसिरहेका नेपालीलाई भने ठूलो समस्या छ । युरोपेली मुलुकमा पूर्व तयारी गर्न नभ्याइएकै कारण सङ्क्रमित र मृतकको सङ्ख्या बढेको भन्दै डा. बोधराजले स्पेनिस फ्लुले १० करोड मानिसको ज्यान गयो । अहिले यातायातका साधनले धेरैकोे ज्यान गएको धारणा व्यक्त गर्नुभयो । पोल्यान्डमा दुई नेपाली कोभिडबाट सङ्क्रमित भए पनि उनीहरूलाई निको भइसकेको जानकारी उहाँले दिनुभयो ।

कोभिडका कारण आफू पनि क्वारेन्टिनमा बस्नुपरेको भन्दै उहाँले भन्नुभयो, ‘मसँग काम गर्ने नर्सलाई पोजेटिभ देखियो । अनि १७ दिन घरमै क्वारेन्टाइनमा बसेँ । नेगेटिभ आयो तर पुलिस दिनको दुईपटक घरमै चेक गर्न आउँथ्यो । कोही बाहिर निस्कियो कि भन्ने चिन्तामा पोलिस सरकार थियो । यस मामिलामा स्थानीय सरकार पनि सक्रिय थियो ।’ नेपालका बारेमा उहाँले भन्नुभयो, ‘भौतिक दूरी राख्नुको विकल्पै छैन । सबै पसल खुलेपछि दूरी कायम गर्नैपर्छ । लक्षण देखियो भने अस्पतालमा राख्नुपर्छ । विशेषज्ञले भन्नुपर्याे के गर्ने भनेर ? राजनीतिज्ञले भन्ने होइन ।’

डा.सञ्जीव सापकोटा चिकित्सा महामारीविज्ञ हुनुहुन्छ । उहाँले अमेरिकामा बसेर कोभिडबारे विश्वभर रहेका नेपाली चिकित्सकसँग समन्वय गरिरहनुभएको छ । अन्य देशका विज्ञ चिकित्सकसँग पनि यसबाट बच्ने उपाय र अपनाउनुपर्ने विधिबारे अनुभव आदानप्रदानमा पनि उहाँ सहभागी हुनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा पनि काम गरिसक्नुभएका डा. सञ्जीव गैर आवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ । उहाँले गत आइतबार (साउन १८ गते) दिएको जानकारी अनुसार विदेशमा मात्र १८९ नेपालीको कोभिडका कारण मृत्यु भएको छ । गत साता थप २८ नेपालीको मृत्यु भयो । भारतमा मात्रै २५ जना नेपालीको ज्यान गयो । यस्तै पहिलोपटक दक्षिण अफ्रिकामा एकजनाको मृत्यु भएको छ । बाँकी दुईजना साउदी अरेबियामा रहेका नेपाली हुन् ।

लग्जेम्बर्गमा एउटा वैवाहिक वर्षगाँठको पारिवारिक जमघटमा भेला भएपछि ३५ नेपाली एकैपटक सङ्क्रमित भएको जानकारीसमेत उहाँले दिनुभयो । डा. सापकोटाका अनुसार अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोभिडबाट सङ्क्रमित छन् । स्पेन, बेल्जियम, बेलायत, अमेरिकालगायत देशमा कोभिडकोे सङ्क्रमण पुनः बढ्न थालेपछि नेपाली समुदायलाई सचेत रहन आग्रह गरिएको छ । उहाँले भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्षसमेत समितिले निकाले भन्दै सार्वजनिक यातायात तथा अन्य मानिस भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य समितिले प्रत्येक हप्ता नेपाली समयअनुसार आइतबार बिहान साप्ताहिक बुलेटिन सार्वजनिक गर्दै आएको छ । डा. सोपकोटाका अनुसार तथ्याङ्क सङ्कलन गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य हो । समितिलाई तथ्याङ्क सङ्कलन गर्ने कुनै अधिकार छैन । गैरसरकारी संस्था भएकाले अनुरोधकै भरमा आइरहेको छ । केही देशले तथ्याङ्क नदिएको तीतो अनुभव पनि उहाँहरूसँग छ । उहाँ भन्नुहुन्छ, ‘केही देशमा हाम्रै साथीहरूले पनि तथ्याङ्क बाहिर नल्याइदिनु होला भनी अनुरोध गर्नुभयो । बाहिर त ल्यायौँ तर चुनौती छ । हजार तथ्याङ्क छ भने बढीमा आठ सयसम्म आउँछ ।’ यसबाट स्पष्ट हुन्छ कि जति पनि तथ्याङ्क आइरहेको छ, त्यो शतप्रतिशत सही छैन । करिब करिबमात्र हो । समितिले सार्वजनिक स्थलमा जाँदा र सवारीसाधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन तयार पारेको उहाँले बताउनुभयो । सबैलाई घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न उहाँले पनि सुझाउनुभयो । ‘विपद्ले मान्छे चिन्दैन । सबैले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना गरौँ । खतरा टरिसकेको छैन । सावधानी नअपनाए कोरोनाले छोड्दैन । कोरोना लापरवाहीले नै लाग्ने रोग हो’, अन्त्यमा उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?