logo
२०८० चैत्र १६ शुक्रवार



अवरुद्ध बार्जुगाड-बल्दे सडक खोल्ने काम शुरु गरिँदै

प्रदेश |


अवरुद्ध बार्जुगाड-बल्दे सडक खोल्ने काम शुरु गरिँदै


शेरबहादुर सार्की
बाजुरा , साउन २० गते । साँफे-मार्तडी राजमार्गअन्तर्गत पर्ने बार्जुगाडदेखि बल्देसम्मको बाटो खोल्ने काम सुरु भएको छ । गत असार २२ गते अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गर्ने बार्जुगाड गुइगाड, ताप्रीसेरा बल्दे, अम्कोटलगायत ठाउँमा सडक भत्किएपछि बाटो बन्द भएको थियो ।

कुनै पनि यतायातको सवारी साधन नचलेपछि बाजुराका स्थानीयलाई बार्जुगाडदेखि मार्तडीसम्मको २७ किलोमिटर बाटोमा आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ ।  बाटो बन्द भएको झण्डै एक महिना हुन लागे पनि अहिलेसम्म बाटो सुचारु नहुँदा स्थानीयहरूले नुन, तेल चामल, दाललगायत दैनिक उपभोग्यका सामान चर्को मूल्यमा खरिद गर्नुपरेको स्थानीयको भनाइ छ । 

नागरिकको यो समस्यालाई मध्यनजर गर्दै अहिले अस्थायी रुपमा बार्जुगाडदेखि मार्तडीसम्म कनेक्स्सन हुने गरी बाटो मर्मत गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ ।  सडक डिभिजन कार्यालय साँफे बगर अछामको इन्जिनियर दमनकुमार विष्टले भन्नुभयो, 'बर्खाको समय पानी पर्न नरोकिएकोले सडक छिटो मर्मत गर्न सकिरहेको छैन । केही दिनयता पानी पर्न रोकिएपछि बार्जुगाडदेखि ताप्रीसेरास्थित घट्टेखोला हुँदै बल्देसम्मको सडक मर्मत गर्ने काम सुरु भइरहेको छ ।' बाटो बन्द भएर बार्जुगाड रोकिएका यातायातका सवारी साधन केही दिनमै बल्दे सम्म सुचारु हुने गरी बाटो मर्मतको काम सुरु भएको छ।

अम्कोटमा पहिल्यैकाे ठाउँबाट सडक सुचारु गर्न नसकिएकोले अलि माथिबाट ट्रयाक खोल्नका लागि त्याहाँ स्थानीयसँग जग्गाको सहमति भए यो महिनाभित्रै बार्जुगाडदेखि मार्तडीसम्मको बाटो मर्मत गरी यातायातका सवारी साधन सुचारु हुन सक्ने विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?