logo
२०७७ कार्तिक १२ बुधवार

राम जन्मभूमि !

शनिवार |


2020-08-01-19600


लोकमणि पौडेल

राम जन्मभूमिको विषय यति गहन र गम्भीर छ कि हामीले त्यसको गहनता र गाम्भीर्य आत्मसात् गरेका छैनौँ कि जस्तो लाग्छ । नेपालमै राम जन्मभूमिको मुद्दा सत्यको नजिक हुँदाहुँदै पनि हामीमध्ये कतिपयले यसको बेवास्ता मात्रै होइन, खण्डनसमेत गरिरहेका छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीका अवसरमा रामको जन्म नेपालकै ठोरी वरिपरि भएको अभिव्यक्ति दिएपछि अहिले राम जन्मभूमिको चर्चा नेपालमा मात्रै होइन, छिमेकी मुलुकमा पनि उत्कर्षमा छ । लखनउस्थित अयोध्यामा बौद्धमार्गीहरू त्यहाँ गुम्बा बनाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका छन् । अयोध्या रामको जन्मभूमि भएको र त्यहाँको राममन्दिर भत्काएर मस्जिद बनाइएको विरोधमा चलिरहेको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले गतवर्ष छिनोफानो गरेर टुङ्ग्याएको थियो । अदालतले १०४५ पृष्ठ लामो फैसलामा कतै पनि यो अयोध्यालाई रामको वास्तविक जन्मभूमि भएको उल्लेख गरेको छैन । अपितु फैसलापत्रमा भनिएको छ, ‘यही नै वास्तविक राम जन्मभूमि हो भन्ने कुनै प्रमाण नभेटिए पनि यो क्षेत्र समस्त हिन्दुको आस्थाको केन्द्र भएकोमा कुनै शङ्का रहेन ।’
केही वर्षदेखि मैले रामको जन्मभूमि नेपालकै माडीमा पर्ने केही आधार प्रस्तुत गर्दै आएको थिएँ । तर जब यो विषयलाई राष्ट्रकै कार्यकारी प्रमुखले भानुजयन्तीका अवसरमा उजागर गरिदिनुभयो तब सबैको ध्यान यसतर्पm गयो । सकारात्मक र नकारात्मक दुवै किसिमका टीकाटिप्पणी भए । प्रधानमन्त्रीले बोलेको कुरालाई राजनीतिक रङ दिने काम पनि भयो । जबकि यो विशुद्ध धार्मिक र सांस्कृतिक महŒवको विषय थियो । सँगसँगै ऐतिहासिक स्थान निरुपणको महŒवपूर्ण कार्य पनि थियो । राम जन्मभूमिको बहस भनेको अत्यन्त संवेदनशील विषय हो भन्ने बुझेर नै यो विषयको उठान गर्नुभन्दा अगाडि मैले धेरै वर्ष खोजबिनमा बिताएको थिएँ । २०६५ सालतिरको कुरा हो, वाल्मीकि रामायण सर्सर्ती पढ्दै जाँदा अनेक प्रसङ्गले रामको जन्मभूमि फैजाबादस्थित वर्तमान अयोध्यासँग मेल खाएको नदेखेपछि उक्त विषयको संवेदनशीलता बुझेर मैले चुपचाप आफ्नो खोजी कार्यलाई अगाडि बढाइरहेँ । यसक्रममा स्थलगत अनुसन्धानका लागि २०६७ सालमा सुकेधारास्थित आफ्नो घर–परिवारलाई छाडेर माडी र वाल्मीकि आश्रमको करिब करिब बीचमा पर्ने नवलपरासीको दलदलेमा बस्न थालेँ । अनि स्थलगत अध्ययनका लागि नेपालको माडी, वाल्मीकि आश्रम तथा इण्डियाको अयोध्यासँगै मथुरा पनि पुगेँ । २०७२ साल वैशाख १२ गतेको भूकम्प जाँदा पनि म नवलपरासीको दलदलेमै थिएँ । वैशाख २९ गतेको भूकम्प जाँदा म वाल्मीकि आश्रमबाट दलदले फर्कने क्रममा थिएँ । २०७३ सालको अन्त्यसम्ममा धेरै कुरा फेला पारिसकेको थिएँ । त्यसपछि उतै बसिरहनु आवश्यक नदेखेर म पुनः काठमाडौँ फर्किएँ । विस्तारै आफ्ना कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालेँ तर मेरा कुरा अरण्यरोदन जस्तै बनेका थिए । जब यसै विषयमा मेरै कुरालाई पुष्टि गर्ने किसिमको प्रधानमन्त्रीको अभिव्यक्ति आयो, तब यो कुराले एउटा नयाँ उचाइ प्राप्त ग¥यो । प्रधानमन्त्रीका नजरमा मेरा कुरा परेका थिए वा थिएनन्, त्यो बेग्लै कुरा हो तर उहाँले बोलेका कुराले मलाई सम्बल प्राप्त भयो । म उहाँप्रति आभारी छु । रामायणकाल भनेको केही हजार वर्ष अगाडिको कुरा हो । यति लामो समयमा यहाँ अनेक भूकम्प गएका छन् । भूस्खलन भएका छन् । नदीहरूले आफ्नो बाटो केही परिवर्तन पनि गरेका होलान् र केही अग्ला पर्वतहरू भूक्षयका कारण होचा पनि भएका होलान् । होचा स्थानहरू केही अग्लिएका पनि होलान् । त्यसैले स्थलगत सँगसँगै शास्त्रगत खोजी पनि महŒवपूर्ण हो भन्ने महसुस गरेर शास्त्रको अध्ययनमा म समर्पित भएँ ।

लखनउस्थित अयोध्याको विवाद
लखनउस्थित अयोध्याको विवाद हामी नेपालीले सुरु गरेकै होइनौँ । इण्डिया सरकारकै अग्रसरतामा भएका अनेक पुरातात्विक अन्वेषणले पनि लखनउस्थित अयोध्यामा राम जन्मिएका प्रमाण नभेटिएका दस्तावेज सार्वजनिक हुँदै आएका थिए । इण्डियाकै ठूलाठूला इतिहासकारले पनि यो अयोध्या रामजन्मभूमि भएको कुरामा सन्देह गरेको भेटिन्छ । इण्डियाकै प्रसिद्ध पत्रकार कमलेश्वरको सन् २००० मा प्रकाशित ‘कितने पाकिस्तान’ नामक पुस्तकमा लखनउस्थित अयोध्या राम जन्मभूमि नभएको जिकिर गरिएको छ । इण्डियाकै सर्वोच्च अदालतले अयोध्याको मुद्दामा गतवर्ष गरेको फैसलामा पनि यो ठाउँलाई राम जन्मभूमि भएको कुरामा सन्देहको भाषा प्रयोग गरेको छ । यी सबै कुराले लखनउको अयोध्याबारे विवाद उत्पन्न गर्ने हामी होइनौँ भन्ने सिद्ध हुन्छ । सँगसँगै प्रश्न उब्जन्छ, ‘त्यसो भए

असली राम जन्मभूमि कहाँ हो ?’
इण्डियामा अङ्ग्रेजको शासन भएकै बेला सन् १८५७ को सैनिक विद्रोहसँगै उम्लिएको जनविद्रोहलाई नियन्त्रण गर्न अंग्रेजलाई हम्मेहम्मे परेको थियो । त्यो बेला उनीहरूले भिड्नुपर्ने भनेको या त हिन्दूसँग थियो या त मुस्लिमसँग । इण्डियाका इतिहासविद्का अनुसार, यो कुरालाई हृदयङ्गम गरेर अङ्ग्रेजहरूले हिन्दु र मुस्लिमलाई आपसमा भिडाउने जुक्तिको खोजी गर्दा फेला पारेको विषय नै राम जन्मभूमिको विषय थियो । उनीहरूले त्यसका पछाडि केही आधार फेला पारेका थिए । यिनै आधारमा टेकेर त्यो बेला बाबरी मस्जिदका नामले जानिएको मस्जिदमाथि प्रश्नचिह्न लगाए । फैजाबादको वास्तविक नाम अयोध्या भएको घोषणा गरे । यसरी अङ्ग्रेजहरू विवादको अखडा खडा गर्न सफल भए । यसले हिन्दु र मुस्लिमबीच धार्मिक युद्ध छेड्नुसँगै सैनिक विद्रोहलाई साम्य पार्ने काम ग¥यो ।
इतिहास तथा अनेक दस्तावेजको अध्ययन गर्दा बाबरी मस्जिद त्यहाँका बादशाह इब्राहिम लोदीले सन् १५२३ मा सुरु गरेर सन् १५२४ मा पूरा गरेको बुझिन्छ । त्यो बाबरी होइन लोदी मस्जिद थियो । २० अप्रिल १५२६ मा बाबर लखनउ पसेको र इब्राहिम लोदीलाई मारेर आफू गद्दीनसीन भएको इतिहास छ । त्यसपछि उक्त मस्जिदमा रहेको लोदीको मस्जिद लेखिएको शिलालेख हटाएर बाबरी मस्जिद लेखिएको शिलालेख राखिएको बताइन्छ । त्यो बेला उक्त ठाउँ फैजाबादका नामले प्रसिद्ध थियो । फैजाबाद हुनुभन्दा अगाडि उक्त ठाउँ साकेतका नामले चिनिएको कुरा भारतकै अनेक इतिहासमा उल्लेख छ । त्योभन्दा पहिला त्यसलाई अवधका नामले जानि(न्थ्यो । ‘अवध’को अर्थ वध नगर्नु हो । सम्भवतः बुद्धको प्रभाव त्यो स्थानमा परेको थियो र त्यहाँको नाउँ अवध रहन गएको थियो । त्यही अवधलाई अङ्ग्रेजहरूले आधार बनाएर अयोध्या भनेका हुन् कि भन्ने भारतका इतिहासकारहरूको अभिमत छ ।

राम जन्मभूमि कहाँ ?
लखनउस्थित अयोध्यालाई नै रामको जन्मभूमि मान्दै आएको आधारमा हामीले हाम्री जनकपुरकी छोरी जनकनन्दिनी सीतालाई अन्माएर अयोध्याका रामसँग पठाउँदै आएका छौँ । वर्षैपिच्छे विवाहपञ्चमीका दिनमा बाज(ागाजासहित भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने र सीताको प्रतिरूपसँगै केही दाइजो पठाउने काम पनि हुँदै आएको छ तर इण्डियाकै अनेक लेखक, विद्वान् र इतिहासकारले यो अयोध्या रामको असली जन्मभूमि नभएको बताइरहँदा हाम्री छोरीलाई कहाँ पठायौँ ? बुहारी बनेर उनी कहाँ भित्रिइन् ? यसको सोधखोज गर्नु, यथार्थ निरुपण गर्नु हाम्रो प्रमुख दायित्व बनेको अनुभूति हुँदैन र ?
यही दायित्वलाई पूरा गर्ने क्रममा असली राम जन्मभूमिको खोजी सुरु भएको हो । अयोध्या नाम हुँदैमा त्यो रामको जन्मभूमि हुनैपर्छ भन्ने छैन । किनकि अनेक अयोध्या छन् । राम जन्मेको वास्तविक अयोध्या पत्ता लगाउनु महत् कार्य हो । हामीले सीतालाई पठाएको अयोध्याको खोजी भनेको ऐतिहासिक दृष्टिले पनि, सांस्कृतिक दृष्टिले पनि र धार्मिक दृष्टिले पनि सबैभन्दा आवश्यक र चुनौतीपूर्ण विषय हो । हजारौँ वर्ष अगाडिको घटनालाई भन्तेसुन्तेका आधारमा निर्णय गर्नुभन्दा शास्त्रीय आधारमा नै निरुपण गर्नु अन्तिम र सर्वमान्य विकल्प थियो ।
हामीले रामलाई मानेकै रामायणका आधारमा हो । अहिले विश्वमा अनेक रामायण छन् । केही रामायण रामकै कालमा लेखिएका थिए । रामकालपछि तिनै रामकालीन रामायणलाई आधार बनाएर अरू रामायण लेखिए । पछि लेखिएका रामायणलाई आधार मान्नुको कुनै अर्थ हुँदैन भन्नेमा कुनै सन्देह छैन । किनभने ती रामकै पालामा लेखिएका रामायणका आधारमा लेखिएका हुन् र तिनमा आआफ्नो समाज अनुसार केही परिवर्तन पनि गरिएका हुनसक्छन् । रामकै कालमा लेखिएका रामायणहरूमा वाल्मीकि रामायण नै प्रमुख मानिन्छ । किनभने धोबी (जनता) का कुरा सुनेर रामले सीतालाई परित्याग गरिसकेपछि लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम नजिकै छाडेर फर्किएका थिए । त्यसपछि सीताले वाल्मीकि आश्रममा संरक्षण पाएकी थिइन् । वाल्मीकिले स्वयं सीताका मुखारविन्दबाट आफ्नो बाल्यकालदेखि रामसँग विवाह भएको र राम वनवास हुँदाका अनेक घटना सुनेका थिए । ऋषि वाल्मीकि दशरथका सँगसँगै सीताका पिता जनकका पनि मित्र हुन् । दशरथका कुलगुरु वसिष्ठका पनि मित्र हुन् । त्यसैले राम जन्मभूमिको निरुपण गर्ने सबैभन्दा आधिकारिक शास्त्र भनेको वाल्मीकि रामायण नै हो । रामायणका श्लोकहरूले बुझाउने सरल अर्थसँगै लुकेका गुह्य अर्थको समेत अनुसन्धान गर्ने हो भने हाम्री सीता बुहारी बनेर भित्रिएको अयोध्या पत्ता लाग्छ ।

स्थान निरुपणका आधार
धेरै हजार वर्ष अगाडिको कुरा भएकाले सम्भावित ठाउँको उत्खनन गरेर पुराताŒिवक महŒवका वस्तु फेला पर्ने सम्भावना न्यून देखिन्छ । त्यसैले शास्त्रलाई नै आधार बनाएर स्थान निरुपण गर्नु नै अन्तिम विकल्प हो । यसरी स्थान निरुपण गर्दा लिइने आधार भनेका दिशा, दूरी, नदी र पर्वत हुन् । दिशा भन्नाले विवादरहित ठाउँबाट अयोध्या कुन दिशामा पर्छ, त्यो पत्ता लगाउने कार्य हो । दूरी भन्नाले विवादरहित ठाउँबाट अयोध्याको दूरी फेला पार्ने काम हो । रामायणमा दूरीका लागि प्रायः ‘योजन’ शब्दको प्रयोग भएको छ । एक योजन भनेको कसैले १२ किमि मानेका छन् भने कसैले १४ किमि ठानेका छन् । फेरि दूरीका लागि सर्वत्र योजनको प्रयोग गरिएको देखिँदैन । बरु अमुक ठाउँबाट अमुक ठाउँमा पुग्दा यति दिन व्यतीत भयो, यति रात बाटोमा बास बस्नुप¥यो भन्ने उल्लेख धेरै ठाउँमा पाइन्छ । यसलाई पनि हामी सापेक्षिक रूपमा हिसाब गरेर सम्भावित ठाउँको दूरी निरुपण गर्न सक्छौँ । अर्को आधार भनेको ‘प्रमुख नदी’ को अवस्थिति हो । अन्य आधारसँगै वरिपरि बगेका नदी तथा तिनको दिशा र मुहानलाई हेरेर सो स्थानको सत्यताको निक्र्योल गर्न सकिन्छ । अन्तिम आधार भनेको पाखा, पर्वत तथा सँगैका जमिनको विवरण हो । तिनलाई शास्त्रका आधारमा पहिचान गरी सम्भावित अयोध्यासँग जोडेर हेर्न सकिन्छ ।
उदाहरणका लागि वाल्मीकि रामायणदेखि अन्य रामायणमा समेत राम जन्मभूमि अयोध्यामा उत्तरवाहिनी नदीहरू भएको प्रसङ्ग पनि छ र रामायणमै अयोध्याको उत्तरतर्फ रहेको सरयू नदी पूर्वबाट पश्चिमतर्फ बगेको भन्ने आशय झल्कन्छ । त्यस्तै अयोध्यासँगै सुमेरु पर्वत रहेको चर्चा पनि रामायणमा छ । केही पर गङ्गा बगिरहेकी छन् । वाल्मीकि आश्रम तमसा र गङ्गा नदीको दोभानमा अवस्थित छ । रामायणअनुसार दशरथका कुलपुरोहित वसिष्ठको आश्रम अयोध्यादेखि उत्तरमा रहेको बुझिन्छ । वसिष्ठ एकै दिनमा अयोध्या आइपुगेको, वाल्मीकि आश्रमबाट शत्रुघ्न एकै दिनमा अयोध्या आइपुगेको आदि कुरा वाल्मीकि रामायणमा हुँदा ती स्थानको आपसी दूरी स्थापित गर्दछन् । होइन, पहिलेका मानिस अहिलेका भन्दा ठूला थिए र अहिलेभन्दा धेरै चाँडो हिँड्थे भनौँ भने वाल्मीकि रामायणमै रहेका दुइटा श्लोकले वाल्मीकि आश्रम मथुरा र अयोध्याको बीचमा पर्नुसँगै उहिलेका मानिसको पैदल गति पनि अहिलेकै मानिसको जस्तो सरदर ५० किमि प्रतिदिन तथा घोडाबाट ८० किमि प्रतिदिन भएको हिसाबले देखाउँछ । शत्रुघ्न मथुराबाट अयोध्या फर्केको प्रसङ्गलाई वाल्मीकिले उत्तरकाण्डको एकहत्तरौँ सर्गमा यसरी उतारेका छन्–
ततो द्वादशमे वर्षे शत्रुघ्नो रामपालिताम् ।
अयोध्यां चकमे गन्तुमल्पभृत्यबलानुगः ।।१।।
स गत्वा गणितान्वासान्सप्ताष्टौ रघुनन्दनः ।
वाल्मीक्याश्रममागत्य वासं चक्रे महायशाः ।।३।।
अर्थात् १२औँ वर्षमा शत्रुघ्न केही सेवक र सैनिक साथमा लिएर (घोडा चढेर) राजा रामचन्द्रपालित अयोध्याका लागि प्रस्थान गर्दछन् ।१। बाटोमा सात–आठ ठाउँमा वास बसेपछि उनी वाल्मीकि आश्रम आइपुग्छन् ।३।
त्यो रात वाल्मीकि आश्रम बसेपछि भोलिपल्ट अयोध्याका लागि प्रस्थान गरेको र उसैदिन अयोध्या पुगेको वर्णन बहत्तरौँ सर्गका छैटौँ र सातौं श्लोकले यसरी बताउँछन्–
सोऽभिवाद्य मुनिश्रेष्ठं रथमारुह्य सुप्रभम् ।
अयोध्यामगमत्तूर्णं राघवोत्सुकदर्शनः ।।७.७२.६।।
स प्रविष्टः पुरीं रम्यां श्रीमानिक्ष्वाकुनन्दनः ।
प्रविवेश महाबाहुर्यत्र रामो महाद्युतिः ।।७.७२.७।।
अर्थात् मुनिश्रेष्ठ (वाल्मीकि) लाई प्रणाम गरेर आफ्नो रथमा चढी श्रीरामचन्द्रलाई दर्शन गर्ने उत्कण्ठा बोकेर अयोध्यातर्फ प्रस्थान गर्छन् ।।६।। उसै दिन इक्ष्वाकुनन्दन श्रीरामचन्द्रको मनोहर अयोध्यापुरीमा पुगेर रामचन्द्र भएको भवनमा प्रवेश गर्छन् ।।७।।

माडीको अयोध्यापुरी
हामीले माथि स्थान निरुपणका आधारका बारेमा चर्चा ग¥यौँ । तिनै आधारले रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी भएको पुष्टि गर्छन् । कुनै ठाउँको सन्देह हुँदा सन्देहरहित स्थानलाई आधार मानेर उसैका सापेक्षमा पत्ता लगाउन खोजिएको ठाउँलाई जोडेर हेर्नु आवश्यक हुन्छ । यहाँ पाठकलाई बुझ्न सहज होस् भन्ने हेतुले थोरै बुँदा क्रमशः तल दिइएका छन्–
रामायणका विभिन्न स्थानमा अयोध्या र मथुराका बीचमा वाल्मीकि आश्रम परेको चर्चा छ । तमसा र गङ्गाको दोभानमा अवस्थित भएको वाल्मीकि आश्रम कसैले सन्देह नगरिएको स्थान हो । अयोध्या र मथुराबीच वाल्मीकि आश्रम पर्नु र वाल्मीकि आश्रमबाट मथुरा आठ दिनको दूरीमा हुनु एवं अयोध्या एक दिनको दूरीमा (घोडचढी) हुनुले माडीको अयोध्यापुरीलाई एउटा बेजोड प्रमाण बनेर पुष्टि गर्दछ ।
ऋषि वाल्मीकि दशरथका प्रिय मित्र हुँदाहुँदै पनि उनी छोराहरूको विवाहमा जन्तीका रूपमा समावेश हुन पाउँदैनन् । जनकपुरबाट मङ्सिरको शुक्लपञ्चमीमा राम्रो साइत निस्किएको छ राम, लक्ष्मणहरूको विवाहका लागि जन्ती लिएर हिँड्नुप¥यो भनेर दूतले खबर ल्याउँदा भोलिपल्टै हतारहतार गरेर जन्ती निस्कन्छन् । दरबारमै भएका ऋषिहरू बाहेक बाटोमा पर्ने ऋषिहरूलाई समावेश गर्दै जन्ती चौथो दिन जनकपुर पुग्छ तर जन्तीमा वाल्मीकि हुँदैनन् । किनकि वाल्मीकि आश्रम अयोध्याबाट जनकपुर जाँदा बाटोमा पर्दैन । यो कुरालाई पनि अहिलेको अयोध्यापुरीले पुष्टि गर्दछ ।
रामायणमा वसिष्ठ ऋषिको आश्रम उत्तरतर्फ रहेको र अगस्त्य ऋषिको आश्रम दक्षिणतर्फ रहेको उल्लेख छ । वर्तमानमा पनि माडीको अयोध्यापुरीबाट उत्तरतर्फ देवघाटमा वसिष्ठको आश्रम र दक्षिणतर्फ काशीमा अगस्त्यको आश्रम छ । अगस्त्यको जन्म नै काशीमा भएको शास्त्रहरू बताउँछन् । यो वर्णनले अयोध्यापुरीलाई देवघाट र काशीका बीचमा स्थापित गर्दछ ।
राम र सीताको मायाप्रेम अगाध थियो । एक वर्षसम्म रावणको राज्यमा बसेकी सीतालाई लिएर अयोध्या आएको केही वर्षमा जनताले कुरा काट्ने गरेको थाहा पाएर परित्याग गर्दा राम रोएको वर्णन छ । परित्यागछि वन पठाउँदा धेरै टाढा पठाउने सम्भावना देखिँदैन । शत्रुराज्यमा लगेर छोड्ने कुरा पनि आउँदैन । त्यसैले वाल्मीकि आश्रम अयोध्याको नजिकै कोशल संरक्षित नै हुनुपर्छ । जुन कुरा अहिलेको वाल्मीकि आश्रम र अयोध्याको अवस्थिति र दूरीले पुष्टि गर्दछ । कोशलकै राजधानी अयोध्या हो ।
रामायणमा वर्णित अन्तिम अश्वमेध यज्ञ अयोध्यादेखि केही उत्तरमा गएर गरेको देखिन्छ । यज्ञ गरेकै कुण्डमा सीताले देहत्याग गरेको वर्णन पनि वाल्मीकि रामायणमा छ । देवघाटमा रहेको सो ठाउँको दर्शन गर्न अहिले पनि श्रद्धालु भक्तजन जाने गर्दछन् । अहिले माडीमा रहेको अयोध्यापुरीलाई विचार गर्दा यो सबै कुरा मिल्न आउँछ ।
अहिलेको अयोध्यापुरीका वरिपरि जति पनि रामको नामसँग जोडिएका ठाउँ छन्, त्यस्तो अवस्था अरू कुनै पनि अयोध्या नाम भएका स्थानमा देखिँदैन । पूर्वमा विश्रामपुर छ, अझै पूर्वमा रामधुनि छ, उत्तरमा भरतपुर (भरतले राज्य गरेको), अझै उत्तरमा रामनगर, पश्चिममा रामपुर, अझै पश्चिममा रामग्राम, केही दक्षिणपूर्वमा चित्रकूट, पञ्चवटी, दक्षिणमा भारततिर रामनगर, नजिकै वैकुण्ठताल, सीतागुफा आदि सयौँ कुराले यो पुरी आवेष्टित छ । यसले अयोध्यापुरीलाई रामको वास्तविक जन्मभूमि भएको सङ्केत गर्छ ।
राजा दशरथ शिकार खेल्दै अयोध्यादेखि उत्तरतिरका जङ्गलमा पुगेको र गाग्रीमा पानी भर्दै गर्दा निस्केको आवाजलाई हात्ती कराएको ठानी बाण हान्दा श्रवणकुमारको मृत्यु भएको चर्चा पनि वाल्मीकि रामायणमा छ । श्रवणकुमारका अन्धाअन्धी बाबुआमा रुँदारुँदै बनेको अन्धाअन्धी दह स्याङ्जा जिल्लामा अद्यापि देख्न पाइन्छ । यसले पनि माडीको अयोध्यापुरीलाई रामको जन्मभूमि भएको पुष्टि गर्छ ।
सर्वगुणसम्पन्न सन्तान जन्माउने राजा दशरथको इच्छा थियो । त्यो बेला सन्तानोत्पादनका विषयमा विज्ञ भनेर चिनिने एउटै ऋषि थिए– ऋष्(यशृङ्ग । उनको आश्रम थियो गुल्मीको रेसुङ्गामा । उनलाई बोलाएर देवघाटमा पुत्रेष्टि यज्ञ गरेको वर्णन रामायणमा पढ्न पाइन्छ । उनै ऋषिका कारणले गुल्मीको उक्त स्थानको नाम रेसुङ्गा रहन गएको हो भनिन्छ ।
अहिले माडीमा रहेको अयोध्यापुरीको उत्तरतर्फ रहेको रियू खोला पनि पूर्वबाट पश्चिमोत्तर दिशातर्फ बगेको छ र त्यसमा उत्तरवाहिनी अनेक नदीहरू मिसिएका छन् । सरयू नदी पश्चिमोत्तर भएर बगेको र त्यसमा उत्तरवाहिनी नदीहरू मिसिएको वर्णन वाल्मीकि रामायण तथा अन्य पुराणमा भेटिन्छ तर भारतमा भएको अयोध्यामा बगेको सरयू पश्चिमबाट पूर्वतर्फ बगेको छ र त्यसमा उत्तरवाहिनी नदीहरू मिसिएको पनि देखिँदैन । सरयू नदीमा मानसरोवरबाट आएको पानी मिसिएको चर्चा पनि रामायणमा छ । मुस्ताङमा दामोदरकुण्ड छ । दामोदरकुण्डसँगै ब्रह्मकुण्ड छ । ब्रह्मकुण्डलाई प्रथम मानसरोवर भनिन्छ । ब्रह्मकुण्डको पानी दामोदरकुण्डमा मिसिन्छ । दामोदरकुण्ड कालीनदीको मुहान हो । यस हिसाबले हेर्दा कालीनदीलाई मानसरोवरबाट बगेको पानी मिसिएको भन्न नमिल्ने देखिँदैन । कालीनदी देवघाटमा आएर अरू नदीसँग मिसिएपछि एउटा भँगालो पहाडको काछकाछ हुँदै केही पूर्व पुगेर दक्षिण झरेको हुनसक्छ । यसको गहन खोजी आवश्यक छ । रियू खोलामा भेटिएका कालीगण्डकीकै जस्ता शालिग्रामले पनि यो कुराको पुष्टि गर्छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?