logo
२०८१ बैशाख ८ शनिवार



सङ्क्रमण बढेसँगै चेकजाँचमा कडाइ

प्रदेश |


सङ्क्रमण बढेसँगै चेकजाँचमा कडाइ


अमृतप्रसाद पौडेल
बेनी, साउन २० गते । नेपालमा सङ्क्रमित हुनेकाे सङ्ख्या बढ्न थालेपछि हिमाली जिल्ला म्याग्दीमा सुरक्षा चेकजाँच कडा पार्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनीको मुख्य प्रवेशद्वार कालिपुलमा स्वचालित बुम ब्यारियर राखेर सवारी चेकजाँचलाई कडा पारिएको हो ।

सवारी साधनले सरकारले तोकेको मापदण्ड पूरा गरे-नगरेकोबारे कालीपुलबाट म्याग्दी प्रवेश गर्नुपूर्व नै कडाइ गर्नका लागि व्यवस्थित र प्रविधियुक्त बनाउन बुम ब्यारियर जोडिएको हो । बेनी नगरपालिका–९, घतान घर भई अमेरिका बस्ने सञ्जीव बानियाँले आफ्ना हजुरबुबा भद्रबहादुर बानियाँको स्मृतिमा एक लाख ९० हजार पर्ने बुम ब्यारियर उपलब्ध गराउनुभएको हो । बुम सोमबारदेखि नै नियमित प्रयोगमा आएको जिल्ला प्रहरी, कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरले बताउनुभयो ।

सरकारले शैक्षिक संस्थामा क्वारेन्टीन नराख्ने निर्णय गरेसँगै म्याग्दीको बेनीमा शैक्षिक संस्थाबाट क्वारेन्टिनहरूलाई हटाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बेनी बजारको न्यू वेष्ट प्वाइन्टमा रहेको क्वारेन्टिन खाली गरेर त्यसलाई डिसइन्फेक्टसमेत गरीएको छ । बेनी बजारको न्यू वेष्ट प्वाइन्ट, म्याग्दी क्याम्पस र माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा गरी १६७ बेडको क्वारन्टिन रहेकोमा हाल न्यू वेष्ट प्वाइन्ट र म्याग्दी क्याम्पसको क्वारेन्टिन हटाउनका लागि प्रयास भइरहेको प्रजिअ ढकालले बताउनुभयो ।

हालसम्म म्याग्दीमा ४७ जनामा कोरोना पोजिटिभ भेटिएकोमा ४१ जना निको भएको र छ जना आइसोलेसनमा उपचचार गराइरहेका छन् । हालसम्म बेनी नगरपालिकामा ११ जना, मङ्गला गाउँपालिकामा ११ मालिका गाउँपालिकामा ११, धौलागिरी गाउँपालिकामा एक जना, रघुगङ्गा गाउँपालिकामा सात जना र अन्नपूर्ण गाउँपालिकामा छ जना सङ्क्रमित भएका थिए । हाल जिल्लाका छ वटा स्थानीय तहमा २९ स्थानमा ३३३ बेडको क्वारेन्टिन छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?