logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना डर (कथा)

शनिवार |


कोरोना डर (कथा)


रमेशजङ्ग थापा

आर्यघाटको वातावरण आज निकै सुनसान छ । एउटा लास भर्खर ल्याएर कुनोमा अलग्गै तेस्र्याइएको छ । मलामीको उपस्थिति ज्यादै न्यून छ । सम्भवतः यिनीहरू मृतकका एकदम नजिकैका नातेदार हुनुपर्छ । लासबाहेक सबैको मुख थरी–थरीका मास्कले ढाकिएका छन् । यसले गर्दा भीडमा एक अर्कालाई खुट्याउन मुस्किल परेको छ । थोरै व्यक्ति अन्तिम संस्कारको तयारी गर्दैछन् । बाँकी अरू आफ्नो सुविधाजनक स्थितिमा चुपचाप टहल्दैछन् ।
लासको सिरान छेउमा मृतकका छोरा टाउकोमा हात राखेर केही झुकेका छन् । नजिकै एकजनासँग घाटेपुरेतले हात–मुख दुवै चलाउँदै बेलिविस्तार लगाउँदैछन् । ठीक अगाडिको रुखमाथि एउटा काग बसेर कराउन थाल्यो, ‘काँ...काँ...काँ..काँ..’ । चौध÷पन्ध्र वर्षको देखिने एक ठिटो कताबाट दौडेर आई ढुङ्गा टिपेर हानिहाल्यो ‘लज्जा ।’ कौवा आकाशमा हरायो केटो मलामीको भीडभाडमा । अलिपरको एक बेञ्चमा दुई मास्कधारी मलामी मन्द–मन्द स्वरमा भलाकुसारी गरिरहेका देखिन्छन् । मास्कभित्रबाट एउटाले सोध्यो, ‘हैन, यी बुढा के व्यथाले गएका हुन् ? अहिलेको यो कोरोना भाइरसले हो कि क्या हो ?’ अर्कोले मुन्टो हल्लाउँदै मास्कभित्रबाटै जवाफ फर्कायो, ‘कहाँको कोरोना भाइरसले हुनु, हिजो राति हर्ट अट्याक भएछ ।’ एकछिनपछि उसले केही सम्झे झैँ बोल्यो । ‘अँ... बरु उनलाई हर्ट अट्याक चाहिँ कोरोना डरले भए जस्तो छ ।’ सोध्ने व्यक्तिले आश्चर्यचकित हुँदै भन्यो, ‘डरले ! हे भगवान्, यो कोरोना डर त सर्दैन होला हगि ।’ दुवैजना मास्कभित्र स्वर ननिकालेर नै हाँसे मज्जासँग ।
कृष्णहरि रिमालको उमेर चौहत्तर नाघेर पचहत्तरमा कुद्दै थियो । बुढा साह्रै फरासिला र फुर्तिला देखिन्थे । उनी आफ्नो अवकाशपछिका दिनहरू सक्रिय तवरले हिँडाइरहेका थिए । टोलमा घर किनेर बसेको पनि बाह्र वर्ष भइसकेको थियो । घरपरिवार एवं आम्दानी–खर्च सबै कुरा सन्तुलित ढङ्गबाट चलिरहेको थियो । यो उमेर काट्दासम्म गर्नुपर्ने व्यवहार उनको बाँकी केही थिएन ।
प्रातःभ्रमण गरेर उनी घर पुग्दा सधैँ नौ बजिसकेको हुन्थ्यो । घर फर्कंदा बाटोमा पर्ने ‘मसाल बाजे’को होटेलमा एक कप चिया पिउन उनी बिर्संदैनथे । केही समय विविध रङका गफगाफमा त्यहाँ उनी भुल्थे । अँ ! मसाल बाजेको राजनीतिक यात्रा उक्ति गज्जब चाखलाग्दो छ । पञ्चायती शासन व्यवस्थामा उनी मोटो हो कि पातलो नेकपा मशालमा÷मसालमा सक्रिय रहेछन् । बहुदल आएपछि नेकपा चौथो महाधिवेशन, जनमोर्चा एवंरीतले एमाले द्वन्द्वको समयमा माओवादी र हाल निष्क्रिय रूपले चिया होटल चलाइरहेका छन् । जे होस्, वामपन्थी सेरोफेरोमा मात्र उनको राजनीतिक यात्रा घुमिरह्यो तर उनको नाम ‘मसाल बाजे’ स्थायी तवरले टोलमा अमर भएको छ ।
चिनियाँ सहर वुहान जहाँबाट कुनै पैशाचिक तत्व लुक्दै, छिप्दै, हिमाल, पहाड, खोलानाला, हाटबजार पार हुँदै निरन्तररूपमा फैलिँदै गयो । संसारका प्रायः सबै देश यसको मृत्युपाशमा कैद भए । ग्रीष्म आगमनपूर्व यो त्रासदी हामीकहाँ पनि बाटोघाटो, चोक, होटेल, पसल, कार्यालय, घर आदि सबै ठाउँमा पैmलिरह्यो । सबै सञ्चारमाध्यममा सर्वग्राही कोरोना आतङ्क छाइरह्यो । यी सबै कुराको बाबजुद आफूलाई निर्भय देखाउन बुढाले कुनै कसर छोडेका थिएनन् । मृत्यु सन्निकटताको भयावह परिवेशमा उनी अनर्गल प्रलाप गर्दै हिँड्थे । ‘हाम्रो जमानाको छुवाछूत प्रथा फेरि सुुरु भयो । अब त श्रीमतीसँग पनि सँगै सुत्न नपाइने छाँटकाँट छ । प्रत्येकसँग दूरी कायम गर्नुपर्ने रे !’ एवंरीतले केही समय बुढा निर्धक्कसँग हिँडे, कुदे र कुर्ले पनि, ‘आ, यस्ता भाइरस कति आए, गए । सबै पचाइयो । इबोला, सार्स, बर्डफ्ल्यू, डेङ्गु, मेनिन्जाइटिस् कति हो कति । अलि दिन मच्चिन्छ अनि थच्चिन्छ । हामीले यस्ता कुरा राणाशासनदेखि भोग्दै आएका हौँ ।’
परिस्थितिगत प्रतिकूल परिवर्तनको कोपले विश्व हल्लियो । हरेक टेलिभिजन च्यानल, रेडियो–एफएम र समाचारपत्रको सम्प्रेषण कोरोना भाइरसका खबरले भरिन थाले । अनलाइन समाचार, सामाजिक सञ्जालहरू पनि यसैको चर्चा–परिचर्चाले पूरै ढाकियोे । प्रत्येक व्यक्तिमा आफू कुनै ‘टाइमबम’मा बसिरहेको झैँ त्रास बढ्दै गयो । मानिसका खुला मुख जति सबै मुख–मास्कमा रूपान्तरण हुँदै गए ।
यस्तो कालचक्रभित्रको कुचक्रमा बुढाका श्रवणातुर कानहरू पनि सक्रिय भए । यस अप्रत्याशित कहरयुक्त परिस्थिति र तरह–तरहको अतिरञ्जनाको फलस्वरूप बल्ल उनको मुटुले ठाउँ छोड्यो । ‘अब भने साँच्चै मरिने हो कि क्या हो, हदै भो बा !’ भयाक्रान्त एवं आकुलताका कारण निद्रा र भोकले उनलाई छोड्यो । उनको रुग्ण–पीत मुखमण्डलले यी कुरा स्पष्टरुपमा झल्काउँथ्यो ।
एकाबिहानै उनी हतारहतार दौडिँदै औषधिपसलमा पुगे । दुई दर्जन मास्क र पञ्जा किने । लगत्तै मास्क र पञ्जा लगाए । फेरि के सोचेर हो कुन्नि अर्को मास्क डब्ल्याएर मिलाउँदै थिए, पसलेले हाँस्दै भन्यो, ‘डराउनुपर्दैन एउटै मास्कले रोक्छ. । किन यतिविधि डराएको बुढाबाजे ।’ झनक्क बुढाको रिस उम्ल्यो । डब्बल मास्कभित्रबाटै बोले, ‘के भर हुन्छ र ! उहिले सिङ्गल रबरे मास्क फुटेर कत्रो जात्रा । जुम्ल्याहा बच्चा जन्म्यो । मालको डब्बल मोल लिएर खुबै जान्ने हुने ।’ उनी पछाडि पनि नफर्की घरतर्फ कुदिहाले । बाटोमा मान्छेहरूसँग दूरी कायम गर्दै उनी हिँड्दै थिए । एकजना बच्चा बोकेकी महिलाले उनी नजिक आई केही बोल्न खोजिन् । बुढा कालानीलो भए । मानौँ कोरोना अगाडि आइरहेछ । ‘बाजे यहाँ फुक्ने मान्छे कतै बस्नुहुन्छ ? बच्चालाई रातभर ज्वरो र झाडापखालाले हैरान पारेको छ ।’ उनी टाढा–टाढा हुँदै कराए, ‘कहाँ फुक्ने खोज्दै हिँडेको, बच्चालाई हस्पिटल लगिहाल छिट्टो ।’
बुढाको दिनचर्या नाटकीयरूपले फेरबदल हुन थाल्यो । घुम्न बन्द । गफगाफ बन्द । भेटघाट बन्द । घरपरिवारमै पनि हेलमेल बन्द । पचपन्न वर्ष एउटै खाटमा रात बिताएकी श्रीमतीसँगको प्रणय पनि विच्छेद । उनी बेग्लै कोठामा सुत्न थाले । खानपानमा नियन्त्रण । तीन तीन घण्टामा साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने । दुई दुई घण्टामा तातो पानी र टर्रो चिया पिउने । साथै दिनमा चार पटक मुखमा थर्मोमिटर घुसार्थे र घोरिन्थे ।
सबैले खाना खाइसकेपछि उनी छुट्टै खान बस्थे । चुपचाप खाने गर्थे तर खाना पस्किँदा प्रायः सोध्ने गर्थे, ‘लसुन, बेसार हाल्यौ ? टिम्मुर, मेथी, अदुवा हाल्न बिर्सेको त छैन ?’ खाना खाइसकेपछि एक चम्चा बेसार आफैँ झिकेर फाँको मार्थे । नमिठोसँग मुख बिगार्दै पानीसित बेसार निल्दा घाँटीका बाक्ला नसा तलमाथि बटारिएर हल्लिएको हास्यास्पद देखिन्थ्यो ।
आफ्नो दैनिकीको अभिन्न अङ्गका रूपमा गढेका कुराको नियन्त्रणीय अनुभव उनका लागि सारै कष्टप्रद शासन थियो । घरपरिवारका सदस्य उनको अनौठो एवं नौलो व्यवहारमा वाक्क–दिक्क भइसकेका थिए । धेरै समयपछि पूजाकोठामा देवोपासना गर्न थालिसकेका थिए । आस्था र अनास्थाबीचको यो उनको अनौठो चाल बुझिनसक्नु थियो । साह्रो वस्तुमा भाइरस बस्छ भन्ने हल्लाले मूर्तिलाई नछोएरै पूजा गर्दथे । बिर्सेर छोइहालेमा पूजाकोठामा राखिएको स्यानिटाइजर हातमा दलिहाल्थे । उनमा यस्तो किसिमको परिवर्तन देख्दा श्रीमती पछाडि भन्ने गर्थिन्, ‘के ताल हो यो, बूढा मेन्टल भइसके लौन ।’ एकदिन श्रीमतीसँग जिब्रो लर्बराई लर्बराई बुढाले भने, ‘आज मैले दुई बाल्टिन पानीमा दश–दश चम्चा स्यानिटाइजर मिलाएर नुहाएँ । के गर्नु बाध्यता छ । सुरक्षाको ख्याल गर्नैप¥यो । कहिलेकाहीँ पानीमा स्यानिटाइजर मिसाएर नुहाइधुवाइ गरी हामी सँगै सुते के फरक पर्ला र ?’ बुढाको यस्तो कुरो सुनेर श्रीमतीको मुख रातो भयो । उनी तुरुन्तै तल झर्दै कराइन्, ‘सुत्छु सँगै स्यानिटाइजर दलेर, हे भगवान् यो उमेरमा पनि बुढालाई मर्न कति डर लागेको होला ।’
रातको नौ बजिसकेको थियो । बैठक कोठाको एक कुनामा बुढा अलग्गै बसेर टेलिभिजनमा समाचार हेर्दै थिए । समाचारमा कोरोना कहर प्रसारण भइरहेको थियो । उनी अपलक नेत्रले खबरमा डुब्दै थिए ।
‘कोभिड–१९ को कारण विश्वमा मृतकको सङ्ख्या .... पुग्यो । नेपाल पनि यसको उच्च जोखिममा छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा गम्भीर चिन्ता व्यक्त । भोलिदेखि १५ दिनसम्म देशभरि नै बन्दाबन्दी (लकडाउन) कडाइका साथ पालना गर्न गराउन सरकारद्वारा सूचना जारी ।’
अचानक उनको देब्रेपट्टिको छाती चसक्क चस्किँदै गयो । उनी रन्थनिए र जिउलाई खुम्च्याएर कक्रक्क पारे । पीडा बढ्दै गयो । दायाँ हातले आफ्नो छाती चपक्क समात्दै र आफूलाई सम्हाल्न खोज्दा खोज्दै कृष्णहरि डङ्रङ्ग भुइँमा ढलिसकेका थिए । सबैको कोलाहाल उनीतर्फ पुग्दा मृत्युको सघन छायाँ ओढ्दै भन्न भ्याए ‘कोरोना भाइरस, कोभिड–१९ ।’
लास जलेर खरानी भइसक्दा उसले भन्यो, ‘सबै जलेर सकिसक्यो । अब घर जाऔँ ।’ अगाडिको रुखमा अघिको कौवा बसेर एकसुरले कराउन थाल्यो काँ..काँ...काँ..। तर यसबेला धपाउने कोही थिएन । काग कराइरह्यो । घाटेपुरेतले सुइय.. सुस्केरा हाल्दै तातो अन्तिम खरानी नदीमा मिल्काए, ख्वाप्ल्याङ्ग... च्वाइँ..अँ..।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?